घडीमा चार बजिसकेको थियो। हतार हतार बसपार्कतिर लागेँ। पाँच बजे बस छुट्ने। भिडभाड हुने सिजन थिएन। त्यसैले बसको अग्रिम टिकट काटेको थिइनँ। साइड 'ए' को ५ नम्बर सिट झ्यालतिर बसेँ।
कहिले बाटामा गाडी बिग्रिने त कहिले कचमकोच यात्रुहरू, यात्रु र सहचालकको झगडा त कहिले छेउका साथीको भोमिटिङ। सधैँ बसको यात्रा सुखद नहुने। म चाहन्थेँ यो पटक यी कुनै नहुन्।
अन्तर्मुखी स्वभाव भएर होला मलाई छेउको साथीसँग गफ गरेर भन्दा चुपचाप झ्याल बाहिरको दृश्यावलोकन गर्दै बसको यात्रा गर्न मन पर्छ।
बस गुड्न सुरु गर्यो।
अर्को बस बिसौनीमा बस रोकियो। एक जना वृद्ध खलासीसँग झगडा गर्दै बसमा उक्लिएँ। पछाडितिर सिट खाली भएकोको उतै सिटमा बस्लान् भन्ठानेँ। तर उनी मेरो सिट नजिक आएर रोकिएँ र मलाई, 'नानी, अलि पर सर्चेउ' भने। म अलि पर सरेँ।
बुढा परिचय गर्नै व्यस्त थिए। मुख खाली बस्ने बानी रहेनछ बा'को, केही न केही बोलिरहन्थे।
'नानी कहाँसम्म पुग्ने?' बाले मलाई सोधे।
उफ्! अब पालो मेरो आएछ नि परिचय दिने।
'काठमाडौँ पुग्ने हो बुबा,' मैले भनेँ।
'नानी कुन थर को? नानीको पुर्खौली घर कता?' बा'ले एकपछि अर्को प्रश्न गर्दै गए, मैले जवाफ फर्काउँदै गएँ।
अब योभन्दा बढी प्रश्न नसोधे नि हुने जस्तो लाग्यो। म झ्यालतिर फर्किएँ।
'खोकी लाउँछ नानी, झ्यालतिर बस्न पाए थुक्न सजिलो हुन्थ्यो होला,' उनले भने।
बस्न त मलाई पनि झ्याल तिरै मन पर्थ्यो। म धर्मसंकटमा परेँ। आग्रह नकार्न सकिनँ, सिट छोडिदिएँ।
'नानी, नातिलाई फोन गर्देऊ न,' बुढा बाले मोबाइल थमाउँदै भने।
फोन लगाइदिएँ। एक छिन फोनमा बोलेपछि 'लाऊ तिमीसँग बोल्छु भनेको छ नातिले' भन्दै फेरि फोन थमाए।
मसँग? किन? फोन समाएँ।
'हजुरबुवाले त्यति मेसो पाउनु हुन्न,कालीमाटी झारिदिनु है' भन्ने आवाज आयो। मैले 'हुन्छ' भनेँ।
'छोराहरू किन लिन आउन्नन् बुबा?' मैले सोधेँ।
'छोराहरू यहाँ छैनन् नानी। एउटा अमेरिका,अर्को अष्ट्रेलिया,कान्छो कोरिया उडेको महिना दिन भयो,' बा ले मलिन स्वर मा जवाफ दिए।
'घरमा चाहिँ को-को हुनुहुन्छ?' मैले सोधेँ।
'हामी दुई जना बुढाबुढी। बुढीलाई दमको बिमार छ। पोहोरसम्म ठिकै थिई। हिउँदमा मास ठटाउँदा ढाड सर्केर अहिले हिँडडुल गर्न सक्दिन,' बाले जवाफ दिए।
बस रोकियो। खाना खाने बेला भएछ। बुढा बा गफमै व्यस्त थिए। म बसबाट ओर्लिएर होटेलतिर लागेँ।
'बुबा खाना खानु भयो त?' सिटमा बस्दै गर्दा मैले सोधेँ।
'खाइनँ नानी, आज एकभक्ति कति खानु खाना पनि! खाना खाँदा खाँदा यो उमेर भयो। अझै कति खानु पर्ने हो!'
बाले नबुझिँदो तरिकाले जवाफ दिए।
'खाना त खानु त पर्छ नि बुवा, खानको लागि त यो दुःख। शरीर रहे पो संसार देखिन्छ,' म बिचैमा बोलेँ।
'दुःखको त के कुरा नानी! दुःख त कति गरियो कति। के गरियो भन्दा नि के गरिएन होला। हर थोक गरियो छोराछोरीको लागि,' बा अलिक भावुक बने।
'पन्ध्र साल त कालापत्थरमा मजदुरी गरेँ। अलिअलि पैसा कमाएर छोराछोरी पढाएँ। पछि देश फर्किएँ र जग्गा किनेँ। त्यही जग्गा बेचेर छोराहरू विदेश पठाएँ। सबै छोराहरू सात समुद्रपारि छन्। अहिले पनि साबुन फ्याक्ट्रीमा काम गर्छु। संसार जित्ने होडमा कैयौँ सपनाहरू त्यसै मर्दा रहेछन् नानी,' बाले आँखा रसिला बनाउँदै भने। म भावुक बनेँ।
'यो उमेरमा नि काम गर्छन् त बुवा? अब त छोराछोरीको पौरख खाने बेला भयो। छोराछोरीलाई पैसा पठाइदेऊ भन्नुपर्छ नि,' मैले भनेँ।
'भन्दिनँ बा हातपाउ चलुन्जेल। उनीहरूको खुसीको बाधक बन्दिनँ। अहिलेसम्म भौमानले हेरेका छन्। हातपाउ चल्न छोडेका दिन जे होला।'
हाम्रो ओर्लिने ठाउँ आउन लागेको थियो।
अघिसम्म बोल्न जाँगर नचल्ने मलाई उहाँको कुरा सुन्दा सम्मान लाग्न थालेको थियो। ओर्लिने ठाउँ अहिल्यै नआए नि हुने जस्तो भएको थियो।
बस कलंकीबाट कालीमाटी मोडियो।
'बुवा, अब तपाईंको झर्ने ठाउँ आउन लाग्यो,' मैले भनेँ।
बा झोला मिलाउन थाले।
'तपाईंको फोन नम्बर मैले लिएकी छु, फोन गरेर भेट्न आउँछु,' मैले भनेँ।
'१० महिना कोखमा राखेर २० वर्ष दुःख गरेर हुर्काएका छोराहरू त यो उमेरमा भेट्न आएका छैनन्, तिमी एकछिन गाडीमा भेट भएकी के भेट्न आउली! ल त बा म लागेँ' भन्दै बुढा बा गाडीबाट ओर्लिए।
म निःशब्द भएँ।
हजुरबुवा गए नि उहाँले भनेका कुराहरू मेरो दिमागमा घुमिरहे। सोचेँ, किन राज्यले नागरिकको बुढेसकालको न्यानो साथको सुरक्षा गर्न सक्दैन? गाउँघर सुनसान छन्, युवाहरू सबै विदेश। कसका लागि राजनीति गर्छन् नेताहरू? किन युवाहरूलाई स्वदेशमै टिकाउन र बिकाउन सक्दैनन्?