‘सँगै जानुपर्छ है जुम्लेधुपी यसपालि त। हिँड्ने बेला तिमी सधैँ बहाना बनाएर तर्किन्छ्यौ। यसपालि त मरिगए तर्किन दिन्नँ,’ दुई हात फैलाउँदै राधा काकीको नजिक नजिक सर्दै मनलाल काकाले प्रस्ताव राख्नुभयो।
‘त्यहाँ नगई नहुने के छ र? दिनहुँ घाँसदाउरा गरिरहेकै ठाउँ त हो,’ काकाको कुरातिर ओठ लेब्य्राउँदै काकी पर पर सर्नुभयो। काकीका पुक्क परेका गाला लालीगुराँसझैँ राता भए।
‘तिमीबिना मेरो यात्रा अधकल्चो रहन्छ। यसपालि तिमीलाई लिएरै म यात्रा पूरा गर्छु,’ काकाले काकीलाई अँगालोमा कस्न खोज्नुभयो।
‘छिः पाउनाको अगाडि…’ काकी खिलखिलाउँदै भाग्दै जानुभयो। काकाले खित्का छोड्दै काकीलाई लखेट्दै जानुभयो।
काकाकाकीको कति मिठो सम्बन्ध! कति सूक्ष्म ऊर्जाको डोरी, जसले यस प्रेमिल दम्पतीको अस्तित्वलाई भित्रबाट कहिल्यै नटुट्ने गरी बाँधेर राखेको छ।
दाउराको धुवाँले घाँटी खसखसाएको र आँखा पनि पिरा भएकोले म ब्युँझिएँ। तल्लो कोठामा भाँडाकुँडाको टाङटाङ टुङटुङ आवाज आइरहेको थियो। लाग्यो, काकीले बिहानै उठेर चिया पकाउन थाल्नुभयो होला। ढोका घरक्क पारेको सुनियो। ठानेँ, काकीले दैलो लिप्दै हुनुहोला। मोबाइलको घडी हेरेँ, बिहानको ५ बजेको रहेछ।
सखारै ६ बजे नै यात्रा सुरु गर्ने पूर्वयोजना थियो। जीउले तताएको न्यानो बिछ्यौना छोड्न मन नलागे पनि जीउ तन्काउँदै उठेँ। गिरि सर सिरकले गुटमुटिएर अझै बिछ्यौना तताइरहनु भएको थियो। टेबुलको फ्रेमसहितको फोटोबाट मनलाल दम्पतीले आफैलाई हेरिरहेको जस्तो लाग्यो।
पिसाबले च्यापेकोले पश्चिमपट्टिको कोठा हुँदै म बाहिर निस्कन खोजेँ। दाउरा पुत्ताएको धुवाँले कोठा रङमङिएको थियो। अर्को कोठामा भित्तामा फ्लेक्सबोर्डमा एक्ली काकीको मधुरो फोटो देखेँ। फोटोको तल लेखिएको थियो- हार्दिक श्रद्धाञ्जली।
म झस्किएँ। ओहो! मैले त मिठो सपना पो देखेको रहेछु। मिठो भनौँ कि तितो? बिहानै भाँडा वर्तन बजाउने काकाबाहेक अरू कोही थिएन त्यहाँ।
मनलाल काकाले पनि सायद रातभरि यस्तै धुवाँजस्तो सपनामा निसास्सिएर मभन्दा पहिल्यै ब्युँझनुभयो होला। बर्सादको भुइँकुहिरोजस्तै उहाँको अनुहारमा विषादका चिन्हहरू उठ्दै र बिलाउँदै गरिरहेका छन्। काका रुकुममै छँदा काकीले भारतको सिम्लामा अकालमै नश्वर शरीर त्याग्नु भयो।
काकाले आफ्नी प्राणप्यारी जीवनसङ्गिनी बिरामी पर्दा स्नेहले निधार छाम्न पाउनु भएन। पीडाले काकीको घाँटी ओभानो हुँदा एक घुट्को पानी पिलाउन पाउनुभएन। आफ्नै अर्धाङ्गिनी मृत्युशय्यामा छटपटिँदा काखमा राखेर आँसुले आँसु धुलाउन पाउनुभएन। यो घोर पश्चात्ताप, यो अतल पीडा कसै गरी क्षतिपूर्ति हुन सक्दैन। तथापि उहाँले साथीभाइ र इष्टमित्रको अगाडि केही नभए जसरी बनावटी हाँसो हाँसेर घर व्यवहार सम्हालिरहनु भएको छ।
त्यो वास्तविक सम्बन्ध अब यो काल्पनिक सम्बन्धमा बदलिएको छ। तथापि काल्पनिकलाई नै वास्तविक सम्बन्ध मान्ने प्रयासमा हुनुहुन्छ मनलाल।
यो ऊर्जा पनि कति बलियो! शरीरको अन्त्यपछि पनि भावनात्मक सम्बन्ध समाप्त हुँदैन; त्यसको नयाँ रूप सुरु हुन्छ। प्रेमको सबैभन्दा परिष्कृत रूप स्मृतिमा जीवित रहने सामर्थ्य हो। शरीरको सट्टा सम्झनाको जीवित उपस्थितिले जीवनलाई निर्देशित गर्न थाल्छ। कस्तो सापेक्षतावाद हो यो? जहाँ जीवन आफैँ एक दिवङ्गत आत्मासँग सापेक्ष भएर बाँचिरहेको छ।
तलको कोठामा मलाई देखेर काका झस्किनुभयो र मुहारमा बनावटी मुस्कान ल्याउँदै भन्नुभयो, ‘निदरी पुगेन कि? तातो पानी खाम्! मिठा सुइना देख्दै हुनुहोला भनीकन मैले त उठाइनँ बाल्।’
उहाँका परेला र दुवै गाला चिसा थिए। झटपट कमिजको फेरले आँखा पुछ्दै भन्नुभयो, ‘कुरा गरी क्यार्ने हो र! चिसा दाउरा हेर्नोइ, पिरो ध्वाँलले सासै बुज्जिन्च, आँखाबाट पानीको धारै छुटाल्च भन्नुहुन्च।’
लहरे बिरुवाबाट अकस्मात् थाँक्रो छुटेझैँ भुईँमा लत्रनुभएको छ मनलाल काका। एक पाङ्ग्रा फुस्किएको ठेलागाडाजस्तै घरको सबै भार उहाँमै थुप्रिएको छ। अगेनाबाट बेसमारी पुत्ताइरहेको धुवाँमा उहाँको बहानाबाजी थपिँदा मेरा आँखाबाट पनि आँसुको धारो छुटाउँछ।
‘घर छोडेपछि धुवाँको असरले पनि छोड्छ। अब उकालो लागिहालम् काका,’ म भक्कानिँदै बिन्ती बिसाउँछु।
‘ऐल निस्के पनि साँज आउने हीँ हो। काँ जान सकिन्च र? जुम्लेधुपी त ठार्रै उकालो छ पो भन्नुहुन्च। उइछारी त्यहाँ हाम्रा ज्याबा को बस्या होलान् र खान दिने? माथि जङ्गलै जङ्गल मात्र छ। ह्वाँ दिउँसो भोक लाग्च। ह्याँ ७ बजेतिर खाना पाकिजान्च। खाएरै जाम्ला प।’
काकीको सट्टा काकाले पाहुनालाई खाना खान कर गर्नुपरेको छ। त्यही पनि आफ्नो घरमा होइन। फेरि भक्कानो छुट्ला जस्तो हुन्छ।
माटोको भर ढुङ्गा, ढुङ्गाको भर माटो भन्ने पुरानै नेपाली उखान हो। हेर्दा सामान्य लाग्ने यो उखानमा असामान्य जीवन दर्शन लुकेको छ। माटोको आकर्षण ढुङ्गामा, ढुङ्गाको आकर्षण माटोमा। यही आकर्षणको योगले पृथ्वीलगायत आकासिए पिण्डहरू आकाशमा तैरिरहेका छन्।
न्युटनले पत्ता लगाएको गुरुत्वाकर्षणको मूल जरो यही हो। जब कुनै एक पिण्डमा यो आकर्षण घट्दै जान्छ तब कि त अर्को नजिकको बलियो पिण्डले निर्धो पिण्डलाई तान्छ कि त त्यो पिण्ड ब्ल्याकहोलको अन्तहीन मुखभित्र विलीन हुन पुग्दछ। मान्छेको अस्तित्वमा पनि यो आकर्षणको नियम लागू हुन्छ। राधारूपी पिण्ड ब्ल्याकहोलमा विलीन भएपछि अर्को मनलालरूपी पिण्ड धरमराएको छ।
भित्रको धुवाँ थेग्न नसकी म गहुँबारीको छेउमा पुगेर उत्तरतिरको दृश्य हेर्न थाल्दछु। अँध्यारोको साम्राज्य बाँकी नै छ। विराट सहरको झिलिमिली बत्तीझैँ जताततै बिजुली बत्तीको तिरिमिरी छ। बत्ती निभेको बखत भने निस्पट्ट अन्धकारबाहेक अरू केही देखिँदैन। बिहानको उज्यालो बस्दै जाँदा बत्तीको झिलिमिली मलिन हुँदै जान्छ।
प्रभात किरणले उत्तरतर्फका हिमशिखरहरूको झिलिमिली निखारिँदै जान्छ। सिस्ने मुस्कुराउँछ। चाखुरे लेक हाँस्दै भन्छ- तँलाई अग्लो देखाउन हामी होचिएका हौँ। अरू उच्च शिखरहरू चाखुरेसँगै प्रभातको हाँसो मिसाउँछन्।
त्यो हाँसो सर्दै सर्दै तलतलका गाउँबस्ती र खोलानालाहरूसम्म पुग्दछ। तमाक्छरे देखेर सिस्ने मुस्कुराइरहन्छ। सिस्ने देखेर तमाक्छरे मुस्कुराइरहन्छ।
तमाक्छरेको छातीभरि तोरी फुलेर पहेँलपुर देखिन्छ। म तोरीबारीको बिचमा उभिएर टोलाइरहेको छु। पाखोभरि तुसारो जमेर वरिपरिका लेक पनि सिस्नेझैँ हिमाच्छादितझैँ देखिन्छन्। कसरी सहन्छन् होला रातभरिको शीत र बिहानीपखको तुसारो यी निरीह पाखाहरूले? बर्खादेखि पानी नपाएका पाखाका यी रुख बिरुवाले बिहानीको यही शीत चुसेर जीवन धानेका होलान्। बुझिनसक्नु छ प्रकृतिको जीवन र जीवनको प्रकृति।
पर पर चहारिरहेका मेरा नजर वर तानिन्छन्। मनलाल काकाको घरसमेत जम्मा ४ वटा घरहरू छन् यो टोलमा। डिल्ली वली र विनोद वलीका घरहरू उमेर खाएर जीर्ण भइसकेका छन्। मनलाल काकाको घर र उनको अगाडिपट्टिको घर उमेर छँदै जीर्ण हुन थालेका जस्ता छन्। एकअर्कालाई हेरेर चित्त बुझाएका छन् यी घरहरू पनि। तुसारोले सबैको घरको छानासमेत सेताम्मे देखिन्छ। मनलालको मनमा जमेको तुसारोको कुनै हिसाबकिताब छैन।
मनलालको घर र डिल्लीको घरबिचमा हलक्क परेको लसुनबारी छ। राधा काकीले लगाएर छोडिएको हुनुपर्छ। झिँजाहरूले बारेको बारको छेउछेवै जाने मसिनो गोरेटोले गाउँका अरू घरहरूलाई जोडेको छ। डिल्लीको घरछेउमै मोटर बाटो आइपुगेको छ। मोटर पुगेको प्रमाणको रूपमा डिल्लीको घरको अगाडि पल्सर बाइक पनि छ।
कच्ची मोटरबाटोले तमाक्छरेलाई मुसिकोटसँग जोडेको छ। यही बाटो राप्ती मार्ग र मध्यपहाडी मार्गमा मिसिएर पूरै नेपाल र बाँकी विश्वसँग जोडिएको छ। तसर्थ तमाक्छरे एक्लो छैन। तमाक्छरेका मनलाल पनि एक्ला छैनन् भन्ने पार्न हामी मुसिकोटबाट यहाँतक यात्रामा जोडिन आइपुगेका छौँ। यात्रा एक बहाना न हो।
‘कता हराउनुभयो भनेको त त्यता पो हुनुहुँदो रहेछ। झुसमुके उज्यालोमा के हेरिरहनुभएको छ सर त्यसरी?’ गिरि सरको बोली चिनेर म झस्किन्छु।
‘बिहानको चिसो सन्कोले टाउको दुखाल्च भन्नुहुन्च। भित्र आइजानोई। कोठाभित्र ऐल ध्वाँल कत्ति छैन। आगो गज्योर भएर कोठा रन्काउँछ। चिसा हातगोरा चुलामा सेक्नोई,’ मनलालको मन अलि तातो र दृढ भएको जस्तो लाग्छ।
दिवंगत श्रीमतीको सम्झनामा मनलालले साहित्यिक संस्थालाई जग्गा दान दिनुभएको छ। सो जग्गामा राधा स्मृति भवन बन्दै छ। वार्षिकीमा राधा स्मृति ग्रन्थ लोकार्पण गर्न मनलाललाई भ्याई नभ्याई छ। सम्भवतः त्यस दिनमा राधा-स्मृति अक्षय कोश पनि खडा होला। यी सबै कार्यहरू मनलालका भावनात्मक आवेग मात्र होइनन्, गहन जीवन दर्शनहरू हुन्।
मृत्यु अन्त्य होइन, प्रेमको अर्को चरण हो। क्वान्टम भौतिकी भन्छ- दुई कण एक पटक अन्तरक्रियामा आइसकेपछि संसारका कुनै पनि कुनामा भए पनि एक अर्कासँग सम्बन्धित रहिरहन्छन्। प्रेम पनि भावनाको कण हो जुन सम्बन्ध अनन्त रहिरहन्छ। मनलालको आफ्नो अतीत राधाको स्मृतिमा सापेक्ष भएर चलिरहेको छ। उहाँको कर्म, सोच, योजना यी सबै यसकै दृष्टान्त हुन्।
आजको भौतिकवादी समाजमा सम्बन्धहरूको क्षणिकता, प्रेमको औपचारिकता र अस्तित्वको एक्लोपन मौलाउँदै गएको बेला मनलाल ओलीजस्ता व्यक्तित्वहरूले हामीलाई प्रेमको गहिराइ र सम्बन्धको निरन्तरताको नयाँ अर्थ सिकाउँदै छन्। सापेक्ष जीवन र अविच्छिन्न प्रेमबिचको सम्बन्ध मृत्युपारको सम्बन्ध हो। समय, शरीर र दूरीको सीमाभन्दा परको सम्बन्ध हो- प्रेम सम्बन्ध।
मनलालको दृढ अनुहारले बताउँछ- ‘वियोगलाई केवल पीडा होइन, प्रेरणा तथा योगदान बनाउने हो।’ यही हो प्रेमको पराकाष्ठा, जहाँ दुःख पनि समाजप्रतिको देन बन्न पुग्छ। सम्बन्धलाई क्षणिकताबाट अमरतातर्फ लैजाने उहाँको यो ऊर्जा उदाहरणीय छ, प्रशंसनीय र पूजनीय छ।
‘चिया चिसो भइसक्यो अङ्कल,’ सुन्दरको सुरिलो स्वरले मलाई गहिरो वैचारिक डुबानबाट सतहमा उकाल्दछ। म छिटछिटो कोठाभित्र पस्छु। कोठाभित्र धुवाँ कम भए पनि सिनित्तै भएको छैन। सुन्दर, गिरिप्रसाद, मनलाल र म आगो दन्किरहेको अगेनोलाई बिचमा पारेर चियाको चुस्की लगाउन थाल्छौँ।
यताउता गर्दा ७ बजिसकेको छ।
‘अङ्कल, ग्यालिलियोले पृथ्वीले सूर्यको परिक्रमा गर्छ भनेका हुन् र?’ सुन्दरले अजीवको प्रश्न तेर्स्याउँछन्। सुन्दरको आशङ्का ग्यालिलियोमाथि हो कि? पृथ्वीमाथि कि? सूर्यमाथि कि? परिक्रमामाथिको आशङ्का?
‘हो’ मात्र भन्छु म। हिजोआजका केटाकेटी ज्ञानमा धेरै अगाडि छन्। सत्य पनि सापेक्षमा हुन्छ। आजको सत्य भोलि असत्य हुनसक्छ। मृत्यु मात्र सत्य हो, अरू सब सम्भावनाका खेल मात्र हुन्। मनलालले राधालाई घुमिरहेका छन् कि राधाले मनलाललाई घुमिरहेकी छिन् भनेर प्रतिप्रश्न गरूँ झैँ लाग्छ। तर सोध्छु- ‘खाना अझै पाकेन त सुन्दर बाबु?’ मलाई खाना छिटो खाएर हिँड्न पाए भन्ने छ।
‘रोटा पाक्दै छन्, अङ्कल! दाल झान्न बाँकी छ।’
रोटीलाई दालको साथ चाहिन्छ। दाललाई रोटीको साथ। एकै चिज मात्र खाएर पनि नहुने।
‘त्यताको भन्दा यो घरको कोठा तातो छ। चिया यतै खानुहोला,’ रसिलो हँसिलो डिल्ली भाइले आफ्नो आँगनमा उभिएर हामीलाई आफ्नो घरमा आमन्त्रण गर्नुहुन्छ। हामी मनलालको घरबाट माथिल्लो घरको आँगनमा उक्लिन्छौँ। यो घर तताउनमा दाउरा मात्र नभई चञ्चल स्वभावका ९ वर्षीय सुन्दर बाबु छन्, कविता बहिनी छिन्, बैँस छचल्किएका डिल्ली दम्पती छन्, उमेर भरिएका डिल्लीका बुवा पनि हुनुहुन्छ। त्यही तातोले नजिकैको मनलालको घरलाई चिसो हुन दिएका छैनन्। यिनीहरूले नै मनलालको चिसो मनलाई फुकी फुकी तताइरहेका छन्।
मुखमा मुस्कान ल्याइरहने डिल्ली भाइका पृष्ठभूमिमा पनि होलान् थुप्रै दुःखदायी कथाहरू। प्रसङ्ग नआई सोधखोज गर्दै हिँड्ने कुरा पनि आएन। सतहमा जे देखियो, जे जानकारीमा छ, त्यही देखेर अर्कोले अड्कल काट्ने हो। सकभर दुःख लुकाएरै सुख बाँच्ने हो।
‘सर नमस्कार। कति बेला हो हिँड्ने?’ एक जना चिने चिनेका हँसिला तन्नेरी हाम्रो अगाडि झुल्किन्छन्। अनुहार रातोपिरो छ। ज्यान खाइलाग्दो छ। अनुहार मङ्गोलियनसँग मिल्दोजुल्दो।
म उनको जीउडालतिर हेरेको हेरै भएछु। उनले नै भने, ‘मलाई चिन्नुभएन कि सर? म कमानसिंह वली। मलाई सिम्रुतुमा पढाउनुभएको हो हजुरले।’
म यो उत्तरप्रौढावस्थाको समयलाई त्यो यौवनकालीन समयसँग दाँज्न थाल्छु।
मनलाल कमानसिंहतिर हेरेर भन्नुहुन्छ, ‘हामले त कचिलोमचिलो कच्काएरै हिन्ने सुर गर्यौँ। तमाइले पनि खाना नखाभया यतै खाम्।’
‘अहिल्यै हिन्ने हो कि भनेर उक्लिएको हुँ म त। मेरो घरमा पनि मकैका रोटा पाक्दै छन्। म उतै खाएर छिट्टै आइहाल्छु। सँगै जाम्ला,’ कमानसिंह फरक्क फर्किएर तलतिर ओझेल पर्छन्।
‘हजुरहरूसित म पनि जान्युँ जुम्लेधुपी,’ सुन्दर बाबु हाम्रो छेउमा आएर अडबाङ्गो प्रस्ताव राख्छन्।
‘तँ किन जाने? हुन्न हुन्न। तँ जिलाधुरी पुगेको एक हप्ताअघि त हो नि,’ डिल्लीले आफ्नो छोराको प्रस्ताव ठाडै इन्कार गर्नुहुन्छ।
‘लख्याले नहुनै सल मान्नेल्यो। सात्यासङसित जाँदा अर्कै सल, बुरापुरानासित जाँदा अर्कै सल ता भइयो नि केराटीको। घरमा के उपति छराउने होला र! जान दिया भैगो तो,’ काकाले सुन्दरकै पक्षका कुरा गर्नुहुन्छ।
‘जुम्लेधुपीको ३ घण्टाभन्दा बढीको जङ्गलै जङ्गलको उकालो चढाइ। गाह्रो होला नि सानो बाबुलाई,’ म पनि संशय व्यक्त गर्दछु।
‘सोलाबाङा ठाउँजस्तो सुखारी ठाउँ होइन यो। घाँसदाउरा गर्न यिनीहरू दिनमा दुई चोटि उक्लिनुपर्छ जुम्लेधुपी,’ मनलाल मेरो कुराको प्रतिवाद गर्नुहुन्छ।
रोटी पाकेपछि पहिलो गाँस गिरि सरले र मैले पालैपालो टिप्छौँ। पेट अलिअलि उक्सिएपछि, ‘हामी बिस्तारै जाँदै गर्छम्, तपाईँहरू आउँदै गर्नुहोला!’ भनेर मोटरबाटोसँगै उकालो लाग्छौँ।
थोरै माथिबाट चिरपरिचित स्वर आउँछ, ‘बाटो त्यता होइन यता यता! मोटरबाटो छोडेर माथि उक्लिनुस्।’ बोलाउने बालाराम वली भाइ रहेछन्। सिम्रुतुमा मैले पढाएका विद्यार्थी।
बालारामको घरमा गएर रोटीले नभरिएको पेटको कुनामा कसार र केरा थप्छौँ। अनि बालाराम झोला काँधमा फालेर अगाडि बढ्छन्।
‘यो गाउँ खड्का कम्द हो। त्यो तलको हाइरु। ऊ त्यो तलको गाउँ पारिको गाउँ बल्ले। अलि परको चौरिलो दभागे। त्योभन्दा माथि पर्छ कालापोख्रा। परको खोलाको नाम नौधारी हो। हाम्रा पुर्खाहरूले नौ वटा धाराहरू बनाएर कुलोको राम्रो व्यवस्था समेत गरिदिएका थिए रे।’
बालाराम ओलीको वंशावली र इतिहास तयार गर्दै छन्। १८ पुस्तासम्मको तयार गरिसकेका छन् रे। उनको यो परिश्रमलाई सलाम गर्नुपर्छ।
‘योभन्दा माथिको त्यो टाकुरो झारसाँधी। पैले घाटबुरा वलीहरू हीँ बस्थे रे। हजुरका म्याडमका मावलीहरू,’ बालारामले हामी हिँडिरहेको माथि तिरको थपक्क बसेको सानो टोललाई औँल्याउँछन्। मैले चन्द्रा बहिनी र सासूआमालाई पालैपालो फोन लगाउँछु। चन्द्रा नोस्टाल्जिक भएको अभिव्यक्ति दिन्छिन्।
अगाडि एउटा पुरानो पोखरी देखिन्छ। यसलाई सुँगुर पोखरी भनिन्छ। जमानामा सुँगुर पालिन्थ्यो होला। बालारामले स्थान परिचय गराउँछन्।
पोखरी कटेपछि बाटो मास्तिरको जङ्गलतिर उक्लिन्छ। उकालो निकै ठाडो छ। उकालोको अत्यासले पाइला पछि पछि सर्न खोज्छन्। पातलो जङ्गल बाक्लिँदै जान्छ। चिराइतो, चाँपलरी, गोलाइँची, काउलो, नुन्या, काफल, पैइयो, उत्तिस, लालीगुराँस, मेल, डिम्मुर, आदि मिश्रित वृक्षहरूको घना जङ्गलले वास्तविक उकालोलाई पूरै छोप्दै जान्छ। तसर्थ ठाडो उकालो पनि उकालोजस्तो लाग्दैन। दुई/चार पाइला हिँड्दै अडिँदै गर्ने जति पनि सुविधा छ।
‘यो ठाउँको नाउँ भिराटाउका, यो आँसीउध्याउने, यो बराथान,’ बालाराम औँल्याउँदै जान्छन्।
सुन्दर बाबु पिठ्युँमा झोला बोकेर हामीलाई भेट्टाउन आइपुग्छन्।
‘यस्तो घनघोर जङ्गलमा एक्लै हिँड्न डर लागेन?’
‘अगाडि तपाईँहरू, पछाडि बाबाहरू मलाई केको डर?’ भन्दै हामीलाई उछिनेर सुन्दर अगाडिको बाटोमा एक्लै हराउन पुग्छन्।
बराह थानको छेउमा टिनको छानो हालेर सुविधाजनक विश्राम स्थल बनाइएको छ। हामीले विश्राम लिँदै गर्दा मनलाल, डिल्ली, कमानसिंह ओली राजेश ओली, डिलेन्द्र ओली, ध्रुव खड्का आदि हामीलाई भेटाउन आइपुग्छन्।
बालाराम भन्छन्, ‘यस थानमा ओलीहरूले जेठासे पुनीमा भेडा चढाउँछन्। जलजला जान नसक्नेहरू बराह पुज्न यहीँ आइपुग्छन्।’
हामी उकालो काट्दै गर्दा मनलाल र बालारामले बिचबिचका स्थान परिचय गराउँदै जान्छन्- ‘यो ठुलापोख्रा, यो गैरीनेटा, यो बरापुज्ने, यो पारेगोठ, यो गौंरा, यो एक्ल्या थान, यो गर्वेले काट्याउ खर्सु।’
केही बेरपछि हामी डोब्की नाउँको फराकिलो चहुरमा पुग्दछौँ। यहाँ पनि एकातिर पुरानो बराह थान छ। ओलीहरूकै थान होला। पूर्वपट्टि काठको क्रुस बनाइएको छ जुन ख्रीष्ट धर्मावलम्बीहरूका निम्ति पवित्रता र विश्वासको प्रतीक हो।
उकालो थपिँदै गर्दा धुपीका बोटहरू पनि थपिँदै छन्। केही बेरमा चढिरहेको पहाड धार हुँदै नेटोमा पुग्दछौँ। पूर्व-पश्चिम फैलिएको समथर भूभागमा ग्राभेल सडक भेटिन्छ।
‘पहिले पूर्वी रुकुमबाट दाङ झर्ने सरबाटो यही थियो,’ मनलाल भन्नुहुन्छ। पारिपट्टि धेरै परसम्मको रोल्पाको भूभाग छर्लङ्गै देखिन्छ।
म असिनपसिन भएको मुख पुछ्दै भन्छु, ‘उफ् कति उकालो! बल्लतल्ल काटियो।’
गिरिप्रसादजी भन्नुहुन्छ, ‘खै कहाँ थियो र उकालो? मैले त तमाक्छरेदेखि यहाँसम्म आइपुग्दा कतै पनि उकालो भेट्दै भेटिनँ त!’
प्रतिवाद गर्नुको कुनै तुक छैन। देखिने खालको उकालो पनि त थिएन।
अलिकति बाटो तेर्सिएपछि मनलालजी भन्नुहुन्छ, ‘यसै ठाउँलाई भनिन्छ जुम्लेधुपी!’
‘खै कहाँ छन् त जुम्ले धुपीहरू?’
सबैभन्दा पुराना अजङका धुपीहरूलाई देखाउँदै मनलाल भन्नुहुन्छ, ‘एउटा यही हो, अर्को ऊऽऽ त्यो।’
त्यति टाढा रहेका रुखहरूलाई जुम्ल्याहा त नभनिनु पर्ने भन्ने लाग्छ। अर्काको ठाउँमा जान्ने कहलिनु उचित होइन भनी मुख खोल्दिनँ। सायद यसै रुखसँगै टाँसिएको अर्को रुख थियो होला कसैले एउटा काटेर अर्को छोडिदियो होला। वा, अर्को ठाउँमा भएका जुम्ल्याहा धुपीहरूलाई उहिल्यै निमिट्यान्न पारे होलान्। नामै जुम्लेधुपी भएपछि परपरका धुपीहरूलाई देखाएर अहिले सार्थकता देखाउन खोजिएको होला भन्ने लाग्छ मलाई।
यो जङ्गलभरि त कति छन् कति जुम्ले र एक्ले धुपीहरू। सम्भावना जे पनि हुन सक्छ। सम्भावनाको अन्त्य कहिल्यै हुँदैन। मनलालरूपी जुम्लेधुपीमध्ये एकलाई दैवले लुछेपछि अर्को धुपी एक्लै ठडिएको छ। तथापि जुम्ले हुनसक्ने सम्भावनाको अन्त्य अझै भएको छैन। ठाउँको नाम जुम्लेधुपी कायमै रहे जसरी।
क्वान्टम सिद्धान्त भन्छ- कणहरू सुपरपोजिसनमा हुन्छन्, अर्थात् एउटै समयमै धेरै सम्भावनामा रहन सक्छन्। बौद्ध धर्म भन्छ- कुनै पनि वस्तुको स्वतन्त्र अस्तित्व छैन, यो केवल सम्भावनाहरूको खेल हो। हिन्दु दर्शन भन्छ संसार ‘माया’ हो, आँखाले देखेको सबै सत्य होइन। हाइजेनबर्गको अनिश्चितता सिद्धान्त भन्छ- कुनै पनि कणको स्थिति र वेग एकै समयमा थाहा पाउन सकिँदैन।
अद्वैत भन्छ– तपाईं र म भिन्न होइनौँ। क्वान्टम इन्टाङ्गलमेन्ट पनि भन्छ– यदि दुई कण एकअर्कासँग सम्बन्धित भए भने तिनीहरू फेरि भिन्न रहन सक्दैनन्।
हजारौँ वर्षअगाडि नै पूर्वीय दर्शनले भनेको हो– सबै सम्भावनाको खेल हो, कुनै पनि कुरा निश्चित हुँदैन। अहिलेको अत्याधुनिक क्वान्टम भौतिकीले पनि त्यही कुरा सिद्ध गर्दै छ– सबै सम्भावना खुला छन्, यथार्थ अड्कल गर्नै सकिन्न।
मलाई जुम्लेधुपीको उकालो, मनलालको जीवनको उकालो र जीवन दर्शनको उकालो उस्तै उस्तै लाग्छ।
-1746956377.jpg)
-1746956376.jpg)
-1746956374.jpg)
-1746956375.jpg)
-1746956374.jpg)
-1746956374.jpg)
-1746956373.jpg)
-1746956373.jpg)