जब अमेरिकाले प्रवेश अनुमति दियो एक-एक दिन गर्दागर्दै अमेरिका उड्ने दिन संघारमै आएर उभियो।
मेरो साथी भने सधैं जसो तौलको अनुमति पाएको दुइटा ठूला झोला थिए। यात्रामा भेटिएका यात्री कहिले गफिने हुन्थे, कहिले चुपचाप दश बाह्र घण्टा मौन ब्रत बस्नुपर्ने हुन्थ्यो।
ठूला सहरमध्ये अस्ट्रेलिया यात्रा गरिसकेको भएर अमेरिकाको लागि पनि खासै फरक परेन। अस्ट्रेलिया उड्दा जस्तै उस्तै एयर होस्टेस, उस्तै तरिका, उस्तै खानेकुरा त्यसैले यात्रा फरक थिएन। फरक थियो त मेरो एक्लो यात्रा।
जहाज यात्रा र ट्रान्जिट गरेर ठ्याक्कै तीन दिनमा अमेरिका पुगेँ। जहाजमा यात्रा गर्दा आफू बसेको सिट अगाडि राखिएको सानो टिभीमा कि गीत सुन्ने गर्छु कि स्क्रिनमा फ्लाइट म्याप हेर्ने गर्छु। फ्लाइट म्याप हेर्दा नेपालबाट अमेरिका पुगिसक्दा ठ्याक्कै पृथ्वीको आधा भागको फन्को मारिँदो रहेछ। त्यसैले त आफ्नो देशको आँगनमा सूर्यको किरण पोखिँदा अमेरिकाले चन्द्रमासँग साइनो गाँस्न पुग्ने रहेछ।
अस्ट्रेलिया पटकपटक गएँ। भाषाको अल्पज्ञान त्यहाँ जाँदा पनि नभएको होइन तर अस्ट्रेलिया पुगेपछिको चेकजाँचमा फेरि त्यहाँ बस्ने समयको भिसा लगाउनु नपर्ने हुँदा केही गाह्रो महसुस भएन। अमेरिका आउँदा भने 'पोर्ट अफ इन्ट्री' मा त्यहाँ बस्ने समयको भिसा लगाउनु पर्ने र धेरै हिँड्नु पर्ने भएकोले मलाई छोरी ज्वाइँले पहिलोपटक ह्विलचियरको व्यवस्था गरिदिएका थिए।
जहाज रोकिएपछि जहाजको ढोकैनेर ह्विलचियर लिएर सहयोगी बसिरहेका हुँदा रहेछन्। आफ्नो टिकट देखाएर ह्विलचियरमा बसेपछि अर्को गन्तव्यको ढोकैनेर लगेर छोडिदिने रहेछ।
कतै सोधखोज गर्नु नपर्ने निक्कै सजिलो महसुस भयो। अमेरिका लस एन्जलसको एयरपोर्ट ठूलो, एउटा छुट्टै सहर जस्तै झिलिमिली थियो। लस एन्जलसको ट्रान्जिटबाट डोमेस्टिक टेक्सासको जहाजसम्म पुग्नको निम्ति बसले लैजाँदो रहेछ। त्यो बसमा म र मलाई ह्विलचियरमा लिएर हिँड्ने सहयोगी मात्र थियौं। सहयोगीले मलाई लगेर बसको सिट नजिकै ह्विलचियरलाई लक गरेर राखिदिए र उनी नजिकैको सिटमा बसे। त्यसरी ह्विलचियरमा पहिलोपटक हिँडेकोले आफूलाई देख्दा म असाध्यै अशक्त छु र भनेझैं पनि लाग्यो।
जहाज गुड्ने ग्राउन्डभित्रै भएर बस गुड्यो मैले झ्याल बाहिर नजर दौडाएँ। बाहिरको एउटा ठूलो भवनमा 'युनाइटेड स्टेट अमेरिका' लेखिएको साइनबोर्ड देखेँ तब बल्ल मनमा यस्तो खुसीको तरंग फैलियो कि ओहो! म त अमेरिका पो आइपुगेँ! साँच्चै त्यो बखत निकै खुसी अनुभूत भयो। एउटा साइनबोर्डले वास्तवमै मभित्र खुसीको तरंग ल्याएको थियो। कहिलेकाहीँ सानो सानो कुराले कति महत्व राख्दो रहेछ भन्ने कुरा ज्ञात भयो।
सन्तानसँग भेटिँदाको खुसी त शब्दमा उतार्नै कठिन छ।
अमेरिका घर पुगेपछिको पहिलो बिहान यति मिठो आवाज मेरो कानसँग ठोक्किन आइपुग्यो म ठ्याक्कै बाल्यावस्थामा पुगें।
बिहान झिसमिसेमै कोठा बाहिरका मझौला रूखहरूमा (यहाँ साह्रै ठूला रूखहरू पनि नहुने रहेछ र साह्रै साना रूखहरू पनि नहुने रहेछ) ढुकुर आएर ढुक्कुरकुर गरेर बिउँझाउँदा धेरै समयपछि त्यस्तो आवाजसँगको सामिप्यता पाएकी थिएँ, त्यो बखत म अमेरिका छु भन्ने नै बिर्सिएँ।
ढुकुरको आवाज मैले सानो छँदा सुनेको मिठो सम्झना छ। मेरो बाल्यावस्था केही समय गाउँमा बितेको थियो, त्यसैले पनि यो आवाजसँगको सामिप्यता थियो। अमेरिकामा ढुकुरको आवाज सुन्दा स्वदेशमै छु झैं भयो।
बिहान उठेँ अलिक दिन त स्वदेश र परदेशको समय पूरै दिन र रात फरक भएकोले निद्रा नै मिलेन। केही दिनको रेस्टपछि घुम्न भनेर छोरी ज्वाइँसँग अमेरिका टेक्सासको एलपासो सहर निस्किएँ।
जब घरबाट निस्कियौं म तीन छक्क परेँ। यहाँ त मुस्ताङ जाँदाको हिउँले खाएको जस्तो रित्तो पहाडहरू मात्र देख्छु। कतै पनि ठूलो सहर जस्तो ठूला घरहरू देखिँदैनन्। जतासुकै दुई तले अपार्टमेन्टको व्यवस्था अनि बजार चाहिँ ठूलो हल भएको एकतले घरमा मानिसलाई चाहिने सम्पूर्ण सामान पाइने ठाउँ।
अहो! यो अमेरिका त हो नि भन्नेमा म पुगेँ। यस्तो मरूभूमि जस्तो रित्तो भएको जमिनमा कसरी बसेका छन् बच्चाहरू सारा परिवारसँग छुट्टिएर? एकातिर हृदय बिदीर्ण बन्यो भने अर्कोतिर त्यही उजाड देखिने सहरमा उच्च शिक्षाको सुविधा र अन्य सुविधाहरू त्यतिकै छन्। घरभन्दा अलिक पर केही दुरीमा डाउनटाउन अर्थात् त्यो सहरको पनि मुख्य सहर रहेछ। सहरमा ठूलाठूला होटल, बैंक, अपार्ट्मेन्टहरू देखियो अनि पो वाह! अमेरिका फुत्कियो मुखबाट।
म सधैं बिहान ७:३० मा नातिनीलाई स्कुल बससम्म पुर्याउन जाने गर्छु त्यो बेला अरू अभिभावक पनि आफ्ना सन्तान लिएर आइपुग्छन् तर चिसो सम्बन्ध जस्तो हाई हेल्लो मात्र हुन्छ। आफ्नो देशको जस्तो सन्चो बिसन्चो आत्मैदेखि रमाउने आत्मीयता भेटिँदैन यहाँ।
अमेरिका जति विकसित छ, त्यति नै मान्छेहरू एक्लो छन्। एक एक मिनटको हिसाब हुन्छ सबै आफ्नो काममा व्यस्त छन्। यहाँसम्मकी समाजको त कल्पनै नगरौं परिवार समेत आफूसँग छैनन्।
हामी बसेको अपार्टमेन्टसँगै जोडिएको अर्को अपार्टमेन्टमा एक जना लगभग असी हाराहारीका वृद्ध छन् उनी केही वर्षदेखि क्यान्सरसँग जुधिरहेका रहेछन्। यस्तो अवस्थामा उनलाई स्याहार गर्नको निम्ति सरकारले एक जना नर्स राखिदिएको छ। उनी बिहानको आठ बजे आइपुग्छिन् र साँझको ६ बजे फर्कन्छिन्। उनका परिवार सबै आ -आफ्नो कममा व्यस्त छन्। उनी एक्ला व्यक्ति चौबिस घन्टामा आधा घन्टा मात्र मुस्किलले निदाउने रहेछन् साथी भनेको चुरोटको खिल्ली मात्र। उनी हरबखत चुरोटसँग भेटिन्छन्। कहिलेकाहीँ उनी घरका अन्य ठाउँमा, बाथटपमा लड्दा उठाउन ज्वाइँसाहब जानु हुन्छ। यस्तो देख्दा साह्रै विरक्त लागेर मुटु नै चिरिएर आयो। उनले हामीलाई देख्दा नेपाली संस्कार अनुसार नमस्कार भन्नुपर्छ भन्ने सिकेका रहेछन्। हामीलाई देख्नासाथ दुई हात जोडेर नमस्कार भन्ने गर्छन्।
उनलाई भेट्दा मैले आफ्नो देश, हाम्रो संस्कार, पारिवारिक मेल सबै सम्झिएँ। यहाँ विकासले हरचिज यान्त्रिक बनेको छ तर व्यक्ति नितान्त एक्लो। एक्लो व्यक्तिलाई प्रकृतिले बाहेक अरू त कसले बुझ्छ होला र? प्रकृति आफ्नै तालमा मौसम बदलिरहन्छ तर जति पटक बदलिन्छ हरेक व्यक्तिलाई छोएरै जान्छ, उसको नजिक भएरै जान्छ।
प्रकृतिको आफ्नै नियम छ, कतै चिसो हिउँ, कतै उखरमाउलो गर्मी त्यस्तै यहाँ अमेरिकामा पनि कतै उजाड पहाड र मरूभूमि कतै हरियाली चिसो र हिउँ झरिरहेको।
मैले जहाजमा फ्लाइट म्याप हेर्दा तल पृथ्वीमा सेता चट्टान जस्ता भागहरू देखेकी थिएँ। ती सेता भागहरू हिउँझैं लागेको थियो। बच्चाहरूसँग घुम्ने क्रममा टेक्सासको एउटा भाग जहाँ अति नै सेता घामको प्रकाश टल्किएझैं सेता बालुवै बालुवाको बस्ती रहेछ घाम लागेको बेला त्यहाँ पुग्दा रित्तो आँखाले हेर्नै नसकिने शायद त्यही सेता बालुवा नै आकाशबाट देखिएको हुनुपर्छ। हामी सेता बालुवाको पहाड चढेर चिप्लेटी खेल्यौं वाह! प्रकृति। शायद यही सुन्दर प्रकृतिको अर्को नाम स्वर्ग हो।
टेक्सासबाट लस भेगास ट्रान्जिट हुँदै तीन घण्टाको उडानबाट हामी घुम्न सन फ्रान्सिस्को पुग्यौं। सन फ्रान्सिस्को सहर भने कल्पना र रहर कै सहर रहेछ। त्यहाँको सुन्दरता र विकास देखेर आहा! भनेर नरमाउने कमै मात्र होलान् । सडक छेउ हरिया रूखहरू, तर्पाईं तर्पाई परेको पहाडमा साना साना चिटिक्कका घर र घर वरपर सबै हरियाली, परपरसम्म देखिने समुद्र, चिल्लो सडकमाथि सललल बगेका मोटर गाडी, साह्रै सुन्दर देखिने अमेरिका सहरभन्दा पनि हाम्रै नेपालको कुनै विकसित ठाउँझैं लाग्ने।
हामीले सुनेको तर नदेखेको कुरो चालकरहित कारको अनुभव बटुल्न पायौं। अचम्मको कुरा सो कार यसो हेर्दा जतासुकै क्यामरा नै क्यामरा जडान गरिएको तर बिना चालक पनि चालक भए जतिकै सुरक्षित हुँदो रहेछ। नेभिगेट जडानका कारण बहान नियन्त्रण हुने र गन्तव्यको यात्रा पनि तय भएको र सुरक्षित हुने रहेछ। भर्खर भर्खरै मात्र क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा यो कार चलेको रहेछ। हाल फिनिक्स, एरिजोना र सन फ्रान्सिस्कोमा यी कार सन्चालनमा छन्।
हामी सन फ्रान्सिस्को घुम्नका निम्ति पुगेका अनि मुख्य ठाउँहरू घुम्न छुटाउने त कुरै भएन।
विश्व प्रख्यात मध्येको एक पुल गोल्डेन गेट पुल पुग्यौं हामी। खासगरी यो पुल लगभग सत्तासी वर्ष अघि निर्माण भएको सुनौलो पुल दुश्मनलाई प्रहारको निम्ति बनाइएको भएता पनि त्यसरी प्रयोग नभएको तर सो पुलको इन्जिनियरिङ अति सुन्दर ढंगले गरिएको हुनाले प्रख्यात रहेछ। पर्यटकहरू पुलभन्दा अलिकमाथि रहेको मैदानमा पुगेर दृश्यावलोकन गर्न मिल्ने रहेछ। अत्यधिक चिसो समुद्री हावा चल्ने भएर मुस्किलले एक मिनेट अडिन सकिने रहेछ।
हामी पुलभन्दा अलिक माथिपट्टि थियौं। पुलको हाराहारीमा निकै सुन्दर बस्ती जस्तो मिलेको घरहरू, सानो चिटिक्क परेको गार्डेन जस्तो देखिने मनमोहक दृश्य देखिन्थ्यो। माथिबाट हेर्न आउने पर्यटकलाई पुल परसम्म देखिने समुन्द्री किनार भएकोले हेर्ने ठाउँ वरपर जालीले बेरेर सुरक्षित गरिएको थियो। मानिसहरूको आस्था जहाँ पुगे पनि भेटिने। त्यहाँ पुल छेउमा फलामको जाली बारिएको ठाउँमा प्रेम सफलताको निम्ति मुटुको प्रतीक भएको ताल्चाहरू झुन्ड्याइएको थियो। मनमनै सोचेँ मानिसहरूको आस्था प्रतिको विश्वास अहो! हामीले पनि गोल्डेन गेट वरपरका दृष्यहरूलाई पृष्ठभूमि बनाएर सुनौला तस्बिरहरू क्यामरामा कैद गर्यौं। यो पुलले सन फ्रान्सिस्को सहर र प्रशान्त महासागरलाई जोडेको रहेछ। संसारको आश्चर्यहरूमध्ये एकको रूपमा मान्यता प्राप्त प्रतीकहरूमध्ये एक रहेछ।
हामी एक हप्ता सन फ्रान्सिस्को सहर घुम्यौं। घुम्ने क्रममा नेपालको प्रसिद्ध राराताल जस्तै अमेरिकाको 'लेक तावे' ताल रारा ताल भन्दा ४६ गुणा ठूलो समुद्री सतहदेखि ६२२५ फिट उचाइमा रहेको ताल अवलोकन गर्यौं। सो ताल वरिपरि गर्मीमा पनि पहाडहरू हिउँले ढपक्क ढाकिएर अति सुन्दर देखिएको थियो तर चिसो भने खासै महसुस भएन। हामी हिउँले रूखका जराभरि सेतै रंग्याएको वनको छेवैछेउ भएर हिँड्यौं। तालसम्म पुग्नुअघि हामी मोटरबाटै यी दृष्यहरू हेर्दै रमाउँदै गयौं।
यो ताल अमेरिकाको सिएरा नेभाडामा रहेको स्वच्छ पानीको ताल क्यालिफोर्निया र नेभाडाको बीचमा फैलिएको रहेछ। यो तालमा घुमिरहँदा नेपालको राराताल घुम्न जाने इच्छा अझ तीव्र बन्यो। ७५ प्रतिशत जलाधार संयुक्त राज्य वन सेवाको व्यवस्थापन इकाईले कभर गरेको यो ताल सुनौलो पुल जतिकै पर्यटकहरूको रोजाइमा पर्ने रहेछ।
हामी पुग्दा दिउँसोको १ बजिसकेको थियो सो ताल हेर्न आउने प्रशस्त पर्यटकहरू तस्बिर लिँदै, रमाउँदै थिए। तालमा अलिक पर डुंगा पनि चल्ने रहेछ। डुङ्गामा खासै यात्रा गरिएको चाहिँ देखिएन तर वरपर जता हेरे पनि हरिया पहाड माथिको हिउँले त्यतिकै लोभ्याइरहेको थियो। हुन त मानिसहरू सबै एउटै स्वभावका हुँदैनन् मलाई भने प्रकृतिसँग रमाउन असाध्यै मन पर्छ। प्रकृतिसँगै हराउँ उसैलाई अंकमाल गरूँ उसैसँग बात मारिरहुँ हुन्छ। त्यसैले जहाँ पुगे पनि पहिलो अवलोकन प्रकृति नै हुने गर्छ।
मेरी सात वर्षकिी नातिनी अंग्रेजी बोल्ने भएर नेपाली बोल्दा तिमी सम्बोधन गर्छिन्। हामी नेपालीले आफूभन्दा ठूलालाई हजुर सम्बोधन गर्ने चलनअनुसार मैले नातिनीलाई हजुर भनेर बोल्न र नेपाली अक्षर लेख्न सिकाइरहेकी थिएँ यसै क्रममा एकदिन उनले बजार निस्कँदा पिज्जामा हालापेन्यु (jalapeno) राखेर खाने कुरा गरिन्।
नेपाली बोल्दै 'मम्मी हालापेन्यु पनि है भनिन्। मैले उनलाई नेपाली बोल्न सिकाइरहेको हुँदा हाल्नुस् पेन्यू भन न भने। उनी त मलाई ट्वाँ परेर हेरिरहिन् अनि छोरी र ज्वाइँसाहेब निकै हाँस्दै हालापेन्यू भनेको स्पेनिस भाषामा पिज्जा माथि राख्ने एउटा खासै पिरो नहुने अलि अलि मात्र पिरो खाले खुर्सानी हो भने अनि म पनि नातिनी पनि निक्कै हाँस्यौं। भाषाको अल्पज्ञानले अर्थको कति अनर्थ हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेको थियो यो।
अमेरिका भ्रमणले धेरै खुसी, केही दुखी पक्कै तुल्यायो ।
संसार आफ्नै रित आफ्नै संस्कारमा हिँडेको छ। हामी जहाँ पुगे पनि आफ्नो संस्कार आफ्नोपन खोज्दा पीडा हुने रहेछ। त्यस्तै भयो मेरो अमेरिका बसाइँ धेरै खुसी, केही पीडा।