‘गुरुजी हजुरको नाम के हो? कति बेला खाँदबारी पुर्याउनु हुन्छ?’ मैले सप्तकोसी माइक्रोका चालकसँग यात्रुले सोध्ने स्वाभाविक प्रश्न तेर्साएँ।
दोस्रो प्रश्नलाई बेवास्ता गर्दै गुरुजीले पहिलो प्रश्नको जवाफ दिए– ‘रक्तिम...रक्तिम लामा।’
जबरजस्ती संवाद लम्बाउँदै मैले उनलाई उक्साएँ– ‘ओहो! कस्तो क्रान्तिकारी नाम। अनि घर चाहिँ कता?’
यो पल्ट अलि खुलेका रक्तिमले मुस्कुराउँदै उत्तर दिए– ‘काभ्रे, उता पाँचखालभन्दा माथि।’
प्रत्युत्तरमा म फुसफुसाएँ– ‘ए भनेसि काभ्रेली सम्धीको गाडी।’
हुन त रातको १ बजे इटहरी र धरान जाने बाटो छुट्टिने चोकमा भएको यो कुराकानी अघि नै मलाई गुरुजी पूर्वेली हैनन् भन्ने लागिसकेको थियो।
संवादको उद्देश्य थियो उनको नाम र मुड बुझौँ। रमाइला रहेछन् भने यात्रामा गफ हानौँला, बाटो र समय कट्छ अनि निद्रा पनि आउँदैन। अर्कातर्फ यसले गुरुजी निदाएर गाडी भित्तातिर धस्काइदिने जोखिम समेत कम गर्थ्यो।
लोकन्थलीबाट गाडी चढेबाटै माइक्रोमा घन्किरहेको विश्व दोङको गीतले नै मलाई गुरुजीको भूगोल अनुमान गर्ने सुविधा दिँदा त्यो फेल खाएन। नत्र यो रुटमा पूर्वेली गीत घन्किनु पर्ने हो नि!
काठमाडौँमा लोकल गाडीहरूमा बज्ने यी गीतहरूसँग म अभ्यस्त नै थिएँ। केही काभ्रेली मेरा साथी नै थिए। अनि काभ्रेली सम्धीहरूका बानी र बोली थोरै भए पनि जानेकै थिएँ।
अहिले यी सम्धीहरूले पनि पूर्वेली भाका टिप्न थालिसकेछन्। कहाँ कस्तो गीत बज्छ, कस्ता मान्छे बस्छन् सबै थाहा पाइसकेछन्।
कस्तो गज्जब, कस्तो रमाइलो!
उनीहरूलाई ठ्याक्कै थाहा छ कहाँबाट चढेका मान्छेहरू कता ओर्लिछन्? खाँदबारीबाट तराई हुँदै काठमाडौँ हानिँदा के कोसेली लाने? अक्करको भीर कहाँ हो? धरान, भेडेटार, धनकुटा र हिले मात्र हैन डिकुरे दियाले र दुखिडाँडा बारे पनि राम्रो ज्ञान छ।
हैन भने गिद्धेटार नजिकै कोसेली लाने ‘दामी लोकल’ पाइन्छ, सक्खर र पेरुङ्गाको असला बोक्नु है काठमाडौँमा चिज हुन्छ भन्ने कुरा यसै कहाँ थाहा हुन्छ।
हिलेमा हैन भेडेटारमै किन्नु छुर्पी चाहिँ भन्ने सुझाव दिन कहाँ यसै सकिन्छ?
यात्रा र व्यवसायका सन्दर्भले काठमाडौँ छेउका ‘काभ्रेली सम्धीहरू’मा भरिएको पूर्वेली चासो र ज्ञान आफैमा पनि रोचक नै हो। अझ गज्जब त खाँदबारीबाट फर्किँदा भने पूर्वेली गीत त नै बजाउने उनीहरूको शैली र चेत बढो सुझबुझपूर्ण र अनुभवको उपज थियो।
हुन पनि समय धेरै भएकै छैन, काभ्रे त के हिले पुग्न समेत हामीलाई महाभारत हुने गरेको। नुन र गहुँ बोकेर ढाँडको छाला पिल्साएका हाम्रा बुबालाई यो बाटोमा गाडी चल्छ भनेर विश्वास नै नलागेको।
एक फिटे अक्करको बाटोबाट तल हेर्दा घुमाउने दहमा भारीसहितका खच्चर घुमिरहेको दृश्यलाई कथा मान्नु परेको र त्यही सत्य कथाको साक्षी बस्नु परेको।
त्यो भीर फोरेर सरर गाडी गुड्ने छन् भन्ने कल्पना नै नभएका मेरा बुबालाई सूर्यबहादुर थापाले धनगढीलाई धनकुटा बनाएर खनेको बाटो खाँदबारी पुग्छ भन्ने विश्वास नहुनु स्वाभाविक पनि थियो।
हेलिकप्टरमा झुन्डाएर लगेको गाडीले खाँदबारी तुम्लिङटार कच्ची बाटोमा धुलो उडाउँदैमा यहीबाट १४ घण्टामा काठमाडौँ पुगिएला त्यो कल्पना नहुनु नौलो थिएन।
तोक्मामा ढाकर अड्याउँदै हटिया चेपुवाका लागि खाद्य संस्थानको गहुँ ओसारेका बाउलाई किमाथान्का सडक जोडिनु ज्युँदैमा देखेको स्वर्ग हो। त्यही भारीले थिलथिलो शरीर देखेको मेरै लागि समेत माइक्रोको यो यात्रा कल्पनाको विषय थिएन।
एक दशकअघि पहिलो चोटि मधेस झर्दा भोगेको हन्डरले नै पनि यो बाटो यति सहज बन्ला, राजधानी पानी पँधेरो होला त्यो सपना मलाई भरेको थिएन।
अझ हाम्रा हजुरबाहरूले त गाडी आए गुन्डा आउँछ भनेर सडक खन्न श्रमदान नै गरेनन् रे। विभिन्न खालका मान्छे आएर छोरी बुहारी उडाउँछन् भन्ने डर थियो रे। छोरा पढाए रेल लुट्ने गुन्डा हुन्छन् भन्ने सोचेका उनीहरूलाई बरु धरानबाट नुन बोक्नु नै निको लाग्ने रहेछ।
रोचक त उहाँहरूका सबै डर नै यातायातसँगै जोडिएको यो अवस्था पनि कस्तो संयोग है।
यता काभ्रेली सम्धीहरूलाई पनि के विश्वास थियो होला र आफ्नै पुर्खाले काँधमा बोकेको गाडीबाट आफैले गाडी चलाएर सुदूरपूर्व खाँदबारी पुग्छु। वा हामीले काठमाडौँ नरोजे गाडी नै किन खाँदबारी लानु पर्थ्यो होला र? अर्कातर्फ बाटो नै नभए हामीले कसरी बाहिरको संसार देख्थ्यौँ होला र? तर हामीलाई यही बाटोले भेट गरायो, तोक्मा बोकेका सन्तानका साझा कथालाई सम्झाइदियो।
तर यही बाटोले अहिले काभ्रेली सम्धीहरूको गाडी मात्र खाँदबारी पुर्याएको छैन। रमाइला कथाहरू मात्र ओसारेको छैन। बरु ‘लोकल’ माथि बोइलरहरूको जगजगी बढाएको छ। सक्खरलाई चिनिले जित्दै छ, सरुवालाई कोकले धावा बोल्दा असलालाई पोखरीका माछाले पिर्न थालेका छन्।
पहाडका कोसेलीहरूले बजार पाए पनि कोसेली बनाउनेहरू नै ओसार्न थालेपछि मेलापातदेखि हाट जानेहरू नै घटेका छन्। गाडीहरू बसाइ सर्नेका झिटीगुन्टाले भरिन थालेका छन्।
चिल्लो सडक यति चिल्लो भएको छ कि यसबाट चिप्लिएपछि रैथाने भूमि फर्किन नै मुस्किल पर्न थालेको छ। जसले बल्ल बल्ल सपना देख्न थालेको खाँदबारी नसुक्ला भन्न सकिँदैन।
आखिर सपना नै बाँकी नरहे काभ्रेली सम्धी र मेरा कथाहरू पनि त सकिएलान्।