नेपालको राजनीति सदैव अप्रत्याशित घटनाहरूको शृंखला बनेको छ।
फिल्ममा जस्तै, नेपाली राजनीतिमा पनि थ्रिल, सस्पेन्स र रोचक मोडले भरिएको कथा पाइन्छ। दिनहुँ हुने नयाँ घटना र राजनीतिले लिने नयाँ मोडहरू हेर्दा नेपाली राजनीति कुनै रोचक फिल्म भन्दा कम लाग्दैन। यहाँका नेताहरूको गतिविधि, भाषणशैली र निर्णयले प्रायः नेपाली फिल्मका पात्रहरूझैं झल्को दिन्छन्। फिल्ममा जस्तै यहाँ पनि हिरो, हिरोइन र भिलेनजस्ता पात्रहरू छन्, जसले समाजमा विभिन्न प्रभाव पार्छन्।
फिल्ममा जस्तै, राजनीतिमा पनि पात्रहरूको अभिनयको गुणस्तरले ठूलो भूमिका खेल्छ। कसले कति इमानदारिताका साथ आफ्नो भूमिका निर्वाह सक्छ, ऊ नै फिल्ममा हिट हुन्छ। त्यसैगरी राजनीतिमा समेत इमानदारिताका साथ आफ्नो भूमिका निर्वाह गर्न सक्ने राजनीतिज्ञ नै आम जनतामा हिट हुन्छन्।
फिल्ममा जस्तै राजनीतिमा कहिलेकाहीँ आश्चर्यजनक मोड आउँछ। कुनै नेताको अभूतपूर्व निर्णयले समाजलाई सकारात्मक दिशामा लैजान सक्छ भने कुनै अनपेक्षित काण्डले दर्शकरूपी जनतामा निराशा छाउने गर्छ। कुनै नेताको संघर्ष हिरोको यात्रा जस्तै लाग्छ भने कुनै घोटाला र काण्डले खलनायकको षड्यन्त्र सम्झाउँछ। नेपाली राजनीतिका पात्रहरूबीच हुने बहस, विवाद र आरोप-प्रत्यारोपले फिल्मका द्वन्द्व दृश्यलाई झल्काउँछ।
जसरी फिल्ममा अभिनय गर्ने कलाकारहरू हरेक फिल्ममा फरक फरक चरित्रमा ठीक भइदिन्छन्, त्यसै गरी हाम्रो नेताजनहरू पनि आफ्नो चरित्र बदलिरहन्छन्। सत्तापक्षमा हुँदा एउटा कुरा, विपक्षमा हुँदा अर्को कुरा गर्ने प्रवृत्ति सामान्य जस्तै भइसकेको छ। त्यसैले पनि नेपालका राजनीतिकर्मी र समग्र राजनीति सधैं आम नागरिक माझ चर्चा र चासोको केन्द्रमा रहन्छ।
यसरी नेपाली राजनीतिलाई एक फिल्म निर्देशक सँगै राजनीतिकर्मीको नाताले सँगसँगै राखेर हेर्दा दुवैमा धेरै कुरा एकापसमा मेल खाएको पाउँछु। यस लेखमा नेपाली राजनीति र राजनितिज्ञहरूलाई फिल्मका पात्रहरूसँग तुलना गर्दै केही महत्त्वपूर्ण पक्षहरूको चर्चा गरिएको छ।
नेता: हिरोको रूपमा
फिल्ममा हिरोले कहिले समाजमा न्याय दिलाउँछ भने कहिले खतरनाक चुनौतीहरूको सामना गरेर सबैलाई आशा दिन्छ। राजनीतिमा पनि मुलुकको समृद्धि, सामाजिक न्याय र परिवर्तनका लागि निरन्तर संघर्ष गरिरहने नेताहरूलाई हिरोको रूपमा चित्रण गर्न सकिन्छ। उनीहरूले राजनीतिक संकटको समयमा समाधान निकाल्ने प्रयास गर्छन् र देशलाई सही दिशामा अघि बढाउन नेतृत्व दिन्छन्।
नेपालको राजनीतिक इतिहासको परिदृश्यमा केही नेताहरूलाई हिरोको रूपमा चित्रण गर्न सकिन्छ। तर तिनको विरासत र तिनको इतिहासको आडमा हाल राजनीतिको रोटी सेक्नेहरूका कारण इतिहासका हिरोहरूको चरित्र समेत धूमिल हुने डर छ। विगतको आडमा हालका नेतृत्वले आफैमा हिरोको छवि बनाउने प्रयासमा देखिन्छन् तर त्यसलाई कायम राख्न पनि उत्तिकै कठिन छ। राजनीतिमा हिरो बन्नेहरू प्रस्ट योजना, तिनको पर्याप्त कार्यान्वयन र जनतासँगको सम्बन्धका आधारमा अगाडि आउनु आवश्यक छ। तर हालका राजनीतिकर्मीले समय क्रमसँगै जनअपेक्षा पूरा गर्न नसक्दा उनीहरूको लोकप्रियता घट्दो छ।
फिल्ममा नातावादको भरमा एक दुई फिल्ममा हिरोको रूपमा अभिनय गर्न पाए पनि अन्य फिल्मका लागि उसको उत्कृष्ट अभिनयले आफूले आफूलाई प्रमाणित गर्नुपर्छ। अन्यथा उसको फिल्म फ्लप भइदिन्छ। ठीक उसैगरी राजनीतिमा समेत नातावादको भरमा चुनावी टिकट पाउने र बारम्बार आफूले आफूलाई प्रमाणित गर्न असफल हुनेलाई आम जनताले चुनावमा फ्लप गराउनु आवश्यक छ।
स्टारडमका भरमा जतिसुकै पुरानो र जतिसुकै सफल हिरोले जस्तोसुकै फिल्म खेलेर हुँदैन। फिल्मको गुणस्तर कायम हुनुपर्छ। नभए फिल्म फ्लप भइदिन्छ। ठीक उसैगरी राजनीतिमा समेत म यति वर्षदेखि सक्रिय छु भनेर शासन सत्ता चलाइरहने तर शासनको गुणस्तर कायम गर्न नसक्दा उनीहरू फ्लपको दिशामा छन्। आफूले आफूलाई प्रमाणित गर्न असफल हुनेलाई आम जनताले चुनावमा फ्लप गराउनु आवश्यक छ।
फिल्ममा जस्तै, राजनीतिमा पनि नयाँ हिरोहरूको उदय निरन्तर चलिरहन्छ। केही नेताहरू नयाँ सोच, ऊर्जा र कार्यशैलीका साथ उदाउँछन् जसले समाजको माग सम्बोधन गर्ने प्रयास गर्छन्। तर नयाँ हिरोहरूलाई राजनीतिक भिलेनहरूको चुनौती उत्तिकै छ। यद्यपि केवल एक व्यक्तिलाई हिरो बनाउनुको सट्टा समग्र व्यवस्थालाई हिरो बनाउने सोच नेपालको राजनीतिक स्थिरताका लागि महत्त्वपूर्ण हुन सक्छ। व्यवस्थालाई हिरो बनाउने नेताहरूले मात्र समाजलाई वास्तविक परिवर्तनको मार्गमा डोहोर्याउन सक्छन्।
कुनै पनि कलाकारलाई हिरो बनाउने कामले हो। म हिरो हो, मलाई हिरो मान भन्दैमा दर्शकले फिल्म हेर्दैनन्। त्यस्तै कोही नेताले म नेता हो, मलाई नेता मान भन्दैमा कोही जनताले मान्नुपर्छ भन्ने छैन। त्यसै गरेर कलाकारले राम्रो काम गरे हिरो बन्ने र पारिश्रमिक बढ्ने हो। नेताले पनि राम्रो काम गरेर मात्र चुनावमा हिरो बन्ने हो बुझाइ विकास गर्नु आवश्यक छ।
खलनायक: नकारात्मक प्रभावका पात्रहरू
फिल्ममा खलनायक भन्ने बित्तिकै नायकलाई अघि बढ्नबाट रोक्ने, आनावश्यक दुःख दिने पात्रको रूपमा चित्रण गरिएको पाइन्छ। राजनीतिमा पनि यस्ता खलनायक छन्।
राजनीतिक खलनायक भनेका ती व्यक्ति वा समूह हुन् जसले सधैं विकास, सुशासन र पारदर्शिताको बाटोमा अवरोध ल्याउँछन्। यस्ता खलनायकहरू राजनीतिक लाभका लागि गलत निर्णय गर्ने, भ्रष्टाचार गर्ने र जनताको हित बेवास्ता गर्ने प्रवृत्तिका हुन्छन्। फिल्मका खलनायक झैं, यस्ता राजनीतिक पात्रहरूले समाजमा द्वन्द्व उत्पन्न गर्छन्। उनीहरूको स्वार्थी सोच र क्रियाकलापले जनताको जीवनमा नकारात्मक प्रभाव पार्छ। उनीहरू भाँजो हाल्ने र राम्रो काम रोकेर राख्ने कार्यमा व्यस्त हुन्छन्।
फिल्ममा खलनायकहरू सहजै पत्ता लाग्ने भए पनि राजनीतिमा खलनायकको पहिचान गर्न कठिन हुन्छ। राजनीतिमा नायकको आवरणमा खलनायकको पहिरन ओढ्नेहरू दोहोरो चरित्र निर्वाह गर्न माहिर हुन्छन्। मुखमा रामराम, बगलीमा छुरा बोकी हिँड्ने राजनीतिक खलनायकहरू आम जनताका अगाडि मिठा भाषण र चिल्ला आश्वासन बाँड्न पोख्त हुन्छन्। जनतालाई ललाइफकाइ गरेर चुनाव जित्दै सदनमा आएकाहरू संसदमा हुने अनावश्यक बहस, कटाक्ष, प्रतिपक्ष र सत्तापक्षबीचको अनावश्यक हानथाप र बेतुकका आरोप-प्रत्यारोप र अवरोधमा व्यस्त हुन्छन् जसले यस्ता खलनायकहरूको पहिचान गर्न मद्दत गर्छ।
फिल्ममा खलनायकलाई देख्दा दर्शकलाई रिस उठ्छ भने दर्शकको चाहना यस्ता चरित्रको हार र अवसान हो। राजनीतिका खलनायकको हकमा समेत सो कुरा लागू हुन्छ। जनता यस्ता खलनायकको अवसान चाहन्छन्। तसर्थ खलनायकको भूमिका निर्वाह गर्ने नेताहरूलाई जनताले समयमै चिनेर उनीहरूको गतिविधि नियन्त्रणमा ल्याउन सक्नुपर्छ।
हिरोइन: सहायक र शक्तिको प्रतीक
नेपाली राजनीतिमा महिला सहभागिता क्रमशः बढ्दै गए पनि, उनीहरू अझै सहायक भूमिकामा सीमित छन्। स्थानीय तहका चुनावमा उपमेयरका भूमिकामा धेरै महिला निर्वाचित भए पनि, प्रमुख नेतृत्व तहमा महिलाको प्रतिनिधित्व अझै न्यून छ। यो परिदृश्य फिल्ममा महिलालाई सहायक पात्रका रूपमा देखाइने परिपाटीसँग मिल्दोजुल्दो छ।
महिलाहरू राजनीतिमा सहायक भूमिकामा सीमित हुँदा, उनीहरूको क्षमताको सम्पूर्ण उपयोग हुन सकेको देखिँदैन। तर केही महिलाहरूले प्रमुख भूमिकामा रही समाजमा उदाहरणीय काम गरेर आफ्नो क्षमताको प्रदर्शन गरेका छन्। उदाहरणका लागि विभिन्न तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूलाई हेर्न सकिन्छ।
फिल्ममा जस्तै, महिलाहरूले नेतृत्वमा रहँदा राजनीतिलाई पनि नयाँ उचाइ दिन सक्छन्। यो परिवर्तनका लागि महिलाहरूलाई अवसर प्रदान गर्नु र नेतृत्वमा उभ्याउनु महत्त्वपूर्ण छ। सहायक भूमिकामा मात्र सीमित राखेर महिलाको योगदान रोक्नु भनेको समाजको समग्र प्रगतिमा बाधा पुर्याउनु हो। महिलाहरूलाई नेतृत्वमा अवसर प्रदान गर्दा मात्र उनीहरूले राजनीतिमा प्रभावकारी योगदान दिन सक्छन्। समाजको समग्र प्रगतिका लागि महिलाहरूको सहभागिता अपरिहार्य छ।
जनताको भूमिका: दर्शक र समीक्षक
फिल्मका दर्शकले हिरो र भिलेनको छनोट गरेझैं, नेपाली जनताले चुनावमार्फत आफूलाई प्रतिनिधित्व गर्ने पात्रहरूको छनोट गर्छन्। तर कहिलेकाहीँ नेताहरूको भाषण, वाचा र आकर्षक व्यक्तित्वले जनतालाई भ्रममा पार्न सक्छ।
जनताकै कारण कुनै फिल्म हिट हुन्छन् भने कुनै फ्लप हुन्छ। गुणस्तरीय फिल्मलाई हिट बनाउने वा अन्यलाई उचाल्ने भन्ने जनताकै हातमा रहे जस्तै राजनीतिमा समेत जनता नै सार्वभौम हुने हुँदा कस्तो राजनीति र कस्ता राजनीतिज्ञलाई अगाडि बढाउने भन्ने आधार जनताकै मतमा निर्भर रहने हुँदा चुनावमा विवेकपूर्ण मतदान गर्नु जनताको कर्तव्य हुन आउँछ।
यसैले, सच्चा हिरो र भिलेनको पहिचान गर्न जनताले सजगता अपनाउनुपर्छ। नेताको काम, योजना र समाजप्रतिको दायित्वका आधारमा उनीहरूको मूल्याङ्कन गर्न आवश्यक छ। जनताले समयमै सही निर्णय गर्न सकेमा मात्र राजनीति सही दिशामा अघि बढ्न सक्छ।
फिल्मले मनोरञ्जन दिन्छ, तर राजनीतिले समाजलाई स्थिरता, शान्ति र समृद्धि दिन्छ। फिल्ममा प्रायजसो दर्शकलाई अन्ततः खुसी हुने काल्पनिक कथा प्रस्तुत गरिन्छ। तर राजनीति भने वास्तविक र दीर्घकालीन समाधान उन्मुख हुनुपर्छ। त्यसैले राजनीतिमा सही पात्रहरूको चयन सबभन्दा महत्त्वपूर्ण भएकाले जनताले आफ्नो भूमिका गम्भीरताका साथ निर्वाह गर्नुपर्छ।
निष्कर्षः
संसदमा, आम राजनीतिक वृत्तमा देखिने बहस, आरोप-प्रत्यारोप र घटनाक्रमले कहिलेकाहीँ फिल्मको कथालाई नै झल्काउँछ। तर फिल्मले जस्तो काल्पनिक समाधानभन्दा बाहिर, राजनीतिमा स्थायी समाधान खोज्नुपर्ने आवश्यकता छ। त्यसैले राजनीतिमा सबैलाई समेट्न सक्ने समावेशी र समाधानमुखी हिरोहरूको खोजी हुनसक्यो भने मात्र नेपाली समाजले समृद्धि र प्रगतिपथमा पाइला चाल्न सक्छ।
तसर्थ, अबको राजनीति फिल्म जस्तो सस्पेन्स र थ्रिल नभई स्थिर, प्रगतिप्रेरित, हितकारी र विकासन्मुख होस् भन्ने हाम्रो अपेक्षा हो।
केबल नेता होइन, व्यवस्थालाई हिरो बनाउने गरी अगाडि बढ्न सकियो भने मात्र नेपाल सही मार्गमा अघि बढ्न सक्छ।
(असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका सांसद हुन्। उनी फिल्म निर्देशक समेत हुन्।)