आजको नेपाली समाजमा विवाह केवल सामाजिक परम्परा होइन, अब जीवनशैलीको चुनाव र भविष्यको सुनिश्चितताको प्रतीक बन्दै गएको छ। विशेष गरी युवतीहरूका लागि जीवनसाथी रोज्ने मापदण्ड दिन प्रतिदिन बदलिँदै छन्।
अहिलेको परिवेशमा धेरै युवा/युवतीहरू सम्पन्नता, वैदेशिक स्थायित्व र उच्च सामाजिक स्थिति भएका महिला/पुरुषप्रति आकर्षित देखिन्छन्। यसले नेपालमै श्रम गरेर बसिरहेका वा खाडी मुलुकहरूमा श्रम गर्न गएका धेरै युवाहरूको बिहेको सम्भावनामा गम्भीर प्रश्नचिन्ह खडा गरिरहेको छ।
अघिल्लो पुस्तामा विवाह प्रेम, पारिवारिक समझदारी र सामाजिक मेलमिलापको विषय हुन्थ्यो। तर आजको पुस्तामा विवाह धेरै हदसम्म ‘सुरक्षित भविष्यको ग्यारेन्टी’ को रूपमा हेर्न थालिएको छ। पढेलेखेकी, आत्मनिर्भर बन्न खोजेकी युवती अब आफ्नो जीवनसाथीबाट पनि त्यस्तै स्तरको सोच, आम्दानी र जीवनशैलीको अपेक्षा राख्छिन्।
वैदेशिक बसाइ, स्थायी भिसा वा विदेशमा राम्रो जागिर भएकाहरूलाई प्राथमिकता दिइन्छ। यसले गर्दा नेपालमै संघर्ष गर्दै बसेका वा खाडी मुलुक गएका युवाहरूको ‘योग्यता नपुगेको’ मानिने अवस्था सिर्जना भइरहेको छ। यद्यपि ती युवाहरू इमानदार, मेहनती र कर्तव्यनिष्ठ छन् तर आर्थिक हैसियत वा वैदेशिक ‘ब्रान्ड’ नभएको कारणले उनीहरूलाई विवाहको प्रतिस्पर्धाबाट ओझेलमा पारिन्छ।
खाडी मुलुकहरूमा लाखौँ नेपाली युवा पसिना बगाइरहेका छन्, परिवार पालिरहेका छन्, घर बनाउन, छोराछोरी पढाउन आफ्ना जीवनका महत्त्वपूर्ण वर्षहरू समर्पण गरिरहेका छन्। तर जब विवाहको कुरा आउँछ, उनीहरूलाई अक्सर ‘पछाडि परेका’ मानिन्छ। वैदेशिक जीवन सुरक्षित नभएको, स्थायित्व नहुने, र ‘भविष्य अनिश्चित’ भन्ने आरोप उनीहरूमा थोपरिन्छ।
यसै सन्दर्भमा, एक जना राम्रै कमाइ गरिरहेको, लगनशील र घर–सम्पत्तिमा पनि सम्पन्न युवकको लागि केटी पक्षसँग विवाहको कुरा चल्दा एउटा रमाइलो तर गम्भीर सन्देश दिने प्रसंग आएको थियो। जब केटी पक्षले सोध्यो, ‘केटा कहाँबाट आएको?’ जवाफ आयो, ‘कतारबाट।’
त्यसपछि केटी पक्षको रमाइलो उत्तर आयो— ‘अरू त बाबुको सबै राम्रो रहेछ, आउने बाटो थोरै फरक परेछ, कतारबाट नभएर अस्ट्रेलिया बाट आएको भए बिहेको बारेमा सोच्न सकिन्थ्यो।’ यो भनाइ हास्य त सुनिन्छ तर भित्र गहिरो व्यङ्ग्य लुकेको छ— मान्छेको गुण होइन, उसले टेक्ने भूमिको ब्रान्डलाई प्राथमिकता दिने मानसिकता समाजमा बलियो बन्दै गएको छ।
आजको समय यस्तो आइपुगेको छ कि विवाह केवल सम्बन्धको कुरा नभएर भाग्यको खेल जस्तो लाग्न थालेको छ। एक जना साथीले हँसिलो पारामा व्यङ्ग्य गर्दै भनेका थिए— ‘अब त बिहे हुनु पनि चिट्ठा पर्नु जस्तै भइसक्यो!’
जब देशमै काम गरेर बसेका, संघर्ष गरेका, इमानदार युवाहरूलाई केवल ‘हैसियत’ र ‘ब्रान्ड’ नपुगेको कारणले पन्छाइन्छ तब बिहे न्याय होइन, भाग्यको कुरा बन्न पुग्छ।
एक अर्को गम्भीर पक्ष; भ्रूण हत्या र लिंग असन्तुलनलाई पनि लिन सकिन्छ समाजशास्त्र हिसाबले हेर्दा। बिहे गर्न केटी नपाइने अवस्था सिर्जना हुनुका पछाडि केवल आर्थिक वा वैदेशिक मापदण्ड मात्र होइन, लैङ्गिक असन्तुलन पनि एक कारण हुन सक्छ। नेपालको सन्दर्भमा सुरक्षित गर्भपतनसम्बन्धी कानुन महिलाको अधिकार र स्वास्थ्यका लागि महत्त्वपूर्ण उपलब्धि हो। तर केही वर्षसम्म त्यस कानुनको आडमा लिंग पहिचान गरी छोरी भए भ्रूण हत्या गर्ने घटनाहरूको आशंका र आलोचना पनि भइरहे।
गाउँघरका केही स्वास्थ्य केन्द्रहरू, निजी क्लिनिकहरू वा बाह्य प्रभावमा परेका परिवारहरूबाट छोरीको भ्रूण हटाइएको भन्ने आरोपहरू निरन्तर सुनिँदै आएका थिए। यद्यपि यो राष्ट्रिय तथ्यांकमा पूर्ण रूपमा प्रमाणित छैन, तथापि दीर्घकालीन रूपमा यस्तो प्रवृत्तिले महिलाको संख्या घटाउने आधार बन्यो— जसको असर अहिले विवाह गर्न केटी पाउन गाह्रो हुने स्थितिमा परिणत हुन थालेको हुन सक्छ।
समस्या गम्भीर भए पनि समाधान असम्भव भने होइन। मुख्य कुरा सामाजिक चेतना परिवर्तन हो। विवाहमा केवल आर्थिक हैसियत हेर्ने होइन, सोच, व्यवहार र परिश्रम जस्ता मूल्यमा पनि जोड दिनु पर्छ। देशमै मेहनत गरेर आत्मनिर्भर बन्ने युवा प्रशंसा र स्वीकृतिको पात्र बन्न सक्नुपर्छ। साथै, नेपालमै रोजगारी सिर्जना र स्थायित्व दिने नीति अपनाउने हो भने विदेश जानु पर्ने बाध्यता कम हुनेछ। आत्मनिर्भर र विवेकशील समाज निर्माण गर्न सकिन्छ, जहाँ बिहे धनको होइन मनको कुरो हुनेछ।
समृद्धिको नाममा मानिसको मानवता र सम्बन्धको मूल्यलाई बेवास्ता गर्नु दुखद यथार्थ हो। विवाह केवल धनको हैसियतमा होइन, व्यक्तित्वको गहिराइमा आधारित हुनुपर्छ। खाडी गएका वा नेपालमै इमानदारीपूर्वक श्रम गर्ने युवालाई तुच्छ ठान्ने सोच अन्त्य गर्नु अहिलेको आवश्यकता हो।
समाजमा आज विवाहको मापदण्ड हेर्ने दृष्टिकोणले चरम रूप लिन थालेको छ। केवल आर्थिक स्तर, बसोबास र विदेशलाई प्राथमिकता दिने सोचले गर्दा राम्रो मान्छेहरू गुम्दै छन् र सम्बन्धहरू खोक्रिँदै छन्। समय छ— सोच बदलौँ, सम्पत्तिको होइन, व्यक्तित्वको मूल्य गरौँ। नत्र विवाह ‘पारिवारिक सन्धि’ होइन, चिट्ठा सिस्टम बन्न पुग्नेछ!