थकित शरीर र बोझिलो मनको भारी बिसाउन करिब ४ बजेतिर पशुपतिनाथ मन्दिर परिसर पुगेको थिएँ। साँझको आरती हेर्न ठाउँ ओगट्ने केही जमात त थिए, तर आज खासै भीड थिएन।
खोला पारिको खुड्किलो उक्लिएर सुनसान परेको एउटा भर्याङमा झोला अड्याएँ।
पानी परेर खुलेको आकाश, बहिरहेको शितल बतास र पारी पशुपतिनाथको मूल मन्दिर।
वाह! कति मनमोहक दृश्य।
मोबाइल झिकेर एउटा फोटो खिचें। पारी मन्दिरको ढोका नछिरेको पनि थुप्रै भएछ। केलाई जानु र त्यहाँ?
बिन्तीढोग, रूवाबासी, पाठपूजापछि पनि नउक्सिएको जीवनको गति देखेर मन मरेको थियो।
आज पनि उही पुरानो संर्घषरत यात्राबाट थाकेर आएको छु। नातेदार, इष्टमित्रले दिएको असफलताको माला पहिरिएर आएको छु।
केही सम्बन्धहरू उदेकलाग्दो भए पनि कति अन्तरनिहित हुन्छन् है।
पशुपति क्षेत्र र मेरो सम्बन्ध मलाई त्यस्तै लाग्थ्यो। त्यो बगिरहेको बागमतीमा म आफ्नो उमेर देख्थें। दागबत्ति दिएको शरीरमा जलिरहेको भविष्य देख्थें। उडिरहेको धुवाँमा सपना र रहर भेट्थें। त्यो परिवारको रोदनमा मेरो भित्री आत्माको चित्कार सुन्थें।
मन मस्तिष्कमा यिनै अनेकौं भावनाका छालहरू छचल्किँदै गर्दा एक जना बुढीआमाको आवाजले झसंग भएँ।
‘ए नानी, माथि तान त मलाई’
हस्याङ्फस्याङ् गर्दै एक हातले लत्रिएको रामनामको सल उचाल्दै र अर्को हात मतिर तेर्स्याउँदै गरेको आमैलाई सकीनसकी माथि तानें।
लामो सास फेरेर ‘धन्यवाद’ भन्दै मेरै छेउमा बस्नुभयो र मोबाइल निकालेर फोन लाइदिन आग्रह गर्नुभयो। त्यसै गरें। मलाई उहाँ त्यहाँ आएर बसेको पटक्कै मन परेको थिएन।
कस्तो शान्त माहोलमा आरामले बसेको थिएँ। एकचित्त परेको ध्यानमग्न मुद्रा बिथोलिएको महसुस भयो। त्यस्तो बुढापाका नरूचाउने स्वभावको मान्छे त होइन म,तर आजकल सकेसम्म टाढिन खोज्थें। अवस्था यस्तो थियो कि व्यक्तिगत जीवनबारे चासो र अर्तिउपदेशबाट तर्किन प्रयास गर्थें।
‘फोन उठेन नानी’ प्रेरणा लेखेको नम्बरमा फोन लाइदेउ त’ मोबाइल अघि सार्दै भन्नुभयो ‘छोरो कतै व्यस्त जस्तो छ, बुहारीलाई गर्नुपर्यो’ नम्बर थिच्दै गर्दा बल्ल पो ख्याल गरें वान प्लस प्रो पो रहेछ।
हातको आफ्नो थोत्रो मोबाइल सुटुक्क झोलामा हालें। देखाउन पनि लाज लाग्यो। अक्सर यस्तो त साथीभाइसँग घुम्न जाँदा मात्र हुन्थ्यो।
फोनमा गफिँदै गरेको आमैलाई एकपटक राम्रैसँग नियालें। चाउरी परे पनि गोरो चम्किलो मुहार, पहेँलो रङको हरे राम लेखिएको सल, चिटिक्कको खैरो रङको कुर्था सुरूवाल, खुट्टामा एडिडासको सेतोमा कालो मिसिएको हेर्दै सजिला जुत्ता, हेर्दै धनी।
शिरदेखि पाउसम्म हेर्दै जाँदा मेरो नजर उहाँको पुरानो स्वेटरमा अडियो।
कालो रङको,कतै धागो फुस्केको त कतै टालेको भुवा निस्केको ऊनको स्वेटर। धनाढ्य स्वरूपमा कालो दाग लागेजस्तै देखिएको थियो त्यो स्वेटरले। त्यो स्वेटर पछिको रहस्य जान्ने उत्सुकता जागेर आयो। सिधै थोत्रो स्वेटर किन लगाउनु भएको भनेर सोध्न पनि त भएन।
‘कहाँबाट आउनुभको आमा?’ चिनजान गर्ने सजिला तीन शब्दबाट सुरू गरें।
‘यही नजिकै हो नानी, बागेश्वरी पछाडि जेठो छोरोको घर छ। बुढी भइयो, सुगर प्रेसरको बिमार लाछ, डासापले दिनकै हिँड्न भन्या छन्। नसक्दा त्यहीँ सिफल चौरतिर पुग्छु, सक्दा यही आउन मन लाग्छ।’
एक प्रश्नबाट ६ थरी कुरा जानिने। बुढापाका मान्छेसँग बोल्न यही कारण पनि सहज हुन्छ। यही ठाउँमा कुनै युवा साथी भएको भए चिनेकै भए पनि म्यासेज गर्नु पर्थ्यो होला, कानको इयरबड हटाएर कुरा गर्न। ‘अनि आमा, एक्लै हिँड्नु हुन्छ सधैं?’ एकछिन गफिन खोजें।
‘कहिलेकाहीँ स्कुल बिदा हुँदा नातिनातिनापछि लाएर आउँछन्। छोरा बुहारी भ्याउनन्। ६ बजेतिर बल्ल अफिसबाट आइपुग्छिन् बुहारी। बिचरी पकाइदेको चिया पनि आरामले बसेर खान नभ्याउँदै बाबु नानी पढाउने, खाना खाने बेला भइहाल्छ। बिहान उस्तै हतार। नातिनातिना पनि पढ्न जान परिहाल्यो।’
आमाले हिँड्ने साथीको प्रसंगमा बुहारीको व्यस्तता पोख्नुभयो। प्राय: यति धेरै बयान आमाहरूले आफ्नो छोराको गर्ने गरेको सुनेको थिएँ। यहाँ बुहारीको सुन्दा आमाछोरा बीचको सम्बन्धमा मनमनै शंका गर्दै सोधें, ‘अनि हजुरको छोरा के गर्नुहुन्छ नि?’ सोधिसके पछि महसुस भयो, अलिक व्यक्तिगत प्रश्न पो सोधे कि! तर उहाँले अप्ठ्यारो नमानी उत्तर दिनुभयो।
‘दुई भाइ छोरा हुन् केरे। जेठो इञ्जिनियर हो सरकारी जागिर खाछ, कान्छो डाक्टर पढ्न विदेश गाको उतै छन् परिवारै।’
म जुन सफलता र सुखको सपना देख्छु त्यो उहाँको परिवारको विपना थियो। राजधानीको केन्द्रमै आरामदायी घर, मीठो खान र राम्रो लाउन पुग्ने सम्पत्ति अनि एक प्रतिष्ठित र मर्यादित जीवनशैली, योबाहेक के चाहियो र जिन्दगीबाट? केहीबेरको मौनतापछि अर्को जिज्ञासा पोखें।
‘अनि हजुर पनि जानुभको छ कान्छो छोरो बस्नी देश?'
विरक्त लाग्दो आवाजसित भन्नुभयो 'गकी हुम नानी दुई चोटी, यही बस्नुस् आमा हामीसगैं भन्थ्यो कान्छाले। यही काठमाडौं त का हो का आएझैं लाग्छ। त्यो त झन् परदेश। ठाउँ पनि बिरानो, मान्छे झनै बिराना। यसो बाहिर निस्केर कसैसँग बोल्न हाँस्न नि छैन।'
एक त अन्जान ठाँउ त्यसमाथि प्रविधिमय संसार, हरकोहीलाई घुलमिल हुन गाह्रै हुन्छ। तर काठमाडौं पनि बिरानो मानेको बुझेपछि उहाँको रहर सोध्न मन लाग्यो,
'अनि आमालाई चाहिँ कहाँ बस्न मन छ नि?'
अधुरो चाहनाको भाव मिश्रित स्वरमा भन्नुभयो, 'मलाई त यता च्याट्टै छोडेर उतै आफ्नै गाउँको घर बस्न मन छ नि। भन्या नि हो जेठालाई, म घरै बस्छु बाबु, तिमीहरू छुट्टी मिलाएर कहिलेकाहीँ आए हुन्छ। सक्छु बस्न भन्या। मान्दैन।
‘लाज हुन्छ आमा, इष्टमित्रले थुक्छन् मलाई, एउटी भकी बुढीआमा नि सँगै राखेर पाल्न सकिनस् भन्छन्। हामीले माया गर्या छैनौ र हजुरलाई? केही सुर्धानु परे भन्नु आमा, हजुर जसरी भन्नु हुन्छ, जे भन्नु हुन्छ मान्छौं, तर गाउँ जाने कुरा नगर्नु’ भन्छ।'
हुन त आफ्नो भोगाइ आफैंलाई मात्र थाहा हुन्छ ता पनि यहाँ छोरोको भनाइ सकरात्मक लाग्यो। त्यसैमा थपे, 'कुरा ठीक त हो नि, आमा। सँगै बसेपछि बिरामी भको नि थाहा हुन्छ। त्यसैअनुसार स्याहारसुसार गर्न पनि पाइयो। के भयो र आमा? कि बुहारीसँग कुरा मिल्दैन?'
दुई हात हल्लाउँदै भन्नुभयो, 'होइन होइन नानी मेरी बुहारी त गाई झैं सोझी छे। छोरीले झैं माया गर्छे। म अफिस जाँदा नानीबाबुले दु:ख दिएजस्तो छ आमालाई, म घरैबाट गर्न मिल्ने काम खोज्छु, त्यसो हो भने भन्छे, ती नातिनातिना बरा दिनभर स्कुलमै हुन्छन। घरको काम गर्न मान्छे राख्या छन्। मलाई के दु:ख हुनि हो र'
मनमनै सोचें, आजको जमानामा यति माया गर्ने छोराबुहारी हुनु त भाग्यको कुरा हो नि र पनि यी बुढीआमैलाई कति नपुगेको? मातेकी आमै रैछिन क्या हो? कि एकलकाटे हुन्? यिनै शंकाको दृष्टिकोणले फेरि नियालें। एकछिन अघि राम्री र मायालाग्दो लागेको त्यो रूप अहिलेको हेराइमा खासै मन परेन।
'अनि समस्या चाहिँ के भयो आमा? यति धेरै माया गर्नी परिवार रैछ। अस्पतालदेखि लिएर सबै सुविधा यही छ। किन जानुपर्यो र गाउँ? के हुन्छ र यही सबैसँग काठमाडौं नै बसे?'
मुटुमा कसेर राखेको असह्य पीडादायक सम्झनाहरुको गाँठो खुकुलो पारिदिएको भावमा भक्कानिँदै बोल्नुभयो, 'मेरो खुसी लुटेको सहर हो नानी यो त। जेठाका बाको कति ठूलो रहर थियो, राजधानी घुम्ने, पशुपति दर्शन गर्ने। सबलाई भन्थे जीवनमा एक पटक पनि पशुपति दर्शन नगर्ने मान्छे स्वर्ग पुग्दैन। खानलाउन पुर्याउँदा पुर्याउँदै छोराहरूको पढाइ खर्च जुटाउँदै जिन्दगी सकिएको पत्तै पाइएन।'
आमा बोल्दाबोल्दै रोकिनुभयो। सायद मुटुमा दबिएको पीडा उम्लिएर घाँटीसम्म आइपुगेको हुँदो हो।
केहीबेर पछि सोधें, 'अनि बुवा गाउँमै बित्नुभयो? के भएर?'
'मुटुको रोग रैछ। एक्कासि ढलेर हेल्थ पोस्ट लगेको जिल्ला पठायो। जिल्लाले या हुन्न भनेर काठमाडौं पठायो। या ल्याउँदासम्म सास थियो नानी। गाडीबाट झार्दा पनि, 'काठमाडौ आइयो?' भन्दै सासले सोधेको याद छ मलाई। तर अस्पतालले ढिलो गर्नुभो ल्याउन भन्यो।'
यति भन्दासम्म आमाको आँखामा छचल्किएको आँसु भुइँमा झरे।
'मेरो सिउँदो खोस्ने ठाउँमा बस्न फिटिक्कै मन छैन नानी मलाई। आउन त आए नि मेरा बुढा काठमाडौं, तर त्यो अर्धबेहोसमा रहर पूरा भएको के मतलब?'
एउटा हातले दाहिने आँखाको आँसु पुछ्दै र अर्को हात घाटतिर देखाउँदै भन्नुभयो, 'हो त्या जलाका हुन्, त्या राखेको सेतो कपडामा जस्को लासमा पनि बुढाकै अनुहार देख्छु। एकछिन भए नि सँगै भएझैं ठान्छु। पशुपतिको दर्शन गर्न सासै छोड्नुपर्ने भाग्य सम्झेर रून्छु।'
'जे हुनु भैसक्यो आमा अब आफूलाई सम्हाल्नुपर्छ। नरूनू' आफ्नो मान्छे गुमाउँदाको पीडा कम गर्ने कुनै शब्द हुँदैनन्। जति भावुक शब्द प्रयोग गरे पनि त्यो ब्यर्थ हो भन्ने बुझेर होला सायद यस्तो अवस्थामा सान्त्वना दिन खासै मेसो पाउँदिनँ थिए म।
दुई हातले आँखा मिच्दै भन्नुभयो, 'यता बस्यो सबै काममा व्यस्त हुन्छन्। बोल्ने, हाँस्ने गफ गर्ने साथी हुँदैनन्। एक्लै बस्दा खाली पुरानै कुरा सम्झिन्छु। त्यसैले बरू गाउँ जान्छु भन्या नानी। कमसेकम त्या वल्लो घर पल्लो घर बोल्छन्, आमा भन्दै बोलाउँछन्, साथीसंगी छन्, बारीमै कुटो खने पनि समय बित्छ। छोराहरूको बालापन, बुढा र मैले दु:खसुखले बनाको घर समाज सबै गाउँमै छ। यहाँ त के छ र नानी उहाँ सँगको सम्झिन मन लाग्ने?'
यत्तिकैमा फोनको घण्टी बज्यो, उहाँको छोरोको फोन रैछ।
'अ बाबु आइस्? म पशुपतितिर आथें अब आउँछु म पनि ल' भन्दै फोन काट्नुभयो।
'ल त नानी लागें है म त घरतिर। बोलेर खुसी लाग्यो। अचेलका केटाकेटी तर्किन्छन् हामीसँग। तिमी मजाकी रैछौ।'
अझै एकछिन बसिदिए हुन्थ्यो जस्तो लागेको थियो तर साँझको बेला रोकिनँ।
'हस् आमा, फेरि भेटौंला' दुई हात जोडेर बिदा गरें।
'आशीर्वाद भाग्यमानी भए।' भन्दै बिदा हुनुभयो।
आँखाले भ्याउन्जेल हेरिरहन मन लाग्यो। मेरो नाम, थर, ठेगाना केही नसोधी एक अपरिचित आफ्नोपना कायम गरेर जानुभयो। केहीबेर अघि छेउमा नआइदिए हुन्थ्यो जस्तो लागेको मन अहिले छुट्टिन मानिरहेको थिएन। बिना कुनै अर्तिउपदेश जीवनको अमूल्य पाठ सिकाएर जानुभयो। के रहेछ र जिन्दगी? सुखको खोजीमा दौडिँदा दौडिँदै आफ्नाहरू छुटेको थाहै हुँदो रहेनछ। आफ्नोपना बिना त सफलताको अनुभूति पनि फिक्का लाग्दो रहेछ। रहर र सपनाले थिचिएर बाँच्नुभन्दा त जे छ त्यसैमा परिवारसँग रमाउनु बेस। समय र भाग्य त आफैं फेरिँदै जाँदो रहेछ। हाम्रो हातमा त केबल परिश्रम रहेछ। नतिजा कहिले, कहाँ र कुन अवस्थामा प्राप्त हुने हो निश्चित रहेनछ। देख्नेलाई कति सम्पन्न लाग्छ आमाको जीवन, आमालाई कति उजाड लाग्छ त्यही जीवन।
आमाले लगाएको कालो स्वेटरको रहस्यले उहाँको जीवनमा घटेको कालो दिन र त्यसले गरेको कहालीलाग्दो असर सुनियो। झसंग भए, बल्ल पो सम्झिएँ, उत्सुकताको पहिलो तिर्खा त मेटाउनै बिर्सेछु।
तीन चार खुड्किला तल पुगेको आमालाई अलिक ठूलो स्वरमा सोधें
'आमा यो स्वेटर बुवाले किन्दिनुभको हो?'
आमा मुसुक्क हास्दै भन्नुभो 'हो नानी'।