हामी किशोरावस्थामा गाउँमा रहँदा गाई-भैँसी चराउन जाने, घाँस-दाउरा लिन वनमा जाने, खेतमा खनजोत गर्न जाने, धान खेतमा दैनिक पानी पट्याउन जाने, खेतबाट धान र पराल ओसार्नेदेखि तमाम कामहरू गर्नुपर्दथ्यो। हाम्रो परिवार मध्यमवर्गको थियो, त्यसैले काम नगरी सुखै थिएन।
हाम्रो परिवार ठुलै थियो। आमा-बाका जन्मिएका चौध भाइबहिनीहरूमध्ये छ जना सानैमा बितेपछि हामी बाँकी रह्यौँ चार भाइ र चार बहिनी अर्थात् कुल आठ जना भाइबहिनी। पिताजी किसान, शिक्षक, ज्योतिष, पण्डित त छँदै हुनुहुन्थ्यो, २०२४ सालपछि उहाँले शिक्षण पेसा छोडेर पसल खोल्नु भयो।
गोठमा चौपाया हुन्थे, भैँसी लैनो र बकेर्नू रहिरहने हुँदा घरमा दूध, दही, घ्यू, मही कहिल्यै पनि टुट्दैनथ्यो। म रोल्पाको खुंग्रीस्थित जन्मघरमा रहँदासम्म अर्थात् २०४० सालसम्म बाख्रा पाल्ने काम भने भएन। हाम्रो घर अगाडिको बाटो हुँदै ढाकर बोकेर हटारु अर्थात् ढाक्रेहरू ताँती लाग्दै हिँड्दै दाङको कोइलाबासमा गएर नुन-तेल, चिनी लिएर आउँथे। कोइलाबास जाँदा उनीहरूले तीते अर्थात् चिराइतो लगायतका अन्य जडीबुटीहरू बोकेका हुन्थे।
हामीहरूले हटारुहरूसँग चिराइतो मागेर मुखमा हाल्थ्यौँ र चाख्थ्यौँ। त्यो चिराइतो निकै तितो लाग्थ्यो, सायद औषधियुक्त भएर नै होला। घर अगाडिको बाटोमा केही सुस्त मनस्थिति भएका किशोर-किशोरी, युवा-युवतीहरू र अधबैँसेहरू पनि फाट्टफुट्ट ओहोरदोहोर गर्दथे। उनीहरू हाम्रो घरमा आएपछि आमाले केही खानेकुरा दिनुहुन्थ्यो। उनीहरूले हाम्रो काममा सघाउ पुर्याउँथे र बिस्तारै हाम्रो घरमा आश्रय लिने गर्थे।
कोही कान नसुन्ने, कोही बोल्न नसक्ने आउँथे। असहाय समेत रहेका उनीहरूलाई साथमा लिएर हामी पनि आफै काम गर्थ्यौँ। दुई/चार जना त खुंग्रीकै हिलेबाट आएर हाम्रो घरमा आश्रय लिएर बसेका थिए। उनीहरूको जीविकोपार्जन गर्ने अरू विकल्प केही पनि थिएन। घरमा सघाउ पुर्याए बापत उनीहरूलाई खाने-लाउने व्यवस्था हुन्थ्यो।
उनीहरूको चित्त दुख्ने गरी कुनै पनि व्यवहार हामीहरूबाट हुँदैन थियो, उनीहरू खुसी नै थिए। पछि उनीहरू कता-कता गए थाहा भएन। तर तिनीहरूको सम्झना मेरो मानसपटलमा ताजै छ। एक जना ‘मुन्ना’ नाम गरेका किशोर पनि हाम्रो घरमा रहन्थे। रेडियो नेपालबाट बज्ने गरेको ‘यो दाजुको मिर्मिरे भाखा… नरोऊ मायालु’ बोलको गीत मुन्नाले गाइरहन्थे। उनले हामीलाई अरू कलाहरू समेत देखाउँदथे।
हामी मुन्नालाई आफ्नै परिवारको सदस्य जस्तै व्यवहार गर्थ्यौँ। मुन्नाकी आमाले श्रीमान् छोडेर अर्कैसँग दोस्रो विवाह गरेपछि मुन्ना बिचल्लीमा परेकाले हामीले उनलाई आश्रय दिएका थियौँ। पछि उनी भारतको नयाँदिल्लीमा ट्रकले किचेर मृत्यु भएको खबर पाउँदा मलाई निकै दुःख लागेको थियो।
मभन्दा दुई वर्ष जेठा ‘काला’ नाम गरेका व्यक्ति अहिले हाम्रो घरनजिक रहेको सानिमाको घरमा रहने गरेका छन्। उनी असहाय छन्, उनको घरपरिवार छैन, निकै सिधा देखिने काला सधैँ हँसिलो अनुहारमा रहन्छन्, बोल्न त्यति सक्दैनन्। मेरो कपाल झरिसक्यो, तालु खुइलिइसक्यो तर मभन्दा जेठा कालाको कपाल फुलेको छैन र झरेको पनि छैन। सायद उनमा चिन्ता र तनाव भन्ने कुरा छँदै छैन र उनमा कुनै पनि जिम्मेवारी छैन।
उनको नागरिकता नभएकोले सो कार्यका लागि पहल भइरहेको छ। किनकि निकट भविष्यमा उनको वृद्धभत्ता पाउने उमेर हुँदै छ। हुन त उनले रकम सुरक्षित राख्ने अवस्थाका छैनन्। उनको अर्को नाम छैन, सबैले काला भनेर सम्बोधन गर्दछन्। उनलाई मैले काठमाडौँबाट घर जाँदा कहिले बाँसुरी लगिदिन्थेँ त कहिले पोसाक पनि लगिदिन्थेँ। म दश वर्षपछि गाउँ जाँदा पनि उनले मलाई चिनिहाल्छन्।
‘मलाई चिन्छौ काला?’ भनेर सोध्दा ‘इस्माली माइला!’ भनिहाल्छन्। एक किसिमले भन्नुपर्दा उनमा स्मरण शक्ति पनि छ। अर्को किसिमले भन्नुपर्दा होस नभए जस्तो पनि लाग्छन् काला। तर वर्षौँसम्म भेट नभएका मान्छे चिन्ने क्षमता भएका मान्छे हुन् उनी। बेसहारा र बिचल्लीमा परेका किशोर-किशोरी र युवा-युवतीहरू बाटोमा त्यत्तिकै हिँडिरहेको हामीले देखेपछि र उनीहरूले आश्रम लिन खोजेको संकेत दिएपछि हामीले आश्रय दिनु मनासिब नै लाग्दथ्यो।
२०३५ सालअघि भालुबाङ-रोल्पा सडक निर्माणको क्रममा हाम्रो बस्तीभन्दा उत्तरतिर रहेको भीरपाटी खण्डमा चट्टानहरू फोड्ने काम भइरहेको थियो। बाटो बनाउनका लागि झप्पल अर्थात् साप्लो, गैँटी अर्थात् पिक, बेल्चा अर्थात् साबेल प्रयोग हुन्थ्यो।
आठ कक्षा पढ्दादेखि एसएलसी परीक्षा अगाडिसम्म कतिपय साथीहरू बाटो निर्माण कार्यमा श्रमिक भएर पनि घर खर्च जुटाउने र विद्यालयमा पढ्न आउनु हुन्थ्यो। सुरु सुरुमा श्रमिकहरूद्वारा ठुला खालका घनले ती चट्टान अर्थात् ढुंगा फोड्ने काम हुन्थ्यो भने अलि पछि डाइनामाइट विस्फोट गराएर ती चट्टानहरू फोड्ने काम भयो।
श्रमिकहरूले ढुंगामा छिनोको सहायताले प्वाल पारेर त्यसभित्र बमको लोला छिराउने र फ्युज तारको टुप्पोमा सलाईले छिटो छिटो सल्काउँदै हतार हतार हिँड्दै वर खोल्सा वा रुखको फेदमा ओत लाग्ने गर्दथे। केही छिनमा ड्याम्म आवाज आउँथ्यो भने आवाजसँगै ढुंगाका साना-ठुला टुक्रा हामीतिर हुत्तिएर आउँदा हामीलाई डर लाग्थ्यो। लाग्थ्यो कि आकाशबाट ढुंगाहरू बर्सिरहेका छन्।
‘ड्याम्म… सो….रो…रो….रो’ को आवाज घरीघरी हाम्रो बस्तीतिर सुनिन्थ्यो। हामी घरायसी व्यवहारका सिलसिलामा भीरपाटीको बाटो ओहोरदोहोर गरिरहनु नै पर्दथ्यो। चट्टानमा विस्फोट गर्दाका बखत ठेकेदार वा सहायक ठेकेदार अर्थात् मेठले हामीलाई छेउतिर रोक्थे र भन्थे- ‘बम पड्किँदै छ, बचेर बस्नु।’
विस्फोट हुने समयमा हामी घरबाट भीरपाटी हुँदै उत्तरतिर जाँदा वर, पिपल र समीको ओत लागेर बस्थ्यौँ। उत्तरतर्फ विस्फोट हुन्थ्यो भने हामी रुखहरूको फेदमा दक्षिणतिर फर्के बस्थ्यौँ। बम विस्फोटको ठुलो आवाज सँगसँगै हाम्रै वरिपरि ढुंगाका टुक्राहरूको वर्षा हुन्थ्यो।
उमेरले हामीभन्दा ठुला युवाहरूले लुंग्री नदी र माडी नदीमा बम विस्फोट गराएर माछा मार्दथे। एक पटकको विस्फोटमा कहिलेकाहीँ एक डोका माछा समेत मर्दथे। रहको सतहमा विस्फोट हुँदा बित्तिकै पानीमाथि सेताम्मे माछा तैरिन्थे। हामी पनि पौडिँदै ती माछा समातेर बगरमा फाल्थ्यौँ र एक जनाले माछा एकत्रित गर्दथे।
एक पटक हामीलाई पनि रहमा बम पड्काएर माछा मार्न मन लागेपछि कसैसँग बम प्राप्त गरेपश्चात् माडीचौरको अलि मुनि माडी नदीको रहमा ढुंगामा बम बाँधेर फ्याँक्यौँ। तर ढुंगा फुत्किएर बम पानीमाथि नै तैरियो। सल्काएको आगोको धुवाँ उड्दै थियो, हामीलाई डर लाग्यो र परपर भाग्यौँ। पानीमाथि नै बम पड्कियो र पानी छितरिएर वरपर उछिट्टियो। पहरा थर्कियो, कानै फुट्ला जस्तो आवाज आयो र बम पड्काएर माछा मार्ने हाम्रो योजना विफल हुन पुग्यो।
भीरपाटीको सडक निर्माणको जिम्मा लिने ठेकेदारहरूबाट हामीले बम माग्थ्यौँ; कहिले ठेकेदार अमर थापासँग त कहिले ठेकेदार तोयराम थापासँग। अमर थापा र मेरो नाम एउटै भएकोले मैले मित लगाए झैँ गर्थेँ र बम प्राप्त गर्थेँ।
माछा मार्ने अन्य विधिहरूमा घरुवा थाप्ने, भुप थाप्ने, दुवाली थुन्ने, बल्छी थाप्ने, पत्थरचट्टा हान्ने हुन्थ्यो भने कोही कोही जलारीले पानीमा जाल फ्याँकेर माछा समाउँथे। दुवाली थुन्दा कहिलेकाहीँ झिँगेमाछा पनि फेला पर्दथे। कहिलेकाहीँ चिल्ने माछा (स्पर्श गर्दा सिस्नोले पोले झैँ हुने) पनि फेला पर्दथे। माछाका अन्य जातमा मनेरा (सुनौलो), नकटा, मिल्की (कत्ले), गोँज, गडेरा, बाम पनि फेला पर्दथे।
कुनै माछा त सर्पजस्तो लामो पनि हुन्थे जसलाई हामी रिम भन्दथ्यौँ। त्यो माछा पकाएर खाँदा सर्पको सम्झना आउँथ्यो र खानै दिगमिग लाग्थ्यो। कहिलेकाहीँ बगर छेउमा आगो बालेर माछा पोलेरै पनि खाइन्थ्यो। जाबी (जालीवाला सानो झोला) मा माछा लिएर गाई-गोरु धपाउँदै घर जान्थ्यौँ। माछा थोरै भएको खण्डमा साथीहरूले ‘सिन्की रंग्याउने मात्रै भयो’ भन्दै थोरै माछा लिएर घरतर्फ लाग्दथे। माछाको मात्रा छाक नपुग्ने अवस्थामा सिन्की मिसाएर पनि पकाउने चलन थियो।
कानमा पसेको पानी यसरी निकाल्थ्यौ
लुंग्री नदीको रहमा पौडी खेल्ने क्रममा डुबुल्की मार्नु, पानीको रहको पीँधमा पुगेर दर्सिङढुंगा (दर्शनढुंगा) निकालेर बहादुरी देखाउने खेल वा कला पनि हुन्थ्यो। १२/१५ फिटमाथिको ढिस्कोबाट रहमा हाम फाल्दा होस् वा डुबुल्की मारेर होस् हाम्रो कानमा पानी पस्नु स्वाभाविकै हो। कानमा पानी पसेको खण्डमा हामी बगरमा आएर पातला खालका साना र च्याप्टा ढुंगा पानी पसेको कान बाहिर टाँस्ने र कानलाई कोल्टो पार्दै अर्को सानो ढुंगाले बिस्तारै ट्वाक-ट्वाक पारेर कानको पानी झार्थ्यौँ। सायद त्यति बेला जथाभाबी पौडी खेल्दा नै होला अहिले पनि कानमा बेलाबेलामा समस्या आई नै रहन्छ।