कुनै पनि देशमा एक युगमा एकपटक मात्र युवा जनसंख्या ४० प्रतिशतभन्दा बढी हुनसक्छ। युवा जनसंख्या देशको सबभन्दा ठूलो शक्ति हो। यस्तो शक्ति धनले मात्र पाउन सकिँदैन। विश्वका धनी देशहरू अमेरिका, चीन, जापान र यूरोपका अधिकांश देशहरू युवा जनसंख्या कम हुँदा समस्यामा छन्।
उनीहरू जन्मदर बढाउन ठूलो धनराशी खर्च गरिरहेका छन्। तै पनि, जन्मदर बढ्न सकेको छैन। युवा जनसंख्या कम हुँदा ठूलो संकटको सामना गरिरहेका छन्।
बढी उमेर समूहको जनसंख्याको प्रतिशत बढ्दै जानुले जापान ठूलो समस्यामा परेको छ। काम गर्ने उमेर समूह घट्नुले उसको अर्थतन्त्रमा प्रत्यक्ष असर पर्दा विश्वको दोस्रो धनी देशबाट चौथोमा झरिसकेको छ। यसकारण युवा जनसंख्याको विशेष महत्व रहन्छ।
नेपाल अहिले इतिहासकै बढी युवा जनसंख्या रहेको देश छ। राष्ट्रिय तथ्यांक विभागका अनुसार नेपालको जनसंख्याको ४०.३ प्रतिशत युवा छन्। कूल जनसंख्यामा १६ देखि ४० वर्ष उमेर समूहमा ४० प्रतिशत बढी हुनु नेपालका लागि वरदान हो।
यो शक्तिबाट देशको अर्थतन्त्र कायापलट गर्न सकिन्छ। युवा शक्ति नै देशको आर्थिक रूपान्तरणको मुख्य आधार हो। नेपालले आर्थिक रूपान्तरणमा आफ्नो अधिकतम जनसंख्यालाई सदुपयोग गर्न सक्छ। यसमा कमीकमजोरी हटाएर युवा जनसंख्यालाई सकारात्मक क्षेत्रमा सक्रिय सहभागी बनाउन ढिलो गर्नुहुँदैन। विश्वव्यापी रूपमा स्टार्टअप र नवीन उद्यमिताको बढ्दो प्रभावले नेपाली युवाहरू पनि रोजगारीको खोजीमा नभएर रोजगारी सिर्जनाको मार्गमा अगाडि बढिरहेका छन्। सरकारले स्टार्टअप लाइ प्रोत्सहन गर्न विभिन्न अभियानहरू सुरू गरेको छ, तर युवा उद्यमीहरूले सामना गर्ने समस्याहरू जटिल र बहुआयामिक छन्। युवाहरु देशको भविष्य हुन्, तर उनीहरूको क्षमता र सम्भावनालाई उजागर गर्न सकिएको छैन। यसले उनीहरूको सपनालाई मात्र बाधा पुर्याएको छैन। देशको आर्थिक विकासमा पनि ठूलो असर गरेको छ। धेरै युवाहरू आफ्नो सपना पूरा गर्न विदेश पलायन भइरहेका छन्। तर, विदेश गएर पनि उनीहरूमा सन्तुष्टि देखिएको छैन। देशप्रति नै वितृष्णा जाग्ने खतराका कारण देशलाई गाली गर्ने युवाहरू पनि बढ्ने खतरा छ। यसलाई गहिरोसँग अध्ययन गरी समस्या ठानी समाधानको उपाय निकाल्न जरूरी छ।
नेपालमा आर्थिक विकास र रोजगारी सृजनाको लागि उद्यमशीलताको भूमिका महत्त्वपूर्ण छ। युवा उद्यमीले विभिन्न क्षेत्रमा आफूलाई स्थापित गरिसकेका छन्। युवा उद्यमिताको लहर नेपालमा पछिल्ला एक दशकमा तीव्र भएको छ। इन्टरनेट, सोसल मिडिया, र ग्लोबलाइजेसनले युवाहरूलाई विश्वसँग जोडेको छ। यता केही क्षेत्र हरु जसमा युवाहरू जमिसकेका छन्।
प्रविधि क्षेत्र, कृषि र एग्रो–ब्युजनेस, पर्यटन र होटेल, हस्तकला, शिक्षा, जल विद्युत, ट्रेड सरकारी नीतिहरू युवाहरुलाई प्रोत्साहन गर्ने प्रयास गरिराखेकै छ। सरकारी नीतिहरू जस्तै, युवा उद्यमी ऋण योजना, स्टार्टअप प्रवर्द्धन कोष, र महिला उद्यमीहरूका लागि विशेष अनुदानले केही सहयोग गरेका छन्। तर, यी पहलहरू अपर्याप्त र जटिल प्रशासनिक प्रक्रियाका कारण युवाहरूसम्म पुग्न सकेका छैनन् र युवाहरू पनि सहज पहुँच नभएको कारण यी नीतिमा सन्तुष्ट हुन सकेका छैनन्।
युवा उद्यमीका चुनौतीहरू
वित्तीय बाधाहरूः जमानत नभएको ऋण पाउन असम्भव, बैंक र वित्तीय संस्थाहरूले जमानत र उच्च ब्याजदर माग्छन्। युवाहरूसँग सम्पत्ति नभएको हुँदा ऋण पाउन गाह्रो हुन्छ। भेन्चर क्यापिटलको अभावले नयाँ आइडियाहरू धरापमा पर्छन्।
प्रविधि र बजार पहुँचको असमानताः ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा न्यून छ। डिजिटल उद्यमीहरूले शहरी केन्द्रित बन्न बाध्य छन्। अन्तर्राष्ट्रिय बजारमा पहुँच गर्न ट्रेड लाइसेन्स, नीति, र लजिस्टिक्स चुनौतीपूर्ण छ ।
प्रशासनिक जटिलताः व्यवसाय दर्ता गर्न ५/७ वटा कार्यालय घुम्नुपर्छ। प्रक्रियामा हप्ता वा महिना लाग्छ ।
शिक्षामा व्यवसाय विकास ज्ञानको कमीः नेपाली शिक्षा प्रणालीमा रटन्त र सैद्धान्तिक ज्ञानमा जोड दिइन्छ। व्यावहारिक व्यवसाय प्रशिक्षण, मार्केटिङ, र फाइनान्सियल म्यानेजमेन्टको अभाव छ। युवाहरूले अनलाइन कोर्सहरूमा निर्भर गर्नुपर्छ, तर इन्टरनेट र स्रोतको अभावले यो पनि सबैको लागि सहज छैन।
सामाजिक मान्यता र लैङ्गिक असमानताः मानिस सफल हुन जागिर नै गर्नुपर्छ र जागिर मा पनि सरकारी जागिर गर्नु पर्छ भन्ने मानसिकताले परिवारले व्यवसायमा लाग्न अनुमति दिँदैनन्। महिला उद्यमीहरूलाई पूँजी, समाजको संकीर्ण सोच, र घरगृहस्थीको दोहोरो जिम्मेवारीले संघर्ष गर्नुपर्छ।
राजनीतिक अस्थिरता र नीतिगत अनिश्चितताः सरकार परीवर्तनसँगै नीति परिवर्तन भएकोले ब्यबसायमा ब्यापारिक नीतिगत अनिश्चितता ल्याउँछ। दीर्घकालीन योजना बनाउन गाह्रो हुन्छ। औद्योगिक क्षेत्रमा ट्रेड यूनियनको हड्ताल, बन्द, र विद्युत् समस्याले उत्पादन अवरुद्ध हुन्छ।
समाधानका मार्गहरू
वित्तीय सहजीकरणः जमानतमुक्त ऋणः युवा उद्यमीहरूका लागि विशेष कोष स्थापना गर्ने, जसमा ब्याजदर ५.५ भन्दा कम हुनुपर्छ । भेन्चर क्यापिटल निजीक्षेत्रले स्टार्टअपमा लगानी गर्न प्रोत्साहन (जस्तै, कर छूट) आवश्यक छ । क्राउडफन्डिङः डिजिटल प्लेटफर्ममार्फत स्थानीय र अन्तर्राष्ट्रिय लगानीकर्तासँग जोड्ने ।
प्रविधि र बजार सहयोगः डिजिटल इन्फ्रास्ट्रक्चर, गाउँगाउँमा हाइ–स्पिड इन्टरनेट र इ–कमर्स प्लेटफर्म विस्तार गर्ने। एक्सपोर्ट प्रमोसन, युवा उद्यमीहरूलाई अन्तर्राष्ट्रिय मेलामा सहभागीता गराउने, उत्पादन गुणस्तर बढाउने प्रशिक्षण।
प्रशासनिक सुधारः एक खिड्की प्रणाली व्यवसाय दर्ता, कर, र लाइसेन्सका लागि एकै स्थानमा सेवा उपलब्ध गराउने, पारदर्शी नीतिस्सरकारले युवा उद्यमीहरूसँग छलफल गरी नीति निर्माण गर्ने। यसले युवा उद्यमीहरूलाइ उद्यम गर्न प्रोत्सहन गर्न सक्छ ।
शिक्षा र मेन्टरशीपः उद्यमिता पाठ्यक्रम, विश्वविद्यालयस्तरमा व्यावहारिक शिक्षा, केस स्टडी, र इन्टर्नशिप अनिवार्य गर्ने। मेन्टर नेटवर्कस्अनुभवी व्यवसायीहरूले युवाहरूलाई गाइड गर्ने प्लेटफर्म बनाउने ।
सामाजिक चेतनाः महिला सशक्तीकरणस् महिला उद्यमीहरूका लागि अलग कोष , र सामुदायिक प्रशिक्षण। घर(पारिवार र समाज सबैले महिला उद्यमीहरू प्रोत्साहन गर्ने ।
राजनीतिक स्थिरताः उद्यमीअनुकूल नीति, दलहरूले आफ्नो घोषणापत्रमा युवा उद्यमितालाई प्राथमिकता दिने र तेही अनुरूप कार्यन्वयन गर्ने । इन्फ्रास्ट्रक्चर विकास, विद्युत्, सडक, र उद्योग क्षेत्रको विस्तार गर्ने ।
सरकार, निजीक्षेत्र, शैक्षिक संस्था, र समाजले हातेमालो गर्ने हो भने युवाहरूको नवीन विचारले नेपाललाई एसिया को ‘स्टार्टअप हब’ बनाउन सक्छ। आजको आवश्यकता भनेको साहसिक नीति, सहयोगी वातावरण, र युवाको आत्मविश्वासलाई प्रोत्सहन गर्ने वातावरण बनाउने हो।
युवा उद्यमीहरू नेपालको गरिमा बोकेर अगाडि बढ्ने बेला यो नै उपयुक्त समय हो। अब यो देश बनाउने समय हो। व्यवस्थाभन्दा पनि अवस्था परिवर्तन गर्ने समय हो। विदेशमा बस्ने युवाहरूको लागि पनि नेपाल लगानीको लागि उचित ठाउँ हो र देश परिवर्तन युवाले नै गर्ने हो र त्यो सम्भव उद्यमशीलताबाट मात्र सम्भव छ। विदेशमा बस्ने नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण बनाउने जिम्मा सरकारको मात्र नभई हरेक नेपालीको हो। लगानीबिना प्रगति सम्भव छैन। लगानीमैत्री मुलुक बनाउने हामी सबैको जिम्मेवारी हो।
(लेखक युवा व्यवसायी र समाजसेवी हुन्।)