भत्किएका भित्ताहरू र टुक्रिएका मुटुहरूका बीचमा हामीले अपराजय आशा र शून्यबाट सिर्जना गर्ने साहस फेला पार्यौं।
सन् २०१५ अप्रिल २५ (२०७२ वैशाख १२) मा ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पले नेपाल हल्लियो। आठ दशकमा नेपालले भोगेको सबभन्दा ठूलो विपत्ति त्यही थियो।
त्यो भूकम्पमा करिब नौ हजार जनाको ज्यान गयो, कम्तीमा २२ हजार जना घाइते भए। पुराना धेरै बस्ती र मन्दिरहरू ध्वस्त भए। धेरै विद्यालय र स्वास्थ्य संस्थाका भवनहरू क्षणभरमै माटोमा मिसिए।
समग्रमा असी लाखभन्दा बढी मानिस प्रभावित भए। देशको लगभग एक तिहाई जनसंख्या थातथलोबाट विस्थापित भयो।
म त्यस बेला इन्डोनेसियामा मेरो कार्यालयको इमर्जेन्सी र महामारी व्यवस्थापन कार्यक्रमको प्रमुख र प्राविधिक थिएँ।
नेपालमा भूकम्प आएको खबर पाउनासाथ आफूलाई तुरून्तै नेपाल नेपाल पठाइदिन आफ्नो कार्यालयमा अनुरोध गरेँ। तरून्तै नेपाल आउनु मेरो कर्तव्य मात्र थिएन, आफ्नो आत्माको आवाज पनि थियो।
मेरो कार्यालयको आपतकालीन व्यवस्थापन टोलीको हिस्सा भएर म सन् २०१५ मे १ मा म नेपाल आइपुगेँ। म भूकम्पले सबभन्दा धेरै क्षति भएको सिन्धुपाल्चोक जिल्लामा खटिएँ।
म झन्डै एक महिना सिन्धुपाल्चोकको चौतारालाई आफ्नो मुकाम बनाए कुलचोक, नवलपुर, शिखरपुर, मेलम्ची, भीमटार लगायतका ठाउँमा पुगेँ। स्थानीय स्वास्थ्यकर्मीहरूसँग काम गरेँ।
तीमध्ये धेरैले आफ्ना घर र आफन्त गुमाएका थिए। तैपनि उनीहरू समुदायको सेवामा तत्पर थिए। उनीहरूको साहस र समर्पण देखेर म गहिरो रूपमा प्रभावित भएको थिएँ।
मैले व्यक्तिगत पहलमा स्थानीय संस्था 'रिड नेपाल' सँग सहयोगका निम्ति अनुरोध गरेँ। संस्थाले तुरून्तै स्वयंसेवक दुर्गेश योगीलाई पठाइदियो। उहाँले हामीलाई ठूलो सहयोग गर्नुभयो। उहाँको साथबिना हामी अत्यावश्यक कतिपय काम सम्पन्न गर्न सक्ने थिएनौं।

सिन्धुपाल्चोक भूकम्पका कारण बर्बादीको र मेरालागि दृढताको प्रतीक बनेको थियो। बच्चाहरू जन्मिँदै थिए। घाइतेहरू उपचारको प्रतीक्षामा थिए। महामारीको खतरा बढ्दै थियो।
जमिन लगातार काँपिरहे पनि जीवन त अगाडि बढ्नै पर्थ्यो।
सिन्धुपाल्चोकमा मात्र ३४ सयभन्दा बढीको ज्यान गुमेको थियो, ६५ हजारभन्दा बढी घर ध्वस्त भएका थिए।
जिल्लामा रहेका ११६ वटा स्वास्थ्य संस्थामध्ये थोरै मात्र क्रियाशील थिए, त्यो पनि आंशिक रूपमा। स्वास्थ्य सेवा करिब जर्जर थियो।
जे अधिकतम सम्भव थियो, त्यही हामीले गर्यौं। अस्पतालहरू टेन्टमा परिणत भए। क्षतिग्रस्त एउटा तालिम केन्द्र र कोल्ड चेन रूम हाम्रा अस्थायी कार्यकक्ष भए। एउटा पुरानो प्रिन्टर बक्स मेरो डेस्क बन्यो।
हामीले टेन्टमुनि बसेर परकम्पन र प्रारम्भिक मनसुनी वर्षा झेल्दै काम गर्यौं। म अझै सम्झन्छु, दोस्रो भूकम्प (मे १२) ले जिल्लामा बाँकी रहेका स्वास्थ्य कार्यालय पनि ढालेर हाम्रो कार्यलय त्रिपालमा सरेको।
खाली जमिनबाट स्वास्थ्य सेवा
'स्वास्थ्य तथा पोषण क्लस्टर' संयोजकका रूपमा मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारहरूको समन्वय गरेँ। सेवाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूको बाढी नै आएको थियो। तिनको समन्वय गरेर काम गर्नु–गराउनु सहज थिएन तर गर्नै पर्थ्यो।
हामीले नौ वटा अत्यावश्यक क्लस्टर बैठक आयोजना गर्यौं। सञ्चार लाइनहरू पुनर्स्थापना गर्यौं। स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ, आवास, सुरक्षासहितका धेरै क्षेत्रमा समन्वय गर्यौं। स्वास्थ्य सेवा धरापमा परेपछि बाँकी सबै काम पन्छिन्छ भन्ने मान्यतका साथ हामीले दिलोज्यानले काम गर्यौं।

संकटमा जीवनरेखा बन्यो मोबाइल फोन
धेरै संरचना, तारवाला टेलिफोन र अन्य सञ्चार प्रणाली नष्ट भएको थियो। हामीले मोबाइल फोनमार्फत एउटा उपाय अपनायौं।
हामीले एसएमएसमा आधारित 'प्रारम्भिक चेतावनी तथा प्रतिक्रिया प्रणाली' स्थापना गर्यौं। त्यसमा सुरूको चौबीस घण्टामा नौ वटा गाविसहरू जोड्यौं। त्यही प्रणालीमार्फत स्वास्थ्यकर्मीहरूले साधारण कोड पठाएर झाडापखाला, श्वासप्रश्वास सम्बन्धी र अन्य सम्भावित महामारीका घटना रिपोर्ट गर्न सके।
हामीले २४ घण्टाभित्रै तालिम दिएर त्यो प्रणाली सञ्चालनमा गरेका थियौं।
म इन्डोनेसिया सरकारका लागि प्रारम्भिक चेतावनी तथा प्रतिक्रिया प्रणाली (इडब्लु एआरएस) स्थापित गर्ने एक प्राविधिक पनि थिएँ। यो प्रणाली निकै सस्तो पर्छ र संकटमा मानिसको ज्यान जोगाउन प्रभावकारी सावित भएको छ।
हामीले समयमै चेतावनी पाएर प्रतिक्रिया टोली खटाउन सक्यौं। एउटा सानो तर महान नवप्रवर्तन गर्न सक्यौं। त्यति ठूलो संकटमा पनि महामारी भएन।
रोग, थकान र निराशासँग युद्ध
हरेक दिन नयाँ चुनौती आइरहन्थ्यो। गोदामहरू सामग्रीले भरिएका थिए तर वितरण योजना थिएन। हामी आफैले भुइँमा बसेर राहत सामग्री प्याक गर्यौं र हेलिकप्टरमार्फत गाउँमा पठायौं। बिजुली अभावले कोल्ड चेन प्रणाली जोखिममा थियो। जेनरेटरले जीवन बचायो।
स्वास्थ्यकर्मीहरूले टेन्टमा बसेर चौबीसै घण्टा काम गरे। समयमा खान नपाए पनि र न्यूनतम आराम नपाए पनि काम गरे। त्यस्तो चापमा उनीहरू थकान महसुस गर्दै थिए।
यस्तो चापमा मैले साथी डा. प्रमोद खनाललाई अनुरोध गरेँ। उहाँ तुरून्तै आएर सिंगो जिल्लाका स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्नुभयो। मलाई त सहयोग भइगयो। अनेक कठिनाइबीच पनि स्वास्थ्यकर्मीहरूको आत्मा कहिल्यै टुटेन। उनीहरू भोक, तिर्खा, थकान र निजी दुःख बिर्सेर सेवामा खटे। सम्भव भएसम्म बढी काम गरे।'
सम्मानसाथ पुनर्निर्माण
हामी आफू जसरी पनि बाँच्नुपर्छ भन्नेमा केन्द्रित थिएनौं। आफ्नो ज्यान जोगाउनु त छँदै थियो, मानवीय सम्मान पुनर्स्थापना पनि गर्नु थियो। हामीले प्रजनन केन्द्रहरू पुनः सञ्चालन गर्यौं। महिला स्वास्थ्य स्वयंसेविकामार्फत मानसिक स्वास्थ्य सहायता सुरू गर्यौं।
स्वयंसेविकाहरूको त्यो योगदानबाट र अन्यबाट प्रेरित भएर मैले ल्यान्सेटमा एउटा लेख पनि लेखेको छु।
खोप कार्यक्रम र पोषण सेवा फिर्ता ल्यायौं। बाढी र महामारीको सम्भावना ध्यानमा राखेर महामारी नियन्त्रणका किटहरू पूर्वतयारीमा राख्यौं।

सहयोगको भिड व्यवस्थापन
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगको बाढी थियो तर अधिकांश सजिलो ठाउँ रोज्थे। जिल्ला प्रमुखहरूसँग मिलेर हामीले आवश्यकताको नक्सा बनायौं। सहयोग गर्न चाहनेलाई कठिन र पहुँचबाट टाढा परेको ठाउँमा खटायौं। केहीले गुनासो गरे तर सबैले नियम माने।
त्यस्तो उपायले सबैभन्दा जरूरी ठाउँमा सहायता सामग्री पुर्याउन सकियो।
सिकाइ
सन् २०१५ को भूकम्पले नेपालमा प्रकोप व्यवस्थापनका कमजोरीहरू उजागर गर्यो। साथै हाम्रो बलियो पक्ष पनि देखायो। मानिसको धैर्य, संकटमा नवप्रवर्तन र सहकार्यको शक्ति निकै बलियो देखियो।
हाम्रा केही सिकाइहरू कार्यान्वयन भएका छन्।
डिजिटल र मोबाइलमा आधारित प्रारम्भिक चेतावनी प्रणाली सुदृढ हुँदै गएको छ। भूकम्प प्रतिरोधी स्वास्थ्य संरचनाहरू निर्माण भएका छन्।
स्वास्थ्यकर्मीहरूको सुरक्षा र सशक्तीकरणमा लगानी बढेको छ। आपूर्ति व्यवस्थापन सुधार भएको छ। स्वास्थ्य, पानी, सरसफाइ, आवास र मानसिक स्वास्थ्यबीच समन्वय मजबुत हुँदै गएको छ। यी पक्ष अझ चुस्त बनाउनुपर्ने छ। यसमा अझै धेरै काम गर्न सकिन्छ।
नेपालले प्राकृतिक प्रकोप र महामारी व्यवस्थापनमा केही प्रगति गरेको छ तर जोखिम अझै बाँकी छ। विनाशकारी भूकम्पको एक दशक बितिसकेको छ। सिन्धुपाल्चोकका अनुहारहरू, संघर्ष र आत्मा आज पनि मेरो हृदयमा ताजा छन्।
मेरो त्यो छोटो कार्यकालमा पनि जिल्ला स्वास्थ्य कार्यालयका तत्कालीन प्रमुख डा. सागरराज भण्डारी, जनस्वास्थ्य प्रमुख मंगला मानन्धर र उहाँहरूका टिमबाट राम्रो सहयोग प्राप्त भयो।
संकटको त्यो घडीमा प्राविधिक सहयोग र समन्वयको अवसर दिएकोमा म नेपाल सरकारप्रति आभार व्यक्त गर्छु। राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्था पनि धन्यवादका पात्र छन्। विशेष धन्यवाद दुर्गेश योगी र डा. प्रमोद खनाललाई छ।
त्यस बेला भूमि हल्लियो तर हाम्रो आत्मा हल्लिएन त्यसैले त हामीले संकटमा पनि केही योगदान गर्न सक्यौं!
(लेखक डा. निर्मल कँडेल स्विट्जरल्यान्डको जेनेभामा कार्यरत मेडिकल इपिडेमियोलोजिस्ट र मानवशास्त्री हुन्।)
एक्सः @kandelnirmal