घाना आम नेपालीका लागि कुनै सरोकार र चासो नभएको देश हो। घानासँग न हाम्रो कूटनीतिक सम्बन्ध छ न व्यापार।
अन्तर्राष्ट्रिय मन्चमा पनि उसको खासै महत्व र चर्चा छैन। यसो भए पनि यो अफ्रिकी देशको आफ्नै इतिहास र महत्व छ। हामीलाई यसका बारेमा थाहा पाउन आवश्यक नहुन सक्छ तर थाहा पाइराख्नु राम्रो हुनेछ भन्ने मलाई लाग्छ।
सामान्यतया अफ्रिका भनेपछि कालो वर्णका मानिसको बसोबास रहेको; सुख्खा, भोकमरी, अभाव, गरिबी तथा द्वन्द्वले ग्रस्त महादेश भन्ने धारणा हाम्रो मानसपटलमा स्वतः उपस्थित हुन्छ।
मलाई घाना पनि त्यस्तैमध्येको होला भन्ने लाग्थ्यो। अफ्रिकी महादेशको पूर्वतर्फका प्रायः देशहरू यस्तै छन्।
घाना अफ्रिकी महादेशको पश्चिमी तटमा अवस्थित देश हो। तुलनात्मक रूपमा यहाँ पूर्वी भेगका देशहरूमा भन्दा बढी पानी पर्छ। घना आन्ध्र महासागरीय समुद्री तटमा छ। यहाँ पर्याप्त जंगल र हरियाली छ। पर्याप्त खेतीपाती पनि हुँदो रहेछ।
घानेली बुद्धिजीवीहरू आफ्नो देशलाई अफ्रिका महादेशभरिमा बौद्धिक तथा कूटनीतिक जनशक्ति उत्पादन गर्ने देशका रूपमा गर्व गर्दा रहेछन्।
यो गर्व पुष्टि गर्ने सबैभन्दा गतिलो उदाहरण कोफी अनान हुन् जो सन् १९९७ देखि २००६ सम्म नौ वर्ष संयुक्त राष्ट्र संघका महासचिव रहे। महासचिवका रूपमा उनले विश्व संस्थालाई गतिलो र सम्झनलायक नेतृत्व दिए। घानाले उनको मृत्युमा तीन दिन राष्ट्रिय शोक मनायो।
घानेलीहरूको बौद्धिकता अफ्रिका महादेशभरि नै सम्मानित रहेछ। पूर्वी अफ्रिकाको देश केन्याका एकजना न्यायाधीश घानेली नागरिक रहेछन्।
यो कुरा सुनेर अचम्म लाग्यो, एउटा देशको नागरिक अर्को देशको न्यायाधीश!
घानेली भएकै कारणले अर्को देशको न्यायाधीश हुन सम्भव भएको हो भन्ने कुरा उनीहरूले गरे।
मैले भेटेर कुरा गरेका घानेलीहरूले घानाका बौद्धिक व्यक्तिहरू अफ्रिकाभरि छरिएका छन् भनेर गौरव गरे।
नेपालीका लागि घाना जान नेपालस्थिति बेलायती दूतावासले भिसा जारी गर्दो रहेछ।
घाना जाने क्रमम मैले जीवनमा पहिलोपटक जम्बोजेट चढेर लन्डन पुग्ने मौका पाएँ। ब्रिटिस एयरवेजले नेपालसँग कहिल्यै सिधा उडान गरेको छैन। उता लन्डनको ग्याटविक विमानस्थलबाट घानाको राजधानी आक्रासम्म सिधा नियमित उडान गर्दो रहेछ।
सन् १९५७ मा स्वतन्त्र भएको घानालाई संसारसँग जोड्ने माध्यम अझै पनि बेलायत रहेछ। सामान्यतया एयरपोर्टको ट्रान्जिटमा यात्रुहरूको सामान जाँचिदैन। दिल्ली एयरपोर्टमा एक जना भारतीय कर्मचारी आएर मेरो पासपोर्ट र भिसा हेर्न मागे। म नेपाली हुँ भन्ने थाहा पाएपछि उनले मेरो लगेज र हाते झोला खोल्न लगाएर जाँचे। वाकीटकीमा केही कुरा गरेर आफ्नो बाटो लागे।
बंगलादेशको ढाकाबाट दिल्ली हुँदै उड्ने दुई तले जम्बोजेट लन्डनको हिथ्रो पुग्यो। हाम्रो उडान अर्को विमानस्थल ग्याटविकबाट हुने भएको हुँदा हिथ्रोबाट ग्याटविक (तत्कालीन शाही नेपाल वायुसेवा निगमको उडान काठमाडौंबाट सिधा यहीँसम्म हुन्थ्यो) पुग्न बसमा करिब घण्टा लाग्दो रहेछ। हिथ्रो एयरपोर्टबाट त्यहाँसम्म यात्रु पुर्याउन निःशुल्क सटल बस सेवा उपलब्ध थियो।
आक्रा विमानस्थलमा ओर्लेपछि त्यहाँको भन्सारमा मैले फेरि आफ्नो सुटकेस खोल्नुपर्ने भयो तर सुटकेसको साँचो भेटिनँ। मेरो सुटकेस फुटाउने भए भन्ने सोचेर म यसै आत्तिएँ।
मेरो सुटकेस हेर्न चाहने भन्सार अधिकृत महिला थिइन्। साँचो नभेटिएपछि के सोचिन् कुन्नि, सुटकेसमा चकले एउटा चिह्न लगाएर छाडिदिइन्।
त्यहाँबाट त मुक्ति मिल्यो तर सुटकेस कसरी खोल्ने भन्ने चिन्ताले सताइरह्यो।
सुटकेमा कपडाको खोल लगाएको थिएँ। होटल पुगेर हेर्दा त साँचो सुटकेसमै रहेछ। पछि सम्झेँ, दिल्ली एयरपोर्टमा भारतीय अधिकारीले खोल्न लगाएपछि मैले साँचो झिक्नै बिर्सेको रहेछु!
घानाबाट दासहरूको अन्तर्राष्ट्रिय व्यापार हुने गरेको इतिहास रहेछ। त्यहाँ बेलायती दासव्यापारीहरूले अफ्रिकी आदिवासीहरूलाई वस्तुसरह किनबेच गर्ने गरेका रहेछन्। युरोप र अमेरिकामा दासहरूको माग धेरै थियो। त्यतै बेच्ने रहेछन्।
दासहरूको व्यापार राम्रो हुने देखेरै बेलायतीहरूले घानालाई उपनिवेश बनाएका रहेछन्। राजधानी आक्राको केपकोस्ट क्यासल त्यहाँको प्रसिद्ध बन्दरगाह रहेछ। दास भएर घानाबाट विभिन्न देशमा पुगेका परिवारका सन्ततिहरूका लागि ‘केपकोस्ट क्यासल’ पर्यटकीय स्थल बनेको रहेछ।
अर्को बन्दरगाह इलिमा क्यासल समेतबाट गरेर घानाबाट १४८२ देखि १७८६ दासहरू अन्य मुलुकमा पठाइने गरेका रहेछन्। कहिले त वर्षको एक लाख जनासम्म पठाइएका रहेछन्। सन् २०१२ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि ती बन्दरगाह अवलोकन गरेको भन्ने समाचार आएको थियो।
म एउटा अन्तर्राष्ट्रिय संस्थाको कामको सिलसिलामा घाना पुगेको थिएँ। सो संस्थाले स्थानीय ग्रामीण विकासमा सघाएको थियो। हामी राजधानी आक्राबाट भित्री भागमा पर्ने तमले भन्ने गाउँमा पुगेका थियौं। त्यहाँ पुग्न डोमेस्टिक (आन्तरिक) उडानको जहाज चढ्नुपर्ने थियो, जहाज थियो १८ सिटको।
त्यस्तो जहाज चढ्नु सामान्य भए पनि उडान गर्ने संस्था त्यहाँको सेना थियो। नागरिक उड्डयनमा सेना!
लाग्नसम्म अचम्म लाग्यो। जहाजमा सेनाका एक जना वरिष्ठ अधिकारी पनि सवार थिए।
सैनिक पोसाक लगाएका एक जना स्टेवार्ड जहाजमा हलुका पेय र चकलेट बेच्दै थिए। यात्रुलाई निःशुल्क वितरण थिएन।
ती सैनिक अधिकारीले चकलेट किनेर हाम्रो टिमका एक जनालाई दिए। घानामा आन्तरिक उड्डयनमा सेना पनि संलग्न रहेछ भन्ने थाहा भयो।
नेपाली सेनासँग पनि जहाज र हेलिकप्टर छन्। घानामा सेनाले जहाज चलाएको देखेपछि नेपालमा पनि चलाए हुने जस्तो लाग्यो। नागरिक उड्डयनमा सेना संलग्न हुन नहुने खास कारण पनि छैन। सेनाले व्यावसायिक काम गरेकै छ।
घानाको सेना नागरिक उड्डयनमा किन संलग्न छ भन्ने चासो भयो। कुरा बुझ्दा आन्तरिक उडानमा पर्याप्त सेवा नपुगेको हुनाले सेनाले व्यावसायिक रूपमा सेवा गरेको गरेको रहेछ।
नेपालमा पनि नियमित उडान हुन अत्यावश्यक तर हुन नसेकका ठाउँहरूमा सेनाले न्यूनतम भाडामा व्यावसायिक उडान गरे राम्रै हुन्छ जस्तो लाग्यो। यसो हुने हो भने धेरैले हवाई यात्राको सुविधा पाउने छन्।
एयरपोर्टबाट ओर्लेर तमलेको ग्रामीण भेगमा पुग्न बेलायतीहरूले नै उत्पादन गरेको ल्यान्डरोभर जिप खडा थियो। बाटो पूरै धुले थियो तर चालकले ९० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाए। धुले भए पनि सडक टप्प मिलेको थियो।
त्यहाँको ग्रामीण जीवन देख्दा अचम्म लाग्यो। खास गरी त्यहाँ सहरमा जस्तै ठाउँठाउँमा क्लबहरू थिए जहाँ गीतको तालमा युवायुवतीहरू रमाइरहेका देखिन्थे। उनीहरूको आफ्नै संस्कार हो कि बेलायतीहरूले सिकाएका हुन्, यौनका हिसाबले पनि पूरै स्वतन्त्रजस्ता देखिन्थे।
बेलायतीहरू जहाँ पुगे त्यहाँ भारतीयहरू पनि पुगे। घाना अपवाद हुने कुरा भएन। राजधानी आक्रामा पनि ठूलो संख्यामा भारतीयहरूको बसोवास रहेछ। त्यहाँको व्यापार–व्यवसायमा भारतीयको उपस्थिति निकै बलियो छ भन्ने सुनियो।
भारतीयहरूसँगै भारतीय खाना पनि पुगेको रहेछ। घानेलीहरू पनि भारतीय खानामा अभ्यस्त रहेछन्। राजधानी आक्रामा होस् कि ग्रामीण क्षेत्र तमलेमा, हामीलाई खाना नौलो भएन।
आकार र प्रवृत्तिमा घाना र नेपालको सामिप्य देखिन्छ। हामी हाम्रो कला, संस्कृति, वन्यजन्तु र भूगोलमा गौरव गर्छौं। बुद्ध जन्मभूमि भनेर गौरव गर्न गर्छौं तर बौद्धिक र कूटनीतिक हिसाबले गौरव गर्ने ठाउँ छैन।
पिछडिएको मानिएको अफ्रिकाको घाना भने बौद्धिक र कूटनीतिक क्षमतामा उम्दा मानिँदो रहेछ।