क्षेत्रफलमा झन्डै सुनसरी जिल्ला बराबर रहेको दिल्ली सहरले नेपालभन्दा ३० लाख बढी मानिस अटाएको छ।
भिड नहुने गल्ली र गाडीको लाम नलाग्ने सडक कतै भेट्न पाइँदैन। अर्को गज्जबको कुरा त- दिल्लीमा कहिल्यै रात पर्दैन। जति घाम डुब्दै जान्छ, त्यति नै सहरको चमक दमक बढ्दै जान्छ। अँध्यारोले छुँदै नछुने यस सहरमा जनघनत्वले आकाश छोइसकेको छ। त्यसैले होला यहाँ आकाशमै पनि मेट्रो दौडन्छन्। तल-माथि, दायाँ-बायाँ सबैतिर सडक छ। कतै प्लेन उड्छ त कतै रेल गुड्छ। कति वटा लेन, कति लामो सुरूङ, कति अग्लो फ्लाइओभर सोच्नु कि हेर्नु हुन्छ। रोकिने नाम मात्र लियो भने पछाडिबाट कसले किच्ने डर हुन्छ। दिल्ली साँच्चै वेगको गतिमा चल्छ।
वेगको गतिमा हिँड्दा एउटा फाइदा र एउटा घाटा हुन्छ। फाइदा यो कि-टाढा पनि छिटो पुग्न सकिन्छ र घाटा यो कि- बाटामा हिँड्ने अरू कसैलाई देख्न पाइँदैन, कोहीसँग बोल्न पाइँदैन। त्यसैले विशाल सहरहरू अक्सर बिरानो हुन्छन्। दिल्ली सहरले पनि जो कोही नेपाली पाहुनालाई एक्लो बनाउन सक्छ। यद्यपि घरभन्दा पर एक्लिएका नेपालीलाई देशजस्तै महसुस गराउन ३३ वर्षीय पिटर प्रधानले न्यानो कर्म गर्दै आएका छन्।
दिल्लीको दक्षिण छेउमै अवस्थित गुड्गाव सहरमा राति क्लब र पार्टीको चर्को गीत गुन्जिरहँदा एउटा सानो कुनामा नेपाली लोक गीत पनि बजिरहेको हुन्छ। त्यसै लोक गीतमा कम्मर हल्लाउँदै हुन्छन् केही थान नेपाली पाहुना।
भारतको नक्साभित्रै रहेको कान्तिपुर होटलमा हिन्दी बोलेको विरलै सुन्न पाइन्छ। अधिकांश नेपाली अनुहार देखिने यस होटलमा पस्दा जो कोही नेपालीले भारत आएको भनी बिर्सन सक्छन्। यहाँ पूर्वको नेपालीले पश्चिमको नेपाली भेट्छन्, मधेसीले पहाडीसँग गफ लडाउँछन्। कुरा हुन्छ त नेपालकै, खाना पाक्छ त नेपाली, खाना बनाउने पनि नेपाली, दुई थाल बजाउने पनि नेपाली। पिटर प्रधानले सञ्चालन गर्दै आएको कान्तिपुर होटलले वास्तवमै नेपालीपनबाट टाढा हुन दिँदैन।
नेपाली मूलका प्रधान सन् २०१६ मा ट्याक्सी कुदाउँदै होटल व्यवसायमा लागे। थुप्रै नेपाली उपचारका लागि दिल्ली आउने/जाने गरेको उनलाई ज्ञातै थियो। दिल्ली आउँदा बिरामीले भाषाको ज्ञान नभएर अनेक सङ्घर्ष गर्नुपर्थ्यो। दिल्लीका भव्य अस्पतालहरू आफैमा कुनै भुलभुलैया भन्दा कम हुँदैनन्। यस अवस्थालाई बुझेर प्रधानले मेदान्त अस्पताल नजिकै होटल सुरू गरे। अस्पताल बाहिर होटलको कार्ड बाँड्दै सुरू गरेको व्यवसायले अहिले पैसा र प्रेम दुवै कमाइरहेको छ। प्रधान आफ्नो सुरूआती दिन सम्झँदै भन्छन्, 'त्यस बेला बिरामीको नाम आफै टिपाएर, डाक्टरसँग आफै बसेर, औषधि लिइदिएर काम गरिन्थ्यो। अहिले पनि अप्ठ्यारो पर्दा म आफै बिरामीसँगै अस्पताल जान्छु।'
होटल सञ्चालनमा ल्याएको दुई वर्षपछि नै प्रधानले अस्पताल छेउमै दोस्रो होटल पनि खोले। होटलको भित्तामा महँगो विदेशी पेंटिङ नभई उनले नेपाली खुकुरी, डोको, नाङ्लो र डालो झुन्ड्याएका छन्।
दुवै कान्तिपुर होटलमा १३ जना कर्मचारी कार्यरत छन् जसमा ९ जना नेपाली हुन्। नेपालीलाई नेपाली नै प्यारो हुन्छ भन्ने मान्यता बोकेका प्रधानले नेपाली श्रमिकलाई रोजगारी मात्र दिएका छैनन्, बस्ने र खाने आश्रय पनि दिएका छन्।
उनी भन्छन्, 'नेपाली कर्मचारी नेपालीले मात्र हैन, भारतीय ग्राहकले पनि रूचाउँछन्। के गर्नु? हामी नेपालीको बोली नै मिठो।'
नेपालीकै सेवा पाएर सबै नेपाली आगन्तुकलाई घुम्न र उपचार गर्न झन् सहज बन्दै गएको उनी थप्छन्।
५ वटा गाडी पनि सञ्चालनमा ल्याएका प्रधानले घुम्न आउने पर्यटकलाई विभिन्न स्थान पुर्याउनेदेखि गाडीमै नेपाल फर्काउने व्यवस्था पनि मिलाएका छन्। यसबीच उनले नेपाली मूलका ड्राइभरहरूलाई पनि रोजगारी दिँदै छन्। नेपाली ड्राइभरसँग गफिँदै नेपाली पर्यटक भारत घुम्न पाउँछन्।
पिटरका अनुसार एक पटक उनको होटलमा बसेको ग्राहक पुन: दिल्ली फर्कंदा अरू विकल्प खोज्दैनन्। होटल फर्किएर आउँदा कोसेली लिएर आउने नेपालीहरूले पिटरलाई नेपालमा स्वागत गर्न तयार बस्छन्। दार्जलिङ घर र बिर्तामोड ससुराली भएका पिटर प्रधानले दिल्लीको कोहोलो भिडमा पनि नेपाली परिचय मर्न दिएका छैनन्। एकता बनाइ मौलिक सुगन्ध जोगाइराखेका छन्। अपनत्व कायम गरी परदेशमा देश झल्काइराखेका छन्।
दिल्लीमा नेपालीलाई घरको याद नआउने गरी मिठो खाना पस्किने सुरज घतानी पनि पिटर प्रधानकै होटलमा काम गर्छन्।
६ वर्ष साउदीमा पकाउने काम नै गरेका ३८ वर्षीय घतानी अहिले भने आफ्नी श्रीमती र बालकै छोरोसँग कान्तिपुर होटलमा व्यस्त छन्।
श्रीमती दिनभर छोरालाई अल्मल्याउँदै श्रीमानलाई सघाउँछिन्। श्रीमान हरेक दिन भान्सा कोठामै परिवारको भविष्य पकाउँछन्। गुड्गावमा चिनेका दाइले नेपालीको होटल भनेर काममा लगाइदिएको सुरजलाई अहिले श्रम गरे जस्तो महसुस हुँदैन।
उनी भन्छन्, 'अहिले त घरमै भात पकाए जस्तो लाग्छ।'
साउदीमा रहँदा न आराम गर्न मिल्ने न परिवार भेट्न मिल्ने अवस्था उनले बिर्सिएका छैनन्। अहिले आफ्नै परिवारसँग बसेर नेपालीहरूबीच काम गर्दा उनी ऊर्जाशील बनेका छन्।
'पैसा नै सबै कुरा हैन। मन खुसी छ भने यसै आनन्द मिल्छ,' उनी बताउँछन्।
नेपाली झर्के थालमाथि थकाली शैलीमा पस्किएको खाना खान भनी अरू होटलमा बस्दै गरेका नेपाली आगन्तुक पनि सुरजसम्म आउने गरेका छन्। बिरामीलाई रोजाइ अनुसारको खाना पकाएर समय-समयमा खानाको प्रतिक्रिया लिँदै मिठो बोलीले सबैलाई मोहित पार्न खप्पिस सुरज होटल आउने सबै ग्राहकको धन्यवादको पात्र बन्ने गर्छन्। अर्डरअनुसार जुनसुकै बेला खाना पकाउन तयार रहने सुरजले अरूलाई खुसी बनाएरै जीवन बिताउँदा रमाइलो हुने गरेको बताउँछन्। बोल्न लजाउने तर हर समय मुस्कुराइरहने उनकी श्रीमतीले श्रीमानको कुरामा सहमति जनाउँछिन्।
पिटर प्रधानका दुवै होटलमा नेपाली चाडबाड पनि धूमधामसँग आउँछ। कर्मचारी एकले अर्कालाई शुभकामना आदानप्रदान गर्छन्। फुटबल या क्रिकेटमा नेपालको खेल परेको दिन कर्मचारी समय निकाल्दै खेल हेर्छन्। जितेका दिन सँगै उफ्रिन्छन्, हार्दा घोसे मुन्टो लाउँछन्। दिउसोँ गफ लडाउनु पर्दा नेपालको राजनीतिबारे मिलेर गुनासो गर्छन्। देश विकास गर्न चाहिने ५ वर्षे नीति नै निर्माण गर्छन्। होटलभरि नेपाली ग्राहक र कर्मचारी मात्र छैनन्, नेपाल आफै उपस्थित छ। दिल्लीको एउटा सानो टुक्रामा भेटिएको नेपाली एकता, देश प्रेम र अपनत्व नेपालमै खोज्दा पनि भेट्न मुस्किल पर्छ।