जेनाथन लकउड हुले भने झैँ ‘समाप्तिको उत्सव– जो नयाँ सुरुआतका साथ अगाडि बढ्छन्’ त्यो नै दीक्षान्त हो। बाह्रौँ शताब्दी तिर युरोपबाट सुरु भएको दीक्षान्तको यस महान् उत्सव मनाउने र सहभागी हुने तथा दीक्षित बन्ने सुअवसर कमैलाई मिल्छ।
केही दिनअघि एक जना आफन्तको दीक्षान्तमा गइयो। मुलुकमा डिग्री गरेर पनि दीक्षान्तमा भाग लिन नम्बरको कैफियत कारणले पाइएन। तथापि आफूले पढाउने कलेजको ग्र्याजुएसन सेरोमनीमा भने अग्रपङ्क्तिमा बस्ने सम्मान पाइयो। हुन त तिनै अब्बलहरूले त्रिविलाई घाटैमा पुर्याए।
दीक्षान्तमा भाग लिन रहर लाग्ने तर पनि इच्छा पूरा भएन। हुन त योग्यताको प्राप्ताङ्कमा कैफियत भए पनि बिसौँ वर्ष नानी बाबुहरूलाई स्नातक, स्नातकोत्तर, प्रमाणपत्र तहमा अध्यापन गरियो। यसो हेर्दा आफ्नै बखान गरेको जस्तो लाग्ला तर अर्काको कुरा गरे त मारिहाल्छन् नि; कुरा त आफ्नै गर्ने हो, आफ्नो कुरा गर्न अनुभव बताउन सहज हुन्छ।
विरोध पनि त्यसको गरिन्छ जो सारा नेपालीले आशा गर्ने ठाउँमा छ। त्यस कारण पनि विरोधलाई अन्यथा लिइन्न होला पनि।
दीक्षान्तमा पनि नेता अर्थात् प्रम कुलपतिको पट्यारलाग्दो राजनीतिक भाषण सुन्न बाध्य नेपाली अब्बल विद्यार्थीलाई विदेशतिर हुने दीक्षान्त देख्दा रहर पनि लाग्दो हो। यसको अर्थ हाम्रो गलत भन्ने होइन, आफ्ना कुरा भाषण सुनाउने ठाउँ नभएर पनि होला मान्छे धेरै भएका ठाउँमा राजनीति छाँटिहालौँ भन्ने लागेको सायद।
दीक्षितको लागि फोटो बुथदेखि रिफ्रेसमेन्टसम्म, नाम दर्तादेखि हलमा आमन्त्रण, आसन ग्रहण, उपकुलपतिको सानो स्वागत तथा बधाई, कुनै पूर्व विशिष्ट विद्यार्थीको अनुभव प्रस्तुतिपछि सिधै दीक्षान्तका लागि दीक्षितलाई मञ्चमा बोलाउने, राष्ट्रिय गानको वाचन त्यसपछि एउटा सानो मनोरञ्जनात्मक प्रस्तुति लगत्तै कार्यक्रम अन्त्य हुने रहरलाग्दो व्यवस्थित कार्यक्रम हेर्ने मौका मिल्यो।
न त मन्त्री आए न तामझाम नै भव्य, सव्य कार्यक्रम थियो। हामीले पनि यो सिक्न लागु गर्न पाए बेसै हुन्थ्यो होला। उपकुलपतिले त्यति छोटो भाषणमा पनि मन्डेला र स्टिभ जवको प्रसंग खुलाएर हावापानीमा आएको परिवर्तन, साइबर सेक्युरिटी, कन्फ्लिक्टको चुनौती रहेको बताउन भ्याए।
छोटो मिठो कार्यक्रम हामीकहाँ हुँदैन। सबैले बोल्न पर्ने। उसलाई दियो, मलाई दिएन भन्ने गुनासो गर्छन्। कार्यक्रम संयोजकलाई पनि गाह्रो छ। साँच्चै बोलेरै त हो नेपाल बिग्रेको।
यो त भयो दीक्षान्त देखेको कुरा। केटाकेटी सानै छन्, कुन बेला पढाइ सकाउलान् अनि उनीहरूको दीक्षान्त टोपी लाउनेमा विदेश आउन पर्ने होला! अनौठो छ दुनियाँ! त्यही सन्तानले टोपी लगाउने दिन कुर्न पर्छ। हामीलाई विदेश पुग्न पनि टिकट उत्तिकै महँगो। उता भिसाको चटारो, ज्यान जाला भिसा दिन्न विदेशीले। आफ्नो पैसा खर्च गरेर सन्तानको दीक्षान्तमा भाग लिनका लागि त्यही पनि मरी मरी खाइ नखाई हाड घोटेर मेहनत गरी डोकोभरि पैसा तिरेर पढ्न पठाउने बाबु आमालाई।
सबैको घरमा दीक्षान्तको फोटो बैठकमा टाँसेका हुन्छन्। आफ्नो त न फोटो न गाउन; यस्तै रहेछ यहाँको चलन। किन चाम्रिइस् मरीच आफ्नै रागले भने जस्तो छ। अजीव अजीव बेहोर्न पर्ने, देख्न पर्ने।
त्रिविले उत्कृष्ट मानेकाहरू कि त विदेशमा छन् कि निर्णय गर्ने तहमा छन्। तैपनि देश वरको पर सरेको छैन। दिक्दार लाग्छ। अन्यथा नलिनु होला, मेरो कुनै पूर्वाग्रह छैन। ती अब्बलप्रति सलाम नै छ। केवल मेरो सानो उहाँहरूबाट अपेक्षा मात्र हो।
पढे लेखेका, देश विदेश देखेका सबैले औँला नेताप्रति तेर्साउँछन्। खै के खै के, को ठिक को बेठिक ठम्याउन सक्दिनँ। अन्तिममा आफैलाई बेठिक ठान्छु, चित्त बुझाउँछु।
दीक्षान्त त के कुरा, पढाइ पनि अचम्मकै छ। केही महिना अगाडि चेक साट्न बैंकमा पठाएको एउटा कर्मचारीले टेन लाख लेख्न पर्ने ‘टेन ल्याक्स’ भएर भनेर चेक फिर्ता गरेर रिस पनि उठ्यो। काउन्टरमा रहेको उक्त कर्मचारीलाई भनेँ- ‘तपाईं राम्रो पढेर सिकेर जागिर खानुस्, नत्र दुनियाँले दुःख पाउँछन्।’
उनले अडिट आउँछ मान्दैन भन्दै थिए।