'दुई जना छोराछोरी, घरपरिवार, जागिर धानेर त निजामती सेवामा नाम निकाली रहेछन्। तँ भने घरमा आमाले पकाएको खाएर त्यति पढ्ने मात्र काम हुँदा पनि नाम निकाल्न सक्दिनस् है।'
मनमा चसक्क बिझेँ पनि (जिस्कँदै), 'म पनि छोराछोरी पाउँदासम्म नाम निकालिहाल्छु नि बुवा!'
आफू निजामतीको अधिकृत तहको जागिर खानुभएको बुवाले आफ्ना छोराछोरी पनि सरकारी स्थायी जागिर त्यसमाथि पनि निजामती सेवामा नाम निकाल्दियोस् भन्ने कुन चाहिँ बाबाको आफ्नो छोराछोरीप्रति चाहना हुँदैन होला र?
भाइ बहिनीहरूको सानैदेखि विदेश प्रतिको मोह भएको हुँदा उनीहरूमा कहिल्यै पनि नेपालमा बस्ने सोच नै आएको थिएन। म भने नेपालमै केही गर्नुपर्छ भन्ने लाग्थ्यो।
विद्यालय तहबाटै अनुशासित, जेहेन्दार छात्रा, सबैकी प्यारी विद्यार्थी थिएँ म। आफूलाई पनि उहाँहरू जस्तै शिक्षक बन्ने सोच सानैबाट आएको थियो। मलाई बाल्यकालदेखि नै पढाउनु भएको शिक्षक तथा मेरो आफ्नै आदरणीय अंकल, उहाँबाटै प्रभावित बनी आफू पनि उहाँ जस्तै अङ्ग्रेजी शिक्षक बन्ने सपना सजाएको थिएँ।
शिक्षक बन्ने लक्ष्य भएको हुँदा बुवाले पनि नजिकैको कलेजमा शिक्षा संकायमा भर्ना गरिदिनुभयो।
निजामती तहको कर्मचारीले तथा राज्यले नै शिक्षकलाई तल्लो तहको कर्मचारी भनी धेरै सेवा सुविधाबाट वञ्चित गरेका र फरक नजरले हेरेको धेरै उदाहरणहरू पाइन्छन्।
आफ्नो रहरभन्दा पनि बुवाको मन राखिदिन, इच्छा पूरा गर्न भए पनि १८ वर्ष उमेर पुगेदेखि नै निजामती तहको विभिन्न परीक्षामा सहभागी भएको थिएँ।
खै इच्छा शक्ति नभएर हो कि, मेहनत नपुगेको हो कि, भाग्यमा निजामतीको जागिर खान नलेखेको हो कैयौं पटक प्रयास गर्दा पनि कुनै तहमा नाम निस्केन।
पटक पटकको असफलतापछि पनि असफलता नै सफलताको प्रतीक हो भनी विभिन्न पुस्तकहरू संकलन गर्दै, नोटहरू तयार गर्दै, नाम निकाल्न सफल व्यक्तिहरूसँग आवश्यक सल्लाह लिँदै नपढेको पनि होइन। तर सोचेजस्तो सबै सजिलै कहाँ मिल्छ र!
लामो समयको अन्तराल पछि २०७० सालमा शिक्षक सेवा आयोगको परीक्षाको मिति तय भयो। आफू पनि स्नातकको पढाइ भर्खरै सकेको थिएँ। शिक्षक सेवाको विज्ञापनपश्चात निजामतीको तयारी छोडेर शिक्षक सेवाको तयारी थाले। यसपालि भने साँच्चिकै मनैदेखि जाँगर आयो। अथक मेहनत र दृढ इच्छा शक्तिको प्रतिफल भनौं कि भाग्यले शिक्षक बन्न डोर्याएको भनौं, निजामती सेवामा नाम निकाल्न नसकेको मैले शिक्षक सेवामा चाहिँ पहिलो पटकमै नाम निकालेँ।
शिक्षक बनी ती साना बालबालिकाको भविष्य सपार्ने सपना पूरा भएको आभाष भयो।
सानो सफलता भए पनि खुसीले सगरमाथाको चुचुरो नै छोएको थियो।
जीवनमा न कुनै पिर चिन्ता रहेको त्यो बाल्यकाल, आफू फर्केर त्यो बाल्यकाल म पुग्न नसके पनि, ती साना बालबालिकासँग रमाउँदै, खेल्दै, पढाउँदै गर्दा आफूलाई पनि अझै त्यही बाल्यकालमै रहेको आभाष हुन्थ्यो।
विद्यालय तहबाटै पढाइमा अत्यधिक रुचि राख्ने भएको हुँदा घर परिवार, शिक्षक, इस्टमित्रहरूले यत्तिको मान्छेले शिक्षक होइन बाबाको जस्तै निजामतीको जागिर खानुपर्छ भन्ने सल्लाहहरू प्रशस्तै आइरहन्थे।
विवाहपश्चात घरपरिवार तथा छोराछोरी हुर्काउने, बढाउने जिम्मेवारीले गर्दा मेहनत गर्दा पनि जागिरको पदोन्नति सँगसँगै लैजान सकिरहेको थिइनँ।
शिक्षकलाई त्यसमाथि महिला शिक्षकलाई घर अपायक क्षेत्रमा जागिर गर्नुपर्ने अवस्था,घर पायक जागिर मिलाउनको लागि सरूवाको त्यो झन्झट प्रक्रिया व्यहोर्नुभन्दा ठूलो सजाय अरू केही छैन होला।
तर विभिन्न समस्याहरू झेल्दै एकपटक घरपायक सरूवा गराउन सके पटक पटक निजामती सेवाको जस्तो सरूवा नगरिने हाल सम्मको अवस्थाले शिक्षा क्षेत्र केही सहज हो जस्तो लाग्दछ।
घरनजिकैको विद्यालयमा आफूलाई मनपर्ने एउटा सम्मानित पेशा शिक्षकको जागिर, छोराछोरीलाई आफू सँगै विद्यालय लगि आफू सँगै घर फर्काउन सकिने, धेरै विद्यार्थी तथा अभिभावकहरूसँग घुलमिल, चिनजान हुन सकिने, आफ्नो घर परिवार, छोराछोरी, समुदायमा पनि प्रशस्त समय दिन सकिने आदि जस्ता कारणले शिक्षण पेशा मेरो रोजाइको पेशा बनेको थियो।
पेशागत सुरक्षा, शिक्षक अस्पतालको व्यवस्था, तलब भत्ता तथा ग्रेडमा निजामती सरह सुविधा राज्यले दिन सके शिक्षक जत्तिको सम्मानित पेशा समाजमा अरू कुनै हुनै सक्दैन जस्तो लाग्छ।
माध्यमिक तहको स्थायी जागिर छाडी निजामतीको खरिदार सेवाको जागिर रोज्न चाहने अहिलेको परिवेशमा सक्षम युवा पिँढीलाई शिक्षा क्षेत्रमा आकर्षित गर्न अहिलेको शिक्षा ऐन संशोधन गर्दा निजामती सेवा बराबरको सेवा सुविधा शिक्षा क्षेत्रमा नै दिनु सके देशको भविष्यको कर्णधार उत्पादन गर्ने शिक्षा क्षेत्र सबैको रोजाइको पेशा बन्ने थियो।
शिक्षा क्षेत्र सुधार गर्न कि शिक्षक सेवा आयोगलाई एउटा संवैधानिक अङ्ग बनाएर कसैले हस्तक्षेप गर्न नसक्ने गरी एउटा स्वचालित अङ्गको रूपमा विकास गर्नुपर्छ कि शिक्षा क्षेत्रको नीति नियम बनाउने जिम्मा यसैलाई दिनुपर्छ कि शिक्षक सेवा आयोग हटाएर लोक सेवा आयोगले नै सबै जिम्मा लिनुपर्छ।
केही कमजोर शिक्षकहरू राजनीतिक आस्थाको आधारमा भर्ना गरिदिनाले, विद्यालय राजनीति गर्ने थलोको रूपमा सोच्नले शिक्षा जस्तो गरिमामय क्षेत्रतिर हेर्ने दृष्टिकोण झनै नराम्रो भएको हो।
वर्षैपिच्छे सरूवा हुँदा घर परिवारको स्थायित्व नभएको, बालबच्चालाई पर्याप्त समय दिन नसकिने हुँदा छोराछोरी नै बिग्रिएको, कोही कर्मचारीले राम्रो कार्यालय परी अवैधानिक तवरले दायाँ बायाँ गरी हो धेरै कमाउने, नत्र उस्तै उस्तै हो कमाइको हिसाबले घरपायक हुने भए त, बरू शिक्षक पेशा नै ठीक छ भनी निजामतीको जागिर खाने साथीहरूले भनेको नसुनेको पनि होइन।
धन, मानसम्मान भन्दा पनि सबैभन्दा ठूलो कुरा आत्मसन्तुष्टि हो जस्तो लाग्छ। जुन पेशामा आबद्ध भए पनि, त्यसमा सन्तोष लिन सक्नुपर्छ। त्यसबाट आनन्द प्राप्त गर्न सक्नुपर्छ।
समाजका प्रतिष्ठित मानिएका डाक्टर, इन्जिनियर पेशामा आबद्ध मानिस पनि घर परिवारलाई समय दिन नपाएर,आफ्नो लागि आराम, मनोरञ्जनको समय निकाल्न नसकेर, पढ्दा खेरीको दुःख, मेहनत अनुसारको कमाइ नभएको कारणले डिप्रेसनको सिकार भएका उदाहरणहरू पनि छन्। सबै पेसाको सकारात्मक र नकारात्मक दुवै पक्ष छन्। समाजमा सबै पेशा आफ्नो ठाउँमा महत्त्वपूर्ण छन्। मानिसलाई कति कमाएर पुग्ने नपुग्ने भन्ने केही लेखाजोखा छैन।
आफ्ना ठूला ठूला रहरहरू पूरा गर्न नसके ता पनि सीमित आधारभूत आवश्यकताहरू पूरा गर्न शिक्षकको जागिरले पनि पुग्छ।
बाँकी जीवन शिक्षक नै बनी यी अबोध बालबालिकाको समुज्जल भविष्य बनाउन हर प्रयत्न गर्ने प्रण गर्दै हजुरको छोरीलाई निजामती जागिरे बनाउने इच्छा पूरा गराउन नसकेकोमा माफी माग्दछु।
आफ्नो सानैदेखिको जीवनभर एक असल, कर्तव्यनिष्ठ शिक्षक बन्ने रहर, लक्ष्य भएको हुँदा, त्यसैले म शिक्षक नै बन्न चाहे बुवा! त्यसैले म शिक्षक नै बन्न चाहे बुवा!!