बिहानको झिसमिसे उज्यालो थियो, आकाशबाट अलि अलि टिलपिल पानी परिरहेको थियो। सायद रातिको चार वा पाँच बजेको हुनुपर्छ। गाडीमा ३८ घण्टाको लामो यात्रा थकाइले चुर भएको शरीर लिएर उभिएको थिएँ।
‘अझै माथि हो, कलेज अझै आएको छैन है,’ साथी मलाई हेर्दै खिस्स हाँस्यो। सायद अनुहार नै त्यस्तो थकित देखिएकोले होला।
उसले फेरि भन्यो, ‘यहाँबाट २० मिनेट माथि उकालो छ, अहिले अलिक अँध्यारो छ, एक आधा घण्टामा हिँड्ने हो।’
थकाइले लथालिंग भएको शरीर कतै अडेस लाग्न पाएको भए हुन्थ्यो भन्ने लागिरहेको थियो। बजारमा थियौँ तर सटरहरू अझै खुलेका थिएनन्। सायद पानी पर्न लागेको भएर पनि होला, एकदमै अँध्यारो थियो। मेरा खुट्टा आफ्नै शरीरको भार थेग्न पनि असमर्थजस्तो भइसकेका थिए। सटरको छेउमा अडेस लागेर लामो सास फेरेँ।
काठमाडौँबाट कलेज पुग्न थोरैमा पनि ३२ घण्टा लाग्थ्यो। फेरि म त्यति धेरै गाडी चढ्ने बानी नभएकोले सानैदेखि गाडीमा हैरान हुने मान्छे। तर खै किन हो, यसपालि यत्रो लामो यात्रा हुँदाहुँदै पनि खासै गाह्रो भएन। गाडीमा हुँदा मनमनै कुरा खेलिरहेको थियो। बिस्तारै उज्यालो हुँदै गयो।
‘ओ दोस्त, अब लागौँ माथि तिर,’ अर्कोले भन्यो।
‘ओ साथी, कसको यादमा लट्ठ पर्नु भएको?’
म झस्किएँ। ‘हजुर, केही हैन’ भनेर झोला उठाउँदै अघि बढेँ।
‘दोस्तलाई भूतदेखि कत्ति डर लाग्छ कुन्नि! माथि गाउँ हो, भूत लाग्छ नि,’ अर्को साथीले थप्यो।
हिन्दी फिल्मजस्तै 'भूत से नहीँ, भविष्य से डर लगता है' भनेर भन्न मन लाग्यो। तर भर्खरै भेटिएका साथीहरूलाई के यस्तो डाइलग दिइरहनु भन्ने लाग्यो, त्यसैले खासै प्रतिक्रिया जनाइनँ।
हामी कलेजको उकालो बाटो हुँदै लाग्यौँ। चराहरू चिरबिर गर्दै ‘अब बिहान भयो है’ जस्तो सन्देश दिइरहेका थिए। मेरो चार वटा झोला थिए, एक साथीले बोकेर सघायो। भारी खासै थिएनन् तर थकाइले जे पनि भारी लागिरहेको थियो।
बाटोमा रहेको एउटा पुरानो घर देखाउँदै साथीले भन्यो, ‘यो भूतको घर हो है!’ अनि खिस्स हाँस्यो। म डराएको भने थिइनँ। मन मस्तिष्क अस्थिर थियो, मनमा अनेक कुरा खेलिरहेका थिए। त्यहीबिच फेरि पानी पर्न थाल्यो। जसोतसो गर्दै हामी कलेज पुग्यौँ। मसँगै आएका साथीहरूकै कोठामा बसेँ।
मैले डस्ना, सिरानीजस्ता आवश्यक कुरा खासै ल्याएको थिइनँ। एउटा म्याट र सिरानी राखेर खाटमा पल्टिएँ। खै के नमिलेको जस्तो, निद्रै लागेन। तन्ना राम्रोसँग च्याप्न पनि आएकै थिएन। एउटा टुँडो समाउँदा अर्को टुँडो खुल्ने। म साथीको खाटमा गएर पल्टिएँ अनि बल्ल निदाएँ। ‘सिधै खाना जाऊँ’ सुनेपछि म उठेँ। घडी हेरेँ, करिब २–४ घण्टा सुतिएको रहेछ।
त्यहाँ मेसमा खानाको व्यवस्था रहेछ। एक गाँस मुखमा हाल्नासाथ घरको याद आयो। खाना छोडौँ जस्तो लाग्यो। खान्न भनेर जुरुक्क उठ्दा, ‘खा त, दिनभरि भोकै हुनलाई’ भन्ने कोही थिएन। ‘चम्चा दिनुस्’ भनेर भन्न पनि मन लागेन। अप्ठ्यारो मान्दै खाना खाएँ। खाना सकेपछि कक्षातिर लागियो।
क्लासमा म यता उता हेर्दै थिएँ, सरले सोध्नुभयो, ‘नयाँ बाबु, ह्वाट इज सोयल?’
‘सोयल इज मिडिया...सोयल...सोयल’ गर्दै थिएँ तर सरले ‘बस बाबु’ भनेर अरूलाई सोध्नुभयो। त्यसपछि दिमागमा भने उत्तरहरू आफैँ आउने। धत्! यति सानो कुरा पनि आउन सकेन, कक्षाभित्र अरूले मलाई ग्वाँचजस्तो ठाने होलान् जस्तो लाग्यो। फर्स्ट इम्प्रेसन त गइहाल्यो नि! भन्दै मनमनै सोचेँ।
बेलुका घरबाट फोन आयो। उताबाट प्रश्नहरू आइरहेको थियो ‘कस्तो छ कलेज? कस्तो लाग्दै छ त? कस्तो छ कोठा? कस्तो छ खाना?’ मानौँ प्रश्नहरूको वर्षा नै भइरहेको थियो। म केही बोलिनँ। ‘ठिकै छ सब’ भनेर मलिन स्वरमा जवाफ दिएँ।
कलेज मन परेन कि के हो?
‘पछि फोन गर्छु’ भनेर फोन राखेँ। अनि बाहिर गएर केही समय त्यत्तिकै टोलाएर बसेँ।
‘तिमी नै हौ नयाँ भाइ? घर कहाँ हो त?’
मैले नमस्तेको इसारा गर्दै भनेँ, ‘काठमाडौँ हो सर, सानैदेखि त्यहीँ बसेको, पुरानो घर चाहिँ तनहुँ।’
‘ए ए ठिक छ। किन टोलाएर बसेको भाइ?’
उहाँको ‘भाइ’ भन्ने शब्दले पनि मन छोयो। त्यति बेला म यस्तो अवस्थामा थिएँ जहाँ कसैले मायाले केही भनिदिए पनि म आफ्ना कुरा खोलिदिन्थेँ होला। सानैदेखि घरमा बस्ने बानी। म बुझ्थेँ मानिसहरू कहिलेकाहीँ कमजोरीको फाइदा उठाउँछन् भन्ने कुरा। तर त्यही दिन, पहिलो पटक सरसँग खुलेर बोलेँ।
उहाँले मलाई धेरै कुरा सम्झाउनुभयो। ‘तैँले सक्छस् है, प्रयास गर्’ भनेर हौसला दिनुभयो।
घरबाट बाहिर निस्केको पहिलो पटक थियो। न राम्ररी लुगा धुन आउँथ्यो, न तन्ना मिलाउन। घरमा मामुले सबै कुरा मिलाएर राखिदिनु हुन्थ्यो। तर यहाँ सबै कुरा आफैले गर्नुपर्ने। जेसुकै होस् घरको खाना, आमाबुबाको साथ सबै कुरो धेरै मिस भइरहेको थियो।
कहिलेकाहीँ एक्लोपन यति गहिरो हुन्थ्यो कि सोच्दासोच्दै आँखा रसाइसकेको थाहा नै हुँदैन थ्यो। घरमा हुँदा बाहिरी संसार कस्तो छ भन्ने थाहा थिएन। अब जब सबै चिज आफ्नै टाउकोमा आइपर्छ, घरको महत्त्व अझ धेरै बुझिन्थ्यो।
म हरेक दिन आफूलाई धकेल्थेँ ‘जानै पर्छ’ तर कतिपय दिन सक्दिनँ जस्तो लाग्थ्यो। खेलकुदमा पनि खासै राम्रो थिइनँ। मोबाइल र ल्यापटप चलाउँदै हुर्किएको मान्छे। त्यो बेला कलेजमा स्पोर्ट्स् विक चलिरहेको थियो। मैले जबरजस्ती लगभग सबैमा भाग लिएको थिएँ। अहिलेसम्म पनि सम्झिन्छु ‘सिनियर भर्सेस जुनियर’ को सबैभन्दा रोमाञ्चक फुटबल खेल। खेलको हाइप त चरममा थियो। म टिममा जबरजस्ती समावेश भएको थिएँ।
पहिलो हाफ सकिन लाग्दा मेरो साइडबाट विपक्षीले बल लिएर आयो। मैले क्लियर गर्न खोज्दा किक लागेन, मिस भइहाल्यो। अनि मेरो गल्तीले गोल खायो टिमले। म ‘सब्स्टिट्युसन’ मा बाहिरिएँ। फेरि अर्को गोल पनि खायौँ, स्कोर २–१ भयो।
म चुपचाप बसेको थिएँ, सर आउनुभयो। ‘के हो भाइ, निस्किस्’ भन्दै हल्का मुस्कान दिनुभयो।
त्यो बेला अलिक नरमाइलो लागेको थियो, आफैले गर्दा टिमले गोल खायो।
सरले भन्नुभयो, ‘यस्तो खेल होइन कि तँ नखेले टिमै नहोस्। कुनै पनि कुरामा पछि नपर्ने हो है, बुझिस् भाइ?’ अनि उहाँ जानुभयो।
मलाई अझै पनि याद छ त्यो दिन जब दोस्रो हाफमा हामीले ३ गोल फर्काएर त्यो खेल जितेका थियौँ। जे होस्, अहिले त्यो क्षण मिठो सम्झनाजस्तै लाग्छ।
अहिलेसम्म पनि होस्टेल बस्दाको सबैभन्दा अल्छी लाग्ने कुरा भनेको लुगा धुनु नै थियो। यति धेरै झ्याउ लाग्थ्यो लुगा धुन कि कति पटक त सबै लुगा बाँकी रहन्थे। अनि कहिलेकाहीँ त फर्मल सर्ट–पाइन्ट लगाएरै हिँडिन्थ्यो।
अरूले सोध्थे— 'कता जान लाग्या भाइ?' तर कहाँ जानु? कपडा धुन अल्छी लागेर लाउनै पर्ने लुगा सकिएपछि बाध्य भएर लगाएको मात्रै हो। के गर्नु र? धुन मन नलागेर लगाउने कपडा सकियो भने लाज हुन्छ नि त!
मेसको खाना अब खान मनै लाग्न छाडिसकेको थियो। त्यसपछि आफैँ पकाएर खानुपर्छ भन्ने सोच आयो। तर मलाई राम्ररी पकाउन त आउँदैन थ्यो। कति चोटि त भात डढ्थ्यो, कति चोटि दालमा नुन कम भएर बिलिनो दाल बन्थ्यो। जे होस्, जस्तो भए पनि ‘खानु त पर्यो नि’ भन्दै खाइन्थ्यो।
अनि ओहो! त्यो जुठा भाँडा धुनु जस्तो झ्याउ के होला रक! तर खै समय बित्दै गएपछि सबै कुरा चित्त बुझाउँदै गइयो भनौँ। भन्छन् नि ‘ट्रस्ट द प्रोसेस’। लाग्छ, जे भइरहेको छ, त्यो सबै राम्रैका लागि भइरहेको छ।
सायद घरबाट कहिल्यै बाहिर ननिस्किएको भए बाहिरी संसार कस्तो हुँदो रहेछ भन्ने बुझिन्न थियो होला। यत्रा फरक–फरक मान्छेहरू, फरक–फरक सोचहरू यिनै नै जीवनको पाठशाला हो। सायद भगवान् पनि यही देखाउन चाहनु हुन्थ्यो, मलाई मेरा सपना पूरा गर्न कति चुनौतीको बाटो हिँड्नुपर्छ भन्ने कुरा।
त्यो बेला लाग्थ्यो सबै कुरा मेरो विपरीत भइरहेछ। घर टाढा, मेसको खाना, एक्लोपन सबैजसो। तर समयसँगै मैले बुझ्दै गएँ, साना साना कुरामा खुसी हुन सक्नुपर्छ। ‘आज मिठो खाजा खाइयो’ भने पनि दिन राम्रो लाग्न सक्दो रहेछ। बिस्तारै सबै साथीहरूसँग नजिक हुँदै गएँ।
अब त पहिले जस्तो लाग्दैन। आफैँ अर्कै मान्छे जस्तो लाग्छ। लाग्छ, अब म अरूको भरमा होइन, आफ्नो बाटो आफैँ हिँड्दै छु। न कुनै कुरा अत्यधिक खुसी दिन्छ, न दुख। जे भए पनि होस्टेल अनुभवले धेरै कुरा सिकायो।
अहिले लाग्छ— एक पटक आमाबुबाबाट टाढा बसेपछि मात्र थाहा पाइन्छ, जीवन वास्तवमै कति फरक छ भन्ने कुरा। नत्र म अझै पनि भावुक, कमजोर, असहाय नै रहने थिएँ होला। अहिले त जे छ, जस्तो छ, त्यसैमा सन्तुष्ट छु।
कुनै दिन आउला, जब म यही सम्झनाहरू लिएर यो कथा पढ्नेछु—’कस्तो थिएँ म’ भन्दै। साथीसँग गाएको गीत, खाएको मिठो खाजा, मेसको पातलो तरकारी अनि त्यो पहिलो अँध्यारो बिहान सबै सम्झनेछु।
अब त ठुलो भएछु सायद।