नेपालका सयौँ युवाहरू अहिले पनि मुस्कुराउने अभिनय गरिरहेका छन्, जबकि उनीहरूको मनभित्र एउटा नदेखिने युद्ध चलिरहेको छ— अस्पष्ट भविष्यको डर, उद्देश्यविहीन जीवनको पीडा अनि समाजको कठोर अपेक्षाको चाप।
सामान्यतया १८ देखि २८ वर्ष उमेर समूहलाई 'युवा अवस्था' भनिन्छ— यो उमेरलाई अक्सर सपना देख्ने, संघर्ष गर्ने र सफलताको बाटो पहिल्याउने उमेर पनि भनिन्छ। तर आजकल अधिकांश युवाहरू आफूलाई यो उमेरमा एक्लो, असफल र उद्देश्यविहीन महसुस गरिरहेका छन्।
किन?
रोजगारी छैन तर अपेक्षा छ
युवाले भनिरहेका छन्, ‘बाबुआमा भन्छन् जागिर कहिले पाउँछौ? समाज भन्छ अब बिहेको उमेर भयो। साथीहरू अघि बढिरहेका छन् अनि म? म चाहिँ अझै उद्देश्य खोजिरहेछु।’
कुनै बेला मेकानिकल इन्जिनियर पढेका विकास अहिले काठमाडौँको एउटा रेस्टुरेन्टमा वेटरको काम गरिरहेका छन्। आँखाभित्र गुम्सिएको सपना छ, बाहिर हाँसो छ। उनलाई आफ्नो पढाइ, मेहनत र समयको मूल्य के भयो भन्ने प्रश्नले सताइरहेको छ।
चिया २५ रुपैयाँको भयो, घरभाडा तिर्न सकिँदैन, मोबाइल रिचार्ज गर्न पनि गाह्रो हुन्छ— यस्तो अवस्थामा कसरी लक्ष्य खोज्ने?
यति सानो वाक्यभित्र लुकेको छ हजारौँ युवाको वर्तमान। यस्तो कहालीलाग्दो परिस्थितिमा युवा पुस्ता सपना देख्नै डराउने अवस्थामा पुगेका छन्।
युवाहरू न त जिन्दगीसँग प्रेम गर्न सकेका छन् न आफ्नो सपनाप्रति इमानदार नै बन्न सकेका छन्। किनभने उनीहरूको सपना महँगीको चक्रभित्र बेवारिसे भएको छ— एकातिर पेटको आगो निभाउन संघर्ष, अर्कोतिर समाजको चिच्याहट भोग्न विवश।
धेरैलाई लाग्न सक्छ— युवाहरू त जाँगरिला हुन्छन्, केही गर्छन्। तर के साँच्चै युवाको जाँगर, क्षमता र आशा यही देशमा सम्मानित हुने ठाउँमा छ?
सपना देख्नु हुँदैन जस्तो लाग्ने मानसिकता बिक्दै छ। जहाँ 'सपना देख्ने' भन्दा पनि 'बाँच्ने' नै चुनौती बनिरहेको छ। बिहान ८ बजेबाट बेलुका ८ बजेसम्म पसिनाको मूल्य १५–२० हजार रुपैयाँ मात्रै? त्यो पनि महिनामा एकपल्ट? अनि त्यो पैसा कहाँ पुग्छ? घरभाडा, रिचार्ज, चिया, दाल, भात, साबुन... अनि सकियो। भविष्य भनेको आजको तिर्खा मेटाउन सकिएन भने के सपना, के लक्ष्य?
यही पृष्ठभूमिमा विदेशी भूमिमा पाइला टेक्ने युवाको लहर बढ्दो छ। यो फेसन हैन, बाध्यता हो।
पैसा हुनेहरू अमेरिका, क्यानडा, जापान जान्छन्। पैसा नहुनेहरू कोरिया, मलेसिया, खाडीतिर लाग्छन्।
यो वर्गीय पलायन हो।
यो रक्तस्राव हो— देशको मेरुदण्डबाट क्षमतावान् जनशक्ति हराउँदै जाने।
नेपालको गाउँमा पञ्चायती चौर सुनसान छ। खेतका गोडाहरू ओइलिएका छन्। स्कुलमा शिक्षक एक्लै किनकि विद्यार्थी त सहर गए— सङ्घर्ष गर्न, बाँच्न र सम्भवतः भाग्न पनि।
कहिलेकाहीँ लाग्छ, यो पलायन युवाहरूको हो कि सपनाहरूको?
राज्यले रोजगार नदिएपछि, अभिभावकले सन्तोष गर्न नसकेपछि, समाजले विवाह, जागिर, पद, पैसा मापनको सूचक बनाएपछि युवालाई विकल्प के बाँकी रहन्छ?
‘ब्रेन ड्रेन’ भन्ने शब्द पश्चिमी पत्रिकामा पढिन्थ्यो पहिले-पहिले, अहिले गाउँका चिया पसलमा पनि त्यो शब्दको नेपाली रूपान्तरण हुन्छ— ‘देशबाट बुद्धि बगेको छ।’
किनकि यहाँ साँच्चै पनि बुद्धि, श्रम र जोस बगेको छ। त्यो पनि एकपल्ट फर्किन नपाउने गरी। अमेरिका गएका छोरा अब आमाको मुख हेर्न आउँदैनन्, कोरिया पुगेको दाजु अब बिहेको लागि पनि छुट्टी पर्खनुपर्छ।
जब ‘मसँग पैसा छैन’ भन्ने भावनाले जिन्दगी कुण्ठित हुन्छ, त्यस्तो मनस्थितिमा लक्ष्य, सपना र भविष्य आदर्श मात्र हुन्छन्। यथार्थ भनेको चामल किन्न सकिन्छ कि सकिँदैन, बुवाको औषधिको खर्च निकाल्न सकिन्छ कि सकिँदैन भन्ने हो।
त्यसैले यस्ता युवाहरू अब प्रश्न सोध्दैनन्, उत्तर खोज्दैनन्, उनीहरू केवल चुपचाप देश छोड्छन्। भाषा सिक्छन्, इजाजत लिन्छन् अनि हजारौँ सपना च्यातेर बोर्डिङ पासमा हस्ताक्षर गर्छन्।
गहिरो प्रश्नहरू हाम्रो सामु छन्-
के हामीले देशमै बाँच्न चाहने युवालाई सम्मान दिन सकेका छौँ?
विदेश नगएर गाउँमै बसेर सानो उद्योग खोल्ने युवालाई हामीले ‘हिम्मती’ भन्न सक्छौँ? कि उसलाई ‘नाकाम’ ठान्ने?
जब एक जना बाबुआमाले ऋण काढेर छोरालाई विदेश पठाउँछन्— त्यसलाई सफलता भनिन्छ कि सामाजिक पराजय?
कसैले पढेर मनभित्र चसक्क पाओस्, कसैले आफ्ना आँखा रसाएर सोचोस्— ‘के मैले मेरो देशमा केही गर्न सक्दिनँ?’
आज सिङ्गापुर समृद्ध छ किनकि उनीहरूले आफ्ना युवाहरूलाई देशमै रोके। जापान शक्तिशाली छ किनकि उनीहरू श्रमलाई पुँजी ठान्छन्।
हामी भने अझैसम्म युवा पलायनलाई भाग्य ठान्दै बसेका छौँ। र, यस्तो मौन पलायन भइरहँदा सपना पनि बिदेसिन्छन्, श्रम पनि बिदेसिन्छ अनि बाँकी रहन्छ— मौन घर, खाली चुलो र बोल्न नसक्ने आँखा।
धेरैजसो युवा आफ्नो दुख कसैसँग बाँड्न सक्दैनन्। उनीहरू सधैँ सोचिरहन्छन्— ‘मैले के गरेँ? मैले कति प्रयास गरेँ, तर किन जीवन यसरी उर्लिएर आयो?’
समस्या के हो भने, उनीहरू 'डिप्रेसन' भित्र छन् तर उनीहरूलाई थाहा छैन। वा थाहा भए पनि बोल्न सक्दैनन्। किनकि समाजले 'डिप्रेसन' भन्ने शब्दलाई निकै कमजोरी ठानेको छ।
भित्रभित्रै रोइरहेका युवाहरूको आवाजलाई सुन्ने बेला यही हो। उनीहरूलाई 'आशावादी बनेर अगाडि बढ' भन्ने भन्दा पहिला उनीहरूको हात समातेर, ‘तिमी एक्लै छैनौ’ भन्ने बेला आएको छ। किनभने एउटा सपनाले मात्रै होइन, एउटा साथले पनि जीवन बदलिन सक्छ।