रिता ३२ वर्षकी गृहिणी हुन्। प्रत्येक वर्ष परिवारमा ठुलो जमघट हुने भएकाले खाना बनाउनेदेखि पाहुनाको स्वागत सत्कारसम्मको सबै जिम्मेवारी उनकै काँधमा हुन्छ। व्यक्तित्वको हिसाबले उनी मनमा तनाव भए पनि बाहिर खुसी नै देखाउने खालकी छन्।
दसैँ सुरु भएदेखि नै घर सफा गर्ने, किनमेल गर्ने, पकाउने, खुवाउने र सबैलाई खुसी बनाउनु पर्ने दबाबले गर्दा उनलाई मानसिक थकान महसुस हुन्छ। उनलाई यस वर्षको दसैँ अझ बढी चुनौतीपूर्ण छ किनकि उनका ससुरा केही समयअघि बिरामी परेका छन्, जसको हेरचाह पनि उनको जिम्मामा थियो। आर्थिक जिम्मेवारी, सामाजिक अपेक्षा र घर व्यवस्थापन गर्दा उनको मानसिक स्थिति कमजोर हुँदै गयो।
दसैँको तेस्रो दिनमा रिताले आफूलाई असामान्य थकान महसुस गरिन्। उनी आन्तरिक रूपमा आत्तिएकी थिइन् तर परिवारलाई रमाइलो बनाउने प्रयासले उनको मानसिक स्वास्थ्य झन् बिग्रियो। तर यो पटक रिताले आफैँलाई प्राथमिकता दिने निर्णय गरिन्। उनले आफ्नो श्रीमान् र परिवारसँग कुरा गरेर केही जिम्मेवारीहरू बाँडे। परिवारले पनि उनलाई सहयोग गर्यो जसले गर्दा उनीमाथिको चाप हल्का भयो।
ससुराको हेरचाहमा अन्य परिवारका सदस्यले पनि भूमिका निभाए। रिताले आफैँलाई केही समय दिन थालिन्, आफ्नो भोगाइ र भावनाहरू बारे सचेत रहने, मन शान्त पार्न, रुचिको विषयमा रमाउन र शारीरिक विश्राम लिन थालिन्।
दसैँको बाँकी दिनहरूमा रिताले आफूसँगको संवादमा सुधार ल्याइन्, आफैँलाई अधिक सान्त्वना दिइन् र परिवारसँग सन्तुलन बनाउँदै पर्वको आनन्द लिइन्। अन्ततः यस दसैँले उनलाई व्यक्तिगत सीमा राख्न, भावनात्मक सन्तुलनको महत्त्व बुझ्न र आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनु कत्तिको आवश्यक भन्ने बुझायो।
केही मानिसहरू खुसीको समयमा पनि किन निराशा, चिन्ता र तनावको अनुभव गर्छन्? दसैँ, तिहार जस्ता पर्वहरू परम्परागत रूपमा खुसी र मेलमिलापको समय मानिन्छ। तर धेरै व्यक्तिहरूले यस्ता अवसरहरूमा पनि चिन्ता, तनाव र भावनात्मक थकानको महसुस गर्दछन्। यसलाई 'फेस्टिबल ब्लुज' वा 'होलिडे ब्लुज' भनिन्छ।
फेस्टिबल ब्लुज भनेको कुनै पनि प्रमुख पर्व वा उत्सवको समयमा वा त्यो समाप्त भएपछि अनुभव गरिने भावनात्मक तनाव वा उदासीपन हो। धेरै मानिसहरू उत्सवको समयमा उच्च अपेक्षाहरू, सामाजिक सम्बन्ध, व्यस्तता वा खुसीका कारण निकै उत्साहित हुन्छन्। तर त्यो उत्सव सकिएपछि खालीपन, निराशा, थकान वा तनाव महसुस गर्न सक्छन्।
रिताको जस्तो अनुभव धेरै मानिसहरूले पर्वका बेला अनुभव गर्ने मानसिक तनाव र चापको प्रतीक हो। यस्ता चाप र जिम्मेवारीहरूको सन्तुलन राख्न मनोसामाजिक स्याहार अत्यन्त महत्त्वपूर्ण हुन्छ। यो केसले परिवारभित्रको संवाद र जिम्मेवारी बाँडफाँडले कसरी चापलाई व्यवस्थापन गर्न सहयोग पुर्याउँछ भन्ने सन्देश दिन्छ।
अब प्रश्न उठ्छ- यस्तो खुसीको समयमा यी भावनाहरू किन उत्पन्न हुन्छन् त?
मनोवैज्ञानिक कारणहरू
उच्च अपेक्षाहरू: उत्सवको अवस्थामा खुसी र रमाइलो अनुभूति हुनु सामान्य हो तर कहिलेकाहीँ वास्तविकता अपेक्षाभन्दा फरक हुन सक्छ, जसले निराशा उत्पन्न गर्छ।
थकान: उत्सवको तयारी, सामाजिक जमघट, यात्रा र अन्य कामहरूले शारीरिक र मानसिक थकान पैदा गर्छ जसले बिस्तारै भावनात्मक तनाव र थकान ल्याउन सक्छ।
आर्थिक तनाव: पर्वको समयमा खर्च बढ्ने हुन सक्छ जसले आर्थिक दबाब र तनाव दुवै उत्पन्न गर्छ। विशेष गरी पर्वपछि घर व्यवहार र आर्थिक पाटोको व्यवस्थापनले यो गाह्रोपन ल्याउन सक्छ।
सामाजिक अलगाव: पर्वको समयमा एक्लोपन वा टाढा भएको महसुस गरिरहेका व्यक्तिहरूलाई त्यो समयमा अझै कठिन महसुस हुनसक्छ।
दैनिकीमा फर्कनु: जब उत्सवको उत्साहले जीवनलाई केही समयको लागि रङ्गिन बनाएको हुन्छ, त्यसपछि दैनिकीको नियमित काममा फर्किनु चुनौतीपूर्ण हुन सक्छ।
फेस्टिबल ब्लुजको मनोवैज्ञानिक असर
अपेक्षा र वास्तविकता
फेस्टिबल ब्लुजको मनोवैज्ञानिक असर धेरै कारकहरूमा आधारित हुन्छ। पहिलो र महत्त्वपूर्ण कारण भनेको अपेक्षा र वास्तविकता बिचको असमानता हो। पर्वहरूले सामाजिक र सांस्कृतिक अपेक्षाहरू ल्याउँछन्— चाहे त्यो सामाजिक जमघट होस् वा उपहार दिने, वा पारिवारिक पुनर्मिलन नै किन नहोस्। जब वास्तविकतामा ती अपेक्षाहरू पूरा हुँदैनन्, निराशा र दुःखका भावनाहरू उत्पन्न हुन सक्छन्।
व्यवस्थापनको चुनौती
पर्वको तयारी जस्तै- कार्यक्रमको आयोजना, परिकार पकाउने, पारिवारिक व्यवस्थापन गर्ने र बजेट मिलाउने जस्ता जिम्मेवारीले तनाव बढाउँछ। मानिसहरू यी मागहरू पूरा गर्ने क्रममा व्यक्तिलाई थकान महसुस हुने गर्छ जसले गर्दा उनीहरूको मानसिक र भावनात्मक अवस्था कमजोर हुन्छ। जो व्यक्तिहरू पहिले नै आफ्नो जीवनमा तनाव वा चिन्ताबाट गुज्रिरहेका हुन्छन्, उनीहरूलाई पर्वको थप चापले अझै बढी मानसिक स्वास्थ्य चुनौती दिन सक्छ।
पारिवारिक सम्बन्ध
अर्को महत्त्वपूर्ण पक्ष भनेको पारिवारिक सम्बन्ध हो। पर्वहरू प्रायः लामो समयसम्म परिवारसँग बिताउन आवश्यक हुन्छ जसले सम्बन्धलाई बलियो बनाउनुपर्छ भन्ने आशा गरिन्छ। तर कहिलेकाहीँ पुराना परिवारका समस्याहरू या अपूर्ण सम्बन्धहरूले पनि निराशा वा तुलना गर्ने भावनाहरू ल्याउन सक्छन्।
सामाजिक एक्लोपन
पर्वमा सामाजिक एक्लोपन पनि प्रमुख कारण हो। परिवारबाट टाढा रहेका मानिसहरू चाहे कामको कारणले होस् या व्यक्तिगत कारणले, या जसले हालसालै कुनै प्रियजनलाई गुमाएका छन्, उनीहरूले यस समयमा गहिरो एक्लोपन महसुस गर्छन्।
मौसमी भावनात्मक विकार (सिजनल अफएक्टिभ डिसअर्डर)
अन्ततः मौसमी भावनात्मक विकार जस्तो समस्या पनि हुन्छ जुन वर्षको खास समयमा (विशेष गरी जाडो मौसममा) हुने एक प्रकारको उदासीपन हो। धेरै पर्वहरू जाडो मौसममा पर्दा, यसले उदासीनता र सुस्तताको भावना बढाउन सक्छ।
व्यवस्थापनका उपायहरू
दसैँ वा कुनै पनि पर्वको बेला यस्तो प्रकारको भावनात्मक उतारचढाव अनुभव गर्नु स्वाभाविक हो तर सही रूपमा व्यवस्थापन गर्दा यसलाई सकारात्मकतामा बदल्न सकिन्छ।
फेस्टिबल ब्लुजलाई व्यवस्थापन गर्न बहु आयामिक दृष्टिकोण आवश्यक हुन्छ जसले मानिसहरूलाई भावनात्मक, मनोवैज्ञानिक र व्यवस्थापनको चुनौतीहरूबाट राहत दिन सक्छ। मनलाई सकारात्मक राख्न र तनावलाई कम गर्न गर्नै पर्ने केही मनोसामाजिक स्याहारका उपायहरू निम्न छन्:
यथार्थपरक अपेक्षा राख्ने
पर्वसँग सम्बन्धित तनाव व्यवस्थापनको एक प्रभावकारी उपाय भनेको आफ्नो अपेक्षाहरूलाई समायोजन गर्नु हो।
आदर्श समयको सट्टा, अहिलेको क्षणको आनन्द लिनेमा ध्यान दिनुपर्छ। सबै कुरा योजनाअनुसार नहुन सक्छ र त्यसलाई स्विकार्नु पर्छ।
सम्बन्ध व्यवस्थापन
दसैँ परिवारसँग बिताउने समय हो तर कहिलेकाहीँ परिवारभित्र असमझदारी र असन्तुलनले तनाव निम्त्याउन सक्छ।
यस्ता समयमा धैर्य र सहनशीलताका साथ समाधान निकाल्न सकिन्छ। खुलेर संवाद गर्नु र समस्यालाई ठुला रूपमा नलिइकन सम्बोधन गर्नुले सम्बन्धलाई सुदृढ बनाउँछ।
व्यक्तिगत सीमा निर्धारण गर्नु
आफैँलाई थकानबाट बचाउन हरेक गतिविधिमा सहभागी हुन आवश्यक छैन। व्यक्तिगत समय र शारीरिक विश्रामलाई प्राथमिकता दिनुहोस्। धेरै सामाजिक अपेक्षाहरू पूरा गर्ने प्रयास गर्दा आफैलाई नै तनावमा पार्नु उचित होइन।
'हामीले सबैलाई खुसी बनाउन सक्दैनौँ' भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण छ। त्यसैले अरूको नजरमा ‘उत्कृष्ट’ बन्ने प्रयास गर्नु भन्दा पनि वास्तविकता र सीमालाई स्विकार्न सक्ने बनौँ।
स्व-हेरचाहमा ध्यान दिनुहोस्
आराम गर्ने समय निकाल्ने, मनलाई शान्त पार्ने क्रियाकलापहरूमा संलग्न हुने, र स्वस्थ दिनचर्या कायम राख्नु (निद्रा, व्यायाम, र पौष्टिक खाना) आवश्यक हुन्छ। दसैँको समयमा पर्याप्त आराम लिनु महत्त्वपूर्ण हुन्छ।
मानसिक थकान कम गर्न ध्यान, योग वा शारीरिक व्यायाम गर्न सकिन्छ। विश्रामले मनलाई शान्त राख्छ र थकान कम गर्न सहयोग गर्दछ।
कृतज्ञतामा ध्यान दिने
पर्वमा के छैन भन्ने कुरामा ध्यान केन्द्रित गर्नुको सट्टा के छ भन्ने कुरामा ध्यान दिनु महत्त्वपूर्ण हुन्छ।
उत्सवको समयमा धेरैले उच्च अपेक्षाहरू राख्छन्, जसले निराशा निम्त्याउन सक्छ। धेरै ठुलो आशा नराखी सानातिना खुसीहरूमा रमाइलो गर्ने बानीले मानसिक सन्तुलन कायम राख्न सहयोग पुर्याउँछ।
सहयोग र समर्थन खोज्न नहिचकिचाउनु
भावनात्मक र मानसिक चाप धेरै भयो भने परिवार, साथी वा मनोविद्सँग कुरा गर्न नहिचकिचाउनुहोस्।
एक्लो महसुस भयो भने नजिकका मानिसहरूसँग आफ्नो भावना बाँडेर मनलाई हल्का पार्नुहोस्।
पर्व-पछिको अन्योलताको सामना
पर्वपछि नियमित जीवनमा फर्किन बिस्तारै पुनः तालिका बनाउनुहोस्। आफैँलाई समय दिनुहोस् र मनोवैज्ञानिक रूपमा सम्हाल्न सहज गतिविधिमा संलग्न हुनुहोस्।
नियमित जीवनशैलीलाई बिस्तारै अपनाउँदै सामाजिक सम्पर्कलाई कायम राख्दै नयाँ ऊर्जा र सन्तुलन ल्याउनुहोस्।
फेस्टिबल ब्लुजको अवधारणाले सामाजिक अपेक्षाहरूले कसरी मानसिक स्वास्थ्यमा असर पार्न सक्छ भन्ने देखाउँछ। सीमा निर्धारण, आत्म-हेरचाहमा ध्यान दिनु र आवश्यक पर्दा सहयोग खोजेर व्यक्तिहरूले पर्वको समयमा आफूलाई मानसिक रूपमा सशक्त बनाउन सक्छन्।
'सुखमा रमाऊँ, दुःखलाई समाऊँ' भने जस्तै पर्वको खुसीमा रमाउनु राम्रो हो। तर पनि चुनौती र तनावलाई सही ढंगले सम्हाल्नु पनि उत्तिकै आवश्यक हुन्छ। त्यसैले सुनौँ, बुझौँ, सहयोग गरौँ र सँगै रमाऔँ। मनको दशा नबनोस् दसैँ।
(लेखक मनोविद् हुन्।)