सत्तास्वार्थ निर्दयी, निष्ठुर र निरंकुश हुन्छ।
२०५१ सालमा बनेको नेकपा एमालेको नौ महिने शासनकालका विरूद्ध नेपाली कांग्रेसले चालेको कदम सम्झिन्छु। २०४८ सालमा नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बहुमतको सरकार बनायो। पार्टीभित्रै दुई गुटको खिचातानीका कारण तीन वर्षमा प्रधानमन्त्री कोइरालाले प्रतिनिधि सभा भंग गरे।
मध्यावधि निर्वाचनमा नेकपा एमाले प्रतिनिधि सभाको ठूलो दल बन्यो र पार्टी अध्यक्ष मनमोहन अधिकारीको प्रधानमन्त्रित्वमा सरकार बनायो।
प्रधानमन्त्री अधिकारी हेलिकप्टर दुर्घटना परेर उपचारका लागि शिक्षण अस्पताल भर्ना भएका थिए। त्यही बेला कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीको सहयोगमा प्रधानमन्त्रीविरूद्ध प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता गरायो। देशका प्रधानमन्त्री अस्पतालको शय्यामा रहेकै समयमा अविश्वासको प्रस्तावमाथि संसदमा छलफल भयो। नेपाल टेलिभिजनले अस्पतालको शय्याबाट प्रधानमन्त्रीको जबाफ प्रतिनिधि सभामा लाइभ प्रसारण गर्यो।
प्रधानमन्त्री अधिकारी ढाडमा चोट लागेका कारणले उठ्न नसक्ने अवस्थामा थिए। सुतीसुती प्रतिनिधि सभालाई जबाफ दिए। त्यो दृश्य साँच्चै हृदयविदारक थियो। देशमा केही आशा जगाउने काम गरेका वृद्ध प्रधानमन्त्रीले अस्पतालको शय्याबाटै जबाफ दिनुपर्यो।
यो निर्दयी र निष्ठुर देखिएको थियो।
प्रधानमन्त्री अधिकारीले विश्वासको मत पाउन सकेनन्। सरकार ढल्यो। नेपालको राजनीतिक इतिहासमा अस्थिरताको इँटा थपियो।
अब यो आलेखको खास विषयतर्फ लागौं।
भारतमा कांग्रेस नेता राहुल गान्धीलाई प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले अनेक उपनाम दिए – पप्पु, बालबुद्धि, शहजादे, सुनको चम्चा सहित जन्मेको इत्यादि।
पारिवारिक बिरासतमा पाएको सुविधाका कारण कतिपय उपनाम केही हदसम्म मिल्दाजुल्दा पनि होलान् तर तिनले विरोधीको आकांक्षा पूरा गरेनन्। जहाँ जनप्रतिनिधि चुनिन लाखौं जनताका बीचमा आफूलाई अब्बल सावित गर्नुपर्छ त्यहाँ विरोधीका कतिपय आरोपहरू 'स्टन्ट' साबित हुन जान्छन्।
करिब एक दशक मोदी र भाजपाले राहुल गान्धीलाई त्यस्तै उपनाम दिएर आफ्नो सत्ताको रोटी सेके। कुनै समय यस्तो पनि आयो, जहाँ भारतीय लोकतन्त्रमा संसदमा नै विपक्षी नेता नै भएन। सत्तापक्षले विपक्षीको आवाज उपेक्षा गर्दागर्दै लोकतन्त्र भनिएको व्यवस्था तानाशाहीतन्त्रमा परिवर्तन भयो।
परिणास्वरूप विश्व डेमोक्रेसी इन्डेक्समा सन् २०१६ देखि २०२० को अवधिमा भारत ४१ अंकमा झर्यो। त्यो अंक पहिलाको कम्युनिस्ट देश पोल्यान्डसँग बराबरी भयो। उक्त अवधिमा भारतीय अर्बपतिहरू झन् धनी र झन् शक्तिशाली भए। भारतको आर्थिक वृद्धि पनि उच्च देखियो।
आर्थिक वृद्धि उच्च त देखियो तर धनी र गरिबबीचको खाडल बढ्दै गयो। गरिबको जीवन थप कष्टकर भयो। भारतीय रूपैयाँ ६ सयमा पाइने ग्यास सिलिन्डर ११ सयभन्दा बढीको भयो।
सन् २०२४ को चुनावमा 'अब कि बार चार सौ पार' भन्ने नाराका साथ मैदानमा उत्रेको भाजपालाई परिणामले २४० सिटमा खुम्च्याइदियो। कांग्रेसका हातमा ९९ सिट पुर्याइदियो। चुनावमा विपक्षी नेता राहुल गान्धीले आफ्नो हैसियत र नेतृत्व क्षमता अब्बल सावित गरिदिए।
राहुलसँग पारिवारिक बिरासत भए पनि उनले आफ्ना हजुरआमा र बुबा त्रासदिपूर्ण वातावरणमा गुमाएका हुन्। उनी राजनीतिको कठिन यात्रामा ननिस्केका भए पनि हुन्थ्यो होला। तर राजनीतिमा उनको परिवारको सम्बन्ध पानीसँग माछाको सम्बन्ध जस्तै होला, उनी राजनीतिबाहिर रहेनन्। जतिसुकै कठिन परिस्थितिमा पनि राहुलका लागि राजनीति अनिवार्य जस्तो देखिन्छ। उनकी बहिनी प्रियंका गान्धी पनि राजनीतिमै सक्रिय छिन्।
लोकतन्त्रमा सत्तामोह थाहा पाउन प्रधानमन्त्री मनमोहन अधिकारी विरूद्धको अविश्वास प्रस्ताव हेरे पुग्छ।
निरंकुशता थाहा पाउन आधुनिक लोकतान्त्रिक भनिने भारतमा विपक्षीविरूद्ध मोदीले गरेको राज्यशक्तिको दुरूपयोग हेरे पुग्छ।
अहिले पनि राहुलविरूद्ध विभिन्न अदालतहरूमा २५ भन्दा बढी मुद्दा छन्। वर्षभरिमा उनको आधा समय त ती मुद्दा खेप्दैमा जाँदो हो!
कर्नाटकामा उनको चुनावी सभामा बजाइएको संगीतको प्रतिलिपि अधिकारको मुद्दाबाहेक सबै मुद्दार भाजपा र भाजपाका कार्यकर्ताले लगाएका हुन्।
'मोदी सब चोर क्यों होते है' भन्ने उनको कथनले कुनै समय उनको सांसद पद मात्रै गुमेन, उनी सांसदले पाउने सरकारी घरबाट पनि गलहत्याइए।
तर संघर्ष र उत्पीडनको समयलाई पनि अवसरमा कसरी बदल्नुपर्छ भन्ने उदाहरण भएका छन् राहुल गान्धी।
हालै मात्र उत्तर प्रदेशको सुल्तानपुर अदालतमा करिब आधा घण्टाको सुनुवाइका लागि उनी दिल्लीबाट जहाज चढेर त्यहाँ जानुपर्यो। फर्किने क्रममा बाटोमा जुत्ता मर्मत गर्ने बेचेन मोचीको पसलमा ४५ मिनेट बिताए। वृद्ध मोचीको हालचाल, पारिवारिक र आर्थिक अवस्थाबारे जानकारी लिए।
राहुलले एक जना ग्राहकको चप्पल सिएर मर्मत पनि गरिदिए। राहुलले ती मोची करिब एक लाख रूपैयाँको एउटा आधुनिक मेसिन उपहारमा दिए। कांग्रेसको बिरासत समाजवाद भए पनि कुनै बेला त्यो पार्टी चरम पुँजीवादी भासमा फसेको थियो। त्यो बिरासतको निरन्तरताका लागि राहुल भारतका किसान, मजदुर र श्रमजीवी जनतामा जान्छन्। उनीहरूका समस्या संसदमा उठाउँछन् र समाधानका लागि सरकारमाथि दबाब सिर्जना गर्छन्।
मोचीको पसलमा बसेर राहुलले सिएको चप्पल लाखौं रूपैयाँमा किन्न धेरै मानिस लालायित देखिन्छन्। राहुलले भेटेका मोची सेलेब्रिटी भएका छन्। ती मोचीले पनि आफ्नै हातले सिएर राहुलाई दुई जोर जुत्ता उपहार पठाए। राहुल तिनै जुत्ता लगाएर हिँडे।
एकपटक राहुल हरियाणा राज्यको एउटा गाउँमा किसानहरूले रोपाइँ गर्दै गरेको खेतमा गए। किसान र २० जना रोपाहारहरूसँग कुरा गरे। उनीहरूसँगै धान रोपे। उनले रोपहारहरूसँगै बसेर खाजा खाए। तिनका पारिवारिक र अन्य समस्याबारे जानकारी लिए।
उनले सोधे – तपाईंहरू दिल्ली जानुभएको छ?
जबाफ पाए – गएका छैनौं।
फेरि सोधे – तपाईंहरूलाई मेरो घरमा खाना खान बोलाउँछु, आउनुहुन्छ?
त्यति उच्चस्तरको नेताले ती रोपाहारलाई दिल्लीमा आफ्नो घरमा खाना खान बोलाउनु सामान्य कुरा थिएन। उनले त्यहीँबाट तुरून्तै बहिनी प्रियंकालाई फोन गरे। आफ्नो कुरा जानकारी गराए। सबै रोपाहारलाई खाना खाने गरी आफ्नो घरमा आउन निम्तो दिए।
केही दिनमै ती रोपाहार महिलाहरू एउटा सानो बसमा दिल्ली गए। सोनिया गान्धी र प्रियंका सहितको पारिवारिक भेलामा खाना खाए। ती महिलाहरूमध्ये एक जना मोतीबिन्दुले पीडित रहिछन्। राहुलले तिनको शल्यक्रिया गराइदिए।
यी घटनाहरूले गान्धी परिवार जनतामा कति राम्ररी भिजेको छ भन्ने देखाउँछन्।
जवाहरलाल नेहरू आफूलाई समाजवादी भन्थे। शासनसत्तामा रहँदा त्यसको अभ्यास पनि गरेर देखाए। राहुल त्यही बाटोमा देखिन्छन्। उनी देशका सबैभन्दा पिँधमा रहेका जनतासँग घुलमिल हुन्छन् र उनीहरूको समस्या बुझेर आफूले सक्ने समाधानमा तुरून्तै लाग्छन्।
हाल राहुल लोक सभामा विपक्षी दलका नेता छन्। कुनै बेला संसदलाई गन्दै नगन्ने प्रधानमन्त्री मोदी र उनको टिम अहिले राहुल गान्धी संसदमा बोल्दा धैर्य गरेर सुन्न बाध्य छन्।
मोदी कतिपय ठाउँमा आफूलाई सुधार्न समेत बाध्य भएका छन्।
यता हाम्रो देशको संसद र हामीले अभ्यास गरेको लोकतन्त्र भने पक्ष-विपक्ष, विचार-सिद्धान्त सबै त्यागेर केवल सत्ता स्वार्थमा उद्यत छ।
हिरा विश्वकर्माका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्