हाम्रो गल्ली विभिन्न सज्जाले सजावट हुनु सुन्दर हो। हाम्रो बस्ती झिलिमिली हुनु खुसी हो। हाम्रो गल्लीमा रंगीबिरंगी लुगा लगाएर हाँस्नु प्राप्ती हो। हाम्रो गल्लीमा सबै धर्म, जातजातिहरू फुलेर, मिलेर बस्नु सफलता हो। चाहे त्यो दसैं होस्, चाहे त्यो तिहार होस्, छठ होस्, ल्होसार होस्, इद होस् वा क्रिसमस।
हरेक धर्मले एकअर्कालाई स्वीकार गरेर उत्सव मनाउनु नै असली धर्म हो।
हरेकको उत्सवमा एकअर्कालाई शुभकामना आदनप्रदान गरेर नाच्नु, गाउनु नै उदारता हो। हरेक धर्मको उत्सवको धर्म नै एकअर्काको अस्तित्व स्वीकार गरेर सहृदयता र सहिष्णुता कायम गर्नु हो।
त्यसैले दसैं, तिहारको शुभकामना दिने, लक्ष्मीमाताको स्तुतीमा हात जोडेर पूजाको थाली, दियो र कलश समाउने क्रिश्चियन वा अरू धर्मलम्बीहरूलाई 'मेरी क्रिसमस' वा 'इद मुबारक' भनेर शुभकामना दिँदैमा आफ्नो धर्म विरोधी भइने होइन। यदि उत्सव मनाउन क्रिसमसको बोटको अगाडि कसैले फोटो खिच्छ, इदको बेलामा मस्जिद जान्छ र लड्डु होइन खुसी बाँड्छ भने त्यो कुरामा कुनै आपत्ति जनाउन पर्ने केही छैन। यदि कसैले यसको घोर विरोध गर्छ भने त्यसको परिणाममा समाजमा एकता कहिल्यै कायम हुँदैन।
गत वर्ष क्रिसमसको समयमा सेतोपाटीमा मैले एउटा लेख लेखेकी थिएँः क्रिसमस मनाउँदैमा कसरी क्रिश्चियन भइन्छ?
यो लेखको शीर्षक मात्र पढेको भरमा मलाई केही अतिवादी व्यक्तिहरूले क्रिश्चियन बनाइदिए!
अझ केही महिनाअगाडि गोत्रको बारेमा केही जिज्ञासासहित प्रश्न गरेर एउटा लेख लेख्दा झन् आगो बल्यो। मेरा लेखहरूको टुक्राटुक्री र मेरा फोटाहरू राखेर सामाजिक सञ्जालमा मेरो घोर विरोध पनि गरियो। त्यही लेख लेखेकै कारण मलाई मुद्दा हाल्छु भनेर सनातन चौतारीले मेसेज पनि गर्यो।
तर ती क्रियाकलापले म विचलित भइनँ, बरू अचम्मित भएँ। यस्तो अचम्मित त्यतिखेर पनि हुन्छु जब नेपालका इसाईहरू धर्म परिवर्तनको नाममा त्यो भूमिमा कालान्तरदेखि पूजा गर्दै आएको एउटा वस्तुको हत्या गरेर देखाउनकै लागि मासु खान्छन्। अनि पैसाको लोभ र प्रलोभन देखाएर मानिसहरूलाई जबर्जस्ती धर्म परिवर्तन गर्न लगाउँछन्।
यसरी अरूको अस्तित्व स्वीकार गर्नै नसकिने, अरूको धार्मिक परिचय पचाउनै नसकिने, अरूको आस्थाको केन्द्र देख्नै नसकिने, आफ्नो मात्रै धर्म सत्य, आफ्नो मात्रै धर्म सही, आफ्नो मात्रै धर्म र ईश्वर महान सोचले हाम्रो देश, समाज र आउँदो पिँढीलाई कता लाँदैछौं?
देश धर्म निरिपेक्षतामा जानुको कारण पक्कै पनि गाई काटेर देखाएर नै खान होइन, चर्च भत्काउन होइन, मस्जिद जलाउन होइन। धर्म निरपेक्षताको उद्देश्य नै बगैंचामा रंगीबिरंगी फूल होस्, आ-आफ्नो जे जाति/प्रजाति भए पनि चलेको हावामा एउटै लय होस्, अनि देख्दा र महसुस गर्दा पनि आनन्द आओस् भन्ने हो।
समाजमा हरेक सोच, खोज र मोज भएका मानिसहरू बस्छन्। विविधताले भरिएको यो संसारमा मानिसहरूका सोच पनि स्वतन्त्र छन्। स्वतन्त्र मनले स्वतन्त्र धर्म अँगाल्छ। स्वतन्त्र मनले स्वतन्त्र तरिकाले हरेक चाडपर्व र उत्सव मनाउँछन्। यसो गर्नाले विभिन्न संस्कृतिक समृद्धि, परम्परा, र धर्मको परिचय गराउँछन्।
तर अरूको धर्म तिरस्कारै गर्नुपर्ने, अरूको चाडपर्वलाई पापको संज्ञा दिनैपर्ने हामी कस्तो समाज निर्माण गर्दैछौं?
हामीले आउँदो पिँढी, आफ्नो सन्तानलाई कस्तो शिक्षा र संस्कार दिँदैछौं?
समाज जतिजति बढ्दै गयो, मानिसहरूको सोच त्यति नै सानो हुँदै गइरहेको छ। समाज जति फराकिलो हुँदै गयो, मानिसहरू त्यति खुम्चिरहेका छन्। सोचहरू संकुचित हुँदैछन। बुझ्ने स्वभाव र दायरा सानो हुँदै गइरहेको छ। आखिर किन? यो केका लागि?
यी प्रश्न हरेक धर्मको नाममा राजनीति गर्ने व्यक्तिहरूलाई हो, हरेक धर्मका कट्टरपन्थीहरूलाई हो र विभिन्न लोभलालच देखाएर, फकाइफुल्याइ गरेर धर्म परिवर्तन गर्न हिँड्ने पन्थीहरूलाई हो!
म कहिलेकाहीँ सोच्छु- क्रिसमसमा रातो, हरियो, सेतो रङ प्रयोग हुन्छ। मस्जिदमा हरियो रङको चादर ओढाइन्छ। अनि गुरुद्वारमा पहेँलो वस्त्र बेरिन्छ। यी सबै धर्मले प्रयोग गर्ने रङ हुन्। रङले विभेद गरेको छैन। रङ सबै धर्ममा मिसिएर उत्सव मनाइरहेको छ भने हामी किन यसलाई बेरंग गर्न खोज्दैछौं?
जब म क्रिसमसको रातो र सेतो रङ देख्छु, मलाई मेरो राष्ट्रिय ध्वजाको रङ याद आउँछ। अनि मस्जिदमा जब हरियो रङको चादर देख्छु, हाम्रा देवीहरूलाई चढाइएका हरियो चुरा, हरियो वस्त्र र साउन महिनामा शिवजीको वर्त बस्ने तमाम दिदीबहिनीहरू देख्छु। जब गुरूद्वारमा पहेँलो रूमाल र सल टाउकोमा बेरेर गएको देख्छु, तब गणेश र हनुमानजीलाई चढाउने केसरी, महिलाको सिउँदो रंगाउने सिन्दुरको याद आउँछ।
सबै धर्मको सबै रङ एकअर्कामा मिसिएको छ भने हामी किन मिसिन सकिरहेका छैनौं?
मैले पहिला पनि लेखेकी थिएँ र बारम्बार भन्दै पनि आएकी छु- धर्म परिवर्तन गर्नु र अरू धर्मको चाडपर्व मनाउनु दुई भिन्नभिन्नै कुरा हुन्। अरू धर्मको चाडपर्व मनाउन त्यही धर्मको हुनुपर्छ वा धर्म परिवर्तन गर्नुपर्छ भन्ने छैन। हरेक धर्मको चाडपर्वले खुसी मनाउँछ। बिदा मनाउँछ। हो, हामीले पनि त्यही खुसी र बिदा मनाउने हो।
यो संसारमा कोही कसैले कसैलाई बाँधेर राख्न सकिँदैन। यदि कोही व्यक्ति हिन्दु, मुश्लिम वा क्रिश्चियन हुनु छ भने ऊ जसरी पनि हुन्छ। ऊ कुनै चाडपर्व नमनाएरै धर्म परिवर्तन गर्न सक्छ। तर एउटा चाड वा पर्व मनाउँदैमा उसले धर्म परिवर्तन गर्छ भनेर सोच्नु अबुझपन हो।
संसार बहुसाँस्कृतिक, बहुपरिवेशतिर उन्मुख भइरहेका बेला यहाँ जो जसले जुन चाडपर्व पनि मिलोमतोमा मनाउन सक्छन्। यसरी अरूको पनि चाडपर्वमा सरिक भएर मनाउँदा उनीहरूको धर्म, अस्तित्वप्रतिको आदर सम्मान देखाएको बुझिन्छ जसले सबैलाई एकताको सूत्रमा बाँध्ने काम गर्छ।
यसो हुँदा संसारमा भाइचारा बढ्छ। धर्मको नाममा मारकाट हुन कम हुन्छ। एउटा धर्मले अर्को धर्मको चाडपर्व मनाउँदैमा कोही धर्मद्रोही हुँदैन। तर धर्मद्रोहीको सोचाइ राखियो भने यसले अराजकता मात्रै फैलाउँछ।
दसैं, तिहार, इद, क्रिसमस जस्ता अन्य धार्मिक चाडहरू त्यही धर्म मान्नेका लागि मात्र होइनन्। यी उत्सव सबैका लागि हुन्। यस्ता उत्सवले सामाजिक बन्धनलाई सुदृढ पार्न र मानिसहरूलाई एकसाथ ल्याउन मद्दत गर्छन्।
आफ्नो बाहेक पनि अरूको धर्मलाई स्वीकार गर्नु सामाजिक नैतिकताको एक भाग हो; आस्था र विश्वासको प्रणाली नहुन पनि सक्छ। अरूको चाडपर्वमा शुभकामना दिनु उनीहरूकै धर्म अँगाल्नु र आस्थामा विश्वास गर्नु बराबर हो भन्ने हाम्रो धारणा कदापी हुनु हुँदैन।
मानिसले समाजमा शान्तिपूर्ण र नम्रतापूर्वक बाँच्न प्रयास गर्नुपर्छ। समाज भनेको राष्ट्रको उप–इकाइ हो जुन विविधतापूर्ण तर अन्तरसम्बन्धित छ। जब समाजका सदस्यहरूले विभिन्न आस्थाका बाबजुद विविधतालाई स्वीकार गर्छन्, उनीहरूले खुला अन्तरक्रिया, आपसी सिकाइ र शान्तिपूर्ण सहअस्तित्वको स्वस्थ वातावरण पालनपोषण गर्छन्, तब एउटा स्वस्थ पिँढीको जन्म हुन्छ र देश सुन्दर बन्छ।