केही दिनअघि आफ्नो कारको नियमित सर्भिसिङ सकेर विश्वविद्यालयको नियमित कार्यमा फर्किँदै थिएँ। बीच बाटोमा ट्राफिक प्रहरीले रोक्दै गाडीको ब्लुबुक देखाउन भने। मैले ब्लुबुक दिएँ। त्यसलाई सरसर्ती हेरेर उनले मेरो लाइसेन्स मागे। मैले लाइसेन्स दिएँ र लगत्तै उनले 'तपाईंले एउटा चिट लिएर जानुपर्छ’ भने।
मैले के को चिट हो भनी सोधें। उनले 'तपाईंले प्रदूषण जाँच गराउनु भएको रहेनछ, त्यसैको जरिवाना बापतको चिट हो' भनेर जवाफ फर्काए र पहेलो चिटमा धमाधम केही लेख्न थाले।
म चुपचाप भएँ र मनमनै सोचें, उनलाई केही कुरा भनौँ र एक पटकका लागि छुट गरिदिनुहुन अनुरोध गरौँ। मनले भन्न चाहेको कुरा यस्तो थियो 'बाटामा सयौँ गाडीहरू कालो धुवा फालेर दौडिरहेछन्। मैले हरेक ३-३ महिनामा सर्भिसिङ गरेर चलाएको गाडीले त्यस्तो कुनै दुषित धुवाँ फाल्दैन। तपाईंले कस्तो प्रदूषण देख्नुभयो र मलाई यो कारबाहीको चिट दिदै हुनुहुन्छ।'
फेरि मनमनै सोचेँ, मेरो यस्तो तर्कले यहाँ काम गर्दैन। यो उनीहरूलाई दिइएको कानुनी जिम्मेवारी हो र मैले प्रदूषण जाँच नगराएबापत यो सजाय पाउनु स्वभाविक हो। मनको यो छोटो अन्तर्द्वन्द्वमा पछिल्लो तर्कले जित्यो र मैले आज्ञापालक बनेर पहेलो चिर्कटो लिएँ।
आफू शब्द र वाक्यकै खेतीपाती गर्ने पेसामा भएर होला, मैले चिटमा उल्लेखित मेरो कसुरलाई गहिरिएर पढें। कसुर शीर्षकको तेस्रो कोलमको (ङ) नम्बरमा 'रू ५०० देखि रू १५०० जरिवाना हुने कसुरहरू' शीर्षक अन्तर्गतका १८ बुँदाहरूमध्ये ६ नम्बरको बुँदाको मेरो कसुरलाई गोलो घेरा लगाइएको थियो, जसमा लेखिएको थियो- अवस्था ठिक नभएको सवारी चलाएमा।
फेरि मनमा अन्तर्द्वन्द्व चल्यो। मलाई चिट बुजाएर ती प्रहरी अर्को मोटरसाइकल छेउ पुगिसकेका थिए। मैले सोचें - मेरो यो कसुर हैन किनकि मेरो सवारीको सबै अवस्था ठिक छ। मैले त प्रदूषण जाँच पो नगराएको हो त। यो कुरा उनलाई सोध्नु पर्छ वा बुझाउनु पर्छ, मनले भन्यो। अनि गाडी छेउ लगाएर उनी सामु गएँ। मैले ‘हजुरलाई केही कुरा सोध्नु पर्यो’ भने। उनले मलाई सुन्नै चाहेनन्।
मैले अलि पर रहेका एक तहमाथिको फुल्ली लगाएका ट्राफिक प्रहरीसँग गएर पहेँलो चिटमा गोलो लगाइएको मेरो कसुर देखाउँदै भनेँ- मेरो गाडीको कुन अवस्था ठिक नभएर मैले यो सजाय पाएँ? उनले ‘त्यहाँ जे लेखिए पनि तपाईंको प्रदूषण जाँच नभएकोले यो कसुरको बुँदामा गोलो लगाएको हो’ भने। मैले यहाँ ‘तर्कले काम गर्दैन’ भन्ने मेरो बुझाइलाई थप पुष्टि भएको ठानेँ र अरु धेरै नबोली आफ्नो बाटो लागेँ।
दिउँसो आफ्नो कामको व्यस्तताले पहेँलो चिट तर्फ ध्यानै गएन। बेलुका बासस्थान फर्कँदा भने अनायासै बाटामा दगुर्ने साधनहरूले फालेका धुवाँतर्फ मात्रै ध्यान पुग्नगयो। म चन्द्रागिरि नजिकै बस्ने भएकोले कलंकीदेखिको झन्डै ६ किलोमिटरको बाटोमा विभिन्न सवारी साधनको अवस्था नियाल्न थालेँ।
मैले बाटोमा झन्डै २०-२५ वटा ठूला बस, पेट्रोल ट्यांकर र ठूला ट्रक देखेँ जसमध्ये अधिकांश उकालो र सानो गियरमा कालो धुवाँ फालेरै दौडिरहेका थिए। यसैबीच ५-७ वटा मझौला ट्रक र भाडाका बस पनि त्यस्तै धुवाँ फालिरहेका थिए। ती मध्ये केही गाडीको स्क्रीनमा ग्रीन स्टिकर त देखिन्थ्यो, तर ती सजिलै प्रदूषण पास होलान् जस्ता थिएनन्। कतिपय यी गाडीका पछाडिका इन्डिकेटर लाइट फुटेका थिए, एक-दुई वटामा एउटा मात्र लुकिङ ग्लास थिए। दुई वटा गाडीका अगाडिको स्क्रीन फुटेर टेपले जोडिएको थियो। १-२ बसका झ्यालका केही सिसा फुटेका थिए। धेरै गाडी 'सबै अवस्था ठिक नभएरै’ आनन्दले दगुरिरहेका थिए। रातो प्लेटका निजी कार/जिप भने प्रायः सकुशल देखिन्थे।
बाटोमा सबैभन्दा ठूलो सङ्ख्यामा दौडिएका मोटरसाइकलतर्फ भने त्यति ध्यान नै पुगेनछ। सतुङ्गल कट्न लागेपछि एउटा मोटरसाइकलले अच्चकाली कालो धुवाँ निकालेर बेजोडले दौडिरहेको पाएँ। मेरो गाडीको झ्याल आधा खुल्लै थियो। त्यो पिरो धुवाँको दुर्गन्धले मलाई पूरै असर गर्यो। मैले बेलाबेला यस्तो धुवाँ चाखिसकेको थिएँ। हुन पनि यो ६ किलोमिटरको यात्रामा झन्डै तीन चार सयको हाराहारीमा मोटरसाइकल कुदेको हुनुपर्छ।
फेरि मलाई त्यही पहेँलो चिटको याद आयो। मैले आफैंसँग प्रश्न गरेँ- के मोटरसाइकललाई प्रदूषण जाँच गरेर हरियो स्टिकर टाँस्नु पर्ने व्यवस्था छ त? सायद छैन। त्यसले त कालो पिरो धुवाँ फाल्दै ट्राफिक प्रहरीका अघिल्तिर नै यस्ता मोटरसाइकल दगुरिरहन्छन्।
मैले सचेत नागरिकको दायित्व यो विषय उठान गर्नु पनि हो भन्ठानेँ र केही अध्ययन पनि गरेँ। सोहीअनुसार धेरै तथ्यमध्ये मैले राज्य र नागरिक दुवै पक्षले थाहा पाउनुपर्ने निम्नलिखित जानकारी महत्वपूर्ण रहेको पाएँ-
अमेरिकन केमिकल सोसाइटीको जर्नल ‘इन्भाइरमेन्ट साइन्स एण्ड टेक्नोलोजी’ मा जनवरी १ २००६ मा प्रकाशित एक अनुसन्धात्मक लेखका अनुसार मोटरसाइकलले प्यासेन्जर कारको तुलनामा १६ गुणा बढी ‘हाइड्रोकार्बन’, ३ गुणा बढी ‘कार्बन मोनोअक्साइड’ र अत्यन्तै धेरै वायु प्रदूषणका अन्य तत्वहरू निकाल्छ। यी तत्वहरूले हाम्रो शरीरमा स्ट्रोक लगायत मुटुका अन्य रोग, फोक्सोको क्यान्सर र दम लगायत श्वासप्रश्वासका अन्य सामान्य र जटिल रोग निम्त्याउन कारकको काम गर्दछन्। स्विस फेडेरल ल्याबोरेटोरीमा गरिएको यो अनुसन्धानले आफ्नो सुझावमा दुईपाङ्ग्रे यस्ता साधनको प्रदूषणलाई नियन्त्रण गर्न कठोर नीतिगत व्यवस्था गर्नुपर्छ भनेको छ।
धेरैजसो विकसित देशमा सडकमा दौडने मोटरसाइकलको सङ्ख्या उल्लेख्य छैनन्। त्यसैले प्रदूषणको मामलामा उनीहरू सडकमा अत्याधिक दगुर्ने प्यासेन्जर कार र ठूला गाडीको ‘जिरो इमिसन’ नीतिमा केन्द्रित छन्। हामी पनि त्यही सिको गरेर प्यासेन्जर कार र ठूला गाडीले मात्र धुवाँ फालेको देख्यौं कि! नभए काठमाडौंमै दैनिक १० लाख माथिको सङ्ख्यामा दगुर्ने मोटरसाइकलले निकाल्ने प्रदूषणमा हामी यति उदार किन? मैले त ५०० रुपैयाँ जरिवाना तिरेँ र अर्को दिन प्रदूषण जाँच गरेर हरियो स्टिकर टाँसेँ। तर म यहीं सरकारलाई सोध्न चाहन्छु- के यी लाखौँ मोटरसाइकलले धुवाँ फाल्दैनन् र यिनीहरूलाई ग्रीन स्टिकर चाहिँदैन?