जेठको चर्को घाम। स–साना स्कुले केटाकेटी हातमा प्लाकार्ड बोकेर सडकमा। उनीहरू फोहोर फाल्न पाइँदैन, यस्तो मान्छे चाहिँदैन भन्दै नारा लगाइरहेका थिए। उत्साह र उमङ्गका साथ विश्व वातावरण दिवस मनाइरहेका थिए।
उनीहरूलाई देख्दा मैले मेरो त्यही उमेर सम्झिएँ। हो, त्यही उमेरमा, त्यही गर्मीमा, म पनि सडक सडक चिच्याउँदै हिँडेकी थिएँ—प्रकृतिका लागि, हरियालीका लागि, भविष्यका लागि। हिजो हामीले उठाएका नारा आज ती नानीहरूले बोकेका छन्। तर हिजोको भन्दा आजको सङ्कट गहिरो, जटिल र बहुआयामिक भएको महसुस हुन्छ। समस्या बढ्दो छ। तर समाधानका बाटामा अझै अवरोध छन्। अझै उल्झन छन्।
-copy-1749910056.jpg)

आज म त्यो उमेरको भएजस्तो भौतिक रूपमा सडकमा त थिइनँ, तर मनले भने झनै प्रखर भएर प्रकृतिको पक्षमा बोल्न खोजिरहेको थियो। त्यही दिन तारागाउँ सांस्कृतिक केन्द्रमा ‘ एट द टिपिङ प्वाइन्ट: आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ शीर्षकमा विशेष कला प्रदर्शनी सुरू हुँदै थियो। कला प्रतिरोध हो, चेतना हो, र परिवर्तनको आग्रह हो। मनले त्यतैतिर डोहोर्यायो। सायद कलाको प्रेम र वातावरणप्रतिको प्रतिबद्धता!
साँझमा कार्यक्रम थियो। गर्मीको लामो दिन। उज्यालै हुने भयो। तारागाउँको चिसो हलमा वातावरणीय चेतनाले घेरिएको कला महकाइरहेथ्यो। हिमालको छायामा र पृथ्वीको छातीमा लागेका चोटहरू कलाकारले क्यानभासमा, भिडिओमार्फत, ध्वनिमार्फत अनि माटोमार्फत उतारेका थिए। ती दृश्यहरू अन्तरात्मालाई झस्काउने खालका थिए।
सगरमाथा नेक्स्ट र सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजित प्रदर्शनीलाई प्रख्यात भारतीय कला इतिहासकार डा. अर्शिया लोखन्डवालाले संयोजन गरेकी थिइन्।

कलाकार सलिल सुवेदीको ‘अर्थ इमर्जेन्स’ नामक लाइभ प्रस्तुति थियो। रातो माटोसँग खेलेका थिए उनले। हाम्रो संस्कारमा पवित्र मानिने रातो माटो। पर्यावरणसँगको साइनो। उनी बाढीले बगाएर ल्याएको कुनै एउटा वस्तुका रूपमा प्रदर्शनी स्थलमा आइपुग्छन्। सायद काठको मुढो। अथवा अपरिभाषित आकृति। पानीको आवाजसँग खेल्दै खेल्दै। बग्दै बग्दै । सुमधुर संवाद गर्दै। उनले ध्वनि र माटोसँग हाम्रो सम्बन्ध कसरी गाँसिएको छ अथवा कसरी के छुट्दैछ हामीबाट भनेर झस्काइरहेका थिए। अभिव्यक्त गरिरहेका थिए प्रकृतिसँग विलीन भइरहेको हाम्रो सम्बन्ध। माटो पोतेर आफ्नो शरीरलाई भूमिसँग संवाद गराउँदाको पल उनी स्वयं धरा भएका थिए। दर्शकहरू स्तब्ध थिए। त्यो प्रस्तुति एक प्रकारको पुकार थियो। सायद पृथ्वीकै चित्कार। हराउँदै गएको साइनोको सुस्केरा। सलिलको शरीरले मौन संवाद गरिरहेथ्यो।
शलिलको प्रस्तुतिपछि मस्तिष्कमा अनौठो छाप बसिसकेको थियो। अब पालो थियो अरू प्रदर्शनी नियाल्ने। जसमा १२ जना अन्तर्राष्ट्रिय र नेपाली कलाकारहरूको सिर्जनाले पृथ्वीको विभिन्न कोणबाट उठेका आवाजहरूलाई समेटेको थियो।
हिमाली सिंह सोइनको आर्कटिक हिमनदीको भिडियो होस् वा उर्सुला बिमानको अमेजन जङ्गलसँगको संवाद सबैले हामीलाई एउटा फरक संसार देखाउँछ। त्यो संसार जहाँ प्रकृतिसँगै भावना, संस्कार, र मानवीय अस्तित्व पनि सङ्कटमा छन्।
उत्सा हजारिकाको चमेली फूलले सुशोभित ‘यन्त्र–ब्लुम’ होस् या मक्सुद अली मण्डलको च्याउले बढ्दै गरेको ‘फङ्गल ह्याबिट्याट’—यी सबैले जीवनको पुनः निर्माणको कथा सुनाउँछन्।
समयुक्ता भण्डारीको ‘एकोज अफ सर्भाइवल’ भँगेराको विलुप्त स्वरमार्फत हामीलाई शहरको नीरवताको खतरा सम्झाउँछ।
अमित माछामासीका तस्बिरहरूले भक्तपुरको हराउँदै गएको हरियालीको विलाप सुनाउँछन्।
मोनिका उर्सिना जेगरको ‘लिक्विड टाइम’ बालुवाको जीवनचक्र होस् या जोआना मोलको ‘४००४’ मा देखाइएको डिजिटल यन्त्र र कीराको विलुप्तता बिचको सम्बन्ध—यी सबैले हाम्रो चेतमा हलचल ल्याउँछ।


क्रिस जोर्डनका तस्बिरहरूमा देखिएका प्लास्टिक प्रदूषणले मरेका अल्बाट्रसका चराको बच्चाहरूको तस्बिरले हामीलाई हाम्रो उपभोक्तावादी जीवनशैलीमाथि प्रश्न गर्न बाध्य पार्छन्। त्यही मन भत्किन्छ आफ्ना सन्ततिको भविष्य सम्झेर।
नेवार समुदायको परम्परागत खानासँगै वातावरणीय चेतना समेटिएको सौर्गङ्गा दर्शनधारीको योमरी–गोल्ड जस्तो कलाकृतिले संस्कृतिको संवेदनशीलता सम्झाउँछ भने रोबर्टिना शेबजानिकको एट्लान्टिक टेल्स्ले प्रदूषणको गीत गाउँछ अनि पृथ्वी पनि चिच्याइरहेकी छिन् भनेर जताउँछ।
सबै कला एकेक गर्दै नियाल्दा मैले आफैँसँग, पृथ्वीको भविष्यसँग, र हामीले छोड्दै गरेको विरासतसँग प्रत्यक्ष संवाद गरिरहे जस्तो महसुस भएथ्यो। हरेक कुनामा अपराधबोधको स–सानो बाछिटा थियो। हाम्रा क्रियाकलाप सबै भित्तामा तस्बिर झैँ टाँसिएका थिए।
पृथ्वीप्रति माया जगाउने यो प्रयासले, कला, प्रकृति, चेतना र जिम्मेवारीवोधको यो सङ्गमले मलाई पनि झट्का दिएको थियो।
अब मनभरि प्रश्न तेर्सिएका थिए: हामीलाई भविष्यले पर्खिने वाला छैन। हामी अझै पनि सुस्ताइरहने? अब पनि मौन बस्ने?