केही समयअगाडि मैले एक शैक्षिक समारोहमा सहभागी हुने अवसर पाएँ। समारोहमा विभिन्न विद्यालयहरूमा आफ्ना छोराछोरी पढाइरहेका अभिभावकहरूको उल्लेख्य उपस्थिति थियो। कुराकानीको सिलसिलामा उनीहरू आ–आफ्ना अनुभव व्यक्त गरिरहेका थिए। छोराछोरीको पढाइ, विद्यालयको शैक्षिक स्तर, र कक्षाको वातावरणबारे।
त्यही क्रममा केही अभिभावकहरूले आफ्ना नानीबाबुहरूको विद्यालयमा विद्यार्थीहरूलाई परीक्षामा प्राप्त अंकका आधारमा वर्ग विभाजन गरिने जानकारी गराए। उनीहरूको भनाइअनुसार राम्रो अंक ल्याउने विद्यार्थीहरूलाई एउटै सेक्सनमा राखिन्छ र बाँकीलाई छुट्टै सेक्सनमा। कतिपय अभिभावकहरू त यसलाई गर्वको रूपमा व्यक्त गर्दै आफ्ना नानी–बाबुहरू ‘जान्ने’ समूहमा परेको बताउँदै थिए।
तर अर्का थरी अभिभावकहरू भने फरक धारणा राख्थे। उनीहरूले अहिलेको समयमा ‘जान्ने’ र ‘नजान्ने’ भन्ने विभाजनको कुनै औचित्य छैन भनी तर्क प्रस्तुत गरिरहेका थिए। उनीहरूका अनुसार विभिन्न क्षमताका विद्यार्थीहरूलाई एउटै कक्षामा राखेर पढाउँदा सिकाइको प्रक्रिया अझ प्रभावकारी हुन्छ।
दुवै पक्षका तर्कहरू आ–आफ्नै स्थानमा सुसंगत देखिन्थे। तर यस्ता भिन्न मतका बिचमा मलाई शिक्षाको वर्तमान अभ्यास र भविष्यप्रति केही गहिरा प्रश्नहरूले घेरिरहेको अनुभव भयो। कोभिडपछि औपचारिक र अनौपचारिक रूपमा शिक्षा क्षेत्रमा आएका परिवर्तनहरू, शिक्षालाई हेर्ने दृष्टिकोणमा आएको विविधता र विद्यार्थी–केन्द्रित सिकाइको महत्त्वबारे पुनः सोच्ने बेला भएको मलाई लाग्यो। यही सोचले मलाई यो लेख तयार पार्न प्रेरित गर्यो जसको उद्देश्य व्यक्तिगत टिप्पणी होइन, शैक्षिक अभ्यासप्रति हो।
शिक्षा मानव जीवनको लागि अत्यन्तै आवश्यक र अपरिहार्य तत्त्व हो। सामान्यतः शिक्षालाई दुई प्रकारमा वर्गीकृत गर्न सकिन्छ— औपचारिक र अनौपचारिक। यी दुवै प्रकारका शिक्षाले व्यक्तिको जीवनमा गहिरो प्रभाव पार्दछन्। बालकको जीवनमा शिक्षा जन्मेदेखि नै प्रारम्भ हुन्छ। जब ऊ बोल्न थाल्छ र समाजमा बढ्दै जान्छ, त्यही क्रममा ऊ घर, परिवार, समुदाय र सामाजिक परिवेशबाट विविध कुराहरू सिक्दै जान्छ— यही नै अनौपचारिक शिक्षाको प्रारम्भ हो।
यसपछिको चरणमा बालक औपचारिक शिक्षाको संसारमा प्रवेश गर्छ— विद्यालयमा। आजको समयमा अभिभावकहरू औपचारिक शिक्षा सुरु गराउने निर्णय गर्दा निकै सजग र अनुसन्धानमुखी देखिन्छन्। विद्यालय छान्ने क्रममा उनीहरू शैक्षिक वातावरण, पठनपाठनको शैली, शिक्षकको योग्यता, भौतिक पूर्वाधार र मूल्य–आधारित शिक्षाको मापदण्डहरूमाथि गम्भीरतापूर्वक विचार गर्छन्। बालकले विद्यालयमा बिताउने समय लामो हुने भएकाले अभिभावकहरूको ठुलो अपेक्षा विद्यालयप्रति रहन्छ। यसै कारण विद्यालयमा अपनाइने अध्ययन–अध्यापन विधि, व्यवस्थापन प्रणाली, र विद्यार्थीप्रति देखाइने दृष्टिकोणले बालकको शैक्षिक यात्रा कत्तिको प्रभावकारी हुनेछ भन्ने निर्धारण गर्दछ।
शिक्षा क्षेत्रमा लामो समयदेखि संलग्न विभिन्न व्यक्तिहरूसँग संवाद गर्ने क्रममा मैले एउटा महत्त्वपूर्ण मतभेद पाएँ— विद्यार्थीहरूलाई एउटै समूहमा राखेर पढाउने कि क्षमता र उपलब्धिका आधारमा फरक–फरक समूहमा विभाजन गर्ने भन्ने विषयमा। कतिपय शिक्षाविद्, शिक्षक, र अभिभावकहरूले यस्तो तर्क राख्छन् कि पढाइमा गहिरो रुचि राख्ने, नियमित गृहकार्य गर्ने तथा परीक्षामा उच्च अंक ल्याउने विद्यार्थीहरूलाई एउटै कक्षामा राखेर शिक्षण गरियो भने पढाइ अझ प्रभावकारी हुन्छ। उनीहरूको विचारमा एउटै स्तरका विद्यार्थीहरू एकै ठाउँमा हुँदा शिक्षण सजिलो हुन्छ किनकि शिक्षकले समान शैक्षिक आवश्यकता भएका बालबालिकालाई लक्षित गरेर पढाउन सक्छन्।
यता अर्को धारणाअनुसार प्रत्येक विद्यार्थी भिन्न क्षमता, रुचि, र सिकाइ शैली लिएर आउँछ जसले गर्दा विविध विद्यार्थीहरूलाई एउटै कक्षामा समायोजन गरेर पढाउँदा सबै पक्षले लाभ लिन सक्ने वातावरण तयार हुन्छ। विद्यालयहरूमा यस किसिमको मिश्रित शिक्षण विधि पनि प्रयोग भइरहेको पाइन्छ। यस्ता विद्यालयहरूमा एकै कक्षामा उच्च र न्यून शैक्षिक उपलब्धि भएका विद्यार्थीहरूलाई एकसाथ राखेर सिकाइ प्रविधिहरू अपनाइन्छ। केही शैक्षिक विचारधाराहरूले त अझ भन्न पुगेका छन्— हरेक बालकभित्र कुनै न कुनै किसिमको क्षमता हुन्छ र त्यो क्षमता कसरी प्रकट हुन्छ भन्ने कुरा समय, वातावरण तथा प्रोत्साहनमा निर्भर हुन्छ।
यसरी विभिन्न प्रकृतिका विद्यार्थीहरू एउटै कक्षामा राख्दा पढाइमा खासै रुचि नदेखाउने वा कम अंक ल्याउने विद्यार्थीहरू, आफ्नो वरपरका मेहनती वा उत्कृष्ट साथीसँग प्रेरित भई सिकाइमा सुधार ल्याउन सक्छन्। बालबालिकाहरू अरूको व्यवहार देखेर सजिलै प्रभावित हुने स्वभाव राख्ने हुँदा, सकारात्मक शैक्षिक वातावरणमा उनीहरूलाई राख्दा आत्मविश्वास, जिज्ञासा र रुचिमा वृद्धि हुने सम्भावना हुन्छ। यद्यपि, दुवै तर्फका शिक्षण प्रविधिका आ–आफ्नै फाइदा र चुनौतीहरू छन्। कतिपय अवस्थामा उद्देश्य निर्धारणअनुसार शिक्षा प्रभावकारी बन्न सक्छ भने कतिपय अवस्थामा कमजोर विद्यार्थीहरूले आफैँलाई सधैँ पछाडि परेको महसुस गर्ने खतरा पनि रहन्छ।
एक जना शिक्षाविद्को भनाइ यहाँ उल्लेखनीय छ— ‘शिक्षा कुनै प्रतिस्पर्धा होइन; यो सहकार्य, सहअस्तित्व र सामूहिक उत्थानको प्रक्रिया हो।’
जसरी विज्ञान र प्रविधिले विश्वको रूप रचना नै बदलिदिएको छ, त्यसरी नै शिक्षण–सिकाइको प्रक्रियामा पनि ऐतिहासिक कालदेखि अहिलेसम्म निरन्तर परिवर्तन हुँदै आएको छ। प्राचीन कालको पाटी–पौवाबाट सुरु भएको शिक्षा प्रणाली आजको डिजिटल युगसम्म आइपुग्दा जटिल र बहुआयामिक बनिसकेको छ। नेपालको सन्दर्भमा पनि शिक्षाको स्वरूपमा उल्लेखनीय परिवर्तन आएको छ— कालोपाटी–सेतोपाटीमा सीमित ज्ञान अब डिजिटल राष्ट्रमा रूपान्तरण भइरहेको छ। मूल्यांकन प्रणाली, पठन–पाठनको शैली, परीक्षा व्यवस्था लगायत धेरै पक्षहरूमा नवीन सोच र दृष्टिकोणहरू प्रवेश गरिरहेका छन् जुन परिवर्तनलाई हामीले आत्मसात् गर्न आवश्यक छ।
तर यथार्थमा कतिपय अवस्थामा हामी अझै पनि पुराना अभ्यासहरूमा अल्झिएको देखिन्छ जहाँ सतही मूल्यांकन, परम्परागत सोच र आफ्नै सुविधाका आधारमा निर्णय लिइन्छ। आजको शिक्षण प्रणालीमा अझै पनि पाठ्यपुस्तकलाई घोकेर, जति सक्दो उच्च अंक ल्याउने विद्यार्थीहरूलाई मात्र आदर्श मान्ने प्रवृत्ति देखिन्छ। यस्ता विद्यार्थीहरू सम्मानका पात्र अवश्य हुन् तर केवल अंकका आधारमा उनीहरूलाई ‘श्रेष्ठ’ कोटीमा राख्नु गम्भीर प्रश्न उठाउने विषय हो। किनभने प्रत्येक विद्यार्थी फरक हुन्छ— कसैमा भाषिक क्षमता उच्च हुन्छ, कसैमा विश्लेषणात्मक, त कसैमा रचनात्मक।
त्यसैले आजको शिक्षणमा हामीले एउटै ढाँचामा सबैलाई थिच्न खोज्नुको साटो बालबालिकाको आ–आफ्नो रुचि र क्षमताअनुसार सिकाइको अवसर दिनुपर्छ। यदि उनीहरूलाई मात्र अंकका आधारमा छुट्टाएर फरक समूहमा राखियो भने कम अंक ल्याउने विद्यार्थीहरूमा उत्प्रेरणाको कमी हुन सक्छ, जुन उनीहरूको सिकाइमा नकारात्मक असर पार्न सक्छ। त्यसैले सबै प्रकारका विद्यार्थीहरूलाई एउटै कक्षामा समायोजन गरेर अध्ययन–अध्यापन गराउँदा विविधताको सम्मान हुने मात्र होइन, शिक्षण प्रक्रियामा परस्पर प्रभाव पनि सकारात्मक रूपमा देखिन्छ।
विभिन्न भाषा, धर्म, संस्कृति, सामाजिक परिवेश र शैक्षिक पृष्ठभूमिबाट आएका विद्यार्थीहरू एकै स्थानमा सिक्दा उनीहरूबिच संवाद, सहकार्य र समझदारी पनि विकास हुन्छ। यही विविधता शिक्षाको असली शक्ति हो, जहाँ सबैले सबैबाट केही न केही सिक्ने अवसर पाउँछन्।
हरेक व्यक्ति फरक हुन्छ– सोच, बुझाइ, सिक्ने शैली र व्यवहारमा। शिक्षा प्रणाली यस्तो हुनुपर्छ जसले यी विविधतालाई आत्मसात् र सम्मान गरोस्। कोही चित्र हेरेर सिक्छ, कोही संगीत सुनेर, त कोही खेल्दा–खेल्दै सिक्छ। यस्तो भिन्नता स्वीकार गर्ने शिक्षाले मात्र साँचो समावेशी वातावरणको निर्माण गर्न सक्छ।
मनोवैज्ञानिक ज्याँ पियाजेले भनेका थिए– ‘बालबालिकालाई के सोच्ने होइन, कसरी सोच्ने भन्ने कुरा सिकाउनु पर्छ।’ त्यसैले फरक क्षमता भएका विद्यार्थीहरूलाई एउटै कक्षामा राखेर उपयुक्त पद्धतिबाट शिक्षित गर्नु अत्यावश्यक छ।
शिक्षा व्यक्तिको मात्र होइन, समग्र समाजको पनि रूपान्तरण गर्ने मूल साधन हो। फरक क्षमता भएका विद्यार्थीहरू एउटै कक्षामा पढ्दा सहिष्णुता, सहकार्य र करुणा जस्ता मानवीय गुणहरू विकास हुन्छन्। यसै आधारमा भविष्यमा विवेकी, समावेशी र मानवीय समाजको निर्माण सम्भव हुन्छ। शिक्षाको यही महत्त्व दर्साउँदै हेलन केलरले भनेकी थिइन्– ‘सामूहिक प्रयास बिना कुनै ठुलो उपलब्धि सम्भव हुँदैन।’
आज विज्ञान र प्रविधिको तीव्र गतिले शिक्षाको स्वरूपलाई आमूल रूपले परिवर्तन गरिदिएको छ। डिजिटल कक्षा, स्मार्टफोन, अनलाइन माध्यम र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले शिक्षाको पहुँच र प्रकृति नै फरक बनिसकेको छ। अबका विद्यार्थीहरू सानै उमेरमा विविध विषयवस्तु छिटो र सजिलो तरिकाले सिकिरहेका छन्। यद्यपि हाम्रो शिक्षा प्रणाली अझै कतै–कतै पुरानो सोचमा अल्झिएको जस्तो देखिन्छ।
धेरैजसो ठाउँमा अझै पनि ‘हाम्रो पालाको पढाइ नै राम्रै थियो’ भन्ने दृष्टिकोण हाबी छ। यस्तो सोचले शिक्षामा परिवर्तनको गति रोकिन जान्छ। यसै कारणले शिक्षाविद् जान ड्युईले भनेका थिए– ‘यदि हामी आजका बालबालिकालाई हिजोको शिक्षा दिन्छौँ भने हामी उनीहरूको भोलिलाई खोसिरहेका हुन्छौँ।’
एक समय थियो जब शिक्षकलाई ज्ञानको एक मात्र स्रोत मानिन्थ्यो। विद्यार्थीहरू पाठ्यपुस्तक घोकेर परीक्षा दिन्थे र अंक नै सबै थोक थियो। अहिले भने शिक्षा बुझाइमा आधारित हुनुपर्ने अवधारणा बलियो बन्दै गएको छ। शिक्षक ज्ञान दिने होइन, ज्ञानको यात्रामा साथ दिने मित्र बन्नुपर्ने आवश्यकता छ।
आजको शिक्षामा केवल परीक्षा र अंक नै मापदण्ड हुन सक्दैन। कुनै विद्यार्थीले ए+ ल्याएर उत्कृष्ट देखिन सक्छ तर अर्काले कम अंक ल्याएर पनि उत्कृष्ट सामाजिक चेतना, सृजनशीलता वा नेतृत्व क्षमता देखाउन सक्छ। त्यसैले शिक्षा समावेशी, प्रेरणादायी र प्रगतिशील हुनुपर्छ। यसै सन्दर्भमा शिक्षा शास्त्री मारिया मोन्टेसोरीको भनाइ स्मरणीय छ– ‘हरेक बालक अद्वितीय हुन्छ, उसले सिक्ने शैली र समय पनि फरक हुन्छ।’
अहिले शिक्षा प्रणालीको उद्देश्य केवल परीक्षा पास गराउनु मात्र होइन, व्यक्तिको सम्पूर्ण व्यक्तित्व विकास गर्नु हो। विद्यालय, शिक्षक, अभिभावक र नीति–निर्माताहरूले मिलेर विद्यार्थीमा आत्मविश्वास, जिज्ञासा र सकारात्मक सोच विकास गराउनु आजको आवश्यकता हो। ‘तिमी राम्रो गर्दै छौ’ भन्ने एउटा सरल वाक्यले विद्यार्थीको आत्मबलमा अपार ऊर्जा दिन सक्छ।
तर अझै पनि कतिपय विद्यालयमा अंकको भरमा मूल्याङ्कन हुने परिपाटी कायमै छ। शिक्षालाई अझ समावेशी बनाउँदै लैजानको लागि शिक्षण पद्धतिमा विविधता ल्याउनु आवश्यक छ।
परीक्षा भनेको पाठ्यपुस्तक अध्ययनसँग जोडिएको एक पक्ष मात्र हो। हरेक विद्यार्थीको क्षमता, रुचि र पृष्ठभूमि फरक हुन्छ। कोही सिर्जनात्मक कार्यमा अग्रसर हुन्छ, कोही समाजसेवामा, त कोही अध्ययनमा। यसैले विद्यार्थीलाई केवल अंकको आधारमा वर्गीकरण गर्नु अनुचित हो।
विद्याले विनय दिन्छ र ज्ञानको साँचो सार आत्मसात् गर्ने, बाँड्ने, र सहकार्य गर्ने प्रक्रियाबाट नै हासिल हुन्छ। आजको शिक्षामा सहभागीमूलक सिकाइ झनै आवश्यक बन्दै गएको छ। शिक्षा भनेको केवल शिक्षकबाट विद्यार्थीमा पुग्ने प्रक्रिया होइन, त्यो परस्पर सिकाइ हो– परिवेश, समाज, अनुभव र प्रविधिबाट समेत।
यही सन्दर्भमा प्रसिद्ध भनाइ छ–
‘यदि बच्चा हामीले पढाउने तरिकाले सिक्न सक्दैन भने हामीले बच्चाले सिक्ने तरिकाले पढाउनुपर्छ।’
फरक क्षमता भएका विद्यार्थीहरू एउटै कक्षामा हुँदा उनीहरूले एक–अर्काबाट प्रेरणा, ऊर्जा र सहकार्यको भावना सिक्छन्। उनीहरूलाई छुट्टाउनुको सट्टा साथ दिइनुपर्छ। त्यसैबाट उनीहरूको आत्मविश्वास र सामूहिक प्रगति सम्भव हुन्छ।
भारतीय अभिनेता शाहरुख खानले एक अन्तर्वार्तामा भनेका थिए– ‘म विश्वविद्यालय जान सकिनँ भन्ने कुरा जीवनको सबैभन्दा ठुलो पछुतो हो। किताब पढ्न पाएँ तर विभिन्न पृष्ठभूमिका साथीहरूसँगको अन्तर्क्रिया, बहस, अनुभव बाँड्न नपाएको खल्लो महसुस आजसम्म छ।’ शिक्षाको शक्ति यही हो– भिन्न पृष्ठभूमि र अनुभवलाई एउटै छानामुनि ल्याउने।
त्यसैले ‘जान्ने’ र ‘नजान्ने’ भनेर विद्यार्थीलाई छुट्टाउनु असान्दर्भिक छ। समावेशी शिक्षा प्रणालीबाट हरेक विद्यार्थीलाई सिक्ने अवसर सुनिश्चित हुन्छ।
शिक्षा भनेको केवल किताबको ज्ञान होइन, त्यो जीवन बुझ्ने, अरूको भावना बुझ्ने, सहअस्तित्वको मूल्य आत्मसात् गर्ने र निरन्तर सुधार गर्दै जाने यात्राको नाम हो।
आजको शिक्षण प्रक्रिया अत्यधिक जटिल, बहुआयामिक र विविधतापूर्ण बनेको छ। कतिपय अवस्थामा, विशेष उद्देश्य वा तयारीका लागि एकै प्रकारका विद्यार्थीलाई एकसाथ राखेर सिकाउन सकिन्छ। तर त्यो समाधान सधैँ प्रभावकारी हुँदैन। फरक क्षमता भएका विद्यार्थीहरूबाट कक्षामा अन्य विद्यार्थीहरूलाई पनि लाभ मिल्न सक्छ।
अनुशासन भंग गर्ने विद्यार्थीको सन्दर्भमा तिनलाई छुट्टाउने होइन, समुचित काउन्सिलिङ र मार्गदर्शन आवश्यक हुन्छ। सबै विद्यार्थीमा कुनै न कुनै प्रतिभा हुन्छ– त्यसलाई फस्टाउन सहयोग गर्नुपर्छ। कोही पुस्तकमा राम्रो गर्छ, कोही जीवनमा। दुवै प्रकारका विद्यार्थी सफलताको पात्र हुन सक्छन्।
आजको युग ‘एक–अर्काबाट सिक्ने’ युग हो। प्रविधिको माध्यमबाट हामी संसारभरिका अभ्यासहरू तुरुन्तै सिक्न सक्छौँ। शिक्षा क्षेत्रका सबै पक्षलाई समयानुकूल परिवर्तन गर्न आवश्यक छ– शिक्षकहरूलाई पनि नवीन विधि सिक्न, प्रयोग गर्न र अनुसन्धानमा लाग्न प्रोत्साहित गर्नुपर्छ।
अन्ततः शिक्षा भनेको केवल किताबी ज्ञान होइन– यो एक निरन्तर परिवर्तनशील, समावेशी र भावनात्मक रूपमा समृद्ध यात्राको नाम हो। हरेक विद्यार्थीलाई यो यात्रामा समेट्न सक्नु नै साँचो शिक्षाको सार हो। फरक सोच, क्षमता र रुचिलाई सम्मान गर्दै अघि बढेको शिक्षा प्रणाली नै उज्यालो भविष्यको ढोका खोल्ने चाबी हो।