हाम्रो लागि पुस २७ अर्थात् 'कालो दिन' कहिल्यै नआओस् जस्तो लाग्छ। २०५३ साल आजकै दिन समाजवादको फोस्रो नारा दिने आततायीहरूको एक झुण्ड गोरखा छोप्राकस्थित हाम्रो घरमा पसी ताण्डव गरेका थिए। छियाछिया मन त्यसै बाउडिएको जस्तो हुन्छ। उजाड त्यो घरमा मैले रगत लत्पतिएको तकिया र भित्तामा टाटो बाहेक केही देख्न पाइनँ।
मान्छेलाई पशुजस्तै बाँधेर खानाको थाल अगाडिबाट लछार्दै लगेको नाबालक छोराहरूको अबोध आँखाहरूले निरीह भएर हेरिरहन बाध्य भए। एक अबला नारीले प्रतिरोध गर्दा दानवहरूका हात र मन किन कमलो हुन्थ्यो! खोसेर लगे, टाउको छिनाए, उत्सव मनाए। त्यतिबेला उनीहरूमा यति उन्माद थियो कि कसैले प्रतिवाद गर्ने आँट गरे निशाना बनाइन्थ्यो।
पाँच जना बालकका बाबु खोसेर टुहुरो बनाइयो। एक सत्ताइस वर्षकी नारीलाई घाइते बनाई सिन्दुर पुछियो। आँसुको भेल बगाइयो र दुःखसहित एकल महिलाको दर्जा सुरुआत गराइयो। समाजले न्याय गर्ने अवस्था थिएन। शोकलाई निल्नु बाहेक केही उपाय थिएन। सामन्तीको बिल्ला भिराएर सफाया गरी लास गन्ने र पुरस्कृत हुने होड चलेको थियो।
म गाउँ पुग्दा उजाड घर, अत्तालिएका नाबालक भाइहरू र जाडो बिदामा मामाघर रमाउन पुगेका आफ्ना तीन छोराछोरी गाउँलेको सहारामा बाँचेको दर्दनाक र कारुणीक अवस्थामा भेट्टाउँदाको क्षण सम्झँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ। उनीहरूलाई पुसको जाडो र कालो अँधेरी रात आफन्तको मृत्यवरण र घाइतेहरूको अवस्थाले गाँजेको थियो।
पाँचदेखि बाह्र वर्षका टुहुरा भाइहरू घाइते, भाउजूको अस्पताल बास, आमा र अर्को भाइको चोट देख्दा मन विक्षिप्त थियो। सम्हाल्ने कोही नहुँदा घर, घर थिएन कुनै वधशाला जस्तो देखिन्थ्यो। भित्तामा देखिएका रगतको टाटाले मृत्यु कसरी भयो सजिल्यै अनुमान लगाउन सकिन्थ्यो।
करिब ८० वर्ष काटेका हजुरबा, ६० काटेका बा पोष्टमार्टम गराउन सदरमुकाम पठाइएको लास सम्झेर टोलाएका थिए। लास बोकेर गाउँले गोरखा सदरमुकाम गएको समाचार मैले त्यहाँ पुगेपछि थाहा पाएँ। त्यो लास मेरो प्रिय दाजु तत्कालीन छोप्राक गाउँ विकास समितिका अध्यक्ष बलराम पोखरेलको थियो। दाजु तपाईं जहाँ बसे पनि मेरो हृदयमा सदा रहिरहनुभएको छ। हजुरप्रति अस्रुपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
एकजना तथाकथित क्रान्तिकारी कमरेड गाउँमा प्रशिक्षणको कार्यक्रम लिएर गएको बेला सुराकी गरेर प्रहरीद्वारा समातिएको आरोपमा सफाया गरिएको भन्ने पछि थाहा भयो। सत्य हो होइन थाहा छैन तर एकजनाको पक्राउ विरुद्ध अर्कोको ज्यान लिने यो कस्तो न्याय हो। अझै हामीले न्याय पाउन सकेका छैनौं। पक्राउ पर्ने ती कमरेड शान्ति प्रकृयाको लगत्तै गठित मन्त्रिपरिषदमा मन्त्री बनेर झुल्किए। स्वागतमा सबै कर्मचारी जुटेर फूलमाला ओरइराएको देख्दा मेरो मनको पीडाको सीमा रहेन। अझै जीवित ती महाशयको खोक्रो भाषण र अन्तरवार्ता बेलाबेलामा सुन्ने गर्छु। उहाँ विरुद्ध सुराकीको आरोपमा मेरो एक मात्र दाजुले मृत्युवरण गरेको पनि २७ वर्ष व्यतीत भएछ।
यो बीचमा त्यो परिवारले पाएको पीडा र शिक्षा आर्जन गर्न बच्चाहरूले पाएको विपद स्मृतिमा सधैं रहने गरेको छ। माइती गुमेको पीडालाई शक्तिमा बदलेर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने भयो। ती बालबालिकाको शिक्षादिक्षा र पालनपोषणका लागि ठूलो संघर्ष गर्नुपर्यो। तर पनि भगवानले साथ दिए सत्कर्मको फल एउटा बिरुवा मरे पनि तिनैको विज पाँच विरुवा मौलाएर उन्नति प्रगति गरेर देश विदेशमा चरेको देख्दा खुसी लागेको छ। तापनि देशभरिका पीडितको पीडा पनि हाम्रै हो भन्ने झल्को बेला बखत देखिने पीडितका रोदनले गराउँछ।
लामो समयसम्म बिर्सन नसक्ने पीडा दिएका कमरेडहरूको अहिलेको विलासी र परिवारवादमा आधारित हर्कतले पीडितको पीडामा नुनचुक छरेको जस्तो भएको छ। तिनीहरूको आफैं मोटाउने र परिवारको वरिपरि रमाउने प्रवृत्तिले पीडितको पीडालाई झनै खिल्ली उडाएको भान हुन्छ।
दश वर्षसम्म तथाकथित जनयुद्धका नाममा सत्र हजार निरीह नागरिकको बली चढाएर सरकारमा आएका क्रान्तिकारीहरूले पीडितको पीडामा मल्हमपट्टी लगाउनुका साटो आफैं सुविधा लिने र सरकारी निकायहरूलाई कार्यकर्ताको भर्ति केन्द्र बनाउने काम मात्र गरेको भान हुन्छ। सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएकाहरूको खोजविनको कार्यले गति लिन सकेको छैन।
अरुको परिवार मास्दा सफाया भन्दै उत्सव मनाउँदै उपलब्धिको ग्राफ बढाउनेले कालगतिबाट आफन्तको मृत्यू भएकोमा आफ्नो सबै सकियो भन्दै रुन्चे मुख लाएर सत्ताको भिख माग्ने दिन पनि आँउदोरहेछ। अब सबैको परिवार उस्तै हो भन्ने हेक्का नराखेको फल भोग्नुपर्यो भनेर चित्त बुझाउदै पश्चाताप लिनुको विकल्प छैन। कति मित्रहरूले मलाई यस्तो किन लेखेको पनि भन्न सक्नुहुन्छ तर यो एउटा पीडा बोलेको हो। मनोविज्ञानले पनि आफ्नो पीडालाई दबाउनुभन्दा सार्वजनिक गरेर हल्का भएको राम्रो मान्छ। सवै पीडितले आवाज उठाएर न्याय पाउन् भन्ने म चाहन्छु।
पीडा सहन सबैलाई गाह्रो हुन्छ भन्ने महसुस हत्याको माध्यमबाट सरकारमा पुगेको वर्गलाई भएकै हुनुपर्छ। हामीले जस्तै पीडाबोध सत्र हजारका परिवारले अझै गरिरहनु परेको छ। यस्तो पीडाबोध अझ कहिलेसम्म गरिरहनुपर्ने हो थाहा छैन। तथाकथित जनयुद्धको नाममा आफू जोगिँदै कलिलो उमेरकी महिलाको सिन्दुर पुछेको, अबोध बालबालिकालाई टुहुरो तथा घरबार विहीन बनाएको, बृद्ध बाबुआमाको सहारा भाँचिदिएको, जनताको रोजीरोटी खोसेको, सरकारी तथा व्यक्तिगत सम्पत्ति लुटेको कारण आफ्नो थातथलो छाडेर हिँड्नुपरेको पीडा अझै कतिपयले भोगिरहनु परेकै छ। त्यही लुटको सम्पत्तिमा कतिले मोज गरिरहेको अवस्था विद्यमान छ।
त्यस्तै हर्कतबाट उत्पन्न राजनैतिक अस्थिरताले देश पछाडि धकेलिएको र होनहार युवाहरू वैदेशिक रोजगारका लागि विदेशिन बाध्य भएका छन्। यो देशमा अवसर छैन भन्दै दैनिक हजारौं विद्यार्थी विदेशिन बाध्य भएका कारण कलेज र स्कुलहरू नचल्ने अवस्थामा पुगेका छन्। देशको आर्थिक अवस्था यति जर्जर भइसकेको छ कि सरकारलाई तलवभत्ता तथा निवृत्तिभरण प्रदान गर्न पनि हम्मे-हम्मे परेको सहजै अनुमान गर्न सकिन्छ।
सत्ता स्वार्थका लागि हत्या, बलात्कार जस्ता जघन्य अपराध गरेका अपराधीलाई आममाफी दिएर कानुनी राज्यको धज्जी उडाउँदै आइएको छ। तर आम जनताले भने यस्ता अपराध गर्नेहरूलाई कुनै हालतमा माफी दिन सक्दैन। विद्यमान राजीतिक गतिविधि हेर्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली नागरिकलाई आएको होइन भन्ने आम नागरिकले गरेको अनुभूति र वुद्धिजीवीहरूको विश्लेषण सुन्दा यस्तालाई पीडित जनताले माफी किन दिने?