हालै सम्बन्ध बिच्छेद गरेकी एक जना दिदी थोरै दु:खी, धेरै खुसी हुनुहुन्थ्यो।
'समाजले के भन्छ? आफन्तले के भन्छन्? साथीभाइले के भन्छन्? यही चारैतिर सोच्दासोच्दै एघार वर्ष बित्यो बहिनी अब म बाँच्नुपर्छ, केही गर्न सक्नुपर्छ, दुई बच्चाको भविष्य हेरेर भए पनि दुई मुठी सासको टेको लगाउनुपर्छ भन्ने भावना दिलदेखि अकुंरायो अन्तत: सम्बन्ध टुंगाएँ।
मेरो सम्बन्ध मेरो श्रीमानको लागि खासै मूल्यवान थिएन, उनको लागि म हुनु र नहुनुको खासै अर्थ पनि थिएन। श्रीमानले सोच्थे होला, रूपमा राम्री भए पनि, पढेलेखेकी भए पनि मैले सिन्दुर हालेर भित्राएपछि यसको चुरीफुरी सकियो। अलिअलि बाँकी भएको चुरीफुरी दुई वटा बच्चा पाएपछि झनै सकियो। अब यसलाई कसैले लाँदैन, यो कहीँ जाँदिनँ, मैले जे ग रेपनि हुन्छ, जसो गरे पनि हुन्छ। सहनुको सीमा हुन्छ, पीडा भोग्नुको पनि अवधि हुन्छ जब सबै सीमाहरूले लक्ष्मण रेखा पार गर्न थाल्छन् ज्वालामुखी आफै विस्फोट हुन थाल्दो रहेछ।'
उहाँ दिदी शिक्षित हुनुहुन्छ, आफ्नै व्यवसाय छ। आठ र दश वर्षका छोराछोरी छन्, बाउले जस्तो व्यवहार गरे पनि छोराछोरीलाई राम्रो संस्कार दिएर हुर्काउनु भएको छ, पढाउनु भएको छ।
दिदीको कहानी निकै दर्दनाक छ।
'प्रतिष्ठित संस्थाको उपल्लै ओहोदाका श्रीमान बिहेको केही वर्षसम्म राम्रै आदतका थिए। उनी कुनै लतमा फसेका थिएनन्। जब पहिलो बच्चा छोरी जन्मिइन् त्यसपछि भने श्रीमानको व्यवहार परिवर्तन हुन थाल्यो। सुत्केरी बस्न माइती गएकी श्रीमती सकेसम्म घरमै नआइदियोस् भन्ने मनसाय राख्न थाले। फोन गरीगरी अझै दुई चार महिना माइतीमै बस, मेरो बाहिर सरूवा भएको छ, घरमा तिमीलाई सानो बच्चासँग गाह्रो हुन्छ ..... । यस्ता यस्ता कुरा गर्दै टारिरहन्थे, अरूका श्रीमानहरू देख्थेँ बैनी, सानो बच्चाको मायाले कतिपटक ससुरालीमै भेट्न आउँथे, एक महिना पनि माइतीमा बस्न नपाई लिन आउँथे तर आफ्नो श्रीमानको व्यवहार पूरै फरक .... । तर मनले पाप सोचेन, माया गर्थें, त्यतैतिर मात्रै सोचेँ।
छोरी पाँच महिनाकी भइन्, मेरो आमाबुवाले पनि नानीको पास्नी गर्नुपर्छ, सकेसम्म पास्नी आफ्नै घरमा गर्ने हो, ज्वाइलाई साइत जुराएर खबर गरौं भन्नुभयो। पण्डितजीलाई साइत हेराएर श्रीमानलाई फोन गर्यौं, आफू व्यस्त भएको, पछि फोन गर्ने भन्दै फोन काटे। साँझ फोन आयो, सबैकुरा बुवाआमाले बताउनुभयो।
'ओहो छोरीको पास्नीको बेला भइसक्यो है। लक्ष्मीको पास्नी धुमधाम गर्नुपर्छ, के के चाहिन्छ बुवाआमा,' भन्दै निकै आज्ञाकारी बने।
'विधि गर्ने हो आफ्नो छोरीको लागि केके गर्न मन लाग्छ त्यो तपाईंको मर्जी' भन्नुभयो बुवाले।
हाम्रो घर नजिकैको पार्टी प्यालेसमा नानीको पास्नी गर्ने कुरा भयो। घरपरिवारका आफन्त जम्मा भएर घरमै गरौंभन्दा पनि श्रीमानले जिद्दी गरे। एउटा छोरीको पास्नी पनि धुमधामसँग मनाउन सकिएन भने बाउ भएको के अर्थ? मेरो बुवाआमाले पनि ज्वाइँको उदार स्वभावको निकै चर्चा गर्नुभयो।
साइत अनुसार नानीको पास्नी धुमधाम भयो। श्रीमानको अफिसका सबै स्टाफ आएका थिए। एक जना महिला कर्मचारीले नानीलाई बाला बनाएर ल्याइदिएकी रहिछन्, बाला लगाइदिइन्, छोरीलाई उचालिन्, चम्चाले अलिकति खानेकुरा खुवाइदिइन्। मलाई तपाईंको स्वास्थ्य कस्तो छ? के छ? निकै सोधीखोजी गरिन्, बोलीचाली निकै राम्रो लाग्यो। अब हामी जान्छौं है म्याडम जाने बेलामाधरी मेरो छेउमा आएर बिदा मागेर गइन्। घर, माइती, वरपरका साथीभाइ छरछिमेकी सबै जनाको उपस्थितिमा नानीको पास्नी धुमधाम भयो।
सबै आफन्तलाई बिदाइ गरेपछि हामी घरमा गयौं। घर पाँच महिनाअघि र पछिमा धेरै फरक थियो। हुन त महिला नबसेको घर, महिलाले सरसफाइ नगरेको घर सबैको यस्तै हुन्छ भन्ने लाग्यो। म हुँदै ल्याएको चामल जत्तिको त्यति थियो, दालका बट्टामा दाल जत्तिको त्यति थियो। कुनै सामान घटेको थिएन। पाँच महिनासम्म श्रीमानले के खाए त? कौतुहलता बढ्यो। अनि सोधेँ, मेरो प्रश्नमा मौन बसे।
एकैछिनपछि बोले, एक्लो ज्यान अफिसमा गयो क्यान्टिनमा खायो आयो, भाँडा माझ्नु पनि परेन, पकाउने झन्झट पनि भएन। पकाउने काम यतिविधि गाह्रो लाग्थ्यो भने म आउँछु भन्दा किन नआउनु भनेको त? सधैंभरी बाहिर खाएर साध्य लाग्छ? एकातिर पैसा खर्च, अर्कोतिर स्वास्थ्यको हालत के हुन्छ? आफ्नो ख्याल गर्नुपर्दैन? कराएँ पनि, तर केही बोलेनन् सुनिरहे मात्रै।
दुई चारदिनपछि म अफिसको कामले बाहिर जानुछ, पन्ध्र बीस दिन लाग्छ होला भने। अस्ति भर्खर बाहिरै गएको होइन र? तपाईंको अफिसमा तपाईंलाई मात्रै बाहिर गइरहनुपर्छ? अरू स्टाफ जानु पर्दैन? अरूका बालबच्चा, घरपरिवार हुन्छन् कि हुँदैनन्? मेरो कुरामा केही नबोली बसे। के गर्नु? अर्काको नुनपानी खाएपछि नुनको सोझो गर्नैपर्यो, मुखले भनेजस्तो व्यवहार भाँती पुर्याउन गाह्रो छ ... बस यति भनेर बाहिर निस्के।
पहिले निकै बोल्ने, कुराकानी गरिरहने मान्छेको स्वभाव फेरिएको छनक पाएकी थिएँ तर मान्छेको स्वभाव हो सधैं एकनास कहाँ हुन्छ र? भन्ने पनि लाग्थ्यो। यस्तै क्रम दुई वर्षसम्म चल्यो।
दुई वर्षपछि म फेरि गर्भवती भएँ। पहिले जस्तो स्वास्थ्यले साथ दिएन, धेरै बिरामी परेँ। म हस्पिटलको बेडमा हुँदा पनि श्रीमान अफिसको काम एकदिन छुटाएनन्। आलोपालो सबै आफन्तहरू अस्पतालमा बसे। बाबु जन्मियो, सबै आफन्तले भन्थे, भगवानका प्रसाद, छोराछोरी भइहाले, सन्तानको रहर पूरा भयो। म पनि खुसी थिएँ, एकैचोटि छोराछोरी हुर्काउँछु त्यसपछि नयाँ जागिर सुरू गर्छु भनेर।
प्राइभेट बैंकको जागिर थियो, पहिलो बच्चा जन्माउने बेलामा छोडिदिए, योग्यता छ, अनुभव छ जागिर पाइहाल्छु भन्ने आत्मविश्वास थियो। बाबुको न्वारान गरिसकेपछि दुई वटै बच्चा लिएर माइती गएँ। माइतीमा दुई महिना बसेँ, दुई महिनामा एकदिन पनि श्रीमान छोराछोरी भेट्न आएनन्। कहिलेकाहीँ फोन गर्थे। म अफिसमा व्यस्त छु, फिल्डमा छु, हाकिमले फलानो काम दिएर बाहिर पठाएको छ ..... यस्तै भनिरहन्थे।
यसपालि त बाबुको पास्नीभन्दा अगाडि नै लिन आउनुहुन्छ होला नि? मेरो कुरालाई हाँसेर टारे।
नानीको धुमधामसँग पास्नी गरिहाल्यौं, बाबुको घरमै पास्नी गर्ने, दुनियाँलाई खुवाएर के पाउनु छ र? धेरै खर्च हुँदैन। श्रीमानको कुरा ठीकै लाग्यो, परिवारका आफन्तहरू जम्मा भए भइहाल्छ भन्ने लाग्यो। बाबु तीन महिनाको भएपछि श्रीमान मलाई लिन आए, छोराछोरी लिएर घर गएँ। छ महिनामा बाबुको पास्नी गर्यौं, सीमित आफन्तको बीचमा। पास्नी सकिएको एक हप्तापछि फेरि बाहिर जानु छ भन्दै श्रीमान गए।
मलाई साह्रै नै चासो लाग्यो, बिहे गर्नुभन्दा पहिलेदेखि नै त्यो अफिसको बारेमा थाहा थियो, पहिले त्यस्तो नहुने अहिले कसरी अफिसको काम एकाएक बदलियो भन्ने लाग्यो। अफिसमा फोन गरेँ। साइड अफिस भए/नभएको बारेमा बुझेँ, शाखा कहीँ पनि रहेनछ। केही न केही त छ भन्ने लाग्यो, पन्ध्र दिनपछि श्रीमान आए। मैले सोधेँ- तपाईंको कस्तो फिल्ड हो? अफिसको कुनै शाखा बाहिर नहुने तपाईंको काम मात्रै बाहिर पर्छ? साँचो कुरा के हो? इस्यू यहीँबाट सुरू भएको हो।
मेरो अफिस कस्तो हो? के हो? घरमा बसेर अनावश्यक जासुसी गर्नुको मतलब के हो? निकै झर्कोफर्को गर्न थाले। म नबोली बसेँ। त्यसपछि निकै ख्याल गर्न थालेँ, फोन कतिबेला आउँछ, कस्को कस्तो कुराकानी हुन्छ? कतिबेरसम्म फोनमा बोल्छन् ....यी विषय मेरो केन्द्रमा पर्न थाले।
एकदिन राति बाबुको डाइपर फेरिदिएर दूध खुवाउँदै थिए, बाहिर गुनगुन आवाज आएको सुनेँ, बाहिर पिँढीमा बसेर कुराकानी गरेका रहेछ्न्। घडी हेरेको पौने १ हुँदैथियो। यति राति कुराकानी कोसँग हुन्छ? ओछ्यानमा श्रीमती र दुई वटा बच्चा छन्, श्रीमान बाहिर फोनमा मस्त छन्। निदाएको जस्तो गरी सबैकुरा निगरानी गरेँ। एक सातासम्म निगरानी गर्दा हरेक दिन एकै समयमा बाहिर निस्केर फोन गरेको देखेँ।
एकदिन खाना खाने बेलामा सोधेँ, आज बच्चाहरू लिएर कतै पार्कतिर घुम्न जाऊँ न, अफिसमा फुर्सद छ नि? आज शनिबार यसै पनि बिदाको दिन हो। मेरो कुरामा केही बोलेनन्, एकैछिन पख म अफिसमा फोन गर्छु, कतै अपर्झट जानुपर्ने भयो भने तुरून्तै गइहाल्नुपर्छ।
अब चाहिँ श्रीमानको नियत गलत छ भन्ने प्रमाणित हुँदैथियो। शनिबार कुनै पनि काम हुँदैन, इमर्जेन्सी प्रकृतिको काम गर्ने अफिस पनि होइन। मेरो भाइलाई सबै कुरा बताएँ। उसलाई भिनाजूको वास्तविकता बुझ्न भनेँ। बुवाआमालाई केही भनेकी छैन, कसैलाई केही सुनाएकी छैन। बिना प्रमाण कसैलाई आरोप लगाउनु अपराध हो भन्ने मनमा थियो।
दुई महिनाको निगरानीपछि म छाँगाबाट खसेजस्तै भएँ। जिन्दगी सकियो भन्ने लाग्यो। आफूले सारा जिन्दगी सुम्पिएको श्रीमान अर्कैको भइसकेको छ भन्ने थाहा पाउँदा कुन चाहिँ महिलालाई पीडा हुँदैन होला? भर्खरका दुई वटा लालाबाला घरमा छन्, श्रीमान त कान्छी लिएर बन्दोबस्त गरिसकेका रहेछन्, कान्छीतिरको छोरै तीन वर्षको भइसकेको रहेछ,' कुरा सुनाउँदै गर्दा धेरै पटक दिदी भक्कानिनुभयो।
'म मरौं कि बाँचौं बहिनी? मेरो हालत के भयो होला? काखका साना बच्चा छन, श्रीमानको त्यो अवस्था थाहा पाउँदा मेरो मानसपटलमा के घुम्यो होला? छोरीको पास्नीमा जसले बाला बनाएर ल्याएकी थिई, उही कान्छी बनेकी रहिछ। महिलाको शत्रु महिला हुन् भन्नेका शंका छैन, त्यो महिलालाई घरमा श्रीमती छ, बच्चा छन् भन्ने थाहा हुँदाहुँदै कान्छी बन्नुपर्ने कस्तो महिला अधिकार हो? त्यत्रो अफिसकी कर्मचारी थुइक्क.... बुद्धि!,' दिदीले पटकपटक धिर्कानुभयो।
'बेलाबेलामा लाज पचाएर घर आउने, अनेक बहाना बनाउने जाने गर्थे। मैले केही भनेकी थिइनँ। माइती गाउँकै दाइ वकिल हुनुहुन्थ्यो उहाँलाई बोलाएँ। के गरौं दाइ? यो सम्बन्ध म कसरी स्वीकार गरौं? तपाईंले बाटो देखाउनुस् भनेँ। अब अति नै भएपछि बुवाआमालाई पनि भनेँ, घरको कुरा घरमै मिलाउनुपर्छ बाहिर नभन भन्नुभयो। ज्वाइँलाई हामी सम्झाउँछौं भन्दै काका, मामाहरू लाग्नुभयो।
मेरो आत्माले माया मारिसक्यो, मृत शरीरलाई अमृतको घडाले भरे पनि प्राण आउँदैन भन्ने लागिसक्यो। छोराछोरीको भविष्य सम्झेर केही नबोली बसेँ, बाबा भन्दै वरैबाट झम्टिने छोराछोरीको अवोधपनलाई सम्झेर हतारमा निर्णय गर्न सकिनँ। यो बीचमा डिप्रेसनमा पनि पुगेँ। अध्यात्म, ध्यान, योग अनेक जुक्ति अपनाएर डिप्रेसनबाट मुक्ति पाएँ। म लड्नुपर्छ, हिम्मत हार्दिनँ भन्ने अठोट लिएँ। दुई वटा बच्चाको लागि भए पनि बाँच्नुपर्छ भन्ने लाग्यो। पीडैपीडामा सम्बन्ध जोगाउन यतिका वर्ष गुजारेँ। सम्बन्ध जोगाउने ठेक्का सायद भगवानले मेरै भाग्यमा पारेका रहेछन्, म चाहिँ जोगाउन लागिरहने, श्रीमानले जे गर्दा पनि सहिदिनुपर्ने? यो कस्तो संस्कार हो? यदि बच्चा हुँदैनथे भने थाहा पाएको भोलिपल्टै डिभोर्स दिइसक्थेँ तर बच्चाको मुख हेरेर पीडादायी सम्बन्धको नाता जोगाएँ।
नन्द, आमाजू, सासूससुरालाई छोरा, भाइको कर्तुतको कुनै लज्जा छैन। बुहारी गतिली भएको भए बाहिरबाहिर चहार्न जान्थ्यो र? मर्दका दशवटीसम्म हुन्छन् त भन्ने सम्मका कुराहरू सुनेँ। बच्चाहरूलाई बिस्तारै बिस्तारै सिकाएँ, छोरी अहिले दश वर्षकी भइन्, निकै बुझकी छिन्। मेरो आमालाई पीडा दिने बाबा चाहिँदैन, मलाई आमा भए पुग्छ भन्ने आभास उनको दिमागमा परिसक्यो। बाबु आठ वर्षको भयो, ऊ पनि धेरै बुझकी छ। सबैतिर बुझेर सम्बन्धको ठेक्का रद्द गरेँ बैनी।
आफ्नो व्यवसाय छ, मेरो भागमा परेको एउटा घर छ, घर भाडाले बच्चाको स्कुल फी, महिना दिनसम्म खाना खान पुग्छ। अति भएपछि माइतीले पनि मेरो साथ दिए। भान्जाभान्जी पढाउने जिम्मा मेरो भनेको छ भाइले। जिन्दगी पीडामा जिउने कि स्वतन्त्रतामा जिउने भन्ने जिम्मा आफ्नो हो। म जस्ता पीडा भोग्नेहरू धेरै छन् बैनी, लोग्नेले धोका दिँदैमा हार खानुहुँदैन, हिम्मत गरेर बाँच्नुपर्छ भन्ने पाठ सिकाउनको लागि भए पनि यो पीडा लेखिदेऊ है।'
दिदीको हृदयविदारक तर आत्मविश्वास भरिएको कहानी धेरै महिलाको जिन्दगीमा मेल खाने देखेर उजागर गरेकी हुँ। दिदीको हिम्मतलाई सलाम छ!