मेरा बा ठूलो मनका हुनुहुन्थ्यो। बालाई सानोतिनो घटनाले छुँदैन थियो। गाउँमा दुखःबिराम पर्दा होस्, वा मान्छे मर्दा नै किन नहोस्, सम्झाउन-बुझाउन बा नै अघि सर्नुहुन्थ्यो। मान्छे मर्दा कात्रोमा बाँध्ने काममा होस् वा घाटमा लगेर जलाउँदा होस्, बा नै अघि सर्नुहुन्थ्यो।
मेरा बालाई डर भन्ने के हो केही मतलब थिएन रे! बाका यस्ता साहसिक काम देख्दा मलाई भने डर लाग्थ्यो। बा घरमा छँदा म निकै भर मान्थेँ। म सानो छँदा गाउँमा चोरको बिगबिगी हुन्थ्यो। बा घर भएका बेला ढोकाको चुकुलै नलगाएर सुत्ने हामी बा घरमा नहुँदा उज्यालो छँदै घरको ढोका लगाएर भित्र पस्थ्यौं।
मलाई लाग्थ्यो कि मेरा बा नै यो संसारका सबभन्दा बलिया पहलमान हुन्, वीर हुन् र हिरो हुन्। मेरो बालमस्तिष्कमा यही धारणाले राज गरेको थियो। बाको वीरतामाथि ठूलो भरोसा र विश्वास थियो।
यस्ता पहलमान मेरा बा हरेक वर्ष दसैंको टीकाका दिनमा उदास देखिनुहुन्थ्यो, रूनुहुन्थ्यो। मेरा बालाई दसैंको टीकाको दिनले हरेक वर्ष रूवाउँथ्यो।
हामी दसैंको रमाइलोमा हुन्थ्यौं। यताउता दगुर्दै रमाइरहेका हुन्थ्यौं। बा हामी छोराछोरीलाई वरिपरि राखेर दसैंको टीका लगाइदिनु हुन्थ्यो तर आफू रूनु हुन्थ्यो। बा रोएको देखेर हामी स्तब्ध हुन्थ्यौं।
टीका-जमरा लगाउने समयमा बाका आँखाबाट आँसुका धारा खस्थे। बा त्यसरी रोएपछि आमा पनि रूनुहुन्थ्यो। मभन्दा ठूली दिदी पनि रून थाल्नुहुन्थ्यो। म र साना बहिनीहरू भने रूँदैन थियौं। हामी बाआमा र दिदी किन रोए भन्ने भेउ पाउँदैन थियौं।
यति राम्रा लुगा लगाउन पाएको, मिठोमिठो खान पाएको र टीका-जमरा लगाउन पाएको बेला हाम्रा बा किन रूनुपरेको होला जस्तो लाग्यो। आमा र दिदी पनि बासँगै रून थाल्दा हामी ट्वाल्ल पर्थ्यौं। एकोहोरो हुन्थ्यौं।
बा त्यसरी रोएपछि हामीलाई टीका र जमरा लगाइदिए पनि खल्लोजस्तो लाग्थ्यो। टीका लगाइदिँदै बा हामी छोराछोरीलाई आशीर्वाद दिनुहुन्थ्यो तर उहाँको मुटुमा गाँठो परेजस्तै हुन्थ्यो रे! आशीर्वादको आवाजमा पनि रूवाइको स्वर हुन्थ्यो। आँखामा आँसु देखिन्थ्यो। सुँक्कसुँक्क गरेको सुनिन्थ्यो, बेलाबेला भक्कानिएको आवाज पनि सुनिन्थ्यो।
बा आफ्नो त्यस्तो अवस्था लुकाउन खोज्नुहुन्थ्यो तर लुक्दैनथ्यो। हामीलाई सबै थाहा हुन्थ्यो।
साहसी व्यक्ति हाम्रा बाको आँखाबाट आँसु खसेको दृश्य देखेपछि र हुँक्कहुँक्क गरेको सुनेपछि दसैंको टीका र जमराको उल्लास पनि हाम्रा लागि निरस हुन्थ्यो। बाका आँखाबाट आसु खस्न बन्द भएपछि मात्र हामी छोराछोरीको खुसी फर्केर आउँथ्यो। बिस्तारै बा पनि सामान्य अवस्थामा फर्किनुहुन्थ्यो।
बाले हामीलाई छोडेर गएको १० वर्ष पूरा भयो। यसको अर्थ हामीले बाको अनुपस्थितिमा दसैं मनाएको पनि दस वर्ष भयो।
अल्पायुमै हामीलाई छोडेर जानुभएका हाम्रा बा दसैंको टीकाका दिन मात्रै किन रूनुहुन्थ्यो? जस्तोसुकै घटना पनि सहजै पचाउने हाम्रो बालाई दसैंको टीकाको दिनले किन रूवाउँथ्यो?
बा जिउँदो हुँदासम्म मैले यी प्रश्नको जबाफ खोज्ने प्रयास गरिनँ। बाले छाडेर गएपछि उहाँ के कारणले रूनुहुन्थ्यो भनेर हरेक वर्ष दसैंको टीकाका दिन म आमालाई सोध्छु। आमाबाट पनि यसको चित्तबुझ्दो जबाफ पाउन सकेको छैन।
आमाको भनाइ अनुसार बा दसैंमा आफ्ना बाआमा सम्झेर रूनुहुन्थ्यो। आफूलाई आफ्ना बाआमाले दसैंमा टीका र जमरा लगाइदिएर आशिष दिएको सम्झना आउँथ्यो रे, त्यो सम्झनाले उहाँलाई भावुक बनाउँथ्यो रे अनि बा रूनुहुन्थ्यो रे!
हाम्रा बाले आफ्ना बालाई खुसी दिन सक्नुभएन रे! त्यसैको प्रायश्चित्तमा पनि बा दसैंको टीका दिन रूनुहुन्थ्यो रे!
अचेल म पनि बा भएको छु। मेरो भूमिकामा बा पनि थपिएको छ। हिजोको अवोध छोरो म आज जिम्मेवारीले थिचिएको बा भएको छु। हिजो बा रूँदा उहाँ रोएको भाव नबुझ्ने म आज भाव बुझ्ने त भएको छु तर बा मेरा साथमा हुनुहुन्न।
हिजो मेरा आँखाको आसु छोराले पुछोस् भन्ने बाको चाहना हुन्थ्यो होला तर मैले बाको चाहनाको भाव थाहा नपाउँदै उहाँ हामीलाई छाडेर अलप हुनुभयो।
आज मलाई पनि दसैंको टीका लगाउँदा र लगाइदिँदा मेरा बालाई जस्तै हुन्छ। मसँग आमा हुनुहुन्छ र केही आधार छ तैपनि भावुक भइहाल्छु। आजकाल टीका र जमरा लगाइदिँदा आमा रूनुहुन्छ। आमा रोएको देखेपछि मलाई पनि आँसु आउँछ।
टीका लगाइदिँदा आमा किन रूनुहुन्छ, मैले सोधेको छैन तर म पनि सँगै रून्छु। म अनुमान गर्छु, बालाई सम्झेर आमा रूनुहुन्छ। अल्पायुमै पतिवियोग भोगेकी मेरी आमालाई मेरा बाको सम्झनामा आँसु आउँछ। आमाको आँसु देखेपछि मलाई पनि आँसु आउँछ।
मरी आमाको आशा र भरोसा ममाथि छ। ममाथि उहाँलाई ठूलो विश्वास पनि छ। तर सम्झनुहुँदो हो, मेरा पति चाँडै मलाई छाडेर गए, यति चाँडै नछाडेका भए हुन्थ्यो!
दसैंको टीका र जमरा लगाउने दिन मलाई मेरा दिवंगत बाको सम्झनाले सताउँछ। सधैं हाँसीखुसी रहने मेरा बा दसैंको मुख्य दिन किन रूनुहुँदो रहेछ भन्ने तथ्य मलाई बोध भएको छ। मेरा बाको अनुपस्थितिले मलाई तथ्य बोध गराएको हो। पुर्खाको चक्र घुमेर मेरा बा हुँदै मसम्म आइपुगेको छ। आगामी दिनमा पनि यसै गरी अघि बढ्दै जाला।
बाआमाका लागि धनदौलत, श्रीसम्पत्तिभन्दा ठूलो त छोराछोरीको मायाममता रहेछ। छोराछोरीले गर्ने स्याहार सुसारले नै बाआमाको सुखदुःखको मापन हुने रहेछ।
बाआमालाई भोलि होइन, मानसम्मान जे गर्नु छ, आजै गर्नुपर्ने रहेछ, आजै सुरू गर्नुपर्ने रहेछ।
बाआका लागि पैसाको बिटो र गरगहनाको खातभन्दा बढी खाँचो मायाममता, रेखदेख र स्याहारसुसार र मानसम्मानको हुँदो रहेछ। आफ्नी आमालाई अगाडि देखेर मैले यही महसुस गरेको छु, यही सिकेको छु।