सपना विशेष गरी दुई तरिकाले देख्न सकिन्छ; एक निदाएर, अर्को खुला आँखाले देखिने सपना। फरक यति हो कि निदाएर देखिएका सपना पक्कै पूरा गर्नेछु भन्ने अठोट हुँदैन। ती निदाउन्जेल देखिन्छन् अनि बिउँझँदा खासै यादमा हुँदैनन्।
वास्तवमा खुला आँखाले देखिएका सपनाहरू निकै प्रिय हुने गर्छन्। एउटा कथन छ नि ‘सपना त्यो होइन जुन सुतेर देखिन्छ, सपना त त्यो हो जसले सुत्न दिँदैन।’ खुला आँखाले देखिएका हाम्रा सपनाहरू सपनामा नै सीमित नरहुन् भन्ने हाम्रो इच्छा हुन्छ। सानैदेखि हरेक एक व्यक्तिको एउटा सपना त पक्कै हुन्छ। भलै त्यो पूरा होला नहोला तर हरेक मनमा कम्तीमा एक सपना त सजिएको पक्कै हुन्छ।
शिशु कक्षा पढ्ने सानो नानीलाई सपना, रहर र भविष्य बारेमा के बन्ने के गर्ने भन्ने प्रश्न गर्दा चित्त बुझ्दो उत्तर पाउन सकिन्छ। ती अबोध बालकहरू निर्धक्क खुलेर आफ्ना सपना साझा गरिदिन्छन्। तिनलाई न कसैको डर हुन्छ न त कसैको दबाब नै। केवल खुला आँखाले स्वतन्त्र देखिदिन्छन् सपना।
फरक यति हो उमेर, कक्षा र साथ बढ्दै जाँदा सपना, रहर र भविष्यका योजनाले मुहार फेर्दै जान्छन्। बद्लिन्छन् हरेक मनका चाहना, इच्छा र आशाहरू। बाल्यकालमा आफ्नो घर परिवारको वास्तविक अवस्था थाहा हुँदैन, न त आफू भित्रको क्षमता बारे नै पूर्ण जानकारी तिनले पत्ता लगाउन सकेका हुन्छन्। त्यसैले तिनले सजिलै भनिदिन्छन् म ठुलो भएर यो बन्छु, त्यो बन्छु, यति कमाउँछु, यो कुरा पूरा गर्छु आदि इत्यादि। एउटा यस्तो उमेर पनि आउँछ कि जसलाई जता देखिन्छ त्यही ठाउँमा त्यही जस्तै बन्न इच्छा हुन्छ। जस्तै- प्रहरी देख्दा प्रहरी, विद्यालयमा शिक्षक देख्दा शिक्षक, बाटोमा ट्राफिक देख्दा ट्राफिक।
सङ्घर्षको मैदानमा होमिने समय नआएकाले होला बढ्दो उमेरका बालबालिकाले स्वतन्त्र सपना देखिदिन्छन्। आफूहरूले पूरा गरिदिन नै नसकिने आफ्नो बालबच्चाका सपनाका कुरा सुनेर त्यसै त्यसै मक्ख पर्ने अभिभावक भने त्यस बच्चाको भविष्यका केही रेखा आफैले कोरिसकेका हुन्छन्।
यी सबै कुराहरू त्यो सानो बालकले चाल नै पाएको हुँदैन। ऊ त केवल देखिदिन्छ स्वतन्त्र सपना। सानोमा कसैले बाबु के बन्ने भनेर सोधिएको प्रश्नमा तोते बोलीमा ‘दाक्टर’ भन्ने उत्तर दिएकाहरू नै आज विद्यालयमा शिक्षकको पेसामा कार्यरत छन्। शिक्षक बन्छु भन्नेहरू परिवारले पढाइ खर्च धान्न नसकेकाले आफ्नै पढाइ पूरा गर्न सकिराखेका छैनन्। सरकारी जागिर गर्ने हो भन्नेहरू विवशताले विदेश पलायन भइराखेका छन्।
जब एउटा मान्छे मध्यम वर्गीय घर र परिवारको व्यवहार बुझ्ने हुन्छ, त्यसपछि धेरै जसो सपनाहरू आफ्नो क्षमता अनुसारको देख्न र देखाउन थाल्छ। जति सहायता आफ्नाले गर्न सक्छन्, जति काम आफूले गर्न सक्छन् र जति आफ्नो दिमागले थेग्न सक्छ। हो त्यति नै र त्यही अनुसारको सपना देख्न थाल्छ मध्यम वर्गीय परिवारको ज्ञानी मानव।
मध्यम वर्गीय परिवारमा पारिवारिक नियम, समस्या, आर्थिक अवस्था, मूल्य र मान्यताका आधारमा पनि सपनाहरू निर्धारण गरिन्छ। बाल्यकालको सुरुआतदेखि नै परिवारको आम्दानीकै आधारमा हाम्रा सपना र कल्पना गर्न सक्ने अवस्था नापिदिइएको हुन्छ। हामी भर्ना हुने विद्यालय परिवारको आम्दानी अनुसारको रोजाइन्छ। हाम्रा समाजका हुनेखानेका बालबच्चा बोर्डिङमा अनि हुँदा खानेहरूका बालबच्चा सरकारी विद्यालयमा।
वास्तवमा यहीँबाट नै आम्दानी र सम्पत्तिअनुसार सपना देखाइदिने काम सुरु हुन्छ। अब बिस्तारै अघि बढ्दै जाँदा सपनाहरू छाँटिँदै जान्छन्। अनि डाक्टर बन्न सक्ने क्षमता भएकाहरू पेसाले शिक्षक बनिदिन्छन्। शिक्षक बन्नु पर्नेहरू परिवारमा आइपरेको ऋण तिर्न विदेशतिर हानिन्छन्। राजनीति गर्नु पर्नेहरू बिहान बेलुकीको छाक टार्न ज्याला मजदुरीको काममा नै व्यस्त देखिन्छन्। इन्जिनियर बन्ने सपना सजाएका त्यत्तिहरू बुवाको बिडो थाम्नुपर्ने भन्दै खेती किसानीमा नै जीवन व्यतीत गरिदिन्छन्। व्यापार गर्न रुचाउनेहरू हाकिमको गाली र तनावग्रस्त जागिरतिर भौँतारिरहेका हुन्छन्।
हाय! आर्थिक अवस्थाले देखाइदिएका सपनाहरू।
खुला आँखाले देखिएका सपना पूरा गर्ने कुरालाई केही पर राखेर यो युगका जवान मानिसहरूलाई एक टक लगाएर नियाल्ने हो भने आशा हराएका, हरेस खाएकाहरूको सङ्ख्या अधिकांश भेट्न सकिन्छ। एक त बेरोजगारीले कुजिएको देशको अवस्थाले मनलाई अत्ताइरहेको हुन्छ। कहिँकतै भेटिएका कामहरू आफ्नो रोजाइ र पढाइ अनुसारको हुँदैन। त्यहीमाथि काम गरेर पाउने पारिश्रमिकले न आफूलाई चित्त बुझ्छ न परिवारको चित्त बुझाउन सकिन्छ। मन त्यसै त्यसै भारी हुन्छ। न केही गर्न सकिन्छ, न कहीँ जान सकिन्छ न कसैलाई केही भन्न नै सकिन्छ। सकिन्छ त केवल झुटो हाँसो हाँस्न, रातभरि छटपटिएर तनावग्रस्त समय ‘भोलिको दिनमा त केही गर्न सकिएला’ भन्ने सोचेर आलटाल गरेर कटाउन।
वास्तवमा हामी मध्यम वर्गीय परिवारका व्यक्तिहरूलाई सानैदेखि सपना देख्ने कुरामा पाबन्दी लगाइएको हुन्छ जस्तो लाग्छ। बालकको क्षमतालाई ओझेलमा पारेर यत्तिसम्म मात्र गर्ने, यत्ति मात्र पढ्ने, यहाँ मात्र जाने, यो मात्र खाने आदि इत्यादि जस्ता सीमा छुट्टाइएका हुन्छन्। जसका कारण हाम्रा साथी संगत त्यही सीमितता भित्र मात्रै रहन्छ। हामीले सिक्ने, खाने, बोल्ने, हेर्ने, देख्ने जस्ता कुराहरू सीमित हुन्छन्।
सानैदेखि परिवारको दुःख सुख देखेकाहरू अक्सर परिवारमा भएको अलिकति खुसी पनि आफूले देखेको सपना पूरा गर्ने चक्करमा हराउलान् भन्ने डरले ती सपना पूरा गर्ने त परको कुरा त्यो सपना कसैलाई सुनाउन समेत डराउँछन्। अनेक कल्पना गर्दै बुनिएको सपनालाई पारिवारिक र आर्थिक स्थितिकै कारण पूरा गर्न नपाएका घटना तपाईं हाम्रै समाजमा छर्लङ्ग छन्। बरु आफैभित्र आफ्ना सपना लुकाएर बाहिर हाँसिदिने, आफ्ना अमूल्य सपनालाई दागबत्ती दिनु परेकोमा हरेक रात एकान्तमा एक्लै भक्कानिने, तनावग्रस्त मनलाई ‘जिन्दगी यस्तै त हो नि’ भनेर झुटो आशामा अलमलाउन नै सजिलो हुने रहेछ क्यारे।
आर्थिक स्थितिले तुहाएका सपनाहरू सम्झिँदा गहभरि आँसु टिलपिल हुने गर्छन् र कहिलेकाहीँ पैसा ठुलो कि खुसी भन्ने बहस चलिरहँदा चिच्याएर पैसा ठुलो भन्न मन लाग्छ। जुन पैसाले व्यक्तिको अनगिन्ती सपनाहरू लुटेको छ, असीमित सपनाहरूलाई ओझेलमा पारेको छ, मस्त निदाउनु पर्ने आधा रातमा मनको बह पोख्नकै लागि साथ खोज्नु परेको छ। पैसाबिना सपना पूरा गर्ने तरिका लौन कसैले बताइदेओ। मलाई लाग्छ, पैसा सबै कुरा त होइन तर धेरै कुरा पक्कै हो।
आर्थिक अवस्थाकै कारण एउटा बुबाले आफ्नो छोराको मुखसम्म हेर्न नपाई गर्भवती श्रीमती छोडेर बिदेसिनु परेको छ, परिवारमा दिनरात ऋणको झमेला सहन नसकेर कैयौँले गलत बाटो रोज्नु परेको छ, परिवारको टाउको लुकाउन बनाएको एक तले पक्की घरको ऋण तिर्नकै लागि घरको एक्लो छोरो बिदेसिनु परेको छ। ल अब तपाईं भन्नुस्, हाम्रा सपना आर्थिक अवस्थाले देखाए कि देखाएनन्?