स्मरण शक्ति रहेसम्म सम्झनाका एक-एक पन्ना पत्र-पत्र भएर मस्तिष्कमा चाङ लाग्दै जाँदो रहेछ। खापिँदा खापिँदा अन्ततः जीवन संस्मरणै संस्मरणको रङ्गिन एल्बम बन्दो रहेछ। सर्याक-सर्याक एल्बमको पाना पल्टाउन खुब मजा लाग्छ मलाई। विगत कोट्याउँदै नोस्टाल्जिक हुनुको आनन्द बेग्लै छ।
बिहानीको फूल शीतस्नानका कारण तरो ताजा देखिएझैँ बाल्यकालीन सम्झना पनि सदा साजी भएर बस्दो रहेछ मन-मस्तिष्कमा। प्रौढावस्थामा व्यवहारको चाप र दबाबबिच भोगिएका अनेकन् घटना-परिघटनामध्ये सम्झनै लायक घटनाबाहेकका अन्य घटना भने प्राय:विस्मृतिको गर्तमा पुरिँदा रहेछन्।
म बाल्यकाल तिरै फर्किएको छु यतिखेर। तादी नदीको जलराशिमा युगौँदेखि स्नानरत ढुङ्गो अर्थात् 'बच्चे हाम फाल्ने ढुङ्गो'लाई मनले मुसारिरहेको छु अहिले।
'बच्चु दाइ' अर्थात् हाम्रो समयका हर्कुलस। पातलो र होचो कृश काया। छुस्स छुस्स पातलो दारी। दामली नै त नभनौँ तर शुभचिन्तक, अग्रज। केही लामो कपाल पालेका। खल्तीमा रेसमी रुमाल र देउराली चुरोटको बट्टा उनको परिचय। युधिर थापाको उपन्यास उनको पाइन्टको गोजीमा हतपती छुट्दैनथ्यो।
ज्यान सिकुटे भए पनि अरू लाठे मान्छेभन्दा केही बलिया थिए उनी। बेसीको खलाबाट २५-३० पाथी धानको बोरा बोकेर नाके डाँडीको उकालो खुइय्य नगरीकनै उक्लन सक्ने। मेरो जन्मभूमिको नाम 'माझिटार'को नामकरण गर्ने माझी सम्प्रदायका वंश वृक्षका एक उत्तराधिकारी सदस्य थिए उनी। बुढापाकाहरू भन्थे-’माझीकै बिर्तामा हामी माझिटारे बसेका छौँ।’
यिनै बच्चु दाइको नामबाट जोडिएको थियो- 'बच्चे हाम फाल्ने ढुङ्गो'। द्रव्यवाचक नाम 'ढुङ्गा' व्यक्तिवाचक नाम 'बच्चे हाम फाल्ने ढुङ्गो'मा यिनकै नामसँग जोडिएर परिणत भएको थियो।
नदीको पिँधबाट आठ/नौ फिट जति उचाइको हुँदो हो त्यो ढुङ्गा। हामी हुँदा हौँ- तीन फिटे त्यतिखेर। ढुङ्गाको वरपरको परिवेश- दुई मिटर वरपरसम्म सरदर तीन मान्छे गहिरो। ढुङ्गाको त्यस्तो कुनै अद्भुत हुलिया थिएन। दक्षिणको डिल केही उठेको। बाँकी समतल, केही चिल्लो पनि; फलैँचाजस्तो।
त्यस ढुङ्गामा हामीले कहिल्यै केही चढाएनौँ। मेरो मतलब फूल, अबिर, नैवेद्य, भेटी, अष्ट सुगन्ध आदि कहिल्यै केही चढाएनौँ। कहिल्यै पूजा गरेनौँ। हामी मात्र होइन, हाम्रा बाबु बाजेले पनि पूजा गरेका रहेनछन्। पूजा गरेको भए त्यो मूर्ति हुँदो हो। त्यो मूर्ति भएको भए 'जल देवता' कहलाइँदो हो। देवताको शिर कुल्चेर बच्चे माझीले पौडिन पाउने थिएनन्। शब्दान्तरमा त्यस ढुङ्गाका बारेमा अहिले संस्मरण लेख्नु पर्ने विषयवस्तुको उठान हुने नै थिएन होला। त्यो फगत शिला थियो, शिलै भएर हाम्रो मनमा दीर्घजीवी भएर बाँच्यो।
नुवाकोट जिल्लाको विदुर नगरपालिकाको एउटा फाँटिलो रातमाटे टार-माझिटार। त्यसको पूर्वपट्टि हाँगेको डिल। डिलैमुनि अकलादेवीको थान र ओसिलो सिम। सिम मुन्तिर गौचरण- पखेरो तथा माझीको पँधेरो जाने साँघुरो गप्चेरो बाटो। त्यसको ठिक्क तल तादीको किनारामा थियो त्यो ढुङ्गो।
त्यो ढुङ्गो हाम्रो बाल्यकालीन क्रियाकलापको मियो बनेको थियो। जसप्रतिको अनुरागले हामीलाई दाइँ गर्दा मालदाम्लाले गोरुलाई नियन्त्रित घेरामा घुमाएझैँ सधैँ वरपर घुमाइरहन्थ्यो। गर्मी महिना सुरु भएपछि स्कुलमा बिहानी सत्रमा पढाइ चल्थ्यो। च्वाडी पब्लिक माविबाट फर्केर गाँस टिपेपछि गोठाला जानु नित्य कर्म जस्तै थियो। हामी ग्वालाहरूको क्रीडास्थल थियो त्यो ढुङ्गो। दिउँसोको समयमा कक्षा चल्ने बेलामा चाहिँ शनिवार र सार्वजनिक बिदाको दिन मात्र हाम्रो साक्षात्कार हुन्थ्यो त्यो ढुङ्गासँग।
अघि नै भनिसकेँ, त्यो ढुङ्गालाई हामीले कहिल्यै पुजेनौँ। त्यसको शिरमा पाइतालाले लाखौँ पटक स्पर्श गरियो होला बरु। गोडा दराली दराली मयल माडियो होला हजारौँ पटक। उत्तानो र घोप्टो पर्दै घामको पहार तापियो होला सयौँ पटक! त्यो कुनै धार्मिक वा पुरातात्त्विक आस्थाको प्रतीक थिएन केवल हाम फाल्ने ढुङ्गो थियो। पौडी खेल्दा रहमा डुबुल्की मार्ने आधारशिला थियो।
हामी अलि भुरै थियौँ। बच्चु दाइ त्यो ढुङ्गाबाट हाम फालेर तादी नदीपारि पुग्थे। उल्टी जम्प, सुल्टी जम्प, चिप्लेटी जम्प कति हो कति उनको पौडने कला पनि। बाँकटे हान्ने, खियाउने आदि अनेकन् तौरतरिका थियो उनीसँग नदी तर्न। बर्सातमा त्यो ढुङ्गाको शिरलाई करिब २/३ फिट माथिसम्म पानीले छोप्थ्यो। कहिलेकाहीँ त भेलको उफान यति बिघ्न मडारिन्थ्यो कि हामीलाई लाग्थ्यो त्यो ढुङ्गो नै बगायो। जल सतह घट्दै गएपछि जब त्यहाँ स-सानो पानीको झाँक (मुल्को) देखिन्थ्यो तब हामी खुसी हुन्थ्यौँ। खुसी यस मानेमा बढ्थ्यो कि ढुङ्गो बगाएको रहेनछ। र, हामी पनि त्यही ढुङ्गाबाट पौडने बच्चु कला सिक्ने छौँ एक दिन!
बच्चु दाइले हामीलाई त्यही ढुङ्गामा पौडी प्रशिक्षण दिन्थे। त्यस ढुङ्गाको थोरै माथि पश्चिमतिर एउटा ओसिलो सिम थियो। सिममा रहेका ढुङ्गाहरू पल्टाएर हामी गँगटो खोज्थ्यौँ। गँगटाको ढ्यापो (पाइताला) खाएमा पौडी खेल्न जानिन्छ भन्ने मान्यता थियो। तर 'बाहुनले गँगटो खानु हुँदैन' भन्ने प्रतिबन्ध हामीमाथि लाग्थ्यो। हामी लुकीचोरी भए पनि गँगटाको ढ्यापो खान्थ्यौँ। किनकि पौडन चाँडै सिकेर बच्चु दाइ जस्तै 'स्टाइलिस' बन्नु थियो सबैलाई।
सिमको मध्य भागमा पानीको मूल थियो- नाम आकाशे मूल। आकाशतिर फर्किएर मूल भुलभुलाइ रहने भएर त्यसको नाम नै आकाशे मूल रहन गएको हुनुपर्छ। गर्मी हुँदा मूल सँगैको सानो डोबिल्कोमा मुखै जोतेर पानी पिउने र तृप्त भएपछि त्यही ढुङ्गाबाट रहमा पौडी खेल्ने हाम्रो दिनचर्या नै बनेको थियो।
बच्चे दाइले अझै गहिरोमा पनि पौडन सिक्नुपर्छ भन्दै हामीलाई नजिकैको भुन्टेरहमा पनि पुर्याउँथे। भुन्टेरहमा पौडिँदा ममा एउटा अजङको डर पैदा हुन्थ्यो। किनकि गाउँमा तोरी उखेल्दै गर्दा बच्चेका बुबाले 'भुन्टेरहको भूत' बारे अनौठो कथा सुनाएका थिए।
बच्चे दाइका बुबाले सुनाएको कथाअनुसार भुन्टेरहबाट अलि माथि नारान थान भन्ने ठाउँमा घनघोर जङ्गल थियो। घर छाउनका लागि खर तादीकै पाखामा उपलब्ध भए तापनि डाँडा-भाटाको प्रबन्ध गर्न नारान थानको जङ्गल पस्नु पर्थ्यो। दिउँसो वनपालेको डर हुनाले मध्यरातको समयमा जङ्गल पसेर डाँडा-भाटा काट्नु पर्थ्यो। निम्न वर्गका व्यक्तिका लागि त्यसरी चोर्नुको विकल्प थिएन रे त्यति बेला।
सङ्कलित काठलाई एउटा गुफाजस्तो डुन्डुरोमा हत्याइदिएपछि त्यो सुल्कँदै तल तादीको तिरमा आइपुग्थ्यो। एक रात टर्च लाइटको धिमा उज्यालोमा बगर बगरै धुरीबलो बोकेर ल्याउँदै गर्दा अकस्मात् एक हल जुरे बयल उत्पत्ति भए। हल गोरु सित्तैमा पाइयो भनेर धपाउँदै र पुच्छर निमोठ्दै घर लैजान खोज्दा भुन्टेरह तर्ने क्रममा हल गोरु बेपत्ता भयो। ‘त्यो त भूत रहिछ नि बाबु!’ उनी कालो जिब्रो बाहिर निकाल्थे र टोक्थे। यही सम्झेर भुन्टेरहमा पौडी सिक्न औधी डर लाग्थ्यो।
पौडी त सिक्नु नै थियो। बच्चे हाम फाल्ने ढुङ्गाबाट पौडेर पारि तर्नु नै थियो। रहरको अगाडि डर कता भाग्थ्यो कता त्यति बेला। 'डरभन्दा अगाडि जित छ नि त!' बच्चे दाइ यसरी हौस्याउँथे। भुन्टेरहमा पौडी सिक्दै गर्दा नजिकैको पहरामा बारुलाले बनाएको गोलाबाट लार्भा झिकेर तेलमा परपरी भुटेर कति खाइयो कति! त्यो बेला खाएको बोट धँगेराको गुलियो रस, अँगेरी, क्यामुना आदिको स्वाद जिब्रोमा गढेर बसेको छ।
अब म लगायत हाम्रा छिमलका साथीहरू पौडी कलामा पारङ्गत भइसकेका थियौँ। बच्चे हाम फाल्ने ढुङ्गो हामी केटाकेटीको रमाउने साझा निशानी बनिसकेको थियो। त्यो ढुङ्गाबाट हिउँदको सङ्लो पानीमा ठुला ठुला माछा कल्याङमल्याङ गर्दै खेलेको हेर्न खुब आनन्द आउँथ्यो। माछालाई चारो हाल्दै एकत्रित गर्दाको प्रसन्नता एकातिर थियो भने अर्कातिर पानीमा श्वास फेर्दा माछाको 'गिल्स' हल्लिएको दृश्य हामीलाई अद्भुत लाग्थ्यो।
त्यस बखतमा नेपाल आर्मीसँग सन्निकट सम्बन्ध भएका केही व्यक्तिहरूले उनीहरूको स्वीकृति लिएर होला सायद, खोलामा बम हानेर माछा मार्थे। कुनै दिन ती मान्छेहरू तादीको डिलबाट तलतिर झरेको देखियो भने हामी पस्केको भात छाडेर उनीहरूकै पछि लाग्थ्यौँ। बम चाहिँ विशेष गरी नारान थान, भुन्टेरह, कालढुङ्गा र आँपरहमा पड्काइन्थ्यो। 'बच्चे हाम फाल्ने ढुङ्गा' यस मानेमा शान्ति क्षेत्र जस्तै थियो। त्यसैले पनि मत्स्यक्रिडा हेर्नलाई त्यहाँ माछाको कुर उपलब्ध थियो हाम्रा निम्ति। मानौँ माछाको एक्वारियम नै थियो त्यहाँको परिवेश।
त्यही ढुङ्गामा हामी नुन खुर्सानी पिँधेर कट्मेरा आँप खाने गर्थ्यौँ। हामी केटाकेटी गाई-बाख्रा हेर्ने जिम्मेवारीको बोझमा किचिएर कहाँ बस्थ्यौँ र! गाईबस्तुले बारीमा उक्लेर बाली सखाप पारिसक्दा पनि हामी त्यही ढुङ्गा र सँगैको दहमा रमाइरहेका हुन्थ्यौँ। हिउँद याममा दर्शन ढुङ्गा दहमा फालेर कसले चाँडो टिपेर ल्याउने भन्ने प्रतिस्पर्धा नै चल्थ्यो हामी बिच। गहिरो पानीमा डुबेर आँखा खोल्दै ढुङ्गा खोज्नु पर्ने हुँदा आँखा सधैँ राता हुन्थे हाम्रा।
वर्षा याममा त्यो ढुङ्गाबाट हाम फालेर को चाँडै पारि पुग्ने? भन्ने प्रतियोगिता नै चल्थ्यो। भदौ महिनामा घरभन्दा ठुलो भेल उठ्थ्यो तादी नदीमा। अङ्ग्रेजी डब्लु आकारको भेलको टुप्पो-फेद टुप्पो-फेद गर्दै ५० औँ भेल पार गर्दाको आनन्दको बयान शब्दमा गर्न सकिने खालको थिएन। गोठाला गएका बाबुनानीहरू भरे जिउँदै फिर्ने हो होइनन् बाबुआमालाई त्रास हुन्थ्यो।
अझ मेरा पिताजी त्यसबारे बढी नै सुर्ता गर्नुहुन्थ्यो। टारको डिलमा उभिएर आज छोरा कहाँ निरको भेल खेल्दैछ, उहाँ ठम्याउनु हुन्थ्यो। घर पुगेपछि अनुहार र कपालमा टल्किएको बालुवा र ढाडिएका हातगोडा हेर्दै गाली गर्नुहुन्थ्यो। मलाई भने भेल खेलेको दिन बुबा घरमा नआउनु भए नि हुन्थ्यो भन्ने लागिरहन्थ्यो।
त्यो ढुङ्गाबाट हाम फालेर हामी खोलापारि पुग्थ्यौँ।
पुल त के सामान्य फट्केको व्यवस्थासम्म थिएन त्यति बेला। हामीहरू अधिकांशको खेत तादी पारि भएकाले पनि पौडी खेल्न सिक्नै पर्ने हुन्थ्यो जीविकाका लागि पनि। बाल्यकालमा हामीलाई खेती बाली रेखदेख गर्न पारिसम्म जानुपर्ने चिन्ता त थिएन। नदी तरेर त्यहाँको तातो बगरमा लडिबुडी गर्न पाए बस् रमाइलो लाग्थ्यो।
हामी त्यो ढुङ्गाको पारिपट्टि गएर नदी तटको छालको साङ्गीतिक सुसेली सुन्दै बालुवा थुपारेर गौँथलीको गुँड बनाउँथ्यौँ। ढुङ्गाको काप कापमा हात हालेर काप्रे र गडेली माछा समाएर पोली खान्थ्यौँ। साथी मिलेको दिन खोपी, चुङ्गी, गुच्चा, गेमबल आदि खेल्थ्यौँ। फुटबल खेल्ने रहर मोजाको बलले पूरा गर्थ्यौँ।
हामी दसैँको बेलातिर बगरको सेतो काँसघारीमा उभिएर चङ्गा उडाउँथ्यौँ। रहमा रमाउन आउने हुलका हुल पानीहाँसलाई लक्षित गर्दै गुलेली हान्थ्यौँ। त्यो बेलामा नगद हुँदैनथ्यो साथमा। अनि जिन्सी सामान लिने दिने कबोलका साथ हामी साथीहरू विभिन्न प्रतियोगिताहरूमा सहभागी हुन्थ्यौँ। एक पटक त मैले चुङ्गी खेलेर काहिँला तामाङसँग 'मायालु' साबुन जितेको थिएँ।कति बास्नादार साबुन थियो त्यो। धेरै समयसम्म त्यो साबुनलाई टिनको ट्याङ्कामा जतन गरेर फारोसँग नुहाएँ मैले।
गोठाला जाँदा गरिने सबै गतिविधिहरूको केन्द्रमा त्यही ढुङ्गो हुन्थ्यो। पारिपट्टि घोरघाट फाँटमा चिउरी खान जाँदा होस् वा हरिमानेको खोल्सामा अम्बा टिप्न जाँदा होस् त्यही ढुङ्गाबाट नदी वारपार गरिन्थ्यो। अलि तल आँपरहको किनारमा मकै पिस्ने पानी घट्ट थियो- रानाको घट्ट। त्यहाँ पुगेर घट्टको डुँडबाट पानी खसेको, घट्ट घुमेको, सोलीबाट मकै चुहिएको र पानीले मदानी घुमाएको दृश्य हामी खुब हेर्थ्यौँ। दिनभरि जहाँ गए पनि र जे गरे पनि दिनको सुरुवात र अन्त्य त्यही ढुङ्गासँग आलिङ्गन नगरी पूरा हुँदैनथ्यो, चुच्चे ढुङ्गो उही टुङ्गो भनेझैँ।
एक पटक तादी खोलामा बबिस आएको थियो। बेसरी पानी परेर घ्याङ्फेदी लगायतका ठाउँमा पहिरो जाँदा खोलामा पानीको सट्टा पूरै लेदो बगेको थियो। त्यसलाई 'बबिस आएको' भन्नु हुन्थ्यो बुबाहरू। बबिस आएको बेला बगरभरि बगरेठ (काठ दाउरा), मान्छेको लास, मरेका पशु चौपायाहरू, हरिया सिङ्गै रुखहरू छरपस्ट देखिए। अझ अचम्मको कुरो त बडेमानका मरेका सहर माछाहरू बगरभरि सेताम्मे! लेदो माटो पेटमा परेपछि अझ भनौँ पानीमा पर्याप्त अक्सिजन नभएपछि माछा मरेको कुरो सुनाउँथे बुढापाकाहरू।
बबिस आएको बेला बच्चे हाम फाल्ने ढुङ्गाको रह केही पुरिएको थियो। हामी घुँडा घुँडासम्म मात्र पानी भएको रहमा पौडी खेल्दै काठ दाउरा, मरेका माछा सङ्कलन गर्दै खुब रमाएका थियौँ। विपत्तिको बेला रहेछ त्यो, तर हामी बालबालिकालाई त्यसको के परवाह! खुब रमाइएछ दैवी विपत्तिमा पनि!
हरेक हिउँदमा तादी नदीको बच्चे हाम फाल्ने ढुङ्गाभन्दा मुनिको जँघारमा बाँध बाँधेर दुवाली छेकिन्थ्यो। दुई भँगाला भएर बगिरहेको नदीको पानीलाई एउटै भँगालोबाट बगाएर एक भँगालो पट्टिको पानी सुकाइन्थ्यो। ढुङ्गा, चपरी माटो र प्लास्टिकको प्रयोग गरी दुवालीको बाँध बनाइन्थ्यो। बाँध नफुटोस् भनेर बाँधस्थलमा भोग दिने र पूजा गर्ने चलन पनि थियो। दुवाली छेकेपछि रहका माछाहरू सङ्कलन गर्न विषझार कुटेर खोलामा हाल्ने गरिन्थ्यो। विषको रागले अतालिएर माछाहरू सफा पानी जम्मा गरिएको मारुमा पुग्थे। मुरीका मुरी माछा सङ्कलन हुन्थ्यो।
सबैभन्दा रोचक त विषले रन्थनिएको बाम माछा र मान्छेको कुस्ती हेर्न लायक हुन्थ्यो। चिप्लो र लामो हुनाले मानिसहरू खस्रो कपडामा बालुवा बेरेर त्यसलाई समात्न खोज्थे। बाम माछा यति जब्बर हुन्थ्यो कि त्यसले पुच्छर ले हिर्काएर मान्छेलाई लडाइ दिन्थ्यो। बढो दुःख गरी जेनतेन समातियो भने पनि त्यसलाई मार्न ढुङ्गामा बेसरी टाउको बजार्नु पर्थ्यो।
फूल सुन्दर हुन्छ, त्यसैले त्यसको सौन्दर्य शास्त्रीय मूल्य हुन्छ। हावा र पानी जीवनका अपरिहार्य वस्तु हुन्, यिनीहरूको उपयोगितावादी मूल्य हुन्छ। मूर्तिको आध्यात्मिक मूल्य हुन्छ। तर मामुली ढुङ्गाको फूल, हावा, पानी र मूर्तिको जस्तो खासै मूल्य नहुनु पर्ने हो। यस्तो लाग्छ ममत्व भावले छोएपछि साधारण पत्थरमा पनि मूल्यको सिर्जना हुँदो रहेछ। बच्चे हाम फाल्ने ढुङ्गाप्रतिको अनुराग सायद यसकै उपज हो।
अहिले तादी नदीले धार परिवर्तन गरेको रहेछ। बच्चे हाम फाल्ने ढुङ्गाको सेरोफेरोमा हाल छिपछिपे पानी मात्र देखिन्छ। त्यहाँ हाम फाल्न लायक रह छैन अहिले। त्यो ढुङ्गो पानीबाट एक फिट जति मुन्टो उठाएर पूरै निसासिएर हामीलाई नै खोजिरहे झैँ प्रतीत हुन्छ। गाउँमा गाईबस्तु पालिन छाडेका छन्। गाईबस्तु नहुनु भनेको गोठालो जाने परम्परा मासिनु हो। त्यो ढुङ्गालाई सुमसुम्याउने कोही गोठाला छैनन् आज। नजिकै चौबीसै घण्टा क्रसर मेशिनले ढुङ्गा पिसेर गिट्टी उत्पादन गर्दो छ।
हामीले नाकबुडी खेल्ने दह त करिब करिब पुरियो, हामी सबैको बाल्यकालीन सम्झनाको स्मारक बच्चे हाम फाल्ने ढुङ्गालाई पनि मान्छेले थोकबाट चोइटाएर खुद्रा रोडामा परिणत गर्ने हुन् कि भन्ने पिरलोले अत्यास बढाउँदै छ आजकाल।