मानिसको जीवनकाल एउटा किताब सरह हो र किताबको हरेक पानालाई मानिसको हरेक भोगाइसँग समेत तुलना गर्न सकिन्छ। यस्तै जीवनको पानामध्ये मैले भोगेको र बेहोरेको एउटा पानाको चर्चा गर्न चाहन्छु।
जवानीमा अनायासै उनलाई मन पराउन पुगेछु तर भन्ने कसरी, व्यक्त गर्ने कसरी? म अलमलमा थिएँ। निकै दिनको घोत्लाइपछि चिठी लेखेर आफ्ना मनका भावना उनीसम्म पुर्याउने संकल्प गरेँ र चिठी लेखेँ।
चिठीमा लेखेको थिएँ-
लैलाको मजनुसँग प्रेम, रोमियोको जुलियटसँग प्रेम, मुनाको मदनसँग प्रेम! साइँली म पनि तिमीसँग यस्तै प्रेम गर्न चाहन्छु, तिमी असाध्यै मन पर्छ मलाई। तिमीसँग भेटेर कुरा गर्न मन छ। समय छ भने एक पटक हामी भेटौँ न ल।
यसरी चिठी लेखेपछि मलाई फेरी अर्को समस्या आइपर्यो, त्यो चिठी कसरी दिने? उनको र मेरो गाउँ एउटै भएकाले हुलाकबाट पठाउने सम्भावना थिएन। त्यति बेला फोन र म्यासेज गर्ने अवस्था पनि थिएन किनकि हामी दुर्गम गाउँमा थियौँ।
चिठी लेखेर थन्क्याएँ। आफैँ दिऊँ कसरी दिऊँ, उनले के भन्ने हुन्! स्वीकार हुने हो कि हैन टुंगो थिएन। निकै समयको सोचाइपछि एक जना सानो ७ वर्षको भाइलाई चिठी दिएर पठाउने निधो गरेँ। यसका लागि पनि मैले निकै मेहनत गर्नु पर्यो।
पहिलो कुरा त उक्त भाइलाई फकाउनु पर्यो, दोस्रो कुरा उनलाई उक्त चिठी कहाँ लगेर दिने? उनको घरमा पठाउने सम्भावना थिएन। उनी हिँडेको बाटो ढुकेर एक्लै भएको अवस्थामा दिनु पर्ने थियो।
एक दिन उनी एक्लै खेतबाट घाँस लिएर आएको मौका पारेँ। भाइ सुन्दरलाई उक्त चिठी दिएँ अनि म हाम्रै कान्छा बाको गोठमा लुकेर सुन्दर र उनलाई हेरिरहेँ। ऊ सरासर तिनी भएको ठाउँतिर गयो। उनी खेतबाट घाँस लिएर आइरहेकी थिइन्। सुन्दर जति उनको नजिक तिर जान्छ त्यति मेरो मुटु काँपिरहेको थियो। मेरो प्रेम प्रस्ताव स्वीकार हुने हो वा होइन ठेगान थिएन।
केही क्षणपछि सुन्दरले उनी भएको ठाउँमा पुगेर चिठी दियो, म लुकेर हेरिरहेको थिएँ। मेरो मनमा अनेक शंका उब्जेका थिए। न उनले सुन्दरलाई थप्पड पो हान्ने हुन् कि! गाउँभरि हल्ला पो गरिदिने हुन कि! तर उनले केही नभनी सुन्दरबाट चिठी बुझिन् अनि त्यहीँ बसेर पढिन्।
त्यसपछि सुन्दरलाई हुन्छ, के रहेछ म उहाँसँग भेटेर कुरा गर्छु भन्ने जवाफ दिइछन् जुन कुरा मलाई भाइ सुन्दरले आएर सुनायो।
सुन्दरले यति कुरा सुनाएपछि मेरो मन उडेको चङ्गा झैँ फुरुङ्ग भयो। मन खुसीले गद्गद् भयो, लाजले रातोपिरो भएँ। त्यो दिन डर र लाजले गाउँ छाडेर सिन्धुलीको फिक्कलतिर गएँ र बेलुका साँझ झमक्क परेपछि घर फर्किएँ।
भोलिपल्टबाट म उनले कहिले भेट दिन्छिन् भनेर प्रतीक्षामा लागेँ। दिन बित्दै गए तर उनले मलाई भेट कहिल्यै दिइनन्। त्यसपछि मेरो मनमा एकाएक सन्नाटा छायो। उनको प्रेमको जवाफको कुराइमा रहेको म जवाफ नपाएपछि निकै निराश भएँ।
एक पटक फेरि सम्झाउनु पर्यो भनेर अर्को चिठी लेखेँ। अनि सुन्दर भाइलाई लगेर दे भनेँ। यो दोस्रो चिठी दिनको लागि मैले नागपानी टारको स्थान रोजेँ। उनी रातोमाटो लिनका लागि गएकी थिइन्। उक्त चिठी सुन्दरले दिएपछि उनले पढ्दै नपढी च्यातिदिइन् र सुन्दरलाई पनि कराइछन्। मलाई पनि गाली गरिछन् जुन कुरा सुन्दरले मलाई फर्केर आएर सुनाएको थियो।
मेरो मन गह्रुङ्गो भयो, मनभरि पीडा भयो। मनमनै उनलाई सजाइसकेको थिएँ तर एकाएक प्रेम अस्वीकार भएपछि म पागल झैँ भएको थिएँ। गाउँ एउटै भएकाले अब मलाई उनको अगाडि देखिन समस्या थियो। गाउँघरमा हल्ला गरेर मलाई पिटाइ खुवाउने हुन् कि भन्ने डर पनि थियो।
उनी हिँडेको बाटो म हिँड्दिन थिएँ। उनलाई देख्ने बित्तिकै मेरो मुटु डरले काँप्थ्यो। उनको र मेरो बोलचाल समेत बन्द भइसकेको थियो।
एक दिन उनको बहिनी र मैले बाख्रा चराउन लगेका थियौँ। खोलाको बाटोतिर लगेका थियौँ बाख्रा चराउन। बाटा माथि-माथि बाख्रा लाएर म अगाडि अगाडि र उनको बहिनी पछाडि पछाडि पट्टिका बाख्रा हेर्दै थियौँ। यसै क्रममा उनी खानेपानी लिन गाग्री बोकेर खोलातिर आइछिन्।
म उभिरहेको ठाउँ भिर थियो। अकस्मात् उनलाई देखेँ। मेरो मुटु थरथरी काँप्यो। निकै अप्ठ्यारो र असहज महसुस गरेँ। उनलाई नदेखूँ भनेर पारिपट्टिको डाँडातिर हेरेर बसेँ। उनी जति नजिक आउँथिन् मलाई त्यति डर बढेर गएको थियो। मलाई भ्वाक्क लात हानेर भिरबाट लडाइदिने पो हुन् कि भन्ने डर समेत लागेको थियो। त्यस कारण पनि म निकै काँपेको थिएँ। त्यहाँ भाग्ने अर्को कुनै वैकल्पिक बाटो थिएन।
मेरो नजिक आइपुगेपछि उनले मलाई हाम्री निता खै त भनेर सोधिन्, म तिरिमिरी भएँ। नसुनेझैँ गरेर बोलिनँ म। उनले फेरि दोहोर्याइन्- सुन्नु भएन हाम्री निता खै?
उत्तर दिन मेरो बोली लरबराएछ। मैले लरबराउँदै पछाडि छिन् भन्ने जवाफ दिएँ। मैले यति जवाफ दिएपछि ए ए भन्दै उनी आफ्नो गन्तव्यतिर गइन्। उनी गएपछि बल्ल मैले राहतको श्वास फेरेँ र धन्न बचेँ भन्ने महसुस गरेँ।
अनि आफैलाई प्रश्न सोधेँ- यो केटी मसँग किन बोलेकी होली?
मनभरि अनेक प्रश्न खेलाएँ। कतै उनले मेरो प्रस्ताव स्वीकार गर्ने लक्षण देखाएकी त हैनन्? यस्तै यस्तै प्रश्नहरू मनमा खेलिरहे।
केही दिनपछि उनले पनि मेरो नाममा प्रेम पत्र लेखिछन् र उही सुन्दरको हातमार्फत पठाइछन्। सुन्दरको हातबाट उनको प्रेम पत्र पाउँदा मेरो मन हर्षले गद्गद् भएको थियो। खोलेर हेरेँ जसमा लेखिएको थियो-
प्रेम मनको गहिराइमा लुक्दो रहेछ। आजसम्म कोही कसैले चोर्न नसकेको मेरो मन केही दिनदेखि हजुरले चोरिरहनु भएको छ। मेरो मनको गहिराइमा रहेको प्रेमलाई लुकाउन खोजेँ तर सकिनँ र यो पत्र लेख्दै छु…।
यो पत्र प्राप्त भएपछि हाम्रो प्रेम झाँगिँदै गयो। हामी बिचको भेटघाट पनि बाक्लिँदै गयो। एकछिन नदेख्दा एकछिन नभेट्दा आकाशै झर्ला, धर्ती नै भासिएला झैँ हुन्थ्यो। सुनकोसी नदीको किनार, कटुवा खोलाको किनार, किरेआँपको जंगल आदि ठाउँमा बसेर घण्टौँ कुरा गर्थ्यौँ, कैयौँ दिन बाख्रा सँगै चराउन लग्यौँ, मेलापात सँगै गर्यौँ। दुनियाँले कुरा काट्थे तर हामीलाई पर्बाह नै थिएन। बाँचे सँगै र मरे पनि सँगै मर्ने कसम समेत खाएका थियौँ।
समय बित्दै गयो, हाम्रो मायाको बोट पनि झाँगिँदै गयो। हामी एकअर्काको अनुपस्थितिमा सायद बाँच्न सक्दैनौँ कि भन्ने भान हुन्थ्यो। उनको मन र आँखाले मलाई खोजिरहेका हुन्थे। मेरो मन र आँखा पनि उनकै खोजीमा हुन्थे। झन्डै डेढ वर्षदेखि हाम्रो प्रेम दुबो मौलाए जसरी मौलाइरहेको थियो।
हामी बिचको प्रेम उनको घर-परिवारले रुचाएको थिएन। त्यो बेला म बेरोजगार थिएँ साथै जातमा पनि हामी फरक थियौँ। हाम्रो प्रेमलाई छुटाउन उनको घर-परिवार लागिरहेको थियो। ममाथि नानाभाती आरोपहरू समेत लगाइयो। हरेक उपाय लगाएर मबाट छुटाउन प्रयास गरिरहेकै थिए।
उनीहरूको अथक प्रयासको परिणामस्वरूप एक दिन अकस्मात् जातरूपी हावा आयो, हुन्डरी आयो, आँधी आयो, चट्याङ पर्यो, बाढी आयो अनि यिनै विपत्तिसँगै हाम्रो मायामा भएको सानो डोरीको त्यान्द्रोलाई सदाका लागि नजोडिने गरी नभेटिने गरी चुँडेर लग्यो। आज हामीलाई तड्पाई तड्पाई बाँच्न बाध्य बनायो।
हाम्रो सम्बन्ध बिग्रनुमा दोष कसको थियो? आजका मितिसम्म पनि प्रस्ट हुन सकेको छैन। उनले मलाई लगाउँछिन्, मैले उनलाई लगाउँछु दोष। जे भए पनि हाम्रो प्रेम टुट्नुमा अन्यले जस्तो रोल खेले पनि हामी दुईमा पनि केही कमजोरी अवश्य थिए।
मान्छेले प्रेम जीवनमा पटक पटक गर्छ वा एक पटक? अहिले मलाई यही प्रश्नले सताइरहेको छ। मलाई के लाग्छ भने साँचो प्रेमको टुसा जीवनमा एक पटक मात्र पलाउने गर्दछ। मानिसले जीवनमा धेरै पटक हृदयको उही गहिराइबाट उत्तिकै सामर्थ्यका साथ प्रेम गर्न सक्दैन। प्रेम पटक पटक पलाउने चिज पनि हैन।
हामी छुटेको पनि वर्षौँ भयो तर आजसम्म बिर्सिन सकेको छैन। अब चाहिँ बिर्सनु पर्छ भनेर कोसिस गर्छु तर सक्दिनँ। हरेक पल हरेक क्षण उनकै याद आइरहेको हुन्छ। शरीरका हरेक नसा-नसामा उनी घुमिरहेकी छिन्।
पाप गरेँ वा पुण्य गरे त्यो त मलाई थाहा भएन, मैले केवल निस्वार्थ प्रेम गरेँ उनलाई। यदि उनलाई प्रेम गर्नु गल्ती थियो भने यस्ता गल्ती हरेक जन्ममा गर्न चाहन्छु। जीवनमा मेरो त्यो पहिलो प्रेम थियो जसमा कत्ति पनि पछुतो छैन।
भन्छन् प्रेम अलौकिक अनुभूति हो, एक्कासि आउँछ, जीवनलाई रमाइलो पार्छ, हर्ष र खुसीका साथ जीवनशैलीलाई परिवर्तन गरेर जान्छ तर मेरो प्रेम त खै…!
आज उनी र म आ-आफ्नै दुनियाँमा छौँ। उनले कति सम्झिएकी छिन् त्यो त मलाई थाहा छैन तर मेरो मन, मुटु र मस्तिष्कबाट कहिल्यै नहट्ने गरी अटाएकी छिन्। कहीँ न कतै मेरो मनमा डेरा अहिले पनि जमाएकी छिन्, त्यसैले त आज पनि उनलाई सम्झिएर अतीतलाई डायरीका पानामा भर्न पुग्दै छु।
यस्तो लाग्छ यस्ता कैयौँ पानाहरू भरिए पनि पुग्दैन उनीसँग मैले गाँसेको सम्बन्धको कथा अनि मेरो भोगाइका स्मरणहरू र सक्दिनँ मैले सबै यसरी शब्द शब्दमा उतार्न समेत।
आज म खुसी नभए पनि सुखी नै छु। भगवानले मलाई धेरै राम्रा बाटाहरू दिइरहेकै छन्। उनले मलाई लात हाने पनि मेरा सपनाले मलाई माया गरेकै छन्। उनलाई सम्झेर आजसम्मका दिनहरू बिताएँ, अब पनि बिताउने नै छु। उनी जहाँ छिन् खुसी रहुन्। त्यही नै मेरो अन्तिम इच्छा हुनेछ।