यो २१औँ शताब्दीको युग हो, प्रविधिले संसारलाई जोडेको छ। मानिसहरू बिचको भौतिक दूरी घटेको छ तर मानिसहरू आत्मीय रूपमा भने टाढाका भइसके। डिजिटल दुनियाँका आकाशमा तारा जस्तै चम्किएको मान्छे भोगाइको जमिनमा नमिठो गरी थचारिएको हुन्छ। त्यो पनि अन्धकार आकाशमुनि।
यही हो आजको वास्तविकता। कसैले कसैलाई थोरै समय र दुई शब्द दिन कन्जुस्याइँ गर्ने यो दुनियाँमा एउटा अर्कै वातावरण खोज्नु छ भने ट्रेकिङ गए हुन्छ। आजकल युवा वर्गमा ट्रेकिङ एउटा ट्रेन्ड जस्तै बनेको छ।
हुन त ट्रेकिङलाई सबैले हेर्ने आफ्नै दृष्टिकोण होला कसैले रमाइलोको लागि, कसैले कामको लागि गर्नु होला। तर म आफैँसँग भेट्न या भनौँ म भित्रको मसँग साक्षात्कार गर्न जान्छु। जहाँ प्रकृति का पञ्चमहाभूत (जल, पृथ्वी, वायु, अग्नि, आकाश) सँग खासखुस गर्न पाइन्छ, खुलेर हाँस्न पाइन्छ, रुन पाइन्छ। किनकि त्यहाँ रूखहरू हामीलाई हेर्दै हाँस्दैनन्, पानीले के सोच्यो होला भन्नु पर्दैन अनि हावाले कुरा काट्यो कि जस्तो पनि हुँदैन।
हरेक मौसममा आगो प्यारो हुन्छ अनि आकाशमा हरेक सेकेन्ड बादलहरूले मनमोहक नृत्य गरे जस्तो लाग्छ। त्यहाँ सजीव होइन फगत निर्जीव ढुंगा-माटोमा जीवन देखिन्छ। यस्तो लाग्छ यिनीहरूले सास फेरिरहेका छन् अनि हरेक यात्रीका पदचापहरू चुपचाप अवलोकन गरेर बसिरहेका छन्।
म प्रकृतिको पारखी हुँ तर उति धेरै अनुभवहरूले पोख्त चाहिँ भइसकेको छैन। ट्रेकिङ भनेपछि मलाई मन र दिमाग दुइटैको रिफ्रेश बटन जस्तो लाग्छ। बेलाबेला गरियो भने भावनात्मक ह्याङ वा क्र्याश हुनबाट जोगाउँछ। यही सोचेर केही दिनअघि म निस्किएँ झोलामा केही थान कपडा, एउटा लौरो, एक जोर जुत्ता अनि घरको खट्टे भट्टको पोको बोकेर।
अक्सर मानिसहरूलाई गन्तव्य चाखलाग्दो लाग्छ होला तर मलाई भने यात्रा निकै उत्साहजनक लाग्छ। म हरेक पाइलामा आफूलाई स्याबासी दिँदै अनि हौस्याउँदै हिँड्छु। म कतै समथरमा पुग्दा फुरुक्क पर्छु, कतै ओरालीमा बुरुक्क उफ्रन्छु अनि कतै उकालीमा लत्रक्क पर्छु। तर हरेक पटकको भोगाइलाई जिन्दगीसँग समानान्तर कोणमा हेर्छु।
आखिर जिन्दगी यही त हो; कहिले दुःखको उकाली नलागी सुखको ओराली आउँदैन अनि कहिले अभावको ओराली नदेखी सम्पन्नताको उकाली चढ्न सकिन्न। तर जे होस् मात्र समथर बाटोमा जिन्दगी सकिँदैन। कहिले आँखाका चेपहरूबाट आँसुका खोल्सा बग्छन् त कहिले ओठमा देउरालीको बतास जस्तै मुस्कान छाउँछ।
अनि यो जिन्दगी पनि एउटा एड्भेन्चरस ट्रेकिङभन्दा कम छ र? त्यसैले मलाई जिन्दगी र ट्रेकिङ उस्तै लाग्छ। अक्सर आफ्ना सहयात्रीहरूसँग पनि म यही भन्ने गर्छु।
म ढुङ्गाहरूसँग बात मार्छु किनकि मान्छेसँग बोलेर पो कुरा सकिन्छ, ढुङ्गासँग बोलेर कहिल्यै कुरा सकिँदैन अनि उसले ममा खोट पनि देखाउँदैन। अझ भनौँ मलाई जज गर्दैन। अग्लो पहाड चढ्दै गर्दा दुई चट्टानका चेपमा हुर्किएर मन्द बतासिएको सल्ला देख्छु अनि परारै मैले मल माटो राखेर रोपेको आँपको बिरुवा सम्झिन्छु जसलाई मैले यति स्याहार गर्दा पनि हुर्किन सकेको छैन।
मैले त्यही सल्लालाई सोधेँ- मैले जतन गरेको आँप हुर्किन सकेन तर तिमी यो चट्टानको बिचमा पनि कसरी मुस्कुराउन सकेको?
उसले एक सर्को बतासले सुसेल्दै भन्यो- 'ऊ माथि धेरैको आशा छ छिट्टै हुर्कियोस्, फुलोस् अनि फल दियोस् भनेर। सायद त्यही आशाले थिचिएको होला। तर ममाथि कसैको केही आशा छैन। त्यसैले म स्वतन्त्र छु, आबाद छु।'
ओह! कस्तो गज्जब। यहाँ मान्छेले मान्छेका पीडा बुझ्दैनन् तर हिमालमा हुर्केको सल्लाले तराई पहाडमा रोपेको आँपको पीडा कसरी बुझेको होला? त्यो पनि दुरुस्तै! मलाई लाज लाग्यो मानिस सर्वश्रेष्ठ प्राणी हो भन्नलाई। मुख बोल्न सक्ने भएर पनि भावनामा त निर्जीव जस्तै रहेछौँ हामी; कसैका पीडा, भावना र आशय नबुझ्ने।
म त भन्छु हरेक आमाबुवाले आफ्ना छोराछोरीलाई ट्रेकिङ जान चाहन्छन् भने नरोक्नुस्। बरु सकिन्छ जाने मन नहुनेलाई पनि पठाउनुस् जसरी सानोमा विद्यालय पठाउनु भयो। ट्रेकिङ यस्तो पाठशाला हो जहाँ तपाईंका बच्चाहरूले व्यावहारिक ज्ञानको डिग्री प्राप्त गर्न सक्छन्। भोक, तिर्खा र थकाइ के हो बुझ्न सक्छन्।
यात्रामा निरन्तर अघि बढ्नु कति जरुरी छ त्यो बुझ्न सक्छन्। कसैप्रति कसरी सहयोगी र दयावान् हुने अनि आफूप्रति कसैले सहयोग र दया देखाउँदा कस्तो महसुस हुने रहेछ भनेर थाहा पाउँछन्। चाहे उच्च वर्गीय होस् या निम्न वर्गीय, चाहे महँगा जुत्ता लगाउने होस् या चप्पल लगाउने ,चाहे अति बलवान होस् या निर्धो, चाहे भारी बोकेर हिँड्ने होस् या रित्तै हिँड्ने, त्यो पदमार्गले कसैप्रति भेदभाव गर्दैन; बस हामीले गर्ने अनुभव फरक पर्ने हो।
घण्टौँसम्म हिँडेपछि एउटा सानो बस्ती आउँदा समाजको महत्त्व कति रहेछ थाहा हुन्छ। दिनभरि भोक टार्दै हिँडेपछि पाएको त्यो सादा खानाको महत्त्व थाहा हुन्छ अनि साँझ थकाइले लखतरान परेको शरीर सामान्य खाट या भुइँको ओछ्यानमा बिसाउन पाउँदा निद्रा र आरामको महत्त्व थाहा हुन्छ।
घरमा हुँदा वल्लो कोठाबाट पल्लो कोठामा पनि अनलाइनमा फोन गर्नेहरूलाई २/४ दिन नेटवर्क नआउँदा पनि बाँचिने रहेछ भन्ने थाहा हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, यात्रापछिको गन्तव्य या भनौँ मेहनतपछि पाएको फल कस्तो हुने रहेछ भन्ने थाहा हुन्छ। जुन कुरा कोरा किताबले वर्षौँसम्म सिकाउन सकेन। त्यो सबै व्यावहारिक डिग्री ३ दिनको यात्राले सिकाउँछ।
र अन्त्यमा, मेरो बुझाइमा ट्रेकिङको सार यही हो कि चाहे छिटो हिँड या ढिलो हामीलाई कसै गरी पनि गन्तव्यमा पुग्नु नै छ। चाहे दिउँसै पुगौँ या साँझ, हामीलाई भोलि बिहानको सूर्योदयको प्रतीक्षा गर्नु छ। गन्तव्यमा पुगेर फर्किएपछि यात्राको स्पिडले केही फरक पार्दैन। जिन्दगी पनि यस्तै नै हो चाहे छिटो सफल हौँ या ढिलो सङ्घर्ष गर अन्त्यमा जीवनको गन्तव्य मृत्यु नै हो।
मृत्युपछि तिमीले के उपलब्धि कति छिटो या ढिलो गर्यौ भन्ने कुराको अर्थ रहँदैन बस् अर्थ रहन्छ त तिमीले हरेक अवस्थामा कति र कसरी आफ्नो सास र धड्कनको गतिसँगै जिन्दगीको यात्रालाई निरन्तरता दियौ अनि भोलिको सूर्योदयको प्रतीक्षा गर्यौ की गरेनौ?