रारा ताल मुहान भएर खत्याड गाउँपालिकाका ११ वटा वडालाई सिँचित गर्दै करिब ३४ किलोमिटर दूरी पार गरी कर्णाली नदीमा मिसिने खत्याड खोलामा २०७९ साल असोज तेस्रो हप्ता अविरल वर्षाका कारण भिषण बाढी पाहिरो आउँदा अर्बौंको क्षति गर्दै सुन्दर खत्याड उजाड र खण्डहर बगरमा परिणत भयो।
जिल्लाकै अन्नको भण्डारका रूपमा रहेको खत्याड भेग परापूर्वकालदेखि नै कृषिमा आत्मनिर्भर थियो। खत्याड खोलाको सेरोफेरोलाई पहिले खत्याड भेग क्षेत्र भनिन्थ्यो। अहिले यही क्षेत्र खत्याड गाउँपालिका भएको छ। ११ वटा वडा र ५७ वटा बस्ती रहेको यस गाउँपालिकामा झण्डै १९ हजार जनसंख्या छ। भूबनावट र उचाइको आधारमा तीन प्रकारको हावापानी रहेको खत्याडमा बेसीका फाँटमा धान, गहुँ, केरा, मेवा, अंगुर, कागती, अलि माथि भिरालो पाखो बारीमा कोदो, मकै, गहुँ, दलहन, र लेकमा स्याउ, ओखर, सिमी, जौ, आलु, फापर, कागुनो लगायतका विविधतायुक्त अन्नवाली, तरकारी तथा फलफूल उत्पादन हुने यस गाउँपालिका कृषि उत्पादनको लागी उर्वर भूमि हो।
२०७९ साल असोज तेस्रो साताको अविरल वर्षाका कारण आएको भीषण बाढी पहिरोले खत्याड क्षेत्रलाई कुरूप र कहालिलाग्दो बनाइदियो।
-copy-1709365519.jpg)
भिरालो जग्गामा पहिरो र खत्याड खोला र त्यसका सहायक खोलामा आएको बाढीले पाक्न लागेको अन्नबाली सहितको जग्गा जमिन, घर बस्ती, पशुचौपाया, सडकबाटो, सिँचाइ कुलो, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी, विद्युत, पुल लगायतका भौतिक संरचनालाई बाढीमा मिसाइदियो। लामो समयसम्म वर्षात हुँदा बाढी पहिरो आउने अवस्थालाई आकलन गरी मानिसहरू जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानतर्फ सरिसकेकोले मानवीय क्षति भने हुन सकेन। यति ठूलो बाढीपहिरो अकस्मात आएको भए सयौं मानिसहरूको मृत्यु हुने थियो।
खत्याड गाउँपालिकाले तयार पारेको प्रारम्भिक क्षति विवरण अनुसार ६ हजार ७ सय १५ रोपनी जग्गा बाढी र पहिरोले पूर्ण रूपमा बगाएर पहिरो तथा बगर बनाएको, सोही जग्गामा पाक्न लागेको झण्डै १६ हजार क्विन्टल अन्नबाली नष्ट भएको, ७ हजार ६ सय १० स्याउका बाेट, ४ हजार ८ सय ३३ कागती सुन्तलाका बोट, १ हजार ७ सय ५९ केरा तथा मेवाका बाेट बाढी पहिरोले बगाएको, १ सय ३२ घर पूर्ण रूपमा क्षति भएको, ७ सय ५० घर आंशिक रूपमा क्षति भएको, ४ सय घर अति जोखिममा रहेको र १ सय ४ पशुचौपायाको मृत्यु भएको उल्लेख छ।
त्यसैगरी ९९ वटा सिँचाइ कुलो, ७० वटा खानेपानी, ३७ वटा सडक बाटो, २४ वटा विद्यालय भवन, ४ वटा स्वास्थ्य चौकी भवन, ६ वटा विद्युत, २४ वटा पुल, ४९ वटा घट्ट, १४ वटा मन्दिर, २ वटा वडा भवन लगायतको भौतिक संरचना बाढी पहिरोले बगाएर पूर्ण रूपमा क्षति गरेको उल्लेख छ।
-copy-1709365518.jpg)
विनाशकारी बाढी पहिरोले अर्बौंको क्षति गर्दा पनि यहाँको न कुनै राष्ट्रिय मिडियाको प्राथमिक समाचार बन्यो। न प्रदेश र संघीय सरकारको ध्यानार्कषण नै भयो। त्यति बेला यस क्षेत्रलाई संघीय सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेपनी राहत, उद्धार, पुनर्निर्माण र पुनर्स्थापनाको लागि कुनै व्यवस्था भएको छैन। प्रदेश सरकार र संघीय सरकार समक्ष स्थानीयहरूले पटक-पटक ध्यानाकर्षण गराइए पनि सुनुवाइ हुनसकेको छैन।
स्थानीय सरकारले पुनर्निर्माणको लागि आवश्यक पहल तथा समन्वय पनि गर्न सकिरहेको छैन। अहिलेसम्म स्थानीय सरकारले क्षति र पुनर्निर्माणको प्राविधिक अध्ययन प्रतिवेदन समेत तयार पार्न सकिरहेको छैन।
स्थानीयले कल्पना समेत नगरिएको ठूलो बाढी पहिरो आउनुको प्रमुख कारण स्थानीय सरकारका जनप्रतिनिधि र डोजर मालिकको मिलेमतोमा वातावरणीय प्रभाव मूल्यांकन नगरी सडक बाटाे निर्माणका नाममा बजेट सकाउनकै लागि जथाभावी डोजर लगाउनु हो।
केही जनप्रतिनिधिले आफैं डोजर किनेर हरेक विकासका भौतिक संरचना बनाउँदा कुनै क्षति नोक्सानीको मूल्याङ्कन नगरी जग्गा जमिनको क्षतविक्षत हुने गरी डोजर आतंक फैलाइरहेका छन्। वन जङ्गल मासिँदै जानु, वृक्षरोपण नगर्नु, जलवायू परिवर्तन, अतिवृष्टि, बाढी पहिरो विपत रोकथाम तथा न्यूनीकरणको पूर्वतयारी नहुनु आदि कारण पनि हुन्।
-copy-1709365514.jpg)
गाउँमा उत्पादन र पुनर्निर्माणका काम नहुँदा पेट पाल्नको लागि अधिकांश स्थानीय मानिसहरू भारतका विभिन्न ठाउँहरूमा मजदुरी गर्न भौंतारिरहेका छन्।
गाउँघरमा बुढाबुढी र सानातिना विकास निर्माणका योजनाको उपभोक्ता समिति बनेर विकास खाने राजनीतिक दलका कार्यकर्ता मात्र देखिन्छन्। बाढी पहिरोले विक्षिप्त बनाएर कष्टकर जीवन बिताएको डेढ वर्ष भइसक्दा पनि जनताले सरकार अथवा राज्यको महसुस गर्न सकिरहेका छैनन्। महाविपत्तिको बेला राहत समेत नपाएको खत्याडको लागि आगामी आर्थिक वर्षमा प्रदेश र संघीय सरकारले पुनर्निर्माणको लागि बजेटको विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता छ। नत्र भोक र शोकले बाढीले उजाडिएका गाउँहरू रित्तिँदै जानेछन्।
-copy-1709365518.jpg)
अहिले यहाँको क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण गर्नु र दिगो जीविकोपार्जनको लागि कृषि उत्पादन गर्न बाढी पहिरोले बगाएको कृषियोग्य जग्गा जमिनको पुनः नापी नक्सांकन गरी खेत निर्माण गर्नु पहिलो आवश्यकता हो। खेत निर्माण गरेको पाँच दश वर्षभित्र खोलाले बगाएर ल्याएको माटो भरिएर अन्नबाली उत्पादन हुन्छ।
खत्याड खोलामा योभन्दा पहिले वि.स. २०२८ सालमा ठूलो बाढी आएको थियो। २०७९ सालको बाढी २०२८ सालको भन्दा दोब्बर ठूलो हो। लामो समयको अन्तरालपछि पनी ठुलो बाढी आउने सम्भावनालाई मध्यनजर गर्दै दिगो व्यवस्थापनको लागि प्राविधिक अध्यायन गरेर रारा तालदेखि कर्णाली नदीसम्म करिब ३४ किलोमिटर लामो खत्याड खोलामा जलीय जीवमैत्री र हरियाली सहितको तटबन्धन गरिनु पर्छ। बाढी पहिरो आउने सम्भावना भएका सहायक खोला नालाहरूको पनी त्यही अनुसारको व्यवस्था गर्नुपर्छ।
स्थानीय तहले भूउपयोग नीति बनाएर कुन भूमि के प्रयोजनको लागि उपयोग गर्ने भनी क्षेत्र निधारण गरेर आवासीय, कृषि, औद्योगिक, व्यावसयिक, नदीनाला तथा सिमसार क्षेत्र, वन क्षेत्र, औद्योगिक, खानी तथा खनिज क्षेत्र, सडक बाटो निर्माण गर्ने क्षेत्र, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र लगायत प्राकृतिक प्रकोपका हिसाबले जोखिमयुक्त क्षेत्रको पहिचान तथा वर्गीकरण गरिनु पर्छ। यसो गर्दा भूमिको व्यवस्थित उपयोग, जैविक विविधता तथा वातावरण संरक्षण, सुरक्षित आवास र जोखिम तथा विपत न्यूनीकरण, रोकथाम र नियन्त्रणमा टेवा पुग्छ।
-copy-1709365517.jpg)
यस क्षेत्रको समग्र आर्थिक, सामाजिक, पूर्वाधार विकास लगायतका विषयमा विशेष प्राविधिक जनशक्तिले विस्तृत इन्जिनिरिङ अध्ययन तथा डिजाइन गरी दीर्घकालीन, वातावरणमैत्री तथा सुन्दर खत्याडको आधारपत्र तयार गरेर त्यही अनुरूप भौतिक विकासका संरचनाको निर्माण गरिनुपर्छ।
यसरी तत्काल गर्नुपर्ने पुनर्निर्माण र दीर्घकालीन योजना बनाएर स्थानीय, प्रदेश र संघीय सरकारको आवश्यक समन्वय र सामूहिक प्रयासले खत्याडलाई पुनर्निर्माण गर्दै विकास र समृद्धिको दिशामा अगाडि बढाउन सकिन्छ।
-copy-1709365516.jpg)
-copy-1709365516.jpg)
-copy-1709365517.jpg)
-copy-1709365515.jpg)
-copy-1709365514.jpg)