एकपटक मेरो साथीको घरको पूजामा पण्डितले साथीको गोत्र सोध्नुभयो।
साथीले एकछिन सम्झेर ‘भारद्वाज गोत्र’ भनिन्।
पण्डित बाजेले माइतीको होइन आफ्नो घरको गोत्र के हो भनेर चिच्याउनु नै भयो।
‘ला त्यो त थाहा नै भएन। याद नै भएन’ भनेर साथीले पुलुक्क आफ्नो श्रीमानको मुखमा हेरिन्।
अनि उनको श्रीमानले आफ्नो गोत्र भन्नुभयो। त्यसपछि बल्ल बाँकी पूजा सुरू भयो।
पूजा सकेपछि साथीलाई ‘ओइ अगस्त्य गोत्रे’ भनेर जिस्काउँदै प्रसाद ग्रहण पनि गरेँ। धेरै समयसम्म मैले उसलाई जिस्काएर घरी ‘ओइ अगस्त्ये’ त घरी ‘ए अगस्त्य मुनि’ भनिरहेँ।
उसँग जिस्किनु एउटा पाटो थियो तर मनमा यही गोत्र परिवर्तनलाई लिएर चित्त नबुझेको सत्य अर्को पाटो थियो।
मलाई जान्नु थियो महिलाहरूको मात्रै किन गोत्र परिवर्तन गरिन्छ? यस विषयमा शास्त्रले के भन्छ भनेर सोध्न मैले पण्डित वरदान थपलिया जो मेरो परम मित्र पनि हुनुहुन्छ उहाँलाई फोन गरेँ।
मैले उहाँलाई सोधेँ– वरदान जी, विवाहको दिन छोरीको मात्रै किन गोत्र परिवर्तन गरिन्छ?
शान्त स्वभावको उहाँ शान्त भावले नै भन्नुभयो– किनकी पुरूषलाई वंशको प्रतिनिधि मानिन्छ। गोत्र चल्ने पुरूषको मात्र हो। एकथरीको मात्रै गोत्र चल्ने भएकोले स्त्रीको गोत्र परिवर्तन गरिन्छ।
उहाँले अझ थप्दै गोत्रको व्याख्या पनि गर्नुभयो– एक मूल ऋषिबाट आरम्भ भएर बाजे, बाबु, छोरा, नाति, पनाति, खनाती हुँदै क्रमश: अघि बढ्ने ऋषिवंश नै गोत्र हो।
मैले यसमा आफ्नो धारणा राख्दै फेरि सोधेँ– हिन्दू धर्मको यो त सरासर महिलाहरूलाई दबाउने र उनीहरूलाई वंशजको स्थान नदिने एउटा सुनोचित पूर्वजको राजनीति र रणनीति हो। यो गोत्र भनेको जातीय र पुरूष श्रेष्ठता कायम गर्न निर्मित मिथक मात्र हुन्। गोत्र परिवर्तन नगरी एक हिन्दू महिलाको विवाह गर्न मिल्दैन र वरदान जी? गोत्र परिवर्तन गर्ने मन्त्र नै पढ्न जरूरी छ र?
यसपछि उहाँ मलाई क्रोमोजम र जिनको कुरा गरेर वैज्ञानिक तर्क दिन थाल्नुभयो। उहाँले महिलामा केवल एक्स क्रोमोजोम मात्र हुने र वाइ क्रोमोजोम केवल पुरूषमा मात्र हुन्छ भन्न थाल्नुभयो।
‘छोराको जन्म पुरूषको वाइ क्रोमोजोमका कारण हुन्छ। जबकि महिलाको एक्स क्रोमोजोम र पुरुषको एक्स क्रोमोजोम मिलेर जन्मेकी छोरी विवाह हुँदा उसको एक्स क्रोमोजोम अन्य वंशसँग मिक्स हुँदै जान्छ र अन्त्यमा पितातिरको एक्स क्रोमोजोमको अस्तित्व नै समाप्त हुन्छ।
तर पुरूषको वाइ क्रोमोजोम कसैसँग मिक्स नभई अनवरत रूपमा अघि बढ्छ। मुख्य जिन पुरूषको हुने हुँदा महिलाको गोत्र पनि उसको पतिको गोत्रमा विलय भएर जान्छ। अर्थात् स्त्रीले आफ्नो जन्मको वंशको जिन बोक्दैनन् जबकि पुरूषले आफ्नो हजारौं वर्ष पुरानो पुर्खाको वाई क्रोमोजोम बोक्दै आइरहेको हुन्छ। यो हामीले, ऋषिमुनिले, पुर्खाले गरेको भेदभाव होइन, प्रकृतिले बनाएको नियम हो, विज्ञानले प्रमाणित गरेको प्रमाण हो।’
अनि मानव समाजको सुरूआतीमा वा भनौं कविला युगमा बाबुको पहिचान आवश्यक नहुँदा हजुरआमाका रक्त नाता सन्तानहरूलाई एउटै गोत्र मानेका विश्वास चाहिँ के हो? मातृप्रधान युग भत्केर पितृसत्तात्मक युगमा आउँदा रक्तशुद्धता बाँकी होला त ? त्यसैले महिलाको गोत्र परिवर्तन गराउनु वा वंशीय श्रेष्ठता गरिनु एउटा हाँस्यास्पद विषय होइन र? मैले ठ्याक्कै यही प्रश्न गरेँ ।
उहाँले अलि विषय मोड्नु भयो। उहाँले सहगोत्री विवाह हुँदा बच्चाहरू अस्वस्थ जन्मने वा बच्चा नै नहुनेतिर कुरा लानुभयो।
मेरो विषय यो सारा जान्नु थिएन। मलाई समस्या भनेको विवाह मण्डपमा एउटा मन्त्र भट्भटाएर महिलाको गोत्र परिवर्तन गराउनेबारे थियो। म यो सिस्टमको विरोधी नै हुँ। अनि फेरि प्रश्न गरें, ‘अनि यो सबै कुरासँग महिलाको मात्रै गोत्र सार्नुपर्ने तर्क चाँहि के हो? यदि एउटै गोत्र भएकोसँग विवाह गर्नु हुन्न भने विवाह मण्डपदेखि नै उसलालाई मन्त्र सुनाइसुनाइ एउटै गोत्र किन बनाइन्छ? फरक गोत्र भएकी महिलालाई बिहे गरिरहँदा फेरि आफ्नै गोत्र बनाएर भित्राउँदा उनी त अब बहिनीको नाता लिएर भित्रेकी जस्तो हुन्न र ?
सन्तानलाई पिताको गोत्र दिए भइहाल्यो यदि क्रोमोजम र जिनको कुरा गर्ने हो भने तर श्रीमतीलाई चाहिँ किन आफ्नो गोत्र दिने? त्यही माथि बाउको वंश, गोत्र, जात र थर भनेको पुरूष पूर्खाहरूको मात्र अस्तित्व जोगाउने, उनीहरूको मात्र लहरो फेला पर्ने एउटा अनिश्चित दौड मात्रै हो।
गोत्र र थरजस्ता विषयलाई प्रमुख बनाएर महिला तथा अरू वर्गलाई अपमान, शोषण, लैङ्गिक विभेदता र वर्गीय मूल्य मान्यता निर्माण गर्ने मेसो मात्रै हो।
मैले यो भनिरहँदा वरदान जी केही बोल्नुभएन। अनि उहाँको मौनताको फाइदा उठाएर नै फेरि प्रश्न गरेँ।
‘वरदान जी, अनि अन्तिम केही प्रश्नहरू, एउटा महिलाले विभिन्न कारणले गर्दा दुई पटक, तीन पटक, चार पटकसम्म विवाह गरिन् भने उनको असली गोत्र चाहिँ के हुन्छ? उनको जति जनासँग विवाह हुन्छ त्यति जनासँग गोत्र फेर्दै हिँड्नु पर्छ? यदि विवाहपछि महिलाको सम्बन्ध विच्छेद हुन्छ भने अनि उनी कुन गोत्रको हुन्छिन्? अविवाहित महिलाले जन्माएको सन्तानको गोत्र के हुन्छ? पिताद्वारा त्यागिएको सन्तानको गोत्र के हुन्छ? धर्मपुत्र धर्मपुत्री बनाएर पालेको सन्तानको गोत्र के हुन्छ? स्वयंम् गोत्र बनाउनेको गोत्र चाहिँ के थियो ? यसमा धर्मशास्त्रले के भन्छ ? के लेखेको छ धर्म शास्त्रमा ? अनि त्यहीमाथि वंश अनि गोत्र भनेको रगतको सम्बन्ध हो। अनि त्यो सम्बन्ध विवाह मण्डपमा कसरी परिवर्तन गर्न सकिन्छ? यहाँ त महिलाहरूलाई महिनावारी हुँदा मात्रै पर सार्दैन, विवाह हुँदा गोत्र पनि सारिन्छ। रगतको सम्बन्ध नै सारिदिन्छ। वाह! वाह! वाह!’
मैले यसो भन्दा उहाँ दिल खोलेर हाँस्नुभयो तर म हाँस्न सकिनँ। उहाँलाई यो कुरा सुन्दा घत लाग्यो तर सुनाउँदा मलाई लागेन। यो एउटा गम्भीर विषय थियो। महिलाहरू मात्रै कति सर्नुपर्ने? उनीहरूलाई मात्रै घरी शास्त्रको नाममा, घरी धर्मको नाममा, घरी संस्कारको नाममा, घरी इज्जत र समाजको नाममा कति डुलाउनु पर्ने ? महिनावारी हुँदा एउटा ठाउँबाट अर्को ठाउँ सर्नुपर्ने। न्वारनमा पनि एघार दिनबाट नौ दिनमा नै सर्नुपर्ने , भात खुवाइमा पनि ६ महिनाबाट पाँच महिनामा सर्नुपर्ने, बिहे हुँदा माइती घरबाट पराई घर सर्नुपर्ने, आफ्नो थरबाट अर्को थरमा सर्नुपर्ने। एउटा गोत्रबाट अर्को गोत्रमा सर्नुपर्ने। महिलालाई खाली सर्ने मात्रै किन बनाइन्छ हाम्रो धर्म संस्कारमा?’
‘अब त समाज धेरै परिवर्तन भइसक्यो त। सरिरहनु पर्ने छैन हो निरु जी। हिन्दु धर्मको विरोध गरेर केही नलेख्नु है। हाम्रो धर्म, संस्कृति, गन्थ्र, वेद यति बलवान छ कि जसको चर्चा नासामा पनि हुन्छ।’
वरदान जीलाई डर थियो मैले धर्मको विरूद्धमा लेख्छु कि भन्ने त्यसैले पनि उहाँले मलाई हिन्दु धर्म र विज्ञानको तालमेल देखाइरहनुभएको थियो।
मैले पनि उहाँको केही कुरालाई स्वीकारेर भनेँ, ‘समाज परिवर्तन भएको छ म मान्छु वरदान जी। म पूर्ण रूपमा धर्मको विरोधी पनि होइन तर धर्मको आडमा हुने कुसंस्कृति, कुविचार र कुसंस्कारको चाहिँ विरोधी हुँ। जस्तै: विवाहको दिन महिलाको गोत्र परिवर्तन गरेर पठाउने यो संस्कारको चाहिँ म घोर विरोधी हो। थर, गोत्र परिवर्तन गर्ने इच्छा स्वयंम् व्यक्तिको हुनुपर्दछ न कि मन्त्र जप गराएर, गोत्रै परिवर्तन भएन भनेँ पाप लाग्छ भनेर डर देखाएर, अप्रत्यक्ष रूपमा धम्कीको भाषा बोलेर, क्रोमोजम र जिनको तर्कले संशकित पारेर गोत्र परिवर्तन गर्नु कदापि हुँदैन।
यो गोत्र केवल ऋषिहरूले आफ्नो वर्चस्व कायम गर्न। पूरै मानव कल्याणको लागि नभइ आफ्नो सन्ततीको त्यही माथि छोराको मात्रै शक्ति कायम गर्न गरिएको एउटा षड्यन्त्रकारी नियम हो। यति प्रश्न सोध्ने नै हो भने स्वयंम् ती ऋषिहरूको पनि गोत्र के हो?
इतिहास, वेदपुराण साक्षी छ स्वयंम् अगस्त्यमुनि ऋषिले पनि आफ्नै छोरी बिहे गरेका थिए। आफ्नै छोरी लोपामुद्राबाट सन्तान जन्माएका थिए। त्यही सन्तानहरू आज अगस्त्य गोत्रले चिनिन्छन्। यतिखेर ऋषिको रक्त शुद्धीकरण, क्रोमोजम र जिनको चर्चा खोइ? यसको विरोध त्यतिखेर किन भएन? यसको विरोध अरू ऋषिहरूले किन गरेनन्? गरेको भए यो कुरा कुनै पनि शास्त्रमा किन उल्लेख छैन? उल्लेख छ भने कहाँ छ?
वरदान जीलाई म प्रश्नमाथि प्रश्न गर्दै थिएँ तर उहाँको साँझको आरती गर्ने बेला भइसकेको थियो। उहाँलाई पछाडिबाट बोलावट आएको मैले सुन्न सक्थेँ। अनि जाँदा जाँदै उहाँलाई एउटा अन्तिम प्रश्न गरेँ।
‘वरदान जी, गोत्र स्थायी हुन्छ कि अस्थायी?’
उहाँ मेरो प्रश्नको आशय नबुझी फेरि हाँस्दै भन्नुभयो, ‘गोत्र पनि अस्थायी हुन्छ त! गोत्र त स्थायी हुन्छ नि।’
‘हो त्यसो भए महिलाको गोत्र पनि स्थायी हुनु पर्यो। जुन गोत्र लिएर जन्मेको छ मरुन्जेल त्यही गोत्रको रूपमा हेर्नु पर्यो। पुरूषको गोत्र स्थायी र महिलाको अस्थायी हुनु नै विभेद गरिनु हो।’
मेरो यो कुरा सुनेपछि वरदान जी हतारमा यो विषयमा फेरि अर्को दिन छलफल गरौंला। तपाईंको प्रश्नहरू कति ठिक छ र कति प्रकृतिको नियम विपरीत छ भन्नुभयो र आरतीको लागि जानुभयो।
एकदिन मेरो साथी ‘अगस्त्य गोत्रे’ ले फोन गरिन् र भनिन्– ‘ओइ तँलाई लेख्न काम लाग्ने गज्जबको कुरा थाहा पाएँ नि हाम्रो इतिहासबाट।’
‘हे अगस्त्यमुनि भन्नुस्’, मैले हाँस्दै आज्ञा दिएँ।
‘पृथ्वीनारायण शाहका नाति श्री ५ रणबहादुर शाहले एउटा कान्तिमति नाम गरेकी बाहुन केटीसँग विवाह गर्न आफ्नो गोत्र परिवर्तन गरेका थिए रे। हेर त शक्तिको खेल। महाराजाहरूलाई त आफ्नो सुविधा अनुसार गोत्र फेर्ने पनि सुविधा रहेछ। हामीलाई हाम्रै बुबाआमाबाट पाएको गोत्र राख्न पनि छुट छैन विवाहपछि।’
उनले दिएको यो जानकारी मलाई सधैं न लेख्न काम लाग्छ त्यसैले पनि उनलाई धन्यवाद दिएँ।
यो पटक अगस्त्य गोत्रे भनेर होइन, ‘भारद्वाज गोत्रे धन्यवाद’ भनेर धन्यवाद दिएँ।