गत साता चीनको जुहाइ सिटीमा रहेको जुहाइ इन्टरनेसनल सर्किटमा हुने कार्यक्रममा सहभागिता जनाउन त्यसतर्फ प्रस्थान गरेको थिएँ।
एसियाका एक दर्जनभन्दा बढी देश घुमिसकेको भए पनि छिमेकी देश चीन जाने अवसर भने अहिलेसम्म जुरेको थिएन।
जुहाइ इन्टरनेसनल सर्किट भन्ने बित्तिकै म निकै उत्साहित थिएँ।
जुहाइ इन्टरनेसनल सर्किट भनेको एसियाका मोटर स्पोर्ट्स गेमहरू हुने पहिलो रोजाइको स्थान हो।
त्यहाँ गएर रेससम्बन्धी सिक्ने र सिकेको अनुभव उर्तानका लागि निकै उत्साहित थिएँ। टोलीमा नेपालका केही साथीहरू पनि सहभागी थिए।
विदेशमा रेसिङ प्रतियोगिता कसरी हुन्छ? भनेर सिक्ने र त्यहाँ गाडी कसरी चलाउने भनेर मनमा डरमिश्रित खुलदुलीसहित गत शनिबार बिहान चीनको ग्वाङझाउमा ओर्लिए। त्यसपछि त्यहाँबाट १ सय ३२ किलोमिटर टाढा रहेको स्थान जुहाइ जान हामीले बस समात्यौं। चिल्ला सडक त्यसमा झन् हरियाली, ठूला ठूला बिल्डिङ हेर्दै करिब २ घन्टापछि हामी जुहाइ पुग्यौं। जुहाइ मकाउ र हङकङको सीमा अवस्थित रहेछ।
म बसेको होटलबाट बायाँ हेर्दा मकाउ देखिन्थ्यो भने बायाँ हेर्दा हङकङ।
आइतबार जुहाइ इन्टरनेसनल सर्किटमा बिहानदेखि बेलुकासम्म गाडी चलाउने कार्यक्रम थियो। सुरूमा हामीलाई सर्किटमा कसरी गाडी चलाउने भनेर सिकाइयो। सिकाउने क्रममा पछाडि यात्रु राख्न पाइन्थ्यो भने अगाडि तालिम प्राप्त चालक पनि बस्थे।
सिकाइपछि हामी एक्लैले त्यो सर्किटमा गाडी कुदाउनु पर्थ्यो। न त पछाडि साथीहरू चढाउन पाइन्थ्यो र न चालक नै बस्थे। सिकाउने क्रममा हामीले ४ किलोमिटरलाई आधा आधा गरेर चलाउनु पर्थ्यो। सुरूमा २ किमी हाँकिसकेपछि फेरि २ किलोमिटरमा गाडी दौडाउन पाइथ्यो। जुहाइ इन्टरनेसनल सर्किटको दूरी भनेको ४ दशमलव ३ किमी रहेछ। त्यसमा पनि १६ वटा कर्नर।
मुस्किलले ९ वटा राइट टर्न गर्न मिल्ने र ५ वटा लेफ्ट टर्न। जुहाइ इन्टरनेसनल सर्किटमा कुदाउन हामीलाई बिवाइडीले भर्खर बजारमा ल्याएको 'सिल गाडी' दिएको थियो। जुन गाडी नेपालमा सार्वजनिक भएको छैन। चीन लगायतका केही देशमा मात्र सार्वजनिक भएको सिल गाडी स्पोर्टी गाडी हो। बिवाइडी सिल ओसियन एक्स डिजाइनमा बनाइएको गाडी रहेछ।
स्पोर्टी गोल्डेन रेसियो बडीमा आधारित सिल गाडीमा डब्बल यु फ्लोटिङ हेडलाइट थियो। वाउन्डलेस एलइडी टेल ल्याम्पले गाडीलाई निकै आकर्षित बनाएको थियो। गाडीको बाहिरी डिजाइन मात्र होइन भित्रको डिजाइन पनि धेरै लक्जरियस थियो। बिवाइडी सिल सेल टु बडी टेक्नोलोजी, हाइ पर्फमेन्स इलेक्ट्रिकम मोटर ३९० किलोवाट बनेको कारण यसको पर्फमेन्स निकै उच्च थियो।
पावर फूल गाडीका बारेमा जानकारी पाएपछि सो गाडी सर्किटमा कुदाउन मलाई केही सजिलो भयो। हामीलाई दिनभर गाडी कुदाउन सिकाएपछि फुल सर्किटमा गाडी कुदाउनु पर्थ्यो।
केही गरे दुर्घटना भए चोटपटक बच्न हामीलाई हेल्मेट लगाउन दिइएको थियो। म सहभागी रेसमा ५ वटा बिवाइडीको सिल थियो। मैले रेसमा १ सय ६७ किलोमिटर स्पीड मात्र कुदाउन सकें।
मेरा अगाडिका साथीहरूले १ सय ९० किलोमिटरसम्म दौडाएका थिए। कार्यक्रममा नेपालबाट हामी मात्र थिएनौं। साउथ एसियाका १० वटाभन्दा बढी देशका मानिसहरू सहभागी थिए। सर्किटमा रेस सकिएपछि जिकज्याकमा फेरि गाडी कुदाउनु पर्थ्यो। जुन सहज थिएन, एक दुई पटकको सिकाइपछि मैले जिकज्याकमा पनि राम्रोसँग गाडी कुदाएँ, जुन देखेर कार्यक्रममा सहभागी भएकाहरूले तारिफ गरेका थिए।
सधैं समाचार र युट्युबमा मात्र देखिएको जुहाइ इन्टरनेसनल सर्किटमा गाडी कुदाउन पाउँदा म निकै खुसी भएँ। सर्किटमा गाडी चलाउनु मात्र होइन ड्राइभिङसम्बन्धी धेरै ज्ञान सिक्ने अवसर पनि पाएँ। मलाई त्यो जुहाइ इन्टरनेसनल सर्किट एउटा विश्वविद्यालयभन्दा कम्तीको लागेन।
कार्यक्रममा सहभागी भएपछि हामी सेनजेनमा रहेको बिवाइडी हेडक्वाटर घुम्ने मौका मिल्यो। जहाँ सन् १९९५ देखि २०२३ सम्म बिवाइडीले गरेका प्रगतिहरूका बारेमा जानकारी दिइएको थियो।
संसारमा नै इलेक्ट्रिक गाडी उत्पादनमा अगाडि रहेको बिवाइडीले चीनमा मेट्रो र इलेक्ट्रिक बस बनाएर सबैको मन जित्न सफल भइसकेको रहेछ। अन्य इभी गाडीहरूको तुलनामा बिवाइडीले बनाएको ब्याट्री कत्तिको सुरक्षित र टिक्छ भनेर समेत देखाइएको थियो।