मेरो आफ्नो अनुभव र दृष्टिमा २०४० सालको काठमाडौँ र ४१ वर्षपछि अर्थात् हालको काठमाडौँमा आकाश जमिनको भिन्नता छ भन्नुमा फरक पर्दैन। सुरुसुरुमा बाहिरका मान्छे काठमाडौँ बसाइ सर्न खासै चासो देखाउँदैन थिए। आफ्नै जन्मभूमिलाई धेरै माया गरेकै कारणले होला त्यसरी आफ्नो थातथलो छाड्न मन हुँदैन थ्यो मोफसलका जो कोहीमा।
जसलाई पनि मातृभूमि छोड्न मन नलाग्नु स्वाभाविकै पनि थियो। जहाँ जन्मियो, हुर्कियो, बाल्यकाल र किशोरावस्था हुँदै युवावस्थासम्म जन्मेको ठाउँ जसलाई पनि प्यारो हुन्छ। बाध्यताले गर्दा कसै कसैलाई सधैँका लागि होस् वा सीमित अवधिका लागि, जन्मे हुर्केको गाउँ-ठाउँ छोड्नै पर्ने हुन्छ। अध्ययन, जागिर वा अन्य पेसा-व्यवसायले गर्दा मानिस एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने अवस्था आउन सक्छ।
पछिल्लो दिनमा आफ्नै देश छोडेर विदेशतिर जानुपर्ने अवस्था पनि छ। अध्ययनको बहानामा बिदेसिनेहरूको संख्या झन् पछि झन् बढ्दो अवस्था देखिँदै आएको छ। स्वदेशमा रोजगारीका अवसरहरू नहुँदा र रोजगार पाइहाले तापनि तलब तथा सुविधा खासै नभएका कारण बिदेसिनु बाध्यता भएको छ युवायुवतीहरूलाई।
हाम्रा बाउ-बाजे उहिल्यैदेखि काठमाडौँ आउजाउ गर्ने गर्नुहुन्थ्यो। उहिले बेलाबखत काठमाडौँमा आउँदा बाजेले थैलीमा हालेर ल्याएको पैसाले सायद त्यति बेला काठमाडौँमा रोपनीका रोपनी जग्गा पाइन्थ्यो होला। त्यस्तै पिताजीले पनि बेलैमा राजधानी काठमाडौँको चक्रपथभित्रै घडेरी किन्ने क्षमता थियो होला। तर उहाँहरूमा काठमाडौँ बसाइ सर्ने सोच आएन, अझ भन्नुपर्दा मतलब नै भएन।
२०४० सालमा काठमाडौँ छिरेको मलाई पनि काठमाडौँमा बसोबास होला भन्ने सोचाइ थिएन। २०४० देखि २०६९ सम्म २९ वर्षको अवधिमा १२ ठाउँ डेरा सर्नुपरेकोले र डेरामा साँघुरिएर कठिनाइका साथ गुजारा गर्नुपरेकोले अनि साथीहरूको सुझाव पनि भएकोले आफ्नो आर्थिक क्षमताले भ्याउने सम्मको घडेरी किनिएको थियो २०६२ सालमा। अरूलाई मन नपरेको ठाउँमा किनिएको थियो घडेरी पनि। सो ठाउँमा घडेरीको रूपमा गहिरी खेतको गरो किन्नका लागि अरूसँग सापटी लिने काम पनि भयो। गोरेटो बाटो मात्र भएको उक्त स्थानमा घडेरी किन्ने म नै पहिलो व्यक्ति थिएँ हाम्रो बसोबासको टोलमा। बगलमा अलि पछि प्लटिङ पनि भयो।
प्लटिङमा रहेका घडेरीको मूल्य भने हामीले किनेकोभन्दा आठ-दश गुणा बढी महँगो थियो। गोदावरीमा रोपनीको दुई लाख र धर्मस्थलीमा रोपनीको छ लाख, त्यस्तै मूलपानीमा रोपनीको चार लाखमा पनि जग्गा पाइएको थियो २०६०।६१ सालको आसपासमा। तर ती जग्गाहरू खेतको रूपमा थिए, जग्गा हेर्न जाँदा शरद ऋतुमा कतै धानका बाला झुलिरहेका देखिन्थे भने हिउँदमा कतै गहुँ पसाउँदै गरेको देखिन्थ्यो। मैले भने काठमाडौँ उपत्यकाका खेतीयोग्य जमिन सकिँदै जाने आकलन गरिसकेको थिएँ।
हालको गोँगबुको विशाल बसपार्क टुँडिखेल छेउमा सीमित थियो
केही वर्ष अघिसम्म पुरानो बसपार्क भनेर चिनिने र अहिले काठमाडौँ महानगरबाट निर्माणाधीन अवस्थाको विशाल व्यावसायिक भवन रहेको स्थानमा लामो दूरीका तथा मध्यम दूरीका बसहरूका लागि बसपार्क कायम थियो। लगभग तीन दशक अघिसम्म काठमाडौँ उपत्यकाभित्र चल्ने छोटो दूरीका बसहरू भने रत्नपार्कबाट मात्र छुट्थे। हाल रत्नपार्कमा रहेको शान्तिबाटिकामा साझा भण्डार थियो भने त्यो लाइनमा अर्थात् रानीपोखरीको किनारामा रेस्टुरेन्ट पनि थिए। त्यस्तै साझाकै स्वामित्वमा एउटा पेट्रोल पम्प पनि थियो।
बागबजार स्थित भक्तपुर बसपार्क पछि व्यवस्था गरिएको हो। २०४६/४७ सालसम्म काठमाडौँ उपत्यकामा चल्ने बसहरू थोत्रा, साना र साँघुरा हुन्थे। कमेडियन रतन सुवेदीले गीत नै गाएका थिए- ‘काठमाडौँका लोकल थोत्रो मिनिबस…’ भनेर। आवाजविहीन बस अर्थात् बिजुली बस भनेर चिनिने ट्रली बस त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्दथ्यो बिजुलीको तारबाट प्रवाह हुने विद्युतीय शक्तिको सहारामा। मैले थाहा पाएसम्म ट्रलिबसको भाडा प्रतियात्रु जम्मा ३० पैसा थियो।
साझा बस र शान्त भवनको रुट
२०४० सालदेखि मेरो स्मरणमा रहेअनुसार केही वर्षसम्म रत्नपार्कबाट छुट्ने साझा बस कुनै कुपण्डोल-पुल्चोक-जावलाखेल-मानभवन हुँदै लगनखेल पुग्थ्यो भने साझा यातायातकै केही बस भने शान्तभवन हुँदै लगनखेल पुग्दथ्यो। हालको पाटन अस्पताल त्यति बेला शान्तभवनमा थियो र अस्पतालमा जाने आउने बिरामीहरूलाई लक्षित गरेर साझाले सो रुटबाट आफ्नो सेवा दिइरहेको थियो।
ती हार्तम्छाली र यी हार्तम्छाली
२०४०/४१ सालतिर हामी लगनखेलस्थित नमुना मच्छिन्द्र क्याम्पसमा आइकम पढ्दाताका दक्षिणकालीमा वनभोजमा सामेल भएपछि नाचगानमा एक जना कलाकारको कला उत्कृष्ट नै देखिन्थ्यो। उहाँको नाम नारदमणि हार्तम्छाली भएको थाहा पाएपछि उहाँको नाम मैले जीवनभर नबिर्सने गरी मेरो मानसपटलमा छाप बसेको थियो। हालका दिनहरूमा साहित्यिक कार्यक्रमहरूमा उहाँसँग भेट हुँदा मैले उहिलेको वनभोजको सांस्कृतिक कार्यक्रमका कुरा कोट्याउँदा उहाँले ‘भेटेर कुरा गरौँला’ भने बमोजिम केही दिनअघि मात्र म उहाँ कुलपति रहनुभएको नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान नक्सालमा पुगेँ।
मैले आफ्ना पुस्तकहरू कुलपतिलाई प्रदान गर्दा उहाँले प्रतिष्ठानबाट प्रकाशित केही स्मारिका तथा पत्रिका दिनुभयो। फुलेको र मध्यम लम्बाइको दाह्रीमा बडो भलादमी पारामा देखिनुहुने कुलपति नारदमणि हार्तमछालीसँग चियाको चुस्कीसँगै नेपालको संस्कृति, परम्परा र सरकारले दूरदराजतिर नदेखेका कतिपय सम्पदाहरूका बारेमा पनि छलफल भयो। समकालीन व्यक्ति भए पनि उहाँ मभन्दा अलिक पाको नै देखिनुहुन्छ। हामी छुट्टिनुअघि फोटो खिचायौँ र उहाँको व्यस्ततालाई ख्याल राख्दै म फेरि भेट्ने वाचा सहित बाहिरिएँ।
आइकम पढ्दा ताकाका सहपाठीहरू
म त्यति बेला घनिष्ठ सहपाठीका हिसाबले मेची भेगका बिबि. लावती र भूपेन्द्र लावती अनि लक्ष्मण चौधरीसँग धेरै नजिक थिएँ भने हालै मात्र नेपाल राष्ट्र बैंकको गभर्नर पदबाट अवकाश लिनुभएका महाप्रसाद अधिकारी र केही वर्षअघि सशस्त्र प्रहरी बलको महानिरीक्षकबाट अवकाश लिनुभएका पुष्पराम केसीसँग त त्यति बेला राम्रै निकटता थियो। पुष्पराम केसीसँग त अहिले पनि घनिष्ठता छ। सञ्चार उद्यमी तथा वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा पनि सहपाठी त हुनुहुन्थ्यो तर हाल उहाँले मलाई चिन्नुहुन्न। किनकि निरन्तर भेटघाट छैन हामीहरूबिच। भेट नभएको दशकौँ भएपछि सहपाठी पूर्व गभर्नर महाप्रसाद अधिकारीले पनि मलाई चिन्नुहुन्न। शंकरदेवमा बिकम पढ्दाका सहपाठी पर्वतका किरणराज शर्मा सरसँग त अहिले पनि सम्पर्क छ। उहाँ हाल लोक सेवा आयोगका सचिव हुनुहुन्छ।
२०४६ सालमा सुन तोलाको ३ हजार
२०४६ साल जेठ ११ गते हाम्रो बिहे हुँदा सुन तोलाको तीन हजार वरपर थियो। २०४० सालमा म काठमाडौँ प्रवेश गर्दा भने १७ सयको हाराहारीमा थियो। अहिले सुनको भाउ सुन्दा मान्छेहरू सुनको पछाडि किन यसरी लागिपरेका छन् जस्तो लाग्छ।
‘दोषी को?’ को सुटिङ
म कार्यरत औद्योगिक प्रतिष्ठानमा वरिष्ठ अधिकृतको रूपमा कार्यरत माधवराज पन्तका भाइ कलाकार सन्तोष पन्तको कार्यक्रम आजभोलिका कुरा पनि प्रसारण भयो नेपाल टेलिभिजनबाट। पछि ‘आजभोलिका कुरा’ लाई परिवर्तन गरेर ‘हिजोआजका कुरा’ बनाइयो। सन्तोष पन्तकै टेलिफिल्म ‘दोषी को?’ को केही सुटिङ डिल्लीबजारस्थित हाम्रो कार्यालयमा पनि भएको थियो। भित्रबाट सन्तोष पन्तले जाली ढोका खोलेर बाहिरिँदै गरेको दृश्य क्यामेरामा कैद गरिँदै गर्दा हामीले झ्यालबाट लुकेर हेरेका थियौँ। माधवराज पन्तका छोरा नितेशराज पन्त पनि टेलिफिल्म खेल्दथे। उनीसँग पनि मेरो राम्रै सम्बन्ध थियो।
खड्कुँलोमा सुर्ती
भोटाहिटीबाट असनतर्फ छिर्ने बित्तिकैका केही पसलमा परम्परागत रूपमा प्रशोधन गरिएको सुर्ती तामाको हो वा पित्तलको खड्कुँलोमा राखेर बिक्री गरिन्थ्यो। जुन सुख्खा देखिँदैनथ्यो, भिजेको जस्तो देखिन्थ्यो। यसो हेर्दा खाऊँ खाऊँ जस्तो स्वरूपमा देखिने सो सुर्तीको धुलो हो भन्ने नलागेपछि मैले सोध्दा साहुले ‘तमाखु’ भनेपछि म अन्तै मोडिएँ। एक दिन पाटनको एक पसलमा डल्ले साबुनलाई गुड भन्ठानेर झन्डै किनेको थिएँ खानका लागि।
उहिल्यैदेखि प्रचार र चर्चामा रहेको श्रेष्ठ टेलरिङ
कमलादी-बागबजार-डिल्लीबजार-पुतलीसडकको चौबाटो चोकबाट पिके कलेज अर्थात् पद्मकन्या क्याम्पसतिर जाँदा बायाँतिर रहेको सल्यान हाउस अगाडि त्यति बेला नयाँ देखिने भवनको भुइँतलामा रहेका सटरहरू टेलरै टेलरले ओगटेका थिए र अहिले पनि त्यस्तै देखिन्छन्। सुरुमा श्रेष्ठ टेलरिङ, टिपटप टेलर, हिलटप टेलर, मेरो टेलर देखिन्थे भने पछि टेलरिङ व्यवसायको रूपमा मेरिना इम्पेक्स पनि सञ्चालनमा आयो।
नेपाल सरकारले कर्मचारीको पोसाक अनिवार्य गरेर वार्षिक रूपमा पोसाक भत्ता बापत सुरुमा ७५०० रुपैयाँ दिएपछि हाम्रो एक समूह मेरिना इम्पेक्समा गएर कर्मचारी ड्रेस अर्थात् थ्रिपिस सुटसेट सिलायौँ। मैले बाह्र वर्षसम्म उक्त पोसाक लगाएको थिएँ। श्रेष्ठ टेलरिङको विज्ञापन भने उहिल्यैदेखि अहिलेसम्म पनि सुनिन्छ र देखिन्छ। मैले २०४६ सालमा आफ्नो बिहेका लागि श्रेष्ठ टेलरिङमा आँटेरै राम्रो कपडाको सुट सिलाएको थिएँ, १८ सयमा। त्यो रकम त्यति बेलाको निकै ठुलो रकम थियो।
दाँतमा मसिना ढुंगा लाग्ने योमरी र बालुवा लाग्ने पाउरोटी
करिब तीन दशक अघिको कुरा हो, मेरै कार्यालयमा कार्यरत एक जना साथीले योमरी पूर्णिमामा बनाइएको योमरी हामीलाई चखाउन खोज्दा मसिना ढुंगा चिरिप-चिरिप लागेपछि नमजा लागेको थियो। जीवनमा पहिलो पटक योमरी खाने अवसर खल्लो हुन पुग्यो।
एक दिन काठमाडौँमा उहिलेदेखि नै नाम चलेको एक पाउरोटी उद्योगले उत्पादन गरेको पाउरोटी उद्योगकै बिक्री कक्षबाट किनेर ल्याइयो। भोक लागेको हुँदा बडो मजाले चियामा चोब्दै खाउँला भनेको त पहिलो टुक्रोमै बालुवा लागेर निल्न त के चपाउन समेत मिलेन र मिल्काउनु परेको थियो। सायद उद्योगमा कार्यरत श्रमिक उद्योगीसँग रुष्ट भएर वा कुनै कुरामा चित्त नबुझेर त्यसो गरेको होलान् भन्ने मेरो अन्दाज थियो।