म एक आम नेपाली मध्यम वर्गीय आय श्रोत भएको; बाबु, आमा, श्रीमती, एक छोरी र बहिनीसहित अन्य सामाजिक सम्बन्ध रहेको ३४ वर्षीय एक पुरुष।
आज म ३५ वर्ष पुग्दै गर्दा मेरा हरेक दिनको सुरुआत र अन्त्य मेरा सपना, इच्छा र रहरबाट कदापि हुँदैनन्। माथिका सम्बन्धहरूकै खुसीको खोजीमा हरेक दिनको सुरु एवं अन्त्य हुने गर्दछ; खुसी आजको होस् या भोलिको।
पुसको बिहान सूर्यको प्रकाशले कोठाको चारै कुना छिचोलिसक्दा समेत आँखा खोल्न हम्मे-हम्मे पर्छ। बिहानको समय हरेक घरमा सूर्यका किरणहरूले सकारात्मक ऊर्जा लिएर आएको हुन्छ तर सूर्यको तेजलाई समेत माथ ख्वाउने अर्को नकारात्मक ऊर्जा निस्किन्छ नि अनि दिन सखाप!
हिजो साँझ घरमा फोन भिडिओ कल केही भएन। साँझ ग्रुपमा कल त आयो, हामी खाने खुवाउने अन्य गफगाफमा व्यस्त भएको हुँदा भिडिओ कलमा जोइन हुने जमर्को मैले गरिनँ। बुबालाई नातिनीसँगको एक झल्को सदृश्य गफगाफ एवं आज साँझसम्मको हालखबर थाहा नपाउँदा बेचैन भएछ, बिहान ७ बजे बुवाको भिडिओ कल आयो।
छोरी ६:४५ तिर नै उठेर हामीसँगै खेलिरहेकी थिइन्। सावाँको भन्दा ब्याजको धेर माया भनेझैँ बुवाको कलको मुख्य उद्देश्य हामीसँग भन्दा पनि नातिनीसँग भलाकुसारी गर्नु नै हो। अतः छोरी मसँग नै भएको हुँदा बिछ्यौनामै भए पनि बुबासँग कुरा गर्नका खातिर सिरक ओढेर बेडमै बसेर फोन उठाएँ।
छोरी र म फोनमा देखियौँ। मेरो टाउकोमा टोपी थियो, सानी छोरीको टाउकोमा थिएन। राती सुत्दा निस्केर कतै झर्यो सायद। बुबासँगको कुराकै सन्दर्भमा उहाँले छोरीलाई टोपी लगाइदिन पटक पटक आग्रह गर्नुभयो। श्रीमती सुतिरहेकी थिइन्। सायद उनकै छेउमा छोरी सुत्ने हुँदा त्यतै झर्यो भन्ने अनुमान गर्दै मैले सिरक पन्छाएर टोपी खोज्न थालेँ।
श्रीमतीलाई खाटबाट नै फोन उठाएको मन परेन छ, मैले थोरै सिरक उचालेर छोरीको टोपी खोज्न लाग्दा च्याँठिएको प्रतिक्रिया दिँदै मुख छोपेर सुतिन्। अघि छोरी उठेर कुरा गर्दा हामी दुवै जना छोरीसँग कुरा गरिरहेका थियौँ। सोचेँ बिहान बिहानै मुड अफ गर्नु हुन्न। सायद श्रीमतीलाई निद्रा नै पो लागि रहेको छ कि!
बरु छोरीलाई लिएर बैठक कोठामा गएर कुरा गर्छु, त्यहाँ तातो घाम पनि आइसकेको छ सोचेर उतै गई बुबासँग कुरा गर्यौँ। मैले फोन राखेँ। यति हुँदा समय ८:३० भइसकेको थियो।
श्रीमती अँध्यारो अनुहार लगाउँदै उठिन्। छोरीलाई भोक लाग्यो भन्दै उनले छोरीलाई किचेनतिर सँगै लिएर खानेकुरा तयार गर्न लागिन्। घर र अफिस तल माथिको फ्ल्याटमा भएको हुँदा म पनि आफ्नो दिउँसोको अफिसियल काम छोटाउने जमर्को गर्दै मेरो अफिस छिरेँ।
अफिस छिरेको केही समय भएको थियो, श्रीमती कालो चिया लिएर अँध्यारो मुख लगाएर आइन्। मेरो अगाडि चियाको कप राख्दै मेरै साइडमा बसेर बोल्न लागिन्।
‘मलाई हजुरले गरेको व्यवहारले धेरै चित्त दुख्यो,’ डाँको छोडेर रुँदै भन्न लागिन्, ‘हाम्रो लागि पनि त केही प्राइभेट टाइम चाहिन्छ। बिहान बेडमा नहुँदै अरूसँग भिडिओ कलमा कुरा गर्ने, १० बज्न नपाई खाना खाएर अफिस जान हतार, आएर पनि फेरि भिडिओ कल। यही कारण हाम्रो रिलेसन झन् वर्स्ट भइसक्यो। अरूको पो काम हुँदैन बिहान उठ्न नपाई भिडिओ कल गरेर टाइम पास गर्छन्...’
कस्तो बुझाइ, व्यवहार, शब्द चयन र अभिव्यक्ति! म अक्क न बक्क भएँ। मेरो मन मस्तिष्क, भावभंगीमा सबै निचोरिए जस्तो भयो।
यो सहरमा म, मेरी श्रीमती र छोरी बस्ने गर्दछौँ। बुबा आमा यो सहरदेखि एक दिनको बस यात्राको दूरीमा हुनु हुन्छ। कहिले राम्रो शिक्षाको खातिर त कहिले अवसरका खातिर बुबा-आमा सँगको बसाइ समयको तालमेलले मिलेन। अहिले पनि हामी आफ्नै पारिवारिक व्यवसायमा छौँ। व्यावसायिक व्यस्तता, आफूले गरिरहेको व्यवसायबाट आफ्ना रहर र सपना पूरा गर्नुपर्छ भन्ने दबाब एवं मध्यम वर्गीय संघर्षको पहेलीका कारण मुस्किलले यो सहर छाडेर वर्षको १/२ पटक हामी बुबा-आमा भए ठाउँ जान्छौँ।
दिनभरि म अफिसमै व्यस्त हुन्छु, अफिसमा स्टाफहरूको अघि, क्लाइन्टको अघि पारिवारिक हिसाबले कुरा गर्ने माहौल पनि हुन्न। अफिसमै भए पनि हामी श्रीमान्-श्रीमती सँगसँगै नै हुन्छौँ। यसको मतलब २४ सै घण्टा हामी सँगै नै हुन्छौँ।
हाम्रो मेहनतको फल चखाउनु पर्ने समयको यो चक्रमा एक झल्को गफको आसमा दिन काटिरहनु भएका मेरा बा-आमालाई बिहान, बेलुका या कुनै फुर्सदको समय मिलाई ५–१० मिनेट कुरा गर्दैमा श्रीमान् श्रीमतीको सम्बन्धमा तिक्तता आउने हुन्छ र?
सहर बस्न थालेको २०६८ देखि आजसम्म हरदिन हर सम्भव मेरो मेहनत पारिवारिक खुसी खोज्नकै निमित्त खर्चिएको छु। तर मानवीय संवेदनालाई ख्याल नै नगरी बोलिएका यी र यस्ता शब्दहरूले दिन प्रतिदिन मेरा मन मस्तिष्क खुम्चँदै चाउरिँदै गइरहेको छ।
एउटा अविभावकीय जिम्मेवारी निर्वाह गरिरहेको छोरा मानिसका निमित्त बिसाउने चौतारी नै नभेटिई कैयन मनका उथलपुथलहरू देहसँगै विलीन हुने त होइन जस्ता कुराहरूले पिरोल्न लागेका छन्।