यो कुनै अनौठो, कुनै एकादेशको कथा, अनि कुनै पर्चा पम्पलेट अनि पत्रिकामा छापिएको लेख होइन यो त कसैले वास्तविक जीवनमा भोगेको घटनामा हो।
कुरा २०८० पुस २५ गते तिरको हो। म बिहान कहिलेकाहीँ चिया खान नजिकैको चिया पसलमा जान्थेँ। त्यसैगरी आज चिया खाने तलतल धेरै लागेको थियो। चिसो समयमा तातो चिया खानुको मज्जा बेग्लै।
गएँ भेटघाट चिया पसलमा। एक कप चिया मगाएँ र बसेँ त्यही पसलको बेन्चमा। छेउतिर त्यहाँ म र म जस्ता दुई जना युवा दाइहरू पनि चियाको चुस्की लिँदै मस्त गफ गर्दै थिए। त्यो दिन एक्लै थिएँ म। सधैं नेता र देशका बारेमा गफ गरेको मात्र सुनेको आज त्यहाँको रौनक छुट्टै थियो सायद।
हल्का नजिक सरेँ दुई जनाको भलाकुसारी सुन्न।
ती दाइले सुनाउन थाले आफ्नो लभ स्टोरी।
मैले धेरै जनाको प्रेम र विछोडका कथा सुनिसकेको थिएँ भाइ। तर आज आफ्नै नपत्याएको प्रेम कहानी सुनाउँछु भाइ।
म ब्याचलर प्रथम वर्षमा पढ्दाको हो, हामी व्यवस्थापन संकायमा सँगै पढ्थ्यौं। उसको घर दैलेख, मेरो पनि दैलेख। एउटै जिल्ला परेकाले चिनजान राम्रै भएको थियो। आकृति नाम गरेकी एक केटी जसलाई देखेँ मेरै लागि बने जस्ती।
हँसिलो मुहार, चिम्साइला आँखा, गुलावी ओठ आहा ! पढाइमा अब्बल थिई ऊ। उसका हरेक व्यवहार अनि क्रियाकलापबाट आकर्षित थिए।
हरेक दिन नजिक हुन मन लाग्ने, देखिरहुँ लाग्ने! जसरी चन्द्रमा र सूर्यले आफ्नो अक्ष कक्ष बिर्सिंदैनन्।
क्याम्पस नलाग्दा उसको मुहार झल्झल्ती आउने देखिरहुँ लाग्ने। कसरी कुन शब्दले बयान गरौं र म! कक्षा ९/१० तिर पढ्ने बेला मेरो कथा कार्यक्रममा सुनिन्थ्यो प्रेम अनि बिछोडका कहानी। कसैका सफल त कसैका विफल भएका!
कता कता आफू पनि प्रेममा पर्छु कि जस्तो। हैन अहिले होइन अहिले मेरो प्रेम गर्ने उमेर। मेरो पनि समय आउला लभ गर्ने अनि यस्तै तर सफल प्रेम कहानी लेख्नेछु सोच्थें। तर मेरो प्रेम न प्रेमको नाम दिन लायक भयो, न धोका! के नाम दिऊँ होला? मेरो जीवनमा प्रेम त्यस्तै भयो।
दोस्रो वर्षमा पढ्दै गर्दासम्म म उसको प्रेममा एकलौटी यसरी स्वामित्व लिन खोजेको थिएँ कि ऊ मेरी बाहेक कसैको हुन्न। आशा धेरै थियो। पढाइमा अब्बल ऊ म पनि पढाइमा राम्रै थिएँ। प्रथम र दोस्रो वर्ष राम्रै अंक ल्याएर हामी दुवै पास भयौं। साथै यता कलेजको सँगै म अलिअलि लोक सेवा आयोगतिर पनि तयारी गरिरहेको थिएँ। कोही साथीहरू बिहे गरेर घरजम गरेका, कोही विदेश हानिएका, कोही तरखरमा।
म भने देशमै केही गर्ने र ठूलो मान्छे बन्ने प्रण गर्थें। परिवार र मेरो समाजले पनि मलाई त्यही बनोस् भन्ने चाहन्थ्यो।
एकातिर बुवाका टाउकामा रौं कम हुँदै गएका, अनुहारमा चाउरीपन ढपक्क देखिन थालेको, मलाई पढाउन आमाले घरको जिम्मेवारी एक्लै सम्हालेकी। पुराना कपडा, मलिन अनुहार अनि छोराप्रति देखाउने मायालु अनुहार देख्दा लाग्थ्यो म कहिले सफल छोरो भएर निस्किउँला? लोक सेवाको २/३ वटा परीक्षामा अयोग्य ठहरिसकेको थिएँ। एउटाको नतिजा आउन बाँकी थियो जे थियो आशा भरोसा त्यसैमा थियो। परिवारले आफूप्रति राखेको आशाका खाल्डाखुल्डी पुर्न नसक्दाको विचलित मन एकातिर अनि अर्कोतिर एकोहोरो प्रेम।
न घरको न घाटको भन्ने उखान जस्तै। एकतर्फी प्रेमले पढाइतिरको ध्यानलाई धेरै असर गरेको थियो। अरू साथी भाइहरूका लभ दुई महिनामै पर्यो भनेको सुन्दा लाग्थ्यो म प्रेम गरिरहेको छु कि कुनै विश्वयुद्ध? हैन यो त एक मनले अर्को मनलाई जोडिन चाहेको पो त। तेस्रो वर्षको सुरूको समयमा हो सायद, मैले उसलाई आफ्ना वर्षौंदेखि मनमा दबाइएका मायाका भावनाहरू राखेँ अनि राखेँ प्रेम प्रस्ताव? मनमा यति ढुकढुकी बढेको थियो कि अहिलेसम्म न कुनै परीक्षामा न त कुनै नतिजा कुर्दा बढेको। यो कस्तो प्रेम खै कस्तो नतिजा कुरिरहेको मैले!
उसले अस्वीकार गरी मेरो प्रस्तावलाई! लाग्यो मलाई लोक सेवाले त अयोग्य गरिसकेको थियो माया प्रेममा पनि अयोग्य? उफ्! के म योग्य बन्न नसक्ने नै हो त? न त प्रेम सफल न त लोक सेवा।
आकाशबाट खसेजस्तो भएको थिएँ। के म उसको लायक थिइनँ, कि म नराम्रो थिएँ र कि म गरिब थिएँ? कतै उसको ब्वाइफ्रेन्ड त थिएन? यस्तै यस्तै प्रश्नको तीरले घोचिरह्यो कि म बेरोजगार भएर हो? के अब बेरोजगार युवाले कसैलाई प्रेम गर्नै नहुने हो त,कि बेरोजगार को मन हुँदैन? कहाँ कुन शास्त्र, कुन खण्डमा लेखिएको छ? खै बेरोजगारले प्रेम गर्नु हुँदैन भनेर। कतै भेटिनँ यी नाजबाफ प्रश्नको उत्तर?
एकातिर आफ्नै पारिवारिक जिम्मेवारी थियो, अर्कोतर्फ समाज र आफन्तले मप्रति गरेको आशा र विश्वासलाई कसरी बिर्सन्थें र म!
घर परिवारले राखेको आशा, सरकारी जागिर खाला,फलानाको छोरा नेपाल सरकारको, नायब सुब्बा,अधिकृत भयो रे?
उफ् यी मेरा बाबाआमाको सपना कसरी पूरा गरौं म? मनमनै आमालाई सम्झिन्थें अनि भन्थें 'आमा तपाईंको छोराका अभागी नै हो सायद। जता पनि ठक्कर, जता पनि असफलता ...२/४ वटा नायब सुब्बाको परीक्षा दिइसकेको तर लिखित मेरो लागि ढुंगाको चिउरा बन्यो जसरी मैले प्रेम गरेकी प्रेमिकाले मलाई स्वीकार गर्न सकिनन्।
कहिले त लाग्थ्यो,अब सकिँदैन कि क्या हो! विदेशतिर लागौं कि, अमेरिका अस्ट्रेलिया, जाने मेरो औकात थिएन। साउदी, कतारतिर पनि कसरी जानू! अहँ सकिनँ!
यस्तै यस्तै अनुत्तरित प्रश्नैप्रश्नको बेलाका बीच मेरो राजस्वतर्फ नायब सुब्बामा नाम निस्कियो।
अन्तर्वार्ता पनि दिएँ केही दिनमै नतिजा प्रकाशित भयो। विकल्प रोकाय राजस्व १ नम्बर सिफारिस!!!
मैले लोक सेवालाई गरेको एकतर्फी प्रेम त सफल भयो अनि ऊसँग के होला? खुसीले सीमा नाघेको म यो खुसीलाई कसरी मनाए भनौं, जबकी म शब्दमा व्यक्त गर्न सकिनँ मैले। मेरा बाआमाका भुइँमा खुट्टा थिएनन् सायद उहाँहरूका कति वर्षदेखि छोरालाई ठूलो मान्छे बनाउने सपना सायदै पूरा भएको दिन। बधाईका ओइरो लाग्यो फेसबुकको भित्ताभरी! म्यासेन्जरमा सयौं म्यासेज 'बधाई छ यार!!' कहिल्यै नबोल्ने र मेरा कुरा काट्नेले पनि बधाई दिएका। मेरा दिन फर्किए लाग्थ्यो।
सबैलाई धन्यावाद दिनै भ्याइनभ्याई थियो। अब म नेपाल सरकारको नायब सुब्बा भएँ। म अब अपरिचित मान्छेले त चिन्ने भएछु। उसले कसरी स्वीकार नगर्ली जसलाई म प्रेम गर्थें। उसले पनि बधाई देली, भर्खरै प्राप्त खुसी फेरि थप होला अनि ऊ उसलाई आफ्नो बनाउला! कुरेँ, उसको म्यासेज आएन। अहँ कुनै हालतमा आएन एक निमुखा गरिबले नयाँ वस्त्र लगाउन दसैं कुरे जसरी तर आएन।
उसले हेर्दैछे होली कि नाइँ मलाई? कि ऊ कसैको भैसकी? अब त उसको लायक भए होला? म्यासेज अनि खबर कतैबाट नआएपछि म्यासेज मै लेख्छु लेखेँ- सन्चै छौ आकृति?
निकै समयपछि 'ठिकै छ' भन्ने उत्तर आयो। उसले मेरो खबर बुझ्न चाहिनँ सायद। बधाई पनि दिन सकिन। कस्तो ढुंगाको मन रहेछ? जसलाई म आफ्नो सम्झन्थेँ, मनमनै लाग्यो तर यी कुरालाई थाती राख्दै दोस्रो पटक राखेको प्रस्ताव पनि अस्वीकार गरी!'
भावुक हुँदै रक्सीको नसाले रूवाउन नसकेको दाइलाई नपत्याएको प्रेमले चियाकै चुस्कीसाथ रूवाएको थियो। भन्दै थिए, 'भाइ लोक सेवाले पत्यायो, उसले पत्याइन यार!'