जब फुर्सदको समय हुन्छ तब मलाई बगैँचा, पोखरीतिर गएर बस्न एकदमै मन पर्छ। शनिवारको दिन कमल पोखरी जाने निधो गरेँ र गएँ। अफिस बिदाको दिन धेरैजसो यस्तै बगैँचा, पोखरीतिर गएर अध्ययन गर्ने गर्थेँ।
म बसेको ठाउँ नजिक एक जना करिब ३०/४० वर्षकी महिला आएर बस्नु भयो। उहाँको हातमा कपी अनि कलम थियो। म पनि अध्ययन गरिरहेको थिएँ। झट्ट आँखा उहाँको कपीको पानामा पुगियो।
कपीको पहिलो पानामा लेखिएको थियो- 'त्यो जिन्दगी के जिन्दगी, जसलाई कसैले नचिनोस्? मलाई त असल कर्मले इतिहासमा त्यो याद छपाउनु छ, जसलाई कसैले नबिर्सियोस्।'
फेरि उहाँले कपीको दोस्रो पानामा पल्टाउनु भयो। दोस्रो पानामा लेखिएको थियो- 'मलाई फूल होइन, कलम देऊ। फूल त ओइलिएर झर्छ, कलमले लेख्छु नबिर्सने गाथाहरू।'
उहाँका शब्दहरूले एकदमै मन छोयो। उहाँलाई नबोलाई बस्न सकिनँ। 'मिस हजुर साहित्यकार हो, कस्तो मज्जाले लेख्नु भएको!' भनेँ।
उहाँले हाँस्दै भन्नु भयो, 'होइन बुनु, कहिलेकाहीँ लेख्ने गर्छु। यो त मैले २/३ वर्षअघि लोक सेवाको तयारी गर्दा लेखेको हो। जब निराश हुन्थेँ, एकदमै लेख्न मन लाग्थ्यो।'
झट्ट उहाँको अनुहार हेरेर भनेँ, 'हजुर निजामती कर्मचारीको तयारीमा हुनुहुन्छ कि जागिरे हो?'
उहाँले भन्नुभयो, 'म नायब सुब्बा हुँ।'
अनि मैले भनेँ, 'दिदी, हजुरले पहिलो प्रयासमा नाम निकाल्नु भयो? कति वर्ष लाग्यो लोक सेवा पास गर्न?'
मैले पनि तयारी सुरु गरेको ३ वर्ष भयो, नाम निकाल्न सकिरहेको छैन लोक सेवामा। धैर्यताको बाँध फुट्न लागिसक्यो। परिवारको आर्थिक अवस्था कमजोर छ। अमेरिका, क्यानडा जान पैसा छैन। अंग्रेजी पनि कालो अक्षर भैँसी बराबर जस्तै लाग्छ। अब त सबैले 'केही गर्न सक्दैनस्' भनेर हेप्छन्। पैसा कमाउनकै लागि भए पनि साउदी कतार जाऊँ झैँ लाग्छ।
उहाँले मेरो अनुहार हेरेर भन्नु भयो, 'बुनु हरेस खानु हुँदैन, आशा जोगाइराख्नु पर्छ, मरुभूमिमा पनि फूल फुल्न सक्छ। म तिमीलाई मेरो संघर्षका दिनका कुरा सुनाउँछु।
सुन, घरको जेठो सन्तान म। मुनिको भाइ र बहिनीहरू छन्। ११/१२ कक्षासम्म सकेपछि रित्तो हात काठमाडौँ आएको थिएँ। काठमाडौँ आएपछि ब्याचलरमा भर्ना भएँ, ब्याचलर पनि एक लुगा पसलमा काम गर्दै पढेको हो। ब्याचलर सकेपछि निजी क्षेत्रमा काम गर्न कोसिस गरेँ तर निजी क्षेत्रमा काम पाउन अनुभव चाहिने रहेछ। नत्र कोही आफन्त।
फेरि पुरानै लुगा पसलमा काम गर्दै स्नातकोत्तर भर्ना गरेँ। त्यसपछि लोक सेवा आयोगको तयारी गरेँ। पसलमा काम गर्दा जम्मा १० हजार तलब हुन्थ्यो। कोठा भाडा तिर्न र खाना खानलाई धौधौ हुन्थ्यो। करिब ४ वर्ष तयारी गर्दा लोक सेवा आयोगमा नाम निकाल्न सकिनँ। घर, समाज, परिवारले केही गर्न सक्दैनस् भन्न थालिसकेका थिए।
लोक सेवाको किताबले मेरो कोठा पुस्तकालय नै बनाएको थियो। बाटोमा कोही हातखुट्टा नभएका माग्ने मान्छे देखेँ उनीहरूबाट आफूलाई प्रेरित गर्न प्रयास गर्थेँ।
करिब ५ वर्ष तयारी गरेपछि नायब सुब्बामा नाम निस्कियो। सरकारी जागिर खान पाउनु एकदमै खुसीको कुरा जस्तो लाग्थ्यो। अहिले कमाउँछु तर पनि पुग्दैन। जागिर नखाँदा पनि पैसाको अभाव थियो, जागिर खाएपछि पनि अभाव छ। म यो जिन्दगीलाई बुझ्न सकिरहेको छैन।
केही बन्नका लागि, आफू सक्षम हुनका लागि मैले आफ्ना खुसी र चाहनालाई त्यागेर आफूलाई नै रित्ताएको थिएँ। आज कमाएको छु, पैसा पनि छ तर समय छैन। घर, परिवार र आफ्ना सन्तान सम्हाल्दै आफूलाई बिर्सेको थाहा नै पाउँदिनँ म।
फेरि मैले सोधेँ, 'हजुरको श्रीमान् के गर्नु हुन्छ?'
दिदीले भन्नुभयो, 'विदेशमा हुनुहुन्छ, साउदीमा।'
अनि मैले सोधेँ, 'दिदी, हजुरले जागिर खाएपछि बिहे गर्नु भएको हो कि जागिर खानु अघि? अनि प्रेम विवाह कि हजुरहरूको मागी?'
उहाँले भन्नुभयो, 'प्रेम विवाह हो, जागिर खाएपछि विवाह गरेको हो।'
फेरि मैले सोधेँ, 'धेरैजसो सरकारी जागिरेले त सरकारी जागिरेसँग विवाह गर्छन्। हजुरको आँखा चाहिँ विदेशीमा गएछ है।'
उहाँले हाँस्दै भन्नुभयो, 'म पैसा, पद, सम्पत्तिको पछि लाग्ने मान्छे होइन। म आफू सक्षम भए पुग्छ। के छ र सम्पत्तिमा? मन मिले कमाउन सकिन्छ। पैसा आज छ भने भोलि नहुन पनि सक्छ तर बानी बेहोरा असल भए जीवन सहज चल्छ।'
'मैले व्यवहार हेरेको मात्र हो' भन्दै 'ल ल बुनु, तिमीसित बोलेर खुसी लाग्यो' भनेर दिदी आफ्नो घरतिर लाग्नु भयो।
आज अपरिचित मान्छेसँग अचम्मको भेट हुँदा मैले धेरै कुराको ज्ञान प्राप्त गरेँ। उही अपरिचित दिदीले भनेका कुरा कल्पिएर म पनि आफ्नो घरतिर लागेँ।