बिहान बेलुकाको दुई छाक खाना खान नपाएर मर्नु पर्ने नै अवस्था त थिएन, आफ्नो भएको खेतबारीले नपुगे पनि अधियाँ गरेरै भए पनि अन्नको जोहो त हुन्थ्यो। बुवाको हजुरबुबाको पालामा भएको भए अरू के चाहिन्थ्यो र?
तर आज त्यो जमाना छैन, सामान्यभन्दा सामान्य जीवन जिउन पनि पैसा अनिवार्य नै भएको छ। आम्दानीको पुर्ख्यौली कुनै स्रोत नभएको मजदुरी गरेर जीवन चलाइरहेका एक परिवारको नवयुवाले परिवारको जिम्मेवारी बोध गर्दछ भने त्यसले बिदेसिनुको विकल्प छैन। अपवाद बाहेक।
आफ्नो योग्यता र आर्थिक अवस्थाअनुसार मान्छेको विदेश पनि फरक फरक पर्दो रहेछ। सकेसम्म धेरै कमाइ हुने ठाउँमा जाने रहर त सबैको हुन्छ।
हुन त आफ्नो र परिवारको आर्थिक अवस्था व्यवस्थित हुँदा हुँदै पनि रहरैले मात्र बिदेसिनेहरू पनि हुनुहुन्छ होला। तर त्योभन्दा कयौँ गुणा बढी नवयुवादेखि अधबैँसे पार गरेका व्यक्तिहरू परिवारको पालनपोषण र आफ्नो सुन्दर भविष्यको कल्पना गर्दै परदेशी रहेका छन्। जो मध्ये म पनि एक हुँ।
सन२०१४ मा म पहिलो पटक वैदेशिक रोजगारीको लागि कतार गएको थिएँ। म्यानपावरलाई ५० हजार रुपैयाँ बुझाएर यति तलब हुन्छ, यो काम गर्ने हो भनेर पुगियो। काम गर्न पनि थालियो। काम त तलमाथि हुन्थ्यो। अब कामै गर्न भनेर आए पछि जे जस्तो भए पनि गर्नै पर्छ भन्ने लाग्यो र गरियो पनि। तर तलब आउँदा भने जति पनि आएन।
कम्पनीमा कुरा गर्दा यति नै हो, यति नै दिन्छु भनेर मैले डिमान्ड पठाएको हो भन्छ। म त यति कमाइ हुन्छ भनेर आएको हुँ, उसो भए मलाई नेपाल पठाई दे भनेको ‘हुँदैन, तेरो भिसा टिकटको पैसा र एजेन्सीलाई कमिसन दिँदा मेरो यति खर्च भएको छ’ पो भन्छ।
जसोतसो झगडा गरेर, काम नगरी कोठामै सुतेर नेपाल फर्कियो। हिजो अस्तिसम्म नेपाल फर्किने नै मुख्य उद्देश्य भएको म, नेपाल पुगेको भोलि पल्टबाट फेरि अलमलमा परेँ। नेपालमा बिस वर्ष पार गरेको युवक जतिको अलमल्लमा अरू कोही हुँदैन होला! के गर्ने? कहाँ जाने?? साथीभाइले के-के गर्दै छन्? म मात्रै पो अलमलमा परेँ कि!
यस्तै अलमलका बिच मैले कति जनालाई पासपोर्ट दिए होला, कटि ओटा मेडिकल गरेँ होला? अहिले मलाई नै याद छैन।
लेखेको पाइन्छ, देखेको पाइँदैन भन्छन्! सायद यसैले होला। मलाई कोरियन भाषा पढ्ने योजना आयो। मेहनत गरेर पढेँ र भाषा पनि पास भएँ। अलमलै अलमलका बिच खुसीयाली छायो! छोरो भाइ भतिजो विदेश जाने भयो भनेर परिवार आफन्तहरूमा पनि हर्ष छायो।
भाषा पास गर्नु नै कोरिया जानू हो जस्तो लाग्दा महिना पनि वर्ष जस्तो, दिन पनि महिना जस्तो लामो लाग्न थाल्दो रहेछ। केही महिनाअघि मात्रै कहिले नेपाल पुगिएला जस्तै भएको मलाई, देश फर्किएपछि कहिले नेपाल छोड्न पाउँला जस्तो भयो। निद्रा चाडै बिउँझियो भन्दैमा बाहिर उज्यालो हुने हो र? भाषा पास गरेको दुई वर्षपछि मात्र म कोरिया उड्न पाएँ।
आज यो लेख लेखिरहँदा कोरिया आएको आठ वर्ष भएछ, यो आठ वर्षमा म दुई पटक नेपाल गएँ। आठ वर्ष त्यति धेरै नै समय त होइन, यही कोरियामा ३०/३२ वर्ष भयो, १२/१५ वर्ष भयो भन्ने त कति छन् कति। बिदामा नेपाल नगएको नै ८/१० वर्ष भयो भन्ने पनि भेटिन्छन्। यिनी सबैका आआफ्नै कारण होला।
पोहोरतिर एक जना अंकल उमेरको मान्छेले भन्नुभएको कुरा चाहिँ सम्झिरहन्छु।
‘छोरो जन्मेपछि म परदेसिएको हुँ, ३/४ वर्षको अन्तरालमा १/२ महिनाको छुट्टीमा नेपाल जाने आउने त गरिरहन्छु, तैपनि अहिले म त त्यो ठाउँको (आफ्नो गाउँ) मान्छे होइन कि जस्तो अनुभूति हुन्छ। अहिले छोरोले १२ पास गर्यो, अब उसले विदेश जाने तयारी गर्दै छ, अब म नेपाल जान्छु। तर बाबु, म नेपाल गएपछि पनि मेरो घरमा हुने शुभ कार्य तथा सुख दुःखमा छरछिमेक आफन्तहरू मेरो घरमा आउँछन् होला त?’
किन र अंकल? आइहाल्नु हुन्छ नि।
‘खै बाबु, १८/२० वर्ष भयो होला न म कसैको मलामी गएको छु न त कसैको जन्त। छरछिमेक, आफन्तहरूको घरमा हुने सुख दुःखमा मेरो भौतिक सहभागिता नै छै।’
अहिले त मलाई पनि त्यस्तै लाग्छ। म पनि कहिले नेपाल बस्ने गरी फर्कन्छु भनेर सोच्न नै सकेको छैन। धेरथोर कमाइ नभएको पनि होइन, जति कमायो त्योभन्दा बढी आवश्यकताहरू थपिँदै जाँदा रहेछन्। चाहेर या नचाहेर मान्छे यस्तो परिबन्धमा फस्दो रहेछ कि, केही महिना/वर्षभन्दा भन्दै युग नै परदेशमा बित्दो रहेछ।
खै नेपालको स्थिति सहज नभएको हो कि? आँट क्षमता नभएको हो? प्रत्येक वर्षको बजेट भाषणको दिन देशले एक वर्षमै ठुलो फड्को मार्ला जस्तो कुरा हुन्छ। तर भोलिपल्ट पर्सिपल्ट भन्दा भन्दै अर्को बजेट भाषण गर्ने दिन आइसक्छ। जस्तो छ त्यही खाउँला, लाउँला र यसमै रमाउँला भनेर पनि नहुने रहिछ। बिजुली, पानी, नुन, तेल, औषधि, उपचार, लत्ताकपडा आदिको जोहो गर्न, चाडपर्व मनाउन पैसा नै चाहिन्छ।
पैसा अघि नसारी यो जमानामा केही नहुने रहिछ। होस बरु विदेशमै बस्छु। अलिअलि कमाइ भएकै छ, आफूले चाडपर्व मनाउन नपाए पनि परिवारले त काल जमानाअनुसार चल्न, चाडपर्व मनाउन पाएकै छन् नि। व्यक्तिगत रूपमा मेरो आफ्नो कुरा गर्दा वैदेशिक रोजगारले मेरो उन्नति नै भएको छ। झट्ट हेर्दा दुख मान्नु पर्ने कुनै ठाउँ छैन। तर किन हो किन भित्र मनमा एक दम आनन्द चाहिँ छैन।
बाल्यकालमा जस्तै अहिले पनि आमाबुबाको काखमा लुटुपुटु हुन पाए हुन्थ्यो जस्तो लाग्छ, आमाबुबा अस्पताल जाँदा आफू पनि सँगै गएर के के भएको छ? डाक्टर साब, कुन कुन औषधि कसरी खाने हो? भनेर आफैले सोध्न पाए हुन्थ्यो जस्तो लाग्छ। आफैले पकाएर खुवाउन पाए हुन्थ्यो जस्तो लाग्छ। तर खै कहिले होला भन्ने प्रश्नले नै यो मनमा चिन्ता पारेको हो।
कुरा त्यति मात्र छैन, व्यक्तिगत रूपमा नजिक भएका कति धेरै जना साथीहरू बाआमाको मुख हेर्ने भनेर आजको भोलि टिकट काटेर नेपाल गएका भेटिन्छन्। अनि त मन झन् आत्तिन्छ। कतै मेरो सपना पनि अधुरै हुने पो हो कि!
जुन समाजमा हुर्कियो त्यही समाजको संस्कार भन या कुसंस्कार भनौँ, यसैको प्रभावले होला अचेल त मालाई आफ्नो छेउमा काग कराउँदा पनि डर लाग्छ। आजको मुड कस्तो हुन्छ भन्ने कुरा राति देखेको सपनामा भर पर्छ। उमेरमै स्वास्थ्य अवस्था राम्रो नै छ र चित्तबुझ्दो कमाइ पनि छ भने त्यस्तो मान्छे नेपाल फर्केको भेट्न मुस्किल छ। जता हावा चल्यो पात पनि त्यतै भएर होला, म पनि यतै रुमलिरहेको छु।
अब यसै नै स्वेच्छाले देश फर्कने दिन कहिले आउने हो कहिले!
त्यसैले कहिलेकाहीँ त लाग्छ, नेपालका शीर्ष नेताहरूलाई मुख छाडेर गाली दिऊँ। डिपोर्ट गरेर भए पनि नेपाल लान्थ्यो कि? नभए बिदामा जाँदा भने पनि आउन दिँदैन थिए होला।