'एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा'
नारायण गोपालको यो सुमधुर गीत गुञ्जनेबित्तिकै मेरो जीवनमा कसैको मायारूपी एक वाक्यले आफूमा आएको परिवर्तन मानसपटलमा झल्झली आउँछ। एक शब्द वा एक बोलीमा नै यस्तो तागत हुने रहेछ कि जसले मानिसको जीवन नै परिवर्तन गरिदिन्छ।
जब म नौ दश वर्षकी थिएँ, हिमालझैं सेता मिलेका मेरा दन्ते लहर परिवर्तन भएपश्चात् बाख्राका घाँस राख्ने टाँड जस्ता बनेर आइदिए। बिग्रिएको दाँतले मेरो सुन्दर मुहारको आकृति नै कुरूप गराइदिएको भान हुन्थ्यो।
१२-१३ वर्षको उमेरसम्म त मेरो आफ्नो रूपमा आएको परिवर्तनप्रति खासै मतलब थिएन, तर १६-१७ वर्षको बढ्दो जवानीमा चाहिँ सोही दाँतको कारणले खुलेर बोल्न र हाँस्न पनि मन नलाग्ने बन्दै गयो।
कसैले आफ्नो दाँत नै नदेखिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो। कसैले दाँतको कुरा गरे भने म आफू त्यहाँबाट अलग्गिन चाहन्थेँ। यसका हात्तीका जस्ता दाँत, त्यो दारे आदि जस्ता शब्दले मनमा काँडा जसरी बिझिरहन्थे। म आफूलाई संसारकै कुरूप नारी हुँ जस्तो लाग्थ्यो। आफूमा भएको एउटा कमजोर पक्षले अरू सम्पूर्ण राम्रा पक्षहरू नै बिर्सिएर त्यही कुरालाई म मेरो ठूलो समस्याको रूपमा लिन थालिसकेकी थिएँ।
दाँत मिलाउनको लागि थुप्रै डेन्टल क्लिनिकहरू सञ्चालनमा थिए। कुनै कुनै डेन्टल क्लिनिकहरूमा बुझ्न नगएको पनि होइन तर दाँत मिलाउन धेरै खर्च लाग्ने, मिलाउँदाको समय असजिलो हुने साथै मिलाएपछि दाँत कमजोर हुने भन्ने जस्ता साथीभाइका सुझावले खासै बिग्रिएका दाँत बाँध्नेतर्फ धेरै जोड गर्न सकिनँ।
हजारौं साथीभाइहरूको भिडमा मेरो हातको औंलामा गन्न मिल्ने केही साथीभाइहरूले तपाईंको जस्तो दाँत त मलाई कस्तो मनपर्छ नि, कस्तो युनिक किसिमको छ। फोटो खिच्दा हाँसेर खिच्ने गर्नु न है कस्तो राम्रो देखिन्छ भन्ने जस्ता केही वाक्यहरू नसुनेको पनि होइन। तर मलाई ती वाक्यहरू आफ्ना बिग्रिएको दाँतको प्रशंसा गरेकोभन्दा पनि गिज्याएको महसुस हुन्थ्यो। झन् झन् पिर पर्दै जान्थ्यो अनि लाग्थ्यो कि ऋण धन गरेर भए पनि आजै दाँत मिलाएर आउँछु। अनि सबैका अगाडि म पनि खुलेर हाँस्छु।
अकस्मात एक दिन मेरो एक जना चिरपरिचित भाइसँग धेरै समयपश्चात भेट भयो। उसले मलाई देख्नेबित्तिकै भनिहाल्यो, 'दिदी सानो छँदा तपाईंलाई देख्नेबित्तिकै मेरो दाँत पनि तपाईंकै जस्तै आइदिए हुन्थ्यो भने लाग्थ्यो। हेर्नु न त्यस्तै आएको छ नि'।
एकैछिन त उसले यसै जिस्काएर भनेको हो कि जस्तो पनि लाग्यो तर त्यो १४-१५ वर्षीय भाइको वाक्य मेरो मानसपटलमा यसरी बस्यो कि त्यो शब्दमा व्यक्त गर्दा अपर्याप्त हुनेछ, जसले मेरो जिन्दगीमा ठूलै बहार ल्याइदियो। आफू २२ वर्ष लागिसकेको थिएँ। आफ्नै उमेरको केटा साथीहरूले त्यसरी तारिफ गर्दा कुनै स्वार्थ पूर्तिको लागि भनेको हो कि भन्ने अनुभूति हुन्थ्यो होला तर आफूभन्दा उमेरमा धेरै सानो भाइले निस्वार्थ भावनाले बोलेको त्यस वाक्य मन मस्तिष्कमा निकै घुमिरह्यो।
घरमा आएर सधैं हेर्ने दराजको ऐना हेरेँ। उसको त्यो एक वाक्य सम्झिएर मुसुक्क मुस्कुराएँ। आफूलाई संसारकै कुरूप नारी लाग्ने मलाई त्यस दिनदेखि आफू र आफ्ना हरेक अङ्गहरू जस्तो राम्रो केही छैन लाग्न थाल्यो। कोही त आफू जस्तो बन्न चाहेको रहेछ भन्ने लागि मनैदेखि खुसी भएँ।
त्यस दिनदेखि नै मैले प्रण गरेकी थिए कि आफ्नो दाँतप्रति कसैको नकारात्मक टिप्पणीले मनलाई कति पनि विचलित बनाउने छैन र भगवानले दिनुभएको फरक प्रकृतिको दाँतलाई आफ्नो पहिचानको माध्यम बनाउँछु र सबैलाई यहीबाट प्रेरणा दिनेछु। साँच्चै म त्यही दिनबाट फेरि खुलेर हाँस्ने भएकी थिएँ।
संसारमा सबै मानिसहरूको वंशानुगत, वातावरण र उनीहरूको आहारविहार अनुसार शारीरिक प्रकृति फरक फरक किसिमको हुन्छन्। कोही अति होचो, कोही ज्यादै अग्लो, कोही ज्यादै मोटो, कोही ज्यादै लुरो, कोही ज्यादै कालो, नाक चुच्चे, गुन्द्रुके कपाल, तालु खुइले आदि आदि। छालाको रङ मेकअपले केही हदसम्म फेरबदल गरे पनि मानिसका शारीरिक विभिन्नताहरू मानिसले सानोतिनो खर्चले चाहेर पनि गर्न सक्दैन। परिवर्तन गर्न नसकिने कुरालाई आफूले त्यही विषय लिएर मनलाई विचलित अशान्ति बनाउँदै गयो भने संसारका प्रायजसो मानिसहरू शारीरिक असन्तुष्टिका कारणले पीडित होलान् अन्य मानसिक, सामाजिक, संवेगात्मक समस्याहरू त छँदैछन्।
विद्यालयमा शिक्षणको क्रममा पनि विभिन्न प्रकारका बालबालिकाहरूसँग उनीहरूका मनोभावना बुझ्ने अवसर प्राप्त गरेको छु। आफ्नो दाँत, मुख, नाक नराम्रो छ भने कहिले मास्क खोल्न नखोज्ने, कपाल नराम्रो छ भने सधैं छोप्ने, देखाउने नखोज्ने, शारीरिक कमजोरीका कुरा गरिदिए झनक्क रिसाइहाल्ने, रूपकै कारणले साथीभाइले जिस्काउँदा एकआपसमा झगडा हुने, विद्यालय छोड्ने आदि जस्ता विभिन्न समस्याहरू भएका बालबालिकाहरू प्रशस्तै भेटिन्छन्। तिनै बालबालिकाहरूलाई आफ्नो समाधान गर्न सकिने शारीरिक समस्या पनि समाधान नगरी आफूमा आएको मनोबल आफ्नो कथा व्यथा सुनाउँदै आफूलाई कहिल्यै कमजोर नसोच्न हौसला दिने गर्दछु। बालबालिकाहरूमा भएको मनोभावना बुझेर उनीहरूलाई के कारणले विचलित बनाएको छ सोही अनुसार उनीहरूलाई प्रशंसा हौसला प्रदान गरिदिए उनीहरूको मनोबल उच्च हुनेछ र खुसी जीवनयापन बिताउनको निम्ति सहयोग पुग्नेछ भन्नेमा दुई मत छैन।