नेपाली समाजको धार्मिक मान्यता अनुसार छैंठीको दिन जीवनको रेखी कोरिएको हुन्छन् रे।
मानिस कस्तो बन्ने भविष्यमा कुन बाटो रोज्ने र कति सफलता हासिल गर्ने भने कुरा छैंठी देवीले छैंठीको दिन तोकेको हुन्छिन् रे। हुन त हाम्रो देश नेपालमा कानुन बन्नुअघि धर्म शास्त्रको ग्रन्थहरूबाटै डोरिन्थ्यो जीवन कसो न डोरिएला? अनि फेरि त्यसो भए मानिसले जीवनभरि किन दुःख गरेको त? भाग्य लेखिएकै हुन्छ भने यति धेरै अध्ययन गरेर भविष्यमा के बन्ने, के गर्ने भनेर किन चिन्ता लिनु परेको होला भन्ने सोचको खाडलमा म आफैलाई डुबुल्की लगाएर नियाल्छु।
मानिस जन्मेर हुर्किंदै गएपछि (क) लेख्न सिकाउँदै प्रत्येक अक्षर सिकोस् भन्नका निमित्त विद्यालय भर्ना गरिन्छ। संस्कारी बन्नुपर्छ, ज्ञानी (ज्ञ) को प्रलोभनमा पारी सबैको मानिने हुनुपर्दछ भनेर सानैदेखि आमाबुवा, गुरूबाबाट शिक्षा फेरि उतिकै लिँदै आएँ। म अहिले काठमाडौं स्कुल अफ लमा बि.ए.ल.ल.वि पाँचै वर्षमा अध्ययन सकेर बसेको छु। चाँडै बार काउन्सिलको परीक्षा दिँदैछु। यद्यपि म मेरो करियरमा के गर्ने भन्ने बारेमा अन्योलमा छु।
मलाई त्यो पल अझै याद छ जब म कानुनको अध्ययनमा प्रथम वर्षको पहिलो हप्ता भकुण्डेबेसी रेसिडेन्सियल रिसर्च सेन्टरमा बिताइराख्दा एक दिन गुरूहरूले सबको अगाडि मलाई कानुन किन पढ्न आएको भनी सोध्नु भएको थियो। मैले मेरो जीवनको कुनै महत्वकांक्षा छैन र म केबल डिग्री हासिल गर्नको लागि पढिरहेको छु भनेर जबाफ दिएको थिएँ। उहाँहरूले मलाई पढ्नु थिएन? भन्नुभयो। लक्ष्यविहीन मान्छे कस्तो हुन्छ? उहाँहरूले भन्नुभएको थियो-तिमीले आमाबाको पैसा खेर फालिरहेका छौ। कानुन पढ्न चर्को छ, तर यस विषयले तिमीलाई धेरै माथि पुर्याउँछ, जेनेरेसन चेन्ज गरिदिन्छ त्यसैले तन, मन धन लगाएर पढ्नु पर्यो। नत्र जीवनभरि अर्काको झोला बोकेर चाकरी गर्नु बाहेक विकल्प छैन, भन्नुहुँदा पूरै कक्षाका साथीहरूले मलाई सारै बेबकुफ अपराधी, जस्तै गरेर हेरेका थिए।
तर आज म २४ वर्षको उमेरसम्म पुग्दा पनि भविष्यमा के बन्ने भन्ने बारेमा एउटा लक्ष्य समात्न सकिरहेको छैन। कानुन विषय पढेर कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सबैतिर बाटो फराकिलो हुन्छ। कानुनको अध्ययनले जीवनमा के गर्ने भनेर अन्योलमा पर्नुपर्दैन भनेर सधैं गुरूहरू भन्नुहुन्थ्यो।
एकदिन गुरूहरूलाई कुन बाटो रोजुम् भन्दा न्यायाधीशसम्म बन्न सक्ने खुबी छ राम्रो पढ्नू भन्नुभएको थियो। बुबाआमा, 'सरकारी जागिरे भए जीवनभरि ढुक्क। साथीभाइ ,'सरकारलाई प्रश्न गर्ने युवा आफै सत्तामा पुगेको हेर्ने चाहन्छौ। हामी सबैले चाहेको परिवर्तन अनि गुरूहरूले पनि त देशकै माटोमा टेकेर देशकै भूमिलाई सपार्नुपर्छ, युवाले देश बनाउनु पर्छ, युवा विदेश पलायन हुनुहुँदैन भन्नु नै हो।
जब जब मानिसहरू मेरो करियरको बारेमा प्रश्न उठाउँछन् एक अन्योल भूमरीमा जस्तै फसेको युवा म मेरो दिमाग तातो हुने गरी तताउँछु अनि फेरि गहिरो सोचमा डुब्दै एक्लै बस्न खोज्छु,आफूलाई सान्त्वना दिँदै सधैंझैं एक्लो महसुस गर्न थाल्छु।
छोराको कमाइ खाने बेलामा कति दु:ख कष्ट गर्नु हुन्छ भन्दै सम्झेका व्यक्तिहरूले मेरा आमा बाबुलाई भनेका कुराहरूले कता कता मन पोल्दो रैछ। हुन पनि कसो न हुँदो हो २४ वर्षको जवान छोराको चासो, बिग्रेर कुलतमा पो लाग्यो कि, यतिका दिनसम्म केही नगरी बसेको पक्कै कतै विदेश त जाने हैन? जस्तो प्रश्नको उत्तरमा करियरको डिग्री हासिल गर्नु अघि यो प्रश्नको उत्तर पास गर्नु धेरै गाह्रो थियो मलाई।
सायद म यो सामाजिक प्रश्न र भविष्यको भूमरीमा सोधेको प्रश्नमा फेल नै भएँ किनभने मसँग मुसुक्क हाँस्दै अब बिस्तारै विचार गर्नुपर्छ भन्नु बाहेक केही विकल्प थिएन र म उसै भन्दै फेरि सोचाइको खाडलमा डुब्छु।
तर सायद मलाई मजाले सुनिदिने/बुझिदिने मान्छे नभएर होला मेरो जबाफ सुन्ने व्यक्तिले मलाई लक्ष्यविहीन लोफर मान्न सक्छ भन्ने कुराले मलाई दिनरात खटपटी भएको थियो। हैन भने भाग्यमा कोरिएको भाग्य रेखा र जीवनभरि कोरिएपछि लेखिन खोजिएका अक्षरका रेखा बीचमा सजिएका भविष्यको लक्ष्यको साँच्चै ताल मेल नखाँदो हो त?
हैन भने मलाई यति धेरै आज बारको परीक्षा कुरिरहँदासम्म पनि किन भइरहेको छ? प्रत्येक दिन, प्रत्येक क्षणमा आफूलाई लोफर त हैन भनी कोस्दै आउनुपर्ने मेरो बाध्यता भनूम कि, मेरो देशको परिस्थितिलाई कोसुम् भनी आफैलाई प्रश्न गर्नुपर्ने अवस्था छ। यद्यपि एउटा कुरा मलाई थाहा छ कि इमानदार हुनु र आफ्नो उज्ज्वल करियरको बारेमा कथा बनाउनु राम्रो हो। यो हास्यासपद छ कि मानिसहरू नग्न सत्यलाई भन्दा पोषित झुटलाई कसरी प्राथमिकता दिन्छन्? भन्ने कुराको यथार्थता हामीले नेपालको रजनीतिक दलीय विभाजन, देशको प्रतिनिधित्व गर्ने प्रधानमन्त्रीका हाँस्य भास्य भाषण, देशको आर्थिक संकट, शिक्षा स्वास्थ्य आदिको नाजुक अवस्था र एक छाक मासु र भातको प्रलोभनमा बिकेको भोटबाट बनेको प्रधानमन्त्री जसले रचेका कार्ययोजना अनि त्यसको कार्यसफलता प्रतिफलबाटै देख्न सकिन्छ।
त्यसैले यस सबै चिजहरूलाई नयाँ युवाको आयाम दिनुपर्छ अब देश बनाउनु पर्दछ, विकासका योजनाहरू अघि बढाउनु पर्छ। शिक्षाको गुणस्तर बढाउनु पर्छ त्यही भएर म एक कर्णधार युवा प्रधानमन्त्री बन्ने सपना बुनेर हिँडेको थिएँ म त्यस क्षेत्रमा आफ्नो बिउ छर्दै एकदिन नेपालको प्रधानमन्त्री बन्छु भनी अठोटका साथ लागिरहेँ। हरेक राजनीतिक दलका कार्यक्रमहरूमा तर्कसहित प्रश्नहरू सोधिरहेँ। वर्षमा हरेक चोटि हुने युवा सम्मेलनमा नेताहरूका कार्ययोजना कसरी विफल हुँदैछन् भनी आधार, प्रमाण खोजी जारी राखेँ। भ्रष्टनीति सपार्न अब युवाको भूमिका हुनुपर्छ भनेपछि नेताका अराजकता, विधिको शासन माथिको दमनप्रति धेरै लेख, प्रकाशन, पोडकास्ट समेत चलाउँदै आइरहेँ।
सदाझैं साँझको समयमा एकदिन मौका मिलाएर मेरो दैनिकी रूपमा भेट्ने साथीले मलाई उसको प्रेम कथा सुनाको त्यो दिन मलाई लाग्यो कि म कुनै पनि हालतमा दुखी प्राणी होइन। उसलाई उसकी प्रेमिकाले अर्को केटाको लागि छोडिन् रे। जे भए पनि सायद यो उनको गल्ती थिएन होला। दिनभरी फिलिम हेर्ने र दिनमा आठ वटा चुरोट पिउने केटासँग बस्न कसैलाई मन पर्दैन त्यो सत्य हो।
एकदिन मेरो पूर्वप्रेमिकासँग आफ्नो करियरको बारेमा कुरा हुँदा प्रधानमन्त्री बन्छु भनेको थिए उसले मेरो कुरालाई खासै रूचाइन यो भविष्यमा के हुने यस्तो पनि लक्ष्य बोकेर हुन्छ भन्दै आफ्नो कुराहरूमा मलाई अल्झाएकी थिई उसले।
माया प्रेमको कुरा गर्ने हामीबीच मैले साथीले उसको ब्रेकअपको कहानी सुनाएको थियो यस्तो भएछ हेरन भन्दै, त्यो पुतली सडकको गल्लीमा पाउने २० रुपैयाँको चियाको चुस्की लिँदै आफ्ना अनेकै भावनाहरू चिसो मौसममा त्यही बलेको न्यायो आगो ताप्दै साट्दा। उनले मलाई सुझावमा आफ्नो मापदण्ड अपग्रेड गरिछन् राम्रो हो भनेको थिइन्। तर, तिमीले ऊ जस्तै अपग्रेड मित्रता गर्नुहुँदैन है, बरू हामी दुवै बाहिर गएर आफ्नो पढाइ पूरा गरौं अनि फर्केर विवाह गर्नु पर्दछ। आफ्नो लाइफ सेक्युर गर्नुपर्छ नेपाल बसेर काम छैन भन्थिन्। सायद मेरो लक्ष्यप्रति उनले आफ्नो भविष्यको ढोका खोल्दा अन्धकार देखिन्, यति मायाले बुझाउने,बुझ्ने मान्छेले पनि मलाई छोडेर गइन्। सायद अहिले उनी इरसमस मुनडस छात्रवृत्तिमा युरोपको टर्कीमा आफ्नो अध्ययन गर्दै होलिन् आफ्नो दरिलो करियर बनाउँदै होलिन् भविष्यको निम्ति। उनले नेपाल छोड्नु पर्छ भन्दा भविष्य छैन, रोजगार छैन, पैसा छैन, शिक्षा, स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा गुणस्तर छैन भनेकी थिइन्।
तर मेरो जीवनको अर्को ठुलो बाध्यता के पनि थियो भने मेरा बुवाआमाले सधैं विश्वास गर्नुभएको छ कि जब कोही आफ्नो देश छोड्छ, तब तिनीहरू आफ्नो जन्मभूमि बसोबास गर्न धेरै सम्भावना छैन। हामी २ दाजुभाइमा भाइ बाहिरै हुँदा मैले फेरि बाहिर जानु भनेको उमेर ढल्किँदै गरेको बुवाआमालाई घरमा शून्य पार्नु, बिरामी हुँदा दबाइ पानी गर्न असहज हुनु पनि थियो र बुबाको चाहना एउटा सन्तान आफैसँग बसोस् भन्ने पनि थियो। मैले मेरो प्रेममाथि परिवार रोजेँ। आखिर म के नै पो गर्न सक्थेँ र अरू? फेरि उसँगै लगन गाँठो कसेर जीवनभरि रमाउने रहर नभएको पनि थिएन।सायद मनमा भएको मान्छेलाई छैंठीको रेखिले जितियो भाग्यमा रहिनछ भनी फेरि भाग्यलाई कोसिरहेँ।
गाउँ समाजमा छोराको बेलैमा लगन कस्नुपर्छ भन्ने सोचबाट सधैं फराकिलो सोच बोक्ने मेरी आमाले म एकदिन नाम, इज्जतसहित आफ्नै खुट्टामा उभिएको हेर्ने चाहनाले अहोरात्र केही कुरामा कमी हुन नदिई मलाई पढाइ रहनुभएको छ। मेरो बुवाले सधैं सोच्नुहुन्छ कि मैले आफ्नै केही व्यवसायी गर्नुपर्छ किनभने उहाँ सधैं काममा जीवनमा ठूलो सफलता गर्दैन कि भन्ने कुराले चिन्तित हुनुहुन्छ। त्यसैले मैले जीवनमा जस्तोसुकै परिस्थितिमा पनि हार मान्नुहुँदैन किनकी मेरो सफलताको पर्खाइमा मेरो बुबाआमा सधैं मलाई कुरिरहनुभएको छ भन्ने कुराले मलाई रातदिन सुत्न दिँदैन।
मलाई त्यो दिन अझै याद छ जब म कानून पढ्छु भन्दा बुबाले एक बचनमा मानेर जति खर्च लागे पनि पढ बाबु भन्नु भएको। तर आज पढाइ सकिने बेलासम्म हुँदा पनि म धेरै निराशावादी छु। किनकि पछि लाइसेन्स लिएर अदालत छिरेको वकिलले आफूलाई बनाउन नभएको पनि कम्तीमा १०/१२ वर्ष लाग्छ। मैले आफै केही गरौंभन्दा फर्स्ट जेनेरेसन वकिललाई मुद्दा आउने कुरा न्यून हुन्छ। कानूनी क्षेत्रमा धेरै अनुभवी मान्छेको खोजी हुन्छ। आफैले पैसा हालेर मैले रिट मुद्दा पर्छ या त कुनै सिनियर वकिलको झोला बोकेर १० वर्षसम्म कुर्नुपर्छ भन्ने कुराले म आफै धेरै आतिन्छु।
तातो तेलमा खुर्सानी हाल्दा पड्के जस्तै हरेक रफ, धुवाँ, र ध्वनिले करियर ओरिनेटेड के छ बाबु भन्ने कुराले तिखो हुने गरी पोल्छ। तर मैले मेरो आमा बुबालाई के बाचा गरेको छु कि मैले जीवनमा पैसा कमाउन नसके पनि, म पढाइ जारी राख्छु। म एक आशाजनक सनसनी बन्ने हुँ। जुन सबैले जान्न बाध्य रहने छन्। आज शिक्षाको अभावले नेपाली जनताहरू भेडा भएका छन्। देशको प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो देशलाई राम्रोसँग प्रतिनिधित्व गर्न सक्दैनन्। लैंङ्गिक र अल्पसङ्ख्या मान्छेहरूको बारेमा जनचेतना फैलाई दिन उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सम्मानमैत्री सहज वातारण खासै बनाएको पाइँदैन।
शिक्षा आर्जन गर्ने कुरा सबैका छोराछोरीले छात्रवृत्तिमा नाम निकालेर पढेको देख्दा मेरो बुबा आमालाई नि त्यसको लोभ कतै थियो होला। यद्यपि मेरो बुबाले मलाई माया गर्नुहुन्छ र राम्रो भविष्य दिन कुनै कसुर छोड्न तयार हुनुहुन्न। मेरी आमाले आफ्नो नाम पनि लेख्न जान्नु भएकी छैनन् तर आफ्नो छोरा विद्वान भएको देख्न दिनरात मेरो सफलता कुरिरहनुहुन्छ। किनकि उनी जान्दछिन् जति धारिलो तागत शिक्षामा हुन्छ अरू कतै हुँदैन। त्यसैले म केही हुन न सके पनि पढाइ सधैं जारी राख्छु।
यो भूगोल पृथ्वीमा करियरको चिन्ता मलाई मात्र हैन यो देशको हरेक नागरिक युवालाई छ। त्यसैले त अहिलेका युवाहरू १२ क्लास उत्तीर्ण गर्ने बित्तिकै विदेश पलायन हुँदैछन्। अनि देश रित्तिँदै गइरहेको अवस्था छ। बुबाआमाको बुढेसकालमा सहारा टाढा हुँदैछ, भाउजूको सिन्दुर पुछिँदैछ। बाटोमा सोसियल मिडियामा जब म एक निराश युवा देख्छु जसले आफ्नो भविष्य बर्बाद भएको सोच्दछ, म सधैं कल्पना गर्छु कि उनको आमालाई थाहा छ कि उनको छोरा हारको कगारमा छ भने कस्तो महसुस गर्नुहुन्छ। बाटो हराएको र बिरामी परेको जवान मानिस भेट्दा मलाई उसको र उसको परिवारको लागि नराम्रो लाग्छ। मेरो साथी, जो अझै पनि आफ्नो ब्रेकअपको आघातबाट निको हुन सकेको छैन, पहिले नै पर्याप्त व्याख्यानहरू प्राप्त गरिसकेको छ। तर आफू पनि त त्यही भूमरीको खाल्डोमा अल्मलिरहेको हुँ।
जीवनभरि कोरिएका चिठ्ठी जस्तै भएका मेरा बुबाआमाको जीवनमा खाम भएर बँच्ने रहर भएको छोराले कानून पढेर राजनीति गर्छु पार्टीको झोला बोक्छु र प्रधानमन्त्री बन्छु भने लक्ष्य राख्दा कसको बुबाआमाको चित्त नदुख्ला र? देशको यस्तो भयाभय यथास्थिति छ, 'आए आप गए झटारो' जस्तो लक्ष्य बोकेर जीवन चल्छ? भन्दै मसँग चित्त दुखाउनु भयो।
मलाई यो दिन राम्ररी याद छ, एक आयरिश साथीले मलाई एक पटक भनेका थिए, 'यदि तपाईं राम्रो सास फेर्नुहुन्छ र तपाईंले जे गरिरहनु भएको छ तपाईंको शतप्रतिशत दिनुहुन्छ, तब तपाईंले बेकार महसुस गर्नुहुँदैन। मानव जीवन पहिले नै एक वरदान हो।'
म साँच्चै कहाँ जाँदैछु भन्नेबारे म पक्का छैन, तर मलाई के मात्र चिन्ता छ कि मेरो आमाबाबुलाई निराश हुन नदिने र मेरो शतप्रतिशत दिनु हो। म भाग्यलाई कोसुकी, छैंठीको रेखीलाई कि मेरो देशको परिस्थितिलाई। म फेरि उही लोफरझैं लक्ष्यविहीन भन्दै सोचाइको खाडलमै रूमलिन पुग्छु। आफ्नो गन्तव्य खोज्न लम्किहन्छु।