रातको दुई बजे फोनमा चराको गीतको स्वरमा अलार्म बज्यो। हतारहतार अलार्म बन्द गरेँ र कोठाबाट निस्किएर अघिल्लो साँझ नै प्याक गरेर राखेको सामान एक पटक जाँच गरेँ।
क्यामराको ब्याट्री चार्ज भएर चार्जरमा बत्ती बलिरहेको थियो। अँध्यारो त्यो कोठामा बत्ती बाल्नुअघि त्यही चार्जरले उज्यालो पारेको थियो। बाहिर पनि खासै फरक थिएन। अन्धकार रातमा झमझम पानी परिरहेका बेला कतैकतै बलेको बत्ती पिचबाटामा जमेर बसेको पानीमा टल्किएको थियो।
बाटामा खासै धेरै गाडी पनि थिएनन्। त्यो दिनको पर्खाइ केही महिना अघिदेखिकै थियो। तर त्यो बिहान वर्षाका साथ सुरू भएकाले कयौं दिनदेखिको उत्साह भिजाइदिएको थियो। त्यो दिन थियो 'बिग डे बर्डिङ' को।
हरेक वर्ष दुई ऋतु पारेर लाखौं चरा आफ्नो प्रजनन गर्ने र जाडो मौसम बिताउने ठाउँतिर लाग्छन्। वसन्त ऋतुमा त झन् चरा मात्र नभएर फूल, बोटबिरूवा पनि आफ्नो रंगीन रूपमा फर्किँदै हुन्छन्।
तिनै रंगीन फूलमा निस्किएका हुन्छन् कीरा–फट्यांग्रा। कीरा–फट्यांग्राकै खोजीमा हजारौं किलोमिटर यात्रा गरेर आएका चरालाई ऋतुका नयाँ पालुवाले जोडेको हुन्छ। त्यसैसँग जोडिन पुग्छन् मान्छेहरू ती चराको खोजीमा।
यस्तो मेल गराउने वसन्त ऋतु साँच्चै रमाइलो हुन्छ। हरेक वसन्त ऋतुमा संसारभरिका चराप्रेमीहरू जम्मा भएर विश्व बसाइँसराइ दिवस मनाउँछन्, मे महिनाको १० तारिकका दिन।
यो बसाइँसराइ दिवस बिग डेका रूपमा मनाउने गरिन्छ। बिग डेमा संसारभरिका चरा प्रेमीहरू आआफ्नो ठाउँमा चरा खोज्छन् र त्यसको रेकर्ड राख्छन्। म बस्ने ठाउँ फार्गोमा पनि चरा महोत्सव हुन्छ। गएको आठ वर्षयता त्यस महोत्सवमा म पनि चरा गाइड भएर सहभागी हुँदै आएको छु।
तपाईंहरूलाई लाग्ला रातिको दुई बजे चरा देखिन्छन् होला र! ठीकै हो, राति धेरै चराहरू देखिन्नन् तर सूर्यास्तपछि र सूर्योदयअघि सक्रिय हुने चराको कमी छैन। उल्लू, चैते चरो, कुलावारी राति नै सक्रिय हुन्छन्। त्यस्तै चराको खोजीमा हामी त्यति चाँडो हिँडेका थियौं।
मेरा सुपरभाइजर, म र पिएचडीका एक जना विद्यार्थीको टोली थियो। हामी हाम्रो काउन्टी (क्यास काउन्टी) मा बिग डे गर्दै थियौं। गत साल हामीले एकै दिनमा १५४ प्रजातिका चरा देखेका थियौं। यस वर्ष हामी त्यो रेकर्ड तोड्न कस्सिएका थियौं।
सबभन्दा पहिले हामी रोकियौं सधैं उल्लू भेटिने एउटा पार्कमा। साँझपख त्यहाँ जाँदा उल्लू कराइरहेको हुन्थ्यो। गत साल पनि तीन बजे बिहान देखिएको सबैभन्दा पहिलो चरो थियो 'इस्टर्न स्क्रिच आवल'।
चरा हेर्ने र खोज्ने काम सजिलो छैन। सधैं यहीँ बस्छ, गुँड छ भनेर थाहा भएको ठाउँमै पुग्दा पनि कहिलेकाहीँ भेटिँदैन। आज बिहान बजे त्यो स्क्रिच आवल गीत गाउँदै थिएन।
स्क्रिच आवल। तस्बिरः अनुज घिमिरे
करिब २५ मिनेट प्रयास गरेपछि हामीले आश मार्यौं। अब स्क्रिच आवल भेटिँदैन भनेर अर्को ठाउँतिर गयौं। त्यहाँ सधैंजसो बार्ड आवल भेटिन्थ्यो।
पार्कमा पुगेपछि हामी बिस्तारै पूर्वी कुनातिर लाग्यौं। त्यो उल्लु अलि पक्की र पुराना रूख मन पराउँछ। हामी त्यही अनुसार अघि बढ्यौं तर त्यसको आवाज सुनिएन।
त्यहाँ पनि आश मारेर त्यही पार्कमा चैते चराको खोजीमा लाग्यौं। नाइट जार भनेर चिनिने चैते चराहरू साह्रै 'इलुसिभ' हुन्छन्, खोज्न गाह्रो। अझ धेरै प्रकारका चैते चराहरू त रूखको भागझैं देखिन्छन्, दिउँसै पनि रूखमा देख्न गाह्रो पर्छ।
साँझबिहान सक्रिय हुने यी चरा देख्न तिनकै गीत (आवाज) प्ले–ब्याक (बजाउने काम) गरिन्छ। म आफू भने चरा खोज्ने क्रममा प्ले–ब्याकको फ्यान होइन।
प्ले ब्याकले एक हिसाबले चरालाई डिस्टर्ब गर्छ, एक हदसम्म तनाव पनि दिन्छ। मैले धेरै पटक चैते चरो सुने पनि त्यो मेरो 'लाइफर' (पहिलो पटक देखिएको चरा) सूचीमा मा पर्न सकेन। आँखाले देखेर आफैले पहिचान गर्न नसकेसम्म कुनै चरालाई पनि लाइफरमा राख्दिनँ।
इस्टर्न ह्विप पुअर विल नामको चरो देख्न मलाई सात वर्ष लागेको थियो।
चराको अध्ययन वा सर्वेक्षणका क्रममा प्ले–ब्याक प्रयोग गर्न जरुरी हुन्छ, खासगरी 'इलुसिभ' प्रजातिका सन्दर्भमा। हाम्रो टोली त्यो ह्विप पुअर विलका लागि प्ले–ब्याक प्रयोग गर्न राजी भयो।
बिहानको चार बजेको त्यो अँध्यारो र सुनसानमा ह्विप पुअर विल...ह्विप पुअर विल गीत गुन्जियो। मैले एक टकले आकाशतिर हेरिरहेँ, केही उडेर आइहाल्छ कि भनेर।
केही बेरमा एउटा ठूलो छाया उडेर नजिकैको रूखमा बस्यो तर ह्विप पुअर विल भन्दा ठूलो देखियो। के होला भनेर सोच्दै थियौं, त्यसले गीत गाउन थाल्यो – हू कुक्स फर यू...हू कुक्स फर यू...अल्ल्ल्लू...।
चरासंसारमा तिनको गीत कण्ठ गर्न विभिन्न उपाय अपनाइन्छ। त्यसमध्ये एक हो चराको गीत मान्छेको भाषामा हाल्ने।
नेपालका धेरै भागमा, खोलानाला र पानीको स्रोत भएका क्षेत्रमा प्रशस्त पाइने कल्चौंडेको गीतले 'काली छु, कल्चौंडी छु, तेरो बाउको के खाइदिएकी छु' भन्छ रे!
अमेरिकामा पनि सबैको आआफ्नो तरिका रहेछ। बार्ड आवलको 'हू कुक्स फर यू... हू कुक्स फर यू अल्ल्ल्लू' निकै प्रख्यात छ।
ब्ल्याक क्याप चिकडीको 'हे स्विटी' वा 'चिजबर्गर' पनि प्रख्यात छ। अझ यहाँ पाइने एक प्रकारको अर्जुनकले त 'कविक थ्री बियर्स' भनेर बियर माग्छ।
त्यो पार्कमा बार्ड आवल बाहेक अरू केही पाइएन। गत साल त्यही ठाउँमा मैले धेरै संख्यामा बसाइँ सरेका चराहरू सुनेको थिएँ। बसाइँसराइका बेला रातिपख ध्यान दिएर सुन्ने हो भने धेरै किसिमका चराको आवाज सुनिन्छ। त्यो आवाजलाई 'नक्चर्नल कल' भन्छन्। यसपालि पानी परेकाले होला, चराहरू खासै सुनिएनन्।
दुइटा पार्क सकिन नपाई मेरा खुट्टा भिजेर निथ्रुक्क भए। साँझको घाम नढल्किँदासम्म बर्डिङ गर्नु थियो। खुट्टा बिहान चार बजे नै चिसो!
बार्ड आवल त्यो दिनको पहिलो चरो हुन गयो। त्यसपछि हामी अर्को पार्कमा अरू केही उल्लू भेटिन्छन् कि भनेर खोज्ने योजनामा थियौं तर समय तालिका धेरै अगाडि पुगेकाले कुलवारी चरो सुनिन्छ कि भनेर अर्कै पार्क गयौं।
नभन्दै त्यो पार्कको बाहिरी भागमा सोरा नामको कुलवारी प्रजातिको चरो कराएको सुनियो। सिम चरामा पर्ने सोरा तालतलैया वरपरका झाडीमा बस्न रूचाउँछ। यो चरो भेटिन गाह्रो पर्छ। साँझपख वा बिहानीपख मात्र सक्रिय हुन्छ।
इस्टर्न ह्विप पुअर विल। तस्बिरः अनुज घिमिरे
बार्ड आवल। तस्बिरः अनुज घिमिरे
अँध्यारोमा खोज्नुपर्ने चरामध्ये दुइटा भेटिइसकिएका थिए। हामी बिस्तारै पार्कभित्र गयौं। त्यहाँ ग्रेट हर्न्ड आवल हुन्थ्यो। यसपालि पनि त्यो भेटिन्छ भन्ने विश्वास थियो।
केही बेरको पर्खाइपछि उल्लू कराएको सुनियो तर ग्रेट हर्न्ड आवल थिएन, स्क्रिच आवल थियो। हामीलाई थाहा भएकोमा एउटा मात्र पार्कमा स्क्रिच आवल सक्रिय थियो। हामीले त्यहाँ स्क्रिच आवल होला भन्ने सोचेका थिएनौं। त्यो त हाम्रा लागि बोनस भइदियो।
ग्रेट हर्न्ड आवल भने सुनिएन। त्यो उल्लू खोज्न सजिलो हुने भएकाले आश मरेको थिएन। दिनको अन्त्यसम्ममा नपाइए अर्को एउटा पार्कमा जान सकिन्थ्यो। त्यहाँ मलाई त्यो उल्लूको गुँडबारे थाहा थियो।
बिस्तारै सूर्य क्षितिजमा आउँदै थियो। हामी फिस्टे चरो धेरै पाइने पार्कतिर लाग्यौं। उज्यालो नभइसकेकाले अझै पनि राति सक्रिय हुने चराहरू देखिन्छन् कि भन्ने आश थियो। त्यो पार्क पुगेर केही बेर हिँड्ने बित्तिकै ग्रेट हर्न्ड आवलको हु हु हु हु सुनियो। त्यो समय सजिलै पाउन सकिने सबै उल्लू हाम्रो सूचीमा परे।
त्यसबाहेक राति सक्रिय हुने अरू चरा पाइएन। सोरा जस्तै भर्जिनिया रेल नामको चरो पनि पाउन सकिन्थ्यो तर पटक्कै भेटिएन, सुनिएन। चैते चरो इस्टर्न ह्विप पूर विल त झन् सुन्न पनि पाइएन। घाम खासै नलागेको र पानी परेको भए पनि सूर्योदयसँगै बिस्तारै पार्कमा अर्केस्ट्राझैं संगीत गुन्जिन थाल्यो। हाम्रा चराको सूची बढ्दै गयो।
पार्कको मध्य भागतिर पुग्दा उत्साह दोब्बर भयो। कुनै रूखबाट एउटा सुमधुर संगीत आइरहेको थियो। म गीतका भरमा चरो राम्ररी चिन्न सक्दिनँ तर त्यो चरो चिन्न सक्थेँ। त्यो चराको गीत यति खास हुन्छ कि एक पटक सुनेपछि बिर्सिन सकिँदैन।
त्यो थियो वुड थ्रस।
खुसीको कुरा के थियो भने गएको आठ वर्षयता फार्गो क्षेत्र (अमेरिकामा म बस्ने ठाउँ) मा बर्डिङ गर्दा मैले त्यो चरो देखेको थिइनँ।
हुन त त्यो दिन वुड थ्रस मेरा लागि पहिलो थिएन। केही हप्ताअघि एउटा पार्कमा देखेको थिएँ। आठ वर्षसम्म नदेखेको चरो केही हप्तामै दुई पटक देख्न पाएको थिएँ।
त्यस पार्कमा मात्र हामीले ५४ प्रजातिका चरा देख्यौं। त्यहाँबाट हामी निस्किँदा भारी वर्षा हुँदै थियो। मेरो दुरबिन पनि मज्जाले भिजिसकेको थियो। हरेक पटक हेर्दा दुरबिन पुछ्नुपर्ने भएको थियो।
अर्को पार्कमा पुग्न नपाई एउटा फिस्टे चरो कराएको सुनियो। मैले चिनिनँ तर मेरा सहयात्री दुवै जना एकैचोटि ब्ल्याक थ्रोटेड ग्रीन वार्बलर भनेर कराए। त्यो मैले फार्गोमा एक पटक मात्र देखेको चरो थियो। म खुसी भएँ।
पानी निरन्तर परिरह्यो। मेरा खुट्टा साँझसम्ममा औंला नै झर्ने हो कि जस्तो चिसा भएका थिए। पहिले पनि यस्तो पानीमा चरा नखोजेको होइन। केही बेरपछि पानी रोकिएर खुट्टा तात्न पायो।
दिनको बाह्र बजेसम्ममा हामीले सङ बर्ड्स वा प्यासेराइन चरा खोजिसकेका थियौं, साधारणतया जंगलमा पाइने चरा।
अब पानीमा पाइने चरा खोज्नु थियो। फार्गोको नजिकमा ताल छैन। त्यसको उत्तरी भागमा सिवेज पन्ड भनेर सहरभरिको ढलको पानी जम्मा गरिन्छ। फार्गो क्षेत्रमा सबैभन्दा धेरै चरा पाइने ठाउँ त्यही हो।
त्यो पोखरीमा मात्र २२८ प्रजातिका चरा पाइएका छन्। प्राकृतिक वासस्थान मासिँदै गएकाले यस्ता कृत्रिम पोखरी पनि चराका लागि ओएसिस हुन्छन्।
मे महिनामा एक घण्टा त्यो पोखरीमा हिँड्दा ५०–६० प्रजाति नपाएको दिन हुँदैन। हामीले हाँस वा पानीमा बस्ने सबै चरा त्यहाँ र त्यसपछिको अर्को ठाउँमा खोज्नु थियो।
हामी त्यहाँ पुग्दा पानी रोकिनु त के, झन् बढ्यो। अलिक माथिल्लो भेगमा पर्ने भएकाले हावा मजाले चल्दै थियो। मलाई चरा हेर्न पनि गाह्रो भइरहेको थियो। दूरबिनको भित्री भागमा समेत पानीको फोका देखिन थालेको थियो। दूरबिनबाट हेर्दा धमिलो देखिन्थ्यो। दूरबिन नै बिग्रिने हो कि भन्ने लाग्न थालेको थियो।
त्यस्तैमा मैले परबाट एउटा चरो उडेर आएको देखेँ। दूरबिनबाट त हेर्न मिल्ने नै थिएन। उडाइको तरिका देख्दा गंगा चिल अर्थात् अंग्रेजीमा सि–गल भनेर प्रख्यात चरो हुन सक्थ्यो। टाउको कालो थियो। त्यो चरो नजिकै आइपुग्यो। त्यो त फ्यालफ्याले पो रहेछ, अंग्रेजीमा टर्न भनिने।
बर्डिङ अर्थात् चरा हेर्ने प्रक्रियामा धैर्य चाहिन्छ। चराको आँखा, पखेटाको रङ, लम्बाइ, उड्ने तरिका सबै विचार गर्नुपर्छ। बर्डिङका सिकारूहरू चराको आनीबानी र वासस्थानमा ध्यान दिँदैनन्।
म चराविज्ञ होइन, बर्डिङमा सिकारू हुँ। गएको केही वर्षयता चिनेजानेका अनुभवी बर्डरहरूको संगतले चराको वासस्थान र आनीबानीमा ध्यान दिन थालेको छु। सबै पक्षमा ध्यान दिने प्रयास गर्दागर्दै पनि गल्ती भइहाल्छ। अघि फ्यालफ्याले चरो देख्दा हाम्रो क्षेत्रमा पाइने फोस्टर्स टर्न होला भन्ने ठानेँ।
सहयात्री दुई जनाले पनि हेरे। मैले सोचेको फोस्टर्समा नहुने चिह्नहरू याद गरेर भनेँ– यो त फोस्टर्स जस्तो देखिँदैन।
फोस्टर्स टर्न। तस्बिरः अनुज घिमिरे
अपल्यान्ड स्यान्ड पाइपर । तस्बिरः अनुज घिमिरे
मैले दुरबिन पुछेर त्यो चरो हेरेँ। फोस्टर्सको छाती पूर्ण रूपमा सेतो हुन्छ, पखेटा अलिक कालो हुन्छ। त्यसको त छाती मैलोसेतो थियो र पखेटा पूर्ण रूपमा खैरो।
आफ्नो गल्ती थाहा पाएर कराएँ– यो त कमन टर्न हो।
त्यो फ्यालफ्याले मेरा लागि फार्गो अर्थात् क्यास काउन्टीको नयाँ चरो थियो। मैले आठ वर्षसम्म पनि त्यो चरो देखेको थिइनँ।
त्योसँगै क्यास काउन्टीको मेरो लाइफर सूचीमा चराको प्रजाति २७१ पुगेको थियो। जम्मा ३२५ प्रजातिका चरा पाइने ठाउँमा २७१ प्रजाति मेरा लागि ठूलो कुरा थियो।
त्यहाँबाट हामी क्यास काउन्टीको पश्चिमी भेगतिर लाग्यौं। त्यहाँ प्राकृतिक तालहरू छन्। त्यहाँ अन्य चरा पाइने सम्भावना थियो। पानी रोकिएकै थिएन। मेरा खुट्टाका औंला चिसोले खान्छझैं लागेको थियो। कुनै नयाँ चरो भेटिहाल्छु कि भन्ने उत्सुकता पनि थियो।
पश्चिमी भेगको घाँसे मैदान पुग्न नपाई सहरी क्षेत्रमा नपाइने अपल्यान्ड स्यान्डपाइपर अर्थात् सुडसुडियाको एउटा प्रजाति भेटियो। मलाई मनपर्ने चरामध्ये एक।
मैले फार्गोमा नदेखेको अर्को चरो लिस्ट बिटर्न हो, एक प्रकारको जून–बकुल्लो। जति प्रयास गरे पनि त्यो चरो भेट्न सकेको छैन।
बिहानै काउन्टीका लागि नयाँ चरो थपेपछि सायद जून–बकुल्लो पनि भेटिन्छ कि भन्ने आशमा थिएँ तर भेटिएन। पानीमा रमाउने चरा सूचीमा टन्नै जम्मा गरेर हामी फेरि फार्गोतिरै लाग्यौं।
चिसा खुट्टा लिएर दिनभर हिँडेको हिँड्यै गरेर होला, खुट्टा तातेको झैं लाग्न थालेको थियो। ध्यान चरामै थियो। फार्गो फर्किँदासम्ममा हाम्रो सूचीमा १५७ चरा थिए, गत सालभन्दा धेरै।
अझै थपेर १६० पुर्याउने प्रयासमा विशिष्ट चराको वासस्थान खोज्न थाल्यौं।
त्यसमध्ये एउटा थियो तित्रा वा लार्वान प्रकारको चरो जसलाई हंगेरियन पाट्रिज वा ग्रे पाट्रिज भन्छन्। यो चरो खोज्न हामी सहरी भेगमा भर्खर काटिएको घाँस भएको ठाउँतिर गयौं, साँच्चै भेटियो।
भेट्न सकिने अर्को चरो थियो कमन नाइट हक एक प्रकारको चैते चरो। दिन धेरै चिसो भएकाले मेरा सुपरभाइजर र अर्का साथीलाई भने आश थिएन।
नाइट हक साँझ परेपछि कीरा–फट्यांग्राको खोजीमा चमेरो जस्तै गरेर आकाश सयर गर्छ। मैले उनीहरूलाई नाइट हक देखिन सक्ने पार्कतिर लगेँ।
साँच्चै, केही बेरमा कमन नाइट हक देखियो।
त्यस दिनको बर्डिङ त्यही चराबाट अन्त्य भयो। त्यस दिन हाम्रो सूचीमा १५९ प्रजाति सूचीकृत भयो।
फार्गो जस्तो चिसो ठाउँमा वसन्त ऋतु नै भए पनि एक दिनमै १५९ प्रजातिका चरा देख्न कठिन हुन्छ। त्यस दिन हामीलाई थाहा भएका चराको वासस्थान र गुँडबाहिर नै ढुकेर बस्दा पनि चरो देखिएको थिएन।
त्यस्तैमध्ये एक थियो पेरिग्रिन फ्याल्कन अर्थात् शाही बाज। थाहा भएकै गुँडमा २० मिनेट कुर्दा पनि देखिएन।
आफूले देख्न चाहेकै बेला सबै चरा देखिने भए बर्डिङ पनि के रमाइलो हुन्थ्यो होला र!
आशा गर्छु, अर्को वर्ष पनि रेकर्ड तोडिएला!

(लेखक अनुज घिमिरेले नर्थ डाकोटा स्टेट युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्।)
एक्सः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)