जीवनमा समयअनुसार सबै कुरा हुनुपर्ने रहेछ। यदि त्यो समयमा हुने कुरा हाम्रो जीवनमा भएन भने कुनै न कुनै समस्या भनौँ या मान्छेको कुरा गर्ने बहानामा पर्ने त पक्का हुने रहेछ।
जिन्दगी सधैँ एउटै हुँदैन र रहँदैन पनि; हामी कुनै बेला बच्चा थियौँ र आज युवा अवस्थामा पुगेका छौँ। भोलि वृद्ध हुँदै एक दिन यो संसारबाट समेत बिदा हुनुपर्ने अवस्था आउँछ। तर पनि हामीलाई हेर्ने नजरिया यहाँ मान्छेहरूको समयअनुसार फरक फरक हुँदो रहेछ।
म कुनै कल्पनालाई यहाँ पस्किरहेको होइन, यो मैले भोगेको आरोह अवरोहको एउटा भोगाइ हो। हामी आफ्नो तरिकाले बाँच्न चाहे तापनि यो समाजले हामीलाई बाँच्न दिँदैन। हामीले समाजकै देखासिकी गर्नुपर्ने हुन्छ।
मैले आजसम्म आउँदा धेरै साथी पाएँ र गुमाएँ। अझ भनौँ कति साथीहरूलाई त आजसम्म पनि बेलाबखतमा सम्झिरहेकै हुन्छु। उनीहरू मलाई सम्झिन्छन् या बिर्सिए यो भने म यकिन गर्न असक्षम छु। यस्तै यस्तै जीवनका आरोह अवरोह पार गर्दै जाँदा एउटा यस्तो समय आउँछ जति बेला आफू पनि यस्तो किन नभए होला अथवा मसँग यो छैन, त्यो छैन, यो भएन, त्यो भएन, यो कसरी हुन्छ? के गर्नुपर्छ? इत्यादि प्रश्नमाथि प्रश्न उब्जिन्छन्। यी प्रश्न उब्जिनुमा हामी हुर्केको वातावरण वा साथी संगतको पनि ठुलो भूमिका रहन्छ।
मेरा सानैदेखि साथीहरू त धेरै भए तर प्रिय साथी (प्रेमिका) भने अहिलेसम्म पनि कोही भएनन्। कुनै बेला कोहीसँग अलि बढी बोले हुँला, कुरा गरे हुँला अथवा मनका भावनाहरू साटासाट गरे हुँला तर पनि यस्तो मलाई प्रेमै भने भएको आभास कहिले भएन। स्कुल पढ्दै गर्दा म बोल्न त धेरैसँग बोल्थेँ, सबै मेरो लागि उत्तिकै प्रिय थिएँ।
समय परिवर्तन हुँदै गयो, स्कुले जीवन सकियो र कलेज पढ्न भर्ना समेत भएँ। अब म र मेरो सोचाइ भने पहिलेभन्दा फेरिँदै गए। यहाँ स्कुले जीवनमा भन्दा धेरै साथीहरू पनि पाएँ। यस्तै यस्तै गर्दा अब आफ्नै साथीले वा नयाँ-नयाँ जोडिँदै जाने साथीहरूले गर्ने कुरा भनेको यो मात्रै हो कि- 'तिम्रो लभ परेको छ कि छैन?'
यो भन्दै गर्दा कतिले यस्तो पनि भन्छन्- ‘यार, यो मान्छे आफै लभ छ। यसको नहोला र!’
उनीहरू हाँस्दै भन्छन्। म त्यति बेला छ पनि भन्न सक्दिनँ र छैन पनि भन्न सक्दिनँ।
हाँस्दै भनिदिन्छु- ‘खोजिरहेको छु बरु खोजिदे न तेरो कोही छन् भने, पट्याउँछु यार। अब त मैले पनि लभ गर्नुपर्यो। कति एक्लै बस्ने हैन र?’
फेरि साथीहरू थप्दै भन्छन्, ‘हैन तैँले के गरी पट्याउँछस्, दिदी भनेर या बहिनी भनेर?’
यसरी ठुलो स्वरमा हाँस्दै मजाक उडाउँछन्। म त्यति बेला सोच्छु; हैन यो प्रेम पनि यो समयमा अथवा यो अवस्थामा भएको भए त गर्वका साथ म पनि भन्न सक्थे हुँला ‘छ नि यार।’
फेरि मलाई पनि लभ नगरौँ लागेको होइन। मसँग त्यस्ता प्रस्तावहरू पनि नआएकै त होइनन् तर पनि अरू साथीहरूको प्रेमलाई देखेर मलाई यो प्रेमप्रति खै किन हो भित्रीदेखि घृणा उत्पन्न भइसकेको छ। तिनीहरूबिच भइरहने बेलाबेलाको झगडाले म आफू प्रेम यो जन्ममा त कहिले पनि नगर्ने अवस्थामा पुगिरहेको हुन्छु।
समय दिइरहनु पर्ने प्रेमिका भएपछि बेलाबेलाका शङ्का उपशङ्का, के खायो? खाएन? कहाँ गयो? गएन? इत्यादि समस्याहरू आइरहन्छन्। यो मैले आफैले भने भोगेको कुरा होइन तर यस्ता भोग्नेहरूको संगत भने लामो समयदेखि गरिरहेको छु। यसैले पनि म यो प्रेमदेखि आजसम्म टाढा रहेको हो कि खै थाहा छैन!
फेरि भन्छन् नि ‘माया दृष्टिविहीन हुन्छ।’ खै यस्तै पो हो कि भनेर सम्झिन्छु तर आफ्नो यस्तो कहिले पनि किन भएन? मायामा परेको महसुस किन गर्न सकिनँ? मैले किन चाहिनँ म अहिलेसम्म पनि यकिन गर्न सक्दिनँ किनकि म सबैसँग एउटै तरिकाको व्यवहार र कुराकानी गर्ने, शैली पनि उस्तै उस्तै रहन्छ र पो लभ पर्न सकेन होला। नत्र केटी साथीहरूसँग कुरा नगर्ने या भनूँ केटीहरू देख्दा लजाउँदै जाने कति साथीहरूको लभ परेको, घुसघुसे साथीहरूको लभ परिरहने, ब्रेकअप भइरहने, यस्तो भइरहँदा म यति बाठो भएर के काम भनेर पनि नसम्झिएको होइन।
फेरि सम्झिन्छु एक साथीले भनेको, ‘यो उमेरमा दुई/चार वटा लभ पर्दै ब्रेकअप नभए त जिन्दगी जिउनुको के मजा!’ मलाई यस्ता यस्तै घटनाले पनि हुनसक्छ यो झुटो प्रेमप्रति वितृष्णा जागेको। तर यहाँ मान्छेहरूले मलाई यसरी कहाँ बुझ्छन्! भन्छन्- ‘कस्तो मान्छे रहेछ! जाबो एउटा प्रेमिकासम्म बनाउन सकेको छैन। खाली हो जिन्दगी जिउनु बेकार हो।’
यस्तो भन्दै गर्दा लाग्छ, अब पढ्नु लेख्नु वा अरू गर्नुभन्दा पनि यो लभ गर्नु ठुलो कार्य हो कि! तर लभ गरेर ब्रेकअप भएपछि घटेका दुखद घटनाका समाचार आफैले लेख्दै गर्दा, रिपोर्टिङ गर्दै गर्दा सम्झिन्छु, यो लभ गर्नु त ठुलो पागलपन रहेछ,महामारी रोग पो रहेछ या भनूँ खतरा पो रहेछ।
नराम्रा घटना सुन्दै गर्दा मेरो मन मस्तिष्कमा यो प्रेमप्रतिको घृणा एक्कासि बढेर आउँछ। त्यसैले पनि त मेरो लभ परेन। तर यहाँ भन्नेले भन्छन्- यसको लभ परेको नहोला र! कतिले भन्छन्- यसको पनि लभ होला र! कुरा सबैले आ-आफ्नै तरिकाले काट्छन्।
लभ नपरेकै कारण साथीहरूमा मजाक भएकोमा एक दिन आफ्नै भाइको समेत मजाकमा परेँ। घरमा आमाले अब त बिहे गर्नुपर्छ भन्दा मैले अहिले गर्दिनँ के भनेको थिएँ, यत्तिकैमा आफ्नै भाइले भन्यो- ‘कतै यसको लभ परेको हुनसक्छ। त्यसैले गर्दैन भनिरहेको छ।’
यति बेला आफ्नो लभ परेको छैन भनी म बाहेक कसैलाई थाहा छैन तर पनि यो भाइले मेरो मजाक उडाएको हो भन्ने महसुस गरेँ। फेरि एक पटक सोचेँ, हैन यो लभ भन्ने कुरो यत्तिको आवश्यकै हो र जसले पनि लभ नै भन्छन्!
मैले यो बाहेक अरू धेर थोक कुराहरू भोगेँ। अब तपाईं भन्नुस्- यो प्रेम, लभ, आकर्षण हुनै पर्छ र? सबैले लभ गर्नै पर्छ र?