सानो छँदाको कुरा हो, विद्यालय जीवन र लामो गर्मी बिदा! बिदासँगै उब्जिएका प्रश्नहरू- तँ बिदामा कहाँ जान्छेस्? साथीहरू बिच गफगाफ हुन्थ्यो।
‘म त मामाघर!’ राधेश्यामले भन्यो।
‘हमत मौसी (सानिमा) के घर जान्छु,’ थोरै नेपाली थोरै भोजपुरी शब्दको चटकार मिठो शैलीमा मोट्काले सुनायो र प्रतिप्रश्नसहित मलाई सोध्यो ‘तँ कहाँ जान्छस् रे छुट्टी मे?’
म अकमक परेँ। न मेरो कुनै गाउँ थियो न त कुनै मौसीको घर!
‘गाउँ जाएम हमहु!’ हुँदै नभएको गाउँ जान्छु भनेँ।
त्यति बेला कसैले धन्न कुन गाउँ भनेर प्रतिप्रश्न गरेनन्। नत्र यसको उत्तरमा म मौन हुन्थेँ। सहरको एक बन्द कोठामा थुनिएका कैयौँ गाउँहरू मौनता झैँ म मौन हुन्थेँ होला। यति बेला सोच्दा हाँसो लागेर आउँछ बालापन।
गाउँ शब्द यसरी मेरो बाल मानसपटलमा खत गाडेर बस्यो। कुरै छोड्नुस्, दुई दिनको सिङ्गो अनसनको रूपमा परिवर्तित भयो, बा र म बिच। गर्मीको बिदामा बासँग मेरो हठ थियो, मलाई हाम्रो गाउँ लग्नू!
मलाई मेरा बा निरङ्कुश शासकका कुनै पन्चजस्तै लाग्थ्यो त्यस बेला! जाबो यति सानो कुरा पूर्ति गर्न नसक्ने! बिचार बा! यही वर्तमानमा उभिइहेर्दा उनलाई दिएको अनावश्यक चिन्ता र मेरो बकम्फुसे हठ! हाँसो लागेर आउँछ।
बा’ले निकै सम्झाएका थिए, हाम्रो गाउँ नै वीरगन्ज हो।
मेरो एउटै उत्तर थियो, ‘यो त सहर हो, सदरमुकाम हो। मलाई गाउँ लानुस्!’
उमेरको उकालो सँगैको वृद्धि विकासले ममा थोरै ज्ञान आयो र थोरै जिद्दीपन कम भयो। तर म गाउँ गइनँ। मेरा नजरमा त्यस बेला गाउँ एक काल्पनिक संसारको एक खालीपना बनेर बसे जुन मैले वास्तविकताका कलमले कोर्न सकिनँ, गाउँका वास्तविक चित्रहरू!
सहरका सुकिलामुकिला पहिरनमा भिजेको म ‘गाउँको शीतल हावाले कहिले छुन्छ? बा गाउँ कस्तो हुन्छ?’ भन्दै सोधिरहन्थेँ।
बा ‘राम्रो हुन्छ, सहरभन्दा फराकिलो! ल सुत भोलि स्कुल जानु पर्छ’ भनेर मेरो मन टार्ने काम गर्थे।
मैले त्यस बेला गरेको जिदले हो कि बाले आफ्नो निवृत्तिभरणका पैसाको सही उपयोग गर्न हो, एक टुक्रा गाउँमा माटो किने! बा सहरिया भएर सहरमा बस्दा विरक्त लागेर हो कि? यो प्रश्न भने मैले बाकै लागि छोडेँ।
त्यसपछि हो मेरो सानोको रहर, गाउँ जाने एक मुठी सपना पूरा भएको। बिदाका दिन बासँग गाउँ को जान्छ भन्दा पहिले मेरै हात उठ्थ्यो। त्यसपछि त सहरको कङ्क्रिट जङ्गल हेर्दा हेर्दा तृप्त भएका मेरा आँखाले छुट्टी भयो कि गाउँका हरिया फाँटहरूमा बरालिन खोज्थ्यो!
सुबेदार काका, नथिया कानी, टि माई र भुसनवाके बहु काकीसँग मेरा गाउँका कैयौँ किसान मसँग जोडिएका छन्।
हुलाकी राजमार्गले मधेसको भित्र जिल्लाबाट एक सिउँदो कोरेको झैँ सलक्क बगेको छ जसले अधिकांश पर्सा जिल्लाका ग्रामीण भेगहरूलाई सदरमुकामसम्म जोड्ने एक मेरुदण्ड जस्तो भूमिका खेलेको छ। हुलाकी सहरका हाँगाहरूले गाउँलाई सहर झैँ सुकिलो बनाएको छ।
वास्तवमा गाउँलाई सौन्दर्यीकरणको आवश्यकता पर्दैन। ऊ आफैमा सुन्दर छ। हरिया बोटबिरुवामा चिरबिर चिरबिर गरिरहेका चराचुरुङ्गी, मनमोहक स्वर हावाका चालसँगै चचाहुइ गरिरहेका तोप चराका गुडहरू! हरिया फाँटहरूमा भरखरै फुटेका धानका मुनाहरू! वसन्तको पहिलो झरीले भिजेका माटामा मिठा सुगन्धहरू! एक बेग्लै प्रकारको आनन्द, एक बेग्लै प्रकारको पूर्णता जसलाई म शब्दमा व्यक्त गर्न सक्दिनँ।
माटाले लिपेका भित्तामा टाँसिएका गुइँठा (गोबरमा आगो बाल्ने एक प्रकारको गाउँले दाउरा) साँझमा सबै एकै चोकमा थुप्रिएर दुख सुखको भलाकुसारी! सहरलाई हो नाउँ लिई झुन्डिइराख्नु पर्ने, गाउँ नाउँबिना नै परिचित छ। गाउँ लुकेर बस्न मन पराउँछन् आफ्नै परिभाषामा। रम्न मन पराउँछन्।
म सहरको जीवनमै खुसी छु भन्नु एउटा व्यङ्ग र अतिशयोक्ति हुन जान्छ आफैप्रति! म कसरी व्यक्त गरूँ सहरको भागदौडमा छुटेका कैयौँ हातहरू जुन स्वार्थको पैँचो लिन आउँछन् र जान्छन् औँसी-पूर्णे झैँ!
प्रत्येक गाउँको एक पुछारमा चियाको पसल हुन्छ जहाँ सहरको जस्तो सैद्धान्तिक मान्यता वैचारिक मूल्याङ्कनको कुरा हैन, त्यहाँ ताता चियासँग चिसा सम्बन्धको कुरा हुन्छ। चियाको पहिलो गुलियो स्वादमा स्वादरहित खल्लो सम्बन्धको कुरा हुन्छ! जहाँ एक शिक्षक हुन्छ जसले सरकारको नीति तथा कार्यक्रमको र राज्यको समस्या जनतालाई सुनाउँछ! भुँडे मास्टर जुन एक हुन्, पत्रिकाको एक पानाबाट पढेर सुनायो- यस पटक सरकारले मलको लागि १ खर्ब २३ अर्ब ३४ लाख छुट्टाइएको छ!
त्यतिमै फुलबा के बाबुले अन्तिम चियाको सर्को खाँदै, कुर्सीमा ट्वाक गिलास राख्दै उपदानको एक बोरा मल लिँदा सदरमुकाम जाँदाको दुख सुनाउँछन् र पारिबाट लिएर आउँदा भारतीय एसएस पहिले गरेको ज्यादती! तीन दिन सदरमुकाम धाउँदा जाबो एक बोरा मल त्यसमा नि अव्यवस्थित लाइन र पहुँचको निम्त्याएको वास्तविक कृषकको दुखेसो! त्यतिमै मुखियाजीले सुनाउँछन्, रासायनिक मल वितरण स्थानीय तहको आवश्यकता अनुरूप वडा लाई दिने हो भने यो सब दुखको समाधान हुन्छ!
सरकारको पारिलो घामको न्यानो ताप गाउँले समक्ष पुग्न नसक्नु भनेको नियमित केही नीति सुधार नहुँदा छाहरीमा परेको न हो! यतिमै भतिज एक हुल बाख्राको बथान लिएर आउँछ र मलाई सादर अनुरोध गर्छ, ‘चलेर काका नदीवरि! गरम बहुत बा (गर्मी धेरै छ नदीतिर जाऊँ)!
गाउँ छोड्ने एक कुनामा मझरी काकीको घर छ। उहाँको खेतको धान खाला भन्दै म दौडेर बाख्रा धपाउँदै गर्दा बारीको बिचबाट कर्कश आवाज आउँछ, ‘कुन चाहिँको बाख्रा हो यो?’
रिसले मुरमुरिएकी काकी एकाएक मलाई देखेर शान्त भइन्।
‘कारे बैवो, डिग्री कर्के बकरी चरावतार?’
यो प्रश्न उनको उत्साह थियो या एक व्यङ्ग्य! जसको उत्तर मैले हाँसेर टार्न खोजेँ तर सकिनँ! सायद उनको यो प्रश्न समाजले जन्माएको एक दिग्भ्रमित हो! पढेलेखेकोले बाख्रा चराउन हुन्न। यहाँ कृषि पेसा गर्नहुन्न किनकि कृषि गर्दा पहिरन मैलो हुन्छ जसरी समाजको कृषि पेसाप्रति हेर्ने दृष्टिकोण नै मैलो भएको छ!
नेपालको शिक्षा प्रणालीमा सैद्धान्तिक ज्ञानमा बढी जोड दिने प्रचलन छ। जसले गर्दा विद्यार्थीहरूले पढेका 'कुरालाई व्यवहारमा उतार्न सक्दैनन्। यसलाई परिवर्तन गर्न आवश्यक छ! माध्यमिक तहदेखि नै पर्यटन, कृषि, प्रविधि, हस्तकला र उद्यमशीलताजस्ता क्षेत्रमा व्यावसायिक र सीपमूलक तालिमलाई अनिवार्य गर्नुपर्छ। यसले विद्यार्थीलाई रोजगार मात्र हैन स-साना काम मानी हेर्ने दृष्टिकोण मानै परिवर्तन आउँछ।
गाउँ नेपाली समाजको हृदय हो जहाँ प्रकृति र परम्पराको ककटेल सामञ्जस्य पाइन्छ! सहरको कोलाहलबाट टाढा, गाउँले जीवनशैलीले एक शान्त र सन्तुष्टिको अनुभूति प्रदान गर्छ। कृषि आधारित जीवनशैली, सामुदायिक भावना र सद्भाव, प्रकृतिसँगको निकटता, मौलिक संस्कृति र परम्पराको जगेर्ना, साधारण, सरल र आत्मनिर्भर जीवनशैली गाउँको विशेषता हो। यिनै पक्षहरूले गाउँ गाउँ भएर बसिरहन खोज्छ।