हामीले पत्रकारिता सुरू गर्दा (५० को दशक तिर) 'लेग रिपोर्टर' भन्ने शब्द पत्रकारितामा औपचारिक रूपमा खासै प्रयोगमा थिएन। तर भैरव रिसाल दाइ भने आफूलाई 'लेग रिपोर्टर' भन्न रूचाउनुहुन्थ्यो। राससको स्वर्ण वर्ष प्रकाशन ‘राससको इतिहास’ का लागि मित्र कृष्ण अधिकारी र मैले विसं २०६८ को माघमा उहाँसँग कुराकानी गर्ने क्रममा पनि आफूलाई ‘लेग रिपोर्टर’ भनेर धेरै पटक सम्बोधन गर्नुभएको थियो।
यो शब्दावलीप्रतिको मेरो थप जिज्ञासामा उहाँको स्पष्टीकरण थियो‐ खुट्टैले हिँडेर रिपोर्टिङ गर्ने अर्थात् कुनै सवारी साधन नचढ्ने र खबर मुखले बोक्ने अर्थात् आफैले लेख्न चाहिँ नसक्ने। मौखिक खबरका आधारमा सम्पादकहरूले समाचार बनाउने भएकाले लेग रिपोर्टरले मुखैले खबर बोकेर लगिदिए हुने तर्क उहाँको थियो।
खुब हिँड्नुहुन्थ्यो भैरव दाइ। लगभग उहाँकै उमेर पुस्तादेखि हामीसम्म नै प्रत्यक्षदर्शी हौं उहाँको हिँडाइका।
केही वर्षअघिसम्म पनि भैरव दाइ कानमा सानो खाले रेडियो लगाएर फूर्तिलो ज्यानका साथ अनामनगरतिरै ‘मर्निङ वाक’ गर्ने गर्नुहुन्थ्यो। उहाँले रिपोर्टिङमा हिँडेर काठमाडौँ उपत्यका चाहारेका आफ्ना रमाइला किस्सा बेला बेलामा सुनाउनुहुन्थ्यो। सायद यसकारण पनि हुनसक्छ आफूलाई लेग रिपोर्टर भन्न रूचाएको।
उहाँको हिँड्ने बानीको शिकार एक पटक म पनि भएको छु। त्यस्तै १५ वर्षअघिकै कुरा हो, जावलाखेलस्थित स्टाफ कलेजमा रिपोर्टिङमा पुगेको थिएँ। उहाँ पनि जानुभएको रहेछ। कार्यक्रम सकिएपछि त्यस्तै १२ बजेतिर खाना खायौँ। उहाँ थापाथली पुग्नुपर्ने रहेछ म सिंहदरबार प्लाजा। जावलाखेल चोकमा रत्नपार्क जाने माइक्रो रोकिराखेको थियो। माइक्रोतिर इसारा गर्दै पहिला दाइलाई चढ्न अनुरोध गरेँ। तर उहाँले ठाडै अस्वीकार गर्दै भन्नुभयो‐ लाछी, यति छोटो बाटो पनि गाडी चढ्छन्?
यति भनेपछि त म पनि अब गाडी चढ्ने कुरा भएन। १२ बजेको घाम, भर्खरै खाना खाएको। फेरि दाइको हिँडाइको गति तीव्र। अनि मुख खाली नराखी बोलेको बोल्यै। उहाँका कुरा सुनिदिन पनि उहाँकै गतिमा लय मिलाएर हिँड्नुपर्यो। ८० वर्षे जवानको पछिपछि लागेर बल्लतल्ल आइपुगेँ कार्यालय।
त्यो बाटोमा उहाँलाई मैले उहाँको पालाको पत्रकारिताका बारेमा धेरै कुरा सोधेँ। उहाँले आफ्ना पालाको पत्रकारिता अभाव र दबाबले निकै जेलिएको सुनाउनुभयो। त्यसमा पनि उपत्यकाका अधिकांश ठाउँमा आफूहरू खुट्टैले हिँडेर रिपोर्टिङमा पुग्ने गरेका रोचक घटना सुनाउनुभयो। यो सुन्दा मलाई भने उहाँले एकादेशका कथा भनेजस्तै लागेको थियो। त्यस समय पनि उहाँले आफूलाई ‘लेग रिपोर्टर’ भन्नुभयो। हुन त अभावले नै हिँडेर चाहार्नुपर्ने अवस्था थियो तर पछि भने हिँडाइले मानिसको स्वास्थ्य राम्रो हुन्छ भन्ने कुरा चिकित्सकहरूले भन्न थालेकाले आफूलाई चित्त बुझाउने बाटो भएको उहाँको तर्क थियो।
उहाँले राससमा विसं २०२० देखि २१ वर्ष सेवा गर्नुभएको थियो। त्यसैले आफ्नो नाम पत्रकारका रूपमा लेखाउन राससकै योगदान रहेको उहाँले भन्ने पनि गर्नुहुन्थ्यो। पछि रेडियो सगरमाथामा उहाँले प्रस्तुत गर्ने उहिले बाजेका पालामा कार्यक्रम पनि धेरैको मनमा छिरेको थियो। उहाँसँग हामीले राससको इतिहास पुस्तकका लागि राससमा रहँदाका कैयन् अनुभव र अवस्थाका बारेमा कुराकानी गरेका थियौँ। उहाँको समयको त्यो ‘लेग रिपोर्टर’ अवधारणा त यतिखेरसम्म म्युजियममै पुगिसकेको छ, किनभने अहिलेका समाचारदाताको समाचारको स्रोत इन्टरनेट र सामाजिक सञ्जाल भइसकेको छ। त्यसैले आफैले देखेर रिपोर्टिङ गर्नुपर्ने (सिइङ इज बिलिभिङ) को पत्रकारिताको अवधारणाका अङ्गप्रत्यङ्ग पनि अब लगभग खिइसकेका छन्।
यसैबेला भैरव दाइको भौतिक शरीरले ९७ वर्षको उमेरमा गत चैत २४ गते पृथ्वी लोक छोडिसकेको छ। तर पत्रकारिताको अहिलेको पुस्ताले अध्ययन अनुसन्धान गर्न उबेलाका उहाँका अनुभवबाट केही लिन सक्ने अपेक्षासहित त्यस अन्तर्वार्तालाई सम्पादनसहित यहाँ साभार गर्न चाहन्छु।
***
'देशका सबै पत्रपत्रिका र रेडियो नेपाल राससकै समाचारम निर्भर थिए। समाचार समितिले के लेख्यो भनेर नहेरेसम्म पत्रिका प्रेसमा पठाउँदैनथे। दैनिक पत्रिकाहरूले राससको रात्रि सेवाको बुलेटिन पर्खेरै बस्थे। हामी चार जना थियौं सुरूमा समाचारदाता। राजनीतिक घटना धेरै हुँदैनथे, त्यसैले भ्याउन सकिन्थ्यो। तर जमाना यस्तो थियो कि नेता, मन्त्रीका क्रियाकलाप नै मुख्य समाचार बन्ने गथ्र्याे। सबै सरकारी समाचारको मुहान रासस नै थियो।
पञ्चायती व्यवस्था सुरू भइसकेको थियो। व्यवस्था बडो अनुदार थियो। आफ्ना फाइदाका प्रचारको भन्दा अरू समाचार मन्त्री, सरकारी कर्मचारीहरू दिँदैनथे। तर यता राससमा भने उतिबेला पनि जसले धेरै समाचार ल्यायो उसलाई पुरस्कारको व्यवस्था थियो। यसकारण समाचारका लागि कुद्नु त छँदै थियो। मैले आफूलाई ‘लेग रिपोर्टर’ भन्न रुचाउँथेँ। खुट्टाले हिँडेरै काठमाडौँ चाहार्थेँ र खबर ल्याउँथेँ। तर टिप्दिनथेँ। कार्यालय पुगेपछि मुखैले खबर भन्थेँ, सम्पादकहरूले त्यसैबाट समाचार बनाउँथे। पछि पछि मात्र समाचार लेख्न सिकेँ।
तीन महिनामा गणना हुन्थ्यो र जसले बढी समाचार ल्यायो उसलाई एकसय रूपैयाँ पुरस्कार दिने चलन थियो। प्रायः मैले नै त्यो पुरस्कार पाउँथेँ। समाचार कतिवटा भन्ने त हुँदैनथ्यो तर पनि दिनमा कम्तीमा पनि तीन चार वटा हुन्थ्यो। हरेक दिन एउटा समाचार भने लेख्नै पथ्र्यो नत्र समाचारदातालाई अरू शाखाका कर्मचारी एवं सम्पादकहरूले पनि सित्तैमा तलब खायो भनेर कुरा काट्थे। त्यस्तो भन्नुपर्ने अवस्था चाहिँ लाजमर्दो नै हुन्थ्यो। तर दिनमा एउटा पनि खबर खोज्न भने निकै नै गाह्रो थियो।
पञ्चायतका कर्मचारीबाट समाचार फुत्काउन निकै नै गाह्रो थियो। मन्त्री त झन् राजाका बफादार मान्छे उनीहरूले पनि समाचार दिँदैनथे। व्यवस्थालाई सजिलो पर्ने र प्रचार गर्नुपर्ने खालका समाचार मात्र पाउन सकिन्थ्यो। तर सिंहदरबारसँगको सम्बन्ध मैले राम्रो बनाएको थिएँ। यसकारण पनि समाचार लिन अरूका तुलनामा सजिलो थियो। कोही नयाँ कर्मचारी वा सचिव आयो कि म गएर भेटिहाल्थेँ। उनीहरूले रासस भनेपछि भेट दिन्थे र माया पनि गर्थे। यसले गर्दा मलाई समाचारको स्रोतको विकास गर्न सघाउ पुर्याएको थियो।
तर कतिपय अवस्थामा भने उनीहरूले समाचार दिएर हामीहरूलाई प्रयोग गर्ने गर्दथे। त्यसैले सजग त हुन्थ्यौँ, थाहा पनि पाउँथ्यौँ। तर पनि आफू प्रयोग नै भएको थाहा भए पनि समाचार नछाप्न सक्ने अवस्था भने थिएन।
एकपटक राजा महेन्द्र चीन जाने कुरा भएछ। यो म रासस आउनुभन्दा केहीअघिको कुरा हो, त्यसताका मैले हालखबर पत्रिकामा काम गर्थेँ। मलाई उतिबेलाका परराष्ट्र सचिव नरप्रताप शमशेर थापाले सो समाचार दिए। त्यो समाचार छापियो तर साँचो होइन रहेछ। उनले मलाई प्रयोग गरेका रहेछन्। त्यसैले मैले भनेको नभन्नु भनेर सुरूमै भनेका थिए तर मैले भने सो कुरा ख्यालै गरिनँ। सो समाचारको प्रतिक्रिया के आउँछ भनेर निजी पत्रिकामार्फत सार्वजनिक गर्न लगाउने गर्दथे राजाका मन्त्री एवं सचिवहरूले।
अनि एउटा रमाइलो प्रसंग के छ भने मेरो काम समाचार लेख्नेमात्र थिएन राससमा। सरकारले राससलाई पर्याप्त बजेट दिँदैनथ्यो। त्यसैले बजेट आएको भोलिपल्टदेखि मेरो काम सिंहदरबारका सचिव एवं अर्थमन्त्रीलाई भेट्ने र उनीहरूसँग थप बजेटका लागि कराउनुपर्दथ्यो। अर्थमन्त्रीहरू भेषबहादुर थापा, यादवप्रसाद पन्त कहाँ गएर 'लौन हामीले तलब नखाने मन्त्रीज्यू' भन्थेँ। 'कति पुगेन र' भन्थे, अनि पछि थपिन्थ्यो पनि।
उतिबेला जिल्लाका समाचार लिनका लागि निकै गाह्रो थियो। सबै ठाउँमा टेलिफोन थिएन। निकै थोरै शब्द मात्र आकाशवाणीबाट टिपिन्थ्यो र कनिकुथी समाचार बनाइन्थ्यो। आवाबाट ३०० अक्षरभन्दा बढी टिप्न मिल्दैनथ्यो। त्यसैले धेरैजसो समाचार हुलाकबाटै आउँथे।
राजा वा प्रधानमन्त्रीको जिल्ला भ्रमणका क्रममा पनि समाचारका लागि केन्द्रबाटै समाचारदाता जान्थे। त्यसमा धेरैजसो म नै जानुपर्दथ्यो। राससको इज्जत ठूलो थियो। आसन ग्रहण, माल्यार्पणका लागि सधैँ राससलाई बोलाउँथे। नाम लिँदैनथे, रासस प्रतिनिधि भन्थे। कतिपय ठाउँमा त रिपोर्टिङमा गएका रिपोर्टरहरूलाई मञ्चमा अतिथिको आसन ग्रहण गराएर भाषण नै गर्न लगाउँथे। कुनै पनि कार्यक्रममा रासस नपुगेसम्म अहिले टेलिभिजनलाई कुरेजस्तो गरी कार्यक्रम नै सुरू गर्दैनथे। दरबारको समाचारले निकै नै प्राथमिकता पाउँथ्यो। समाचार लिनका लागि महाप्रबन्धक नै जान्थे। दरबारको समाचार बिग्रिएमा सम्पादक वा समाचारदाता कसैको पनि जागिर धरापमा परिहाल्थ्यो।
एक पटक म जिल्ला गएर गरेको रिपोर्टिङको दरबारमा चर्चा चलेछ। राजा वीरेन्द्रलाई नै यो कुरा थाहा दिइएछ। त्यसपछि विसं २०३२ तिर राजा वीरेन्द्रको युगोस्लाभियाको भ्रमणमा मेरो नाम सिफारिस गरेछन्। पछि मलाई थाहा भयो। धेरैले मलाई बधाई दिए पनि मेरो मनमा खुसी भने थिएन। स्वदेशमै अङ्ग्रेजी नजानेर कतिपय रिपोर्टिङमा दुःख पाइरहेको मैले विदेशबाट समाचार कसरी पठाउने भन्ने समस्याले मेरो मनमा निकै ठूलो पिर थियो। त्यो राससकालाई त थाहा थियो तर अरूलाई के थाहा ? म त मेरो नाम त्यो विदेश भ्रमणबाट काट्न लगाउने पक्षमा थिएँ। तर पनि पछि थाहा भयो कि राइजिङ नेपालका सम्पादक पनि सो भ्रमणमा रहेकाले उनको सहयोग पाउने आशले गएँ। पछि भनेजस्तै नै भयो। उनको सहयोगले मैले पनि राम्रैसँग समाचार पठाउन सकेँ।
मैले राससमा विसं २०२० देखि सेवा सुरू गरेर २१ वर्षसम्म बसेँ। राससमा रहुञ्जेलको मेरो जागिर भनेको समाचारदाता र प्रमुख समाचारदाता नै हो। मेरो अहिलेको पहिचान नै राससले बनाएको हो। देशको एकमात्र समाचार समितिका रूपमा रहेको राससमा रहेर काम गर्दा त्यसले दिएको पहुँच र पहिचान नै मेरा लागि र मलाई लाग्छ राससमा लामो समयसम्म रहेर काम गर्नेहरूका लागि पनि निकै नै ठूलो सम्पत्ति हो।
म प्रमुख समाचारदाता त भएँ तर अब भने मलाई फसाद पर्यो। एक त अङ्ग्रेजी नजान्ने मान्छे त्यसैमा पनि अब झन् ठूला एवं प्रमुख समाचारहरूमा जानुपर्ने भयो। विदेशीहरूको सहभागितामा हुने कार्यक्रमको समाचार लेख्नका लागि म जानुपर्ने तर अंग्रेजी नआउने। अङ्ग्रेजीलाई पनि मैले नेपाली शब्दमै लेख्थेँ। कार्यालयमा ल्याएर अंग्रेजी सम्पादकलाई सोध्ने र पछि नेपाली बनाउने समेत गर्दथेँ। एकपटक संयुक्त राष्ट्रसङ्घका महासचिव उ थान्त नेपाल आउँदा सो समाचार लेख्नेमा म परेँ। उनले भनेको अंग्रेजीलाई मैले नेपाली शब्दमा जस्तो कि (आइ एम ह्याप्पी टु बि इन नेपाल) लेखेर ल्याएँ। राससमा आएपछि अंग्रेजी सम्पादकको सहायताले नेपाली बनाएँ। यसमा मैले एउटा जुक्ति के लगाउथेँ भने म आफूले नबुझेको समाचार दिँदैनथे। बुझेर ढुक्क भएपछि मात्र दिन्थेँ। यसकारण समस्या भने पर्दैनथ्यो।
तर एक पटक भने म झण्डै फसेकै हो। प्रधानमन्त्री कीर्तिनिधि विष्ट चीनबाट फर्केर आउँदा म विमानस्थल गएको थिएँ समाचारका लागि। उहाँले माओत्से तुङ नेपाल आउन चाहनुभएको छ भनेर ‘इफ माइ हेल्थ पर्मिटस्’ भन्नुभएको रहेछ। मैले पछिको अङ्ग्रेजी बुझिनँ, माओत्से तुङ नेपाल आउने भनेर समाचार दिएँ। उहाँले रेडियो नेपालमा समाचार सुन्नुभएछ, मलाई फोन गर्नुभयो। उहाँले भन्नुभयो, 'ए भैरव बाबु मैले त स्वास्थ्यले साथ दियो भने मात्र आउन चाहनुभएको छ भनेको थिएँ नि त।' 'मैले अंग्रेजी बुझिनँ हजुर माफ पाउँ' भनेँ। पछि खासै धेरै आपत्ति नजनाएकाले त्यति समस्या भने परेन। मलाई अंग्रेजी जान्दैन भन्ने थाहा पाएकाले पछि उहाँले मलाई सबै नेपालीमै भन्दिनुहुन्थ्यो।
भारतका राष्ट्रपति डा सर्वपल्ली राधाकृष्णन्, डा मुरारजी देसाईं नेपाल आउँदा पनि अंग्रेजी नजानेर नै मैले धेरै दुःख पाएको छु। तर पनि भाषा बुझ्दिनँ भनेर म पछि हट्दैनथेँ, रिपोर्टिङमा जान्थेँ नै। पछि पछि त केही बुझ्ने पनि भएको थिएँ।'

एकराज पाठक।