मार्नु र पाल्नु, पाप र पुण्य। यसमा दुई वटा शब्द सकारात्मक छ र दुई वटा शब्द नकारात्मक छन्। सिधै गणित गर्दा यस शब्दले मारे पाप लाग्छ र पाले पुण्य कमाइन्छ भन्छ। यो वाक्य हामीले सानैदेखि सुन्दै आएका पनि छौं।
केही चिजलाई मार्यो भने पाप लाग्छ अनि केही चिजलाई पाल्यो, हेरचाह गर्यो भने पुण्य मिल्छ। चाहे त्यो बगैंचाको कोपिला होस्, बाटोमा दुःख पाएर हिँडेको वस्तुभाउ होस् वा सडकमा रोगाएर बसेका मानिसहरू होस्। उनीहरूलाई हेला गर्दा, छि:छि दूर-दूर गर्दा, मार्दा, पार्दा पाप लाग्ने र उनीहरूप्रति प्रेम, सद्भाव, दया व्यक्त गरे पुण्य कमाउने नै संस्कार हामीले लिँदै आएका छौं।
अझ विशेष गरेर पुरूष वर्गहरूले यो शब्द आफ्नो विवाहको दिन ससुरालीको तर्फबाट सुनिरहन्छन्।
छोरीलाई कन्यादान गरिरहँदा हरेक बाउआमाले ज्वाइँलाई विवाहको दिन यही कुरा भन्नुहुन्छ– ज्वाइँ साहेब, योबाट जानी अन्जानी भुलचुक होला, माफी दिनुहोला। अबदेखि हाम्री छोरी हजुरलाई। मारे पाप, पाले पुण्य।
आमाबुवाले विवाहको दिन भावविभोर भएर ज्वाइँसामु भन्ने यो वाक्य उहाँहरूले ज्वाइँबाट लिएर एउटा वचन हो र ज्वाइँभित्र पसाएको एउटा डर पनि हो। विवाहको दिन भनिने यस्ता अन्य वाक्य र शब्दहरू अनि कन्यादान विधिमा मेरो अलग्गै विचार र आपत्ति छ। यसबारे अर्को लेखमा चर्चा गरौंला तर आज विवाहको दिन झन् सम्झाएर पठाएको ज्वाइँले गरेको घरेलु हिंसाको बारेमा लेख्दैछु।
आजभन्दा सात वर्ष अगाडिको कुरा हो।
उनी अहिले कहाँ छिन् अस्ट्रेलिया छिन् कि नेपाल फर्किइन् भन्ने केही जानकारी छैन। उनको नाम सुनिता (नाम परिवर्तन) हो। उनी हातभरी कोपरेको घाउ नै घाउको दाग, शरीर र मुखभरीको गाढाबाट फिक्का हुँदै गइरहेको नीलो डाम बोकेर उनी रुँदै मलाई भेट्न आइन्।
उनी बाहिर मलाई देख्ने बित्तिकै बरबर आँसु खसाल्न थालिन्। जब हामी मिटिङ रूममा गयौं उनी मलाई अँगालो हालेर आवाजै निकालेर ध्वाँध्वाँ नै रोइन्। उनी केही नबोली रोएको रोएै गरिन्। उनको आँसु र सिँगानले मेरो देब्रे काँध सबै भिजिसकेको थियो तर पनि उनलाई धित मरून्जेल रुन मैले काँध दिइरहेँ।
एकछिनपछि हामी कुरा गर्न थाल्यौं। गिलासभरीको पानी उनले एकै स्वासमा सबै पिइन्। गिलासको पानी रित्तियो तर आँखाको उनको आँसु रित्तिएन।
वास्तवमा उनी त्यो दिन श्रीमानले कुट्यो भनेर होइन श्रीमानलाई जेलबाट छुटाउनुपर्यो भन्न आएकी थिइन्। जेल कसरी पुग्यो श्रीमान भनेर कुरा गर्दै जाँदा बल्ल उनले आफूमाथि भएको घरेलु हिंसाको पाटोहरू एकएक गरेर खोल्न थालिन्। खासमा केही दिनअघि उनलाई उनको श्रीमानले मरणासन्न हुनेगरी कुटेको रहेछ।
सुनिताले दसैं खर्च भनेर श्रीमानलाई नसोधी आफ्नो आमाबुवालाई पठाउँदा यो सबै घटना घटेको रहेछ।
'मलाई नसोधी तैंले आफ्नो आमा बुबालाई किन पैसा पठाइस्?' भनेर उनको श्रीमानले सोधेछन्।
'मैले मेरै कमाइबाट पठाएको हो। तपाईंको पैसा चलाएको छु र? त्यहीमाथि तपाईंले हरेक महिना आफ्नो बुवाआमालाई मेरै कमाइबाट पनि पैसा पठाउँदा मैले केही भनेको छु? वर्षमा एकचोटि केही सय डलर पठाउँदा तपाईंलाई किन टाउको दुखाइ?' भनेर सुनिता झर्किछिन्।
'तँ अझै मसँग मुखमुखै लाग्छस्? तँलाई कुटाइ नपुगेको भन्दै श्रीमानले उनको टाउकोमा दुई तीन पटक झ्याम्म झ्याम्म हानेछ।
'टाउकोमा नहान्नुस्। तपाईंको कुटाइले नै मलाई माइग्रेन भयो' भनेर सुनिता चिच्याउँदा 'तँ पागल्नीलाई त्यसो भए पेटमा हान्छ' भनेर पेटमा हानेछ।
सुनिता यो सबै रुँदै भनिरहेकी थिइन्।
'दिदी मलाई बेस्करी मेरो तल्लो पेटमा लात्ताले हान्यो। त्यसपछि म सहनै नसकेर त्यही थचक्कै बसेँ। यसरी नै मेरो पेटमा हानेर र ओछ्यानमा जर्वजस्ती गरेर नै तीन पटक मेरो बच्चा खेर गइसकेको थियो।’
उनले यति मात्रै के भनेकी थिइन् त्यसपछि मेरो पनि मन थामिएन। उनलाई होइन मलाई नै आँसु पुछ्न टिस्यू चाहियो।
'अनि तपाईंले पुलिसलाई बोलाउनुभयो?', मैले सोधेँ।
'होइन यो त एक महिना अगाडिको घटना हो। घर, परिवार, समाजको इज्जतको लागि रोएर नै बसेँ। भोलिपल्ट म काममा जान सकिनँ अनि मेरो खुट्टा ढोगेर माफी माग्नुभयो अनि सामान्य नै भयो।'
'अनि फेरि तपाईंको यस्तो हालत कहिले भयो त?' उनको दाहिने आँखा नजिकको नीलो डाम हेरेर भनेँ।
'चार दिनअगाडि।'
उनी फेरि भन्न थालिन्।
'हाम्रो म्युचल बैंक एकाउन्ट थियो। त्यसपछि एकदिन उहाँले एक हजार झिकेर क्यासिनोमा हारेर आउनुभएछ। त्यो पनि उहाँको साथीबाट थाहा भयो। यदि क्यासिनो किन गएको भन्यो भनेँ कुट्ला भन्ने डर। त्यसैले मैले आफ्नो छुट्टै एकाउन्ट खोलेँ र अब देखिको तलब त्यही एकाउण्टमा आउने बनाएँ। घरमा बैंकको लेटर आएपछि उहाँलाई थाहा भयो अनि त सुतिरहेको मान्छे म खाटबाट तानेर, रिसाउँदै कुट्न थाल्नुभयो। सुरूमा त के कारण नै थाहा भएन पछि बल्ल लेटर देखाउँदा थाहा पाएँ।
मेरो घाँटी न्याक्न थाल्नुभयो, स्वास फेर्न नै गाह्रो भयो, मेरो दाँत, शरीरबाट रगतको धारा बगेपछि ज्यान जोगाउ घर बाहिर गएँ अनि रोकेको ट्रकमा गएर चढेँ। मेरो यो हालत देखेर ट्रकका सबै मान्छे आएर सोध्न थाल्यो अनि ट्रकको ड्राइभरले पुलिसलाई फोन गर्यो अनि पुलिस आयो। सोधखोज गरेर घर लग्यो अनि घरबाट उहाँलाई समातेर लग्यो।
'तपाईंसँग पहिलोपटक यस्तो घटना भएको हो कि पहिला पनि हुन्थ्यो?' मैले उनलाई सोधेँ।
'पटकपटक कयौं पटक, तर अहिले चाहिँ सहनै नसक्ने भयो। हिंसा लुकाउँदा लुकाउँदै यस्तो भैसकेको थियो कि कि मैले विष खाएर मनुपर्थ्यो अनि मसँगै हिंसा पनि सती जान्थ्यो कि त म घरबाट निस्किएर ज्यान जोगाउनु पथ्र्यो। अनि मैले दोस्रो अप्सन रोजेँ। स्वासै फेर्न गाह्रो भएपछि घरबाट भागेर हिँडें।
'यो स्थिति कसरी आयो?' मैले प्रश्न सोध्यै गएँ। उनी एकएक गरेर नेपालदेखि, उसलाई भेटेको, बिहे गरेको र हिंसा सुरू भएको कुराहरू सुनाउन थालिन्।
उनको सबै कुरा लेख्दा एउटा किताब बन्छ तर केही वर्ष अघि देखिको हिंसा चाहिँ सुन्न पनि नसकिने थियो।
मेल्वर्न आएको एक वर्षमा नै सुनिता पहिलो पटक गर्भवती भएकी रहिछिन्। उनी सन्तान जन्माउन चाहन्थिन् तर उनको श्रीमानले 'हामी अझै विद्यार्थी भिसामा छौं। बच्चा बोझ हुन्छ भनेर उनलाई जर्वजस्ती बच्चा फाल्न लगाएछ। केही महिनापछि उनी दोस्रो पटक फेरि गर्भवती भइछिन्। त्यतिखेर श्रीमानले रक्सी खाएर उनलाई ओछ्यानमा जर्वजस्ती गर्दा बच्चा खेर गएछ। त्यसपछि उनी मानसिक र भावनात्मक रूपमा धेरै कमजोर भइछिन्।
'दिदी, जबजब उहाँ ओछ्यानतिर आउनुहुन्थ्यो मलाई डर लाग्थ्यो। म बाहिर सोफामा सुते पनि अपशब्दले गाली गरेको छ। उहाँले भनेको मानेन भने पनि मेरो चरित्रमा दाग लगाएर जथाभावी बोलेको छ। सुरक्षित साधन प्रयोग गर्नुभन्दा पनि मलाई एड्स लागेको छ र भनेको छ। अनि मन रोएर, कामेर भए पनि उहाँको कुरा मानेर बस्थेँ। म फेरि अर्को पटक पनि गर्भवती भएँ तर यतिखेर चाहिँ मैले उहाँलाई केही भनिनँ। चार पाँच महिनापछि भन्छु यदि सोधिहाल्यो भने मलाई पनि थाहा भएन भनिदिन्छु भनेर बसेको थिएँ तर एकदिन मज्जाले झगडा भयो अनि केही दिनमा खै तनावले हो कि वा उहाँको लातीले वा मेरो स्वास्थ्यको कारण त्यो पनि बच्चा खेर गयो।’
सुनिताले यसो भन्दा मैले लामो श्वास फेरेँ।
यतिखेर उनले मलाई सोधिन्– पानी खाने दिदी?
'मैले पर्दैन आइ एम गूड' भनेँ।
एकछिन शान्त भएपछि उनी नै बोलिन्– त्यतिखर रिस, पीडा दुवैमा पुलिसलाई के के भनेँ अहिले माया लागेर आएको छ। यता पुलिसले छोड्न मिल्दैन भन्छ। अहिले त पुलिसले म्यारिटल रेपको स्टेटमेन्टलाई फेरि नोट गर्न सकिन्छ तर घरेलु हिंसाको मुद्दा अब उसलाई राज्यले नै लगाइसक्यो। ऊ एक अपराधी हो र तिम्रो हालत हामीले देखेका थियौं। त्यसैले पनि तिम्रो सुरक्षा हाम्रो दायित्व भन्छ। उता उहाँको घरबाट दिनदिनै फोन गरेर मलाई मानसिक यातना दिइरहेको छ।
तपाईंको छोराले मलाई रगताम्य भएर पिट्थ्यो भन्दा, यस्तो कुरा त घरमै मिलाउने पो हो पुलिसलाई भन्ने हो भनेर मलाई झन् थर्काउनु हुन्छ। हामीलाई भनेको भए हामी सम्झाउँथ्यौं नि त भन्नुहुन्छ तर विगत दश वर्षदेखि मैले उहाँहरूलाई कतिपटक भने सुन्ने कान नै लगाउनु भएन बरू त्यो त्यस्तै छ तिमी सहन सुनिता। लोग्ने स्वास्नेको झगडा परालको आगो हो। मनको राम्रो छ मेरो छोरा भनेर मलाई नै चुप लगाउनु हुन्थ्यो।
पहिला पहिला उता माइती पनि फोन गरेर भन्दा– देख्दा ज्वाइँ त्यस्तो सोझो असल हुनुहुन्छ। कहिलेकाहीँ तेरो बुवा र मेरो पनि झगडा हुन्छ। मैले पनि अलिकति सहँदा घरै बचेको छ। तिमी पनि सह छोरी। मारे पाप पाले पुण्य भनेर अँगेना पोलेर दिएको हो तिमीलाई। पिटेर केही भयो भने उनैलाई पाप लाग्छ।'
त्यहाँ छोरीको आमाबुबाको निरीहपन पनि महसुस गरेँ। जहाँ दुःख बिसाउन फोन गरे पनि सुनितालाई अलिकति सह सह भन्ने मात्रै जवाफ आयो। उनी सहँदा सहँदै सिध्नि लागेको कसैले चालै पाउन खोजेन।
उनी पनि टोलाउँदै भनेकी थिइन्– सबैले सह सह भन्नु हुने अनि सहँदा सहँदै न मेरो दाहिने हात गोडाले राम्ररी काम गर्न थाल्यो, न त दिमागले नै। अझ उहाँ जेल गएपछि त झन् म त केही सुरको पनि भएको छैन। पुलिसले लाँदै गर्दा मलाई माफी देऊँ भनेर रुँदै गयो दिदी। आजकाल त आँखामा त्यही मात्रै आइरहेको छ। पुलिसले एक दुई दिन थुन्छ, पिट्छ अनि तह लागि हाल्छ नि जस्तो लागेको थियो। मलाई त नेपालको जस्तै कानुन अनि त्यसपछि यताउति श्रीमती कुटेर जेल गएको मान्छे एक दुई दिनमा नै छुट्छजस्तो लागेको थियो तर यहाँको कानुन कडा रहेछ।
उता दिनदिनै उहाँको आमाबुवा पनि नानाथरी बोलेर फोन गर्नुहुन्छ। बरू म त्यहीँ मर्नुपर्ने रहेछ किन बाहिर निस्केकोजस्तो लाग्छ। बुहारीले छोरालाई जेल हाली भनेर गाउँभरी पनि हल्ला भइसकेछ।
उहाँको आमाबुबा मेरो घरमा गएर तेरी छोरीले मेरो छोरालाई जेल हालिदिई। यदि मेरो छोरालाई केही भयो भने तेरो छोरी पनि सिध्याइदिन्छु भनेर धम्की दिँदै छ रे। तेरो छोरीलाई मात्रै होइन तिमीहरूलाई पनि सिद्धाइदिन्छु भनेर माइती गएको गएै गरेको छ रे उताका मान्छेहरू। उता सत्तरी वर्षको बुबाआमा रुँदै ज्वाइँलाई छुटा भनेर फोन गर्नुहुन्छ, यता पुलिसलाई लाखौँ बिन्ती गर्दा पनि श्रीमानलाई छोडेको छैन। अब म नेपाल फर्के भने पनि काम छैन। अब त झन् लोग्ने जेल पठाएर आएको केटी भनेर नेपालमा बस्न खानै दिँदैनन् र यहाँ पनि गाह्रो भइरहेको छ। उहाँ जेलमा छ, भेट्न खोज्दा पनि मेरो सुरक्षाको लागि भनेर दिएको छैन। एकपटक भेटेर माफी माग्छु भनेको त्यो पनि सम्भव देखिनँ। निकै तनावमा छु त्यसैले उहाँलाई छुटाउन तपाईंहरूबाट केही सहयोग हुन्छ कि भनेर आएको दिदी।
मैले उनलाई सम्झाउन खोजेँ।
'तपाईंको श्रीमानले अपराध गरेको छ सुनिता। तपाईंजस्तो पढेलेखेको, आर्थिक रूपमा स्वतन्त्र, करियर ओरिन्टेन्ट मान्छेले पनि यस्तो चरम बिन्दुको हिंसा सहेर बस्न हुन्छ? अझ माफी दिएर घर बोलाउने कुरा गर्नुहुन्छ? फेरि तपाईंमाथि अर्को दुर्घटना भयो भने कसले जिम्मेवारी लिन्छ?' मैले यिनै प्रश्न गरेँ।
'बरू मरे मर्छु दिदी। पाले पुण्य, मारे पाप भनेर दिएका हुन् बाउआमाले। उहाँहरूको इज्जतको लागि पनि बस्छु यदि मारिहालेँ उहाँलाई पाप लाग्छ अनि बरू त्यसपछि जेल गए पनि जाओस्। जिन्दगीभर मलाई मारेर पाप बोकेर सुखसँग बस्न नसकोस्। तर जिउँदै रहँदा मलाई झन् पीडा भयो दिदी। एकपटक माफी माग्न पनि मन छ।' उनी त्यतिकैमा अघि जस्तै छाती समातेर झन् रुन थालिन्।
'तपाईंले किन माफी माग्ने?' मैले सिधै प्रश्न गरेँ।
'उहाँ मेरै कारणले जेल पर्नु भयो नि त।'
मैले सुनितालाई ऊ तपाईंको कारणले होइन उसकै कर्मले परेको भन्दा पनि सुनिता मेरो कुरा बुझ्ने हालतमा थिइनन्। उनी मानसिक रूपमा विक्षिप्त भइसकेकी थिइन्। कुरा लामो पनि भइसकेको थियो त्यसैले पनि अर्को दिन सुनितालाई भेट्न बोलाएँ तर त्योभन्दा अगाडि एकपटक मनोचिकित्सक डा अनुपम पोख्रलसँग भेट्न सुझाव दिएँ।
उनै सुनिताको जस्तै रुवाइ केही दिन अघि युट्युबर पत्रकार मेघा केसीको देखेँ। उनी रुँदै लाइभमा आएको भिडियो हेरेँ। त्यो त्यत्तिकै आएको आँसु होइन। सुनिता र मेघाको हिंसाको नेचर लगभग उस्तै छ। अपशब्द, चरित्रमा दाग, टाउकोमा पिट्ने, पागल्नीको संज्ञा दिने, रक्सी खाएर आएर हिंसा गर्ने, दोष लगाउने, पैसा चलाइदिने जस्ता केही कुराहरू उस्तै छन्। त्यहीमाथि मेघा त्यसरी रोएर लाइभ आउँदा पछाडिबाट छोरीको साम्मुन्ने नानाथरी बोल्दा र लाइभमा नै हात हाल्दा हिमेशको समाजलाई देखाउने र घरभित्रको हिंस्रक दोहोरो चरित्र उजागर भएको छ।
त्यसरी लाइभमा नै घरेलु हिंसा भइरहँदा घटना भएको ठाउँको पुलिस प्रशासन गएर हिमेशलाई तुरून्तै कारबाही गरेर मेघा र छोरीलाई सुरक्षा दिन सक्नुपर्थ्यो। यो कुनै घर झगडा थिएन त्यो हिंसा थियो। यस्तो बेलामा लोग्ने स्वास्नीको झगडा परालको आगो भनेर पुलिस र प्रशासन आरामसँग बस्नु हुँदैन। हिंसा हिंसा नै हो। यसमा कानुन कडा हुनैपर्छ। कानुन विज्ञहरूले पनि यसको लागि कडा कानुन बनाउन वा सुझाव दिन सक्नुहुनेछ।
सुनिताको केसको बारेमा जानकार डा पोख्रेलसँग मेघाको केसको लागि लिएर मैले फेरि फोन गरेँ।
'डा.साहेब श्रीमती चाहिँ किन कुट्छन् होला है?' भनेर मैले प्रश्न गरेँ।
त्यसपछि उहाँले आन्तरिक र सामाजिक दुई कारणहरूको बारेमा भन्नुभयो। यो विषयमा एकछिन गम्भीर छलफल भयो।
आन्तरिकमा यदि एउटा व्यक्तिले बच्चादेखि नै घरमा हिंसा देख्यो अझ विशेषगरी पुरूष वर्गले आफ्नो बुबा, हजुरबुबाबाट आफ्नो आमा, हजुरआमा, दिदीहरू, बहिनीहरूप्रति भेदभाव, हिंसा गरेको देखेर हुर्किन्छ उनीहरूमा पनि डोमिनेटे, एङ्गर इस्यूहरू आउने र त्यही संस्कार सिकेर जाने सम्भावना धेरै हुन्छ। यस्तो मान्छेहरूलाई परिणामको पनि डर हुँदैन। घरमा बुबाले आमालाई हिंसा गर्दा आमा चुप लागेर बसेको देखेको हुन्छ अनि घरमा हिँसा हुँदा यसले के नै गर्न सक्छ र भन्ने भावना पैदा हुन्छ। जहाँ दुर्बलता देख्छ, परिणाम नआउने ठाउँ देख्छ, आफूप्रति भावनात्मक, मानसिक र आर्थिक रूपमा आश्रित देख्छन् अनि मलाई छोडेर कहाँ नै जान्छ र यो, माइती गए पनि पठाइहाल्छ एक दुई दिनमा भन्दै मानिसहरूले हिंसा गरेको पाइन्छ।
उनीहरू समाजमा गएर अरूको श्रीमतीलाई पिट्दैनन् किनकि त्यहाँ परिणाम भोग्ने डर हुन्छ तर घरमा आफूलाई नै सबल र योग्य देख्ने हुँदा शारीरिक, भावनात्मक र मानसिक रूपमा हिंसा गरिरहन्छन्।
कोही भने त्यही घटनामा हुर्कियो भने मातृत्व शक्तिलाई पूजा गर्ने र महिला हिंसा गलत देख्छन् र यसमा आवाज उठाउँछन्।
अर्को सामाजिक कारणले हुने कुरामा पनि हामीले चर्चा गर्यौं। घर परिवार, समाजले लोग्ने स्वास्नेको झगडा परालको आगो भनेर दुई जनाको बीच आउन अनि सुझाव दिन डराउँछ। तर त्यहाँ झगडा भइरहेको छ कि, झगडाले विकराल रूप लिँदै गएर हिंसा भएको छ भनेर छुट्टाउन खोज्दैन। नेपाली समाजमा लोग्ने स्वास्नीको झगडाहरूलाई सामान्य तरिकाले लिने चलन छ तर बारम्बार भइरहँदा पनि त्यसको गहिराइमा जान खोज्दैनन् त्यसैले पनि हत्या हिंसा जस्तो घटना घटिरहेको पाइन्छ। समाजको बुझाइसँगै घरेलु हिंसा सम्बन्धी कानुन पनि कडा चाहिन्छ।
सुनिताले भनेको जस्तै एक दुई दिन लगेर थुनेपछि छुटिहाल्छ नि। तर त्यसरी हिंसा गर्नेलाई छुट कदापि दिनुहुँदैन।
लोग्नेले स्वास्नीलाई होस् वा स्वास्नीले लोग्नेलाई वा अरू मान्छेहरूलाई घरेलु हिंसा कोहीमाथि हुनुहुँदैन र यो कदापि सही होइन। घरेलु हिंसा गर्नेहरू सबै अपराधीहरू हुन्।