चलचित्र कुनै पनि समाजको सांस्कृतिक ऐना हो। यसले मानिसका सपना, वास्तविकता र विचारलाई पर्दामा उतार्ने माध्यम मात्र नभएर आर्थिक क्षेत्रमा पनि ठुलो प्रभाव पार्छ।
नेपाली चलचित्र उद्योगले पनि यी सबै जिम्मेवारी निभाउँदै आएको छ। यद्यपि पछिल्लो समय चलचित्र व्यापार र बाँडफाँटका सम्बन्धमा अनेकौँ प्रश्नहरू उठेका छन्। चलचित्रले राम्रो कलेक्सन गरे पनि निर्माताको हातमा पुग्ने रकम कम हुनुले यो क्षेत्रको समग्र संरचनाबारे गम्भीर प्रश्न खडा गरेको छ।
चलचित्र व्यापारको गणनाले नेपाली चलचित्रको आम्दानीलाई बुझाउन सकिन्छ। मानौँ कुनै एक चलचित्रले १ करोडको कलेक्सन गर्यो। यो आम्दानीलाई ‘ग्रस कलेक्सन’ भनिन्छ।
ग्रस कलेक्सन हलमा टिकट बिक्रीबाट आएको कुल रकम हो। यो रकमबाट सर्वप्रथम सरकारको कर, त्यसपछि हल मालिक तथा वितरकको हिस्साको लागि कटौती गरिन्छ। अन्ततः निर्माताको हातमा ३७ प्रतिशत जति मात्र पुग्छ। यसमा वितरकसँगको सम्झौता के हो त्यो महत्त्वपूर्ण छ।
अब अझ खुलेर बुझ्न पर्दा १ करोड ग्रस कलेक्सनको हिसाब यस्तो हुन्छ-
भ्याट तथा स्थानीय कर १८% तिर्नु पर्छ अर्थात् १८ लाख रुपैयँ करमा गयो। अब बाँकी रहन्छ ८२ लाख रुपैयाँ।
८२ लाखमा हल र निर्माताको भागबन्डा ५०/५०% पर्छ अर्थात् बाँकी रह्यो ४१ लाख रुपैयाँ। ४१ लाख निर्माताको हातमा पर्यो। यसबाट सम्झौता बमोजिम वितरकको कमिसन पनि काटिन्छ। वितरकको १५% छ भने ४१ लाखको १५% भनेको ६ लाख १५ हजार रुपैयाँ हुन्छ। अब ४१ लाखमा ६ लाख ५ हजार घटाउँदा बाँकी रह्यो ३४ लाख ८५ हजार रुपैयाँ।
वितरकको ५% छ भने निर्मातालाई ३८ लाख ९५ हजार रुपैयाँ मात्र हात पर्छ। यसमा खर्च कटाएर हुन आउने नाफामा पनि इनकम ट्याक्स लाग्छ।
यसले नेपाली चलचित्र व्यवसायको वास्तविकता प्रस्ट पार्छ, जहाँ ठुलो रकम विभिन्न चरणमा कटौती हुँदा निर्माताले थोरै मात्र प्रतिफल पाउँछन्।
करको दर, स्थानीय व्यवस्थापन खर्च र वितरकसँगको सम्झौता जस्ता पक्षहरूले यस प्रक्रियामा ठुलो भूमिका खेल्छन्। वितरकले लिने कमिसन ५ प्रतिशतदेखि १५ प्रतिशतसम्म हुने हुँदा निर्माताको आम्दानी यसमा निर्भर गर्छ।
चलचित्र निर्माण कुनै सानो प्रयास होइन। यसको उत्पादनमा लागेको पुँजी, कलाकारको पारिश्रमिक, प्रचार-प्रसार खर्च र अन्य प्राविधिक खर्च अत्यधिक महत्त्वपूर्ण छन्। १ करोडको कलेक्सनबाट निर्माताले लगभग ३७ लाख हात पार्दा पनि, यो रकमबाट नाफा निकाल्न गाह्रो हुन्छ। त्यसमा पनि निर्माताले बाँकी रहेको रकममा आयकर तिर्नुपर्छ, जसले अझ थप चुनौती खडा गर्छ।
वितरक र हल मालिक चलचित्र व्यवसायका महत्त्वपूर्ण पाटा हुन्। उनीहरूले चलचित्र प्रदर्शनको लागि आवश्यक वातावरण सिर्जना गर्छन्। यद्यपि, यो प्रक्रियामा वितरकको उच्च कमिसनले निर्मातालाई हानी पुर्याउन सक्छ। हल मालिकसँगको सहकार्य पनि महत्त्वपूर्ण छ किनकि टिकटबाट आएको कुल आम्दानी ५०/५० अनुपातमा बाँडिने गर्दछ।
नेपाली चलचित्र उद्योगलाई फस्टाउनका लागि अन्य क्षेत्रहरूको भूमिकालाई पनि नकार्न सकिन्न। विशेष गरी सरकारको नीति, प्रविधिको प्रयोग र दर्शकहरूको सहभागिता यो क्षेत्रमा महत्त्वपूर्ण कारक हुन्। चलचित्रको कलेक्सन बढाउन र पारदर्शिता ल्याउन डिजिटल टिकट प्रणाली र अनलाइन प्रचारले ठुलो मद्दत पुर्याएको छ।
चलचित्र उद्योगलाई कुनै व्यक्तिगत प्रयास मात्र मान्न सकिन्न। यो समग्र समाजको समर्थन र सहभागितामा निर्भर हुन्छ। चलचित्रले कलेक्सन राम्रो गरे पनि निर्माताले उचित नाफा नपाउनुमा दर्शकहरूको भूमिकालाई पनि ध्यान दिनुपर्छ। दर्शकले गुणस्तरीय चलचित्रको मूल्याङ्कन गरेर सिनेमा घरमा गएर हेर्ने संस्कृति विकास गर्नु आवश्यक छ।
चलचित्र उद्योग केवल कलाकार र निर्माताको मात्र नभई वितरक, हल मालिक र प्राविधिक कर्मचारीहरूको समेत आर्थिक स्रोत हो। यस्तो अवस्थामा, सबै पक्षलाई न्यायोचित लाभ पुर्याउने व्यवस्थाले मात्र यो उद्योगको दिगोपन कायम गर्न सक्छ।
नेपाली चलचित्र उद्योगले ठुलो सम्भावना बोकेको छ तर निर्माताको आर्थिक सुरक्षा सुनिश्चित गर्न संरचनागत परिवर्तन आवश्यक छ। व्यापार प्रणालीमा पारदर्शिता, वितरक र हल मालिकसँगको सन्तुलित सम्झौता र सरकारले प्रदान गर्ने सहुलियतले मात्र यो क्षेत्रलाई दिगो बनाउने छ। नेपाली चलचित्रले मनोरञ्जनका साथै समाजको आर्थिक र सांस्कृतिक विकासमा योगदान दिन सक्नेछ।