धेरै भयो शब्दका रंगिन फूलबारी नघुमेको। बैंकको कामै त्यस्तै। सधैं व्यस्तता र हिसाब किताब। जोड घटाउ मिलेन कि आफै तिर्नुपर्ने। धितो मूल्याङ्कन र फिल्ड भिजिटमै ठिक्क। असार मसान्त आउँदा त झनै घर फर्किने समयको ठेगानै नहुने।
अनि कहिले भेट्नु फूलबारी। फूल, माहुरी, भमरा, रूख, बिरूवा अनि झरनाको त्यो मिठो बोली। त्यस्तो रमणीय संसार नडुलेको मन कहिलेकाहीँ रमाउने अवसर मिल्दो रहेछ। गत चैततिर संयोगले पश्चिम दाङको अन्तिम सिमाना बबई गाउँपालिका–७ मलै गाउँ पुगियो। विकसित मानिने दाङको मलै पुग्दा लाग्यो त्यो ठाउँ विकट कर्णालीभन्दा पनि कम थिएन।
राज्यको उपस्थिति साह्रै कमजोर। सडक पूर्वाधारदेखि विकास त्यहाँ भर्खरै भित्रँदै थियो। बिजुली बत्ती अझै पुगेको थिएन। सञ्चारको सुविधादेखि मलै बञ्चित थियो। यहाँबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि नभएका होइनन्, तर उनीहरूले आश्वासन मात्रै बाँडे। काम गरेनन्। चुनावमा गरेका बाचा पूरा गरेनन् भन्ने प्रमाण मलै आफै उपस्थित थियो। जे भए पनि मलै साँच्चिकै सुन्दर थियो। प्रकृतिले भरिपूर्ण थियो। वरिपरि बाँके राष्ट्रिय निकुञ्जले घेरेको हुँदा नेपाली सेना पनि सुरक्षार्थ थियो।
स्थानीयका अनुसार फोनमा देश बाहिर रहेका आफन्तसँग भलाकुसारी गर्न डाँडा पाखा उक्लनु पर्ने बाध्यता छ। सामाजिक सञ्जाल चलाउन पनि डाँडापाखा उक्लनुको विकल्प हुँदैन। रातमा त के दिउँसै चितुवा वा बाघसँग जम्काभेट भइरहन्छ। धेरै स्थानीयका पशुचौपाया बाघले मारेका उदाहरण स्थानीयले सुनाएका थिए।
आरक्षका कारण अब एउटै जंगली जनावर मार्न पाउने अवस्था छैन। बँदेल, बाँदर जस्ता जनावरले स्थानीयका बाली नाली स्वाहा पारिदिँदा रहेछन्।
वास्तवमा हामीलाई त्यो ठाउँमा एउटा सामाजिक संस्थाले पुर्याएको थियो। जिल्लाका चलेका पत्रकार पनि साथमा थिए। त्यो विकटमा पहिलो पटक स्थानीयको लागि नि:शुल्क स्वास्थ्य चेकजाँच गर्ने शिविर एक मात्र त्यहाँको सरकारी विद्यालयमा राखिएको थियो। त्यो शिविरबाट स्थानीयले ठूलो लाभ उठाएका थिए।
अहिलेसम्म मैले त्यो मलैमा हामी पुगेको दिनको घटना विवरण सरसर्ती प्रस्तुत गरेँ।
अब थोरै शिविर सकिएपछिका केही रमाइला प्रसंग जोड्छु।
शिविर नसकिँदै हामीलाई त्यहाँ पुर्याउने संस्थाहरूका पदाधिकारीले खाजा नास्ताको प्रबन्ध गरिसकेका रहेछन्। स्वास्थ्य चेकजाँचका लागि पुगेका चिकित्सक लगायत स्थानीय जनप्रतिनिधि फर्केपछि अब त्यहाँ युवा जमात मात्रै बाँकी भए।
सधैं व्यस्तता र बजारको कोलाहलबाट एकलास र त्यो पनि फोन नै नलाग्ने मलैमा पुगेका उनीहरूमध्ये धेरैले मलैको बसाइँ यादगार बनाउन योजनाका साथ रमाउलो गर्न थाले।
स्थानीय एक जना खड्काको होटलमा खाजा र खानाको प्रबन्ध थियो। लोकल भालेहरू कटिङ भइसकेका थिए। सबै रमाइलो मुडमा थिए। केहीले लोकल ब्रान्ड चाखे भने केहीले बियर समाए।
त्यहाँ अब ब्यस्त दैनिकी बाँच्ने युवा जमात मात्रै थियो। उनीहरू सबैभन्दा खुसी फोन नै नलाग्ने ठाउँमा पुगेकोमा थिए। हुन पनि हाम्रा फोनहरूको त्यहाँ कुनै काम थिएन।
त्यही बीचमा एक जनाले बोले – यस्तो आनन्दले रमाउन पाइने ठाउँमा म कहिल्यै आएको थिइनँ। अर्को बोल्यो – हो, यार, संसार दुनियामा कहाँ के भइरहेको छ? त्यसको कुनै मतलब छैन। आज बुढीको फोन पनि लागेन। किचकिच पनि सुन्नु परेन। नो तनाव। दिस् प्लेस इज लाइक हेवन फर मी। फिलिङ सो रिलिफ टु डे। सोमरस थोरै चढ्दै गरेको त्यो संकेत थियो।
त्यही बीचमै अर्को साथी बोल्यो – साला 'एसपी'। एसपी शब्दले त्यहाँ रहेका अरू साथीहरूले मुखामुख गरे। यो टिचरलाई एसपी? अर्कोले प्रश्न गर्यो। त्यसको जबाफ उस्ले हाँस्दै थियो। उहाँ माननीयलाई ‘स्वास्नी पीडित’ भन्न खोजेको यार। एक प्रकारले त्यहाँ हाँसो गुञ्जायमान भयो। आँगनको खुल्ला दुबोमा चटकीमा बसेर सबै उस्लाई एसपी भन्न थाले।
त्यही बीचमा अर्को एक जना साथीको एनसेलको मोबाइलको रिङ बज्यो। इशारा गरेको हुँदा सबै मौन बसे। तर, फोनमा कुरा हुन सकेन। फोन नलाग्ने त्यो मलैमा सबै चटकीमा पलेँटी मारिबसेको हुँदा फोन जति एकै ठाउँमा अगाडि थुपारी राखेका थिए। अर्को एक जना साथीको पुन्टे मोवाइलमा त्यस्तै भाइब्रेटको सानो हलचल पैदा भयो। सम्बन्धित मोबाइल धनीभन्दा अर्को साथी नजिकमा भएको हुँदा उसले मोबाइल उठाएर हेर्यो। म्यासेज हेर्दै त्यो साथी एकाएक हाँस्न थाल्यो। कारण, त्यो मोबाइल अघि अर्को साथीलाई ‘एसपी’ भन्ने साथीकै थियो। मोबाइल हातमा लिएको साथी खाँदै–खाँदै उठ्यो। खुल्ला आँगनमा बसेको हुँदा झिंगाहरू आइसकेका थिए। आफ्नो भागको मासुमा माखा नपरून् भनेर हातले धपाउन मलाई आग्रह गर्यो।
उसले साथीको मोबाइलको म्यासेज जोडले पढ्न थाल्यो। ‘त सुँगुर – कहाँ मरेको छस्, फोन पनि नलाग्ने गराइबसेको छस् हैन। पर्खि साँझ घर त आउलास्। मैल जानेकी छु।’
साथीले यी शब्द वाचन गर्दा बिचरा त्यो साथीको अनुहार मलिन बनिसकेको थियो। जस्ले अघि अर्कोलाई स्वास्नी पीडित भनेको थियो, त्यो साथी खुसीले उफ्रिँदै नाच्यो। माननीय जी, आफै एसपी रहेछन् र पो मलाई एसपी भनेका रहेछन्, भन्दै बिन्दास हाँसे।
आपसमा हाँसी मजाक राम्रै चल्दै थियो र सूर्य नारायण पनि तब डाँडापारी पुगिसकेका थिए।
चालक हामी नजिक आएर अब फर्किने कि? भनेर सोध्न आए। सबैले चालकको भनाइमा टाउको हल्लाउँदै सहमति जनाए।
यात्राको केहीबेरमै हाम्रो गाडीले पहाडको आधा उकालो काटेपछि फोनका रिङहरू बज्न थाले। केशव भन्ने साथीको यही बीचमा फोन आयो। यो जंगलको उकालो कटेपछि यूरिनका लागि रोकिएको समय थियो। मातेको उस्ले चोर औंला ओठमा राखेर सबैलाई सान्त बस्न इशारा गर्यो। सबै आज्ञाकारी बनिदिए। उसले स्पिकर अन गर्यो। उताबाट कुनै लेडिज बोलिन्। ‘डार्लिङ कहाँ छौ?’ जति ट्राइ गर्दा पनि दिनभर तिम्लाई फोन नै लागेन भन्या। म त त्यही भएर अपसेट छु। आज तिम्रो अंगालो बेरिन मन छ।’
केशब बोल्यो – म त आज यता फिल्डमा आको पश्चिम दाङ। हेर न यो त धेरै विकट रहेछ– फोन नै लाग्दो रहेनछ। मलाई पनि तिमीसँग कुरा गर्न नपाउँदा कस्तो बोर फिल भा छ।
महिला बोलिन् – तिमी मोटरसाइकलमा छौ?
केशब बोल्यो – हो म, एक्लै छु। मोटरसाइकलमा।
'तिमी तुलसीपुर आइपुग्न कति समय लाग्छ।'
'त्यस्तै ४५ मिनेट।'
महिला बोलिन्– लौ, त्यसो भए – तिमी छिटो कुद। त्यो ठिक्क गोली चल्ने समय हुन्छ। खर्च सबै मेरो – आज हामी रम्नु पर्छ। अँ भन त ? तिमी कुन पिउँछौं ?
केशब बोले – हजुरको मर्जी।
ओके बेबी। तिमी छिटो आऊ अस्तिकै ठाउँमा। म रूम लिएर बसिसकेकी हुन्छु।
केशबले यताबाट – हुन्छ ल म आउँछु भन्दै फोन राख्यो।
अब सबैले केशवलाई – गाली गर्दै थुक्न थाले।
उस्ले भन्यो– (हाँस्दै) जवानी हो नि यार, भन्दै बचाउ गर्यो।
बबई पुल हुँदै हामी चरकमटियाको बाटो आउँदै थियौं। त्यही बीचमा मेरो मोबाइलको पनि रिङ बज्यो। मेरी उनी लाडिँदै बोलिन्– महासय हजुर कहाँ हो? दिनभर फोन लाग्दै लागेन।
'म दाङमै छु। तुलसीपुर फर्किँदै छु।'
उनले फेरि पत्रकार जस्तै गरी प्रतिप्रश्न सोधिन् – तिमी कहाँ गएका थियौ र ? भर्खरै फर्किँदै छु भन्दै छौ?
मैले सहज जबाफ दिएँ– हेर न आज साथीहरूसँग बिहानै गाडीमा दाङको सबभन्दा पश्चिम कुनो ‘मलै’ गएको त्यहाँ त फोन नै लाग्दो रहेनछ। त्यो ठाउँ पुग्दा लाग्यो – सुगम दाङ भन्नु पनि बेकार रहेछ। अहिले पनि सञ्चारदेखि त्यो ठाउँ टाढा रहेछ।
उनी बोलिन् – मतलब ‘लोकेसन आउट मलै।
मैले – हो – ठ्याक्कै तिम्ले भनेको जस्तै हो भनेर कुरा राखेँ।
फेरि उनले – तुलसीपुर नजिक पुगेपछि फोन गर्नु – जरूरी छ भनिन्।
'के जरूरी छ? भन न' भन्दा उनले भन्न मानिनन्। आएपछि मात्रै भन्छु भनिन्।
म तुलसीपुर नजिक दोघरे आइपुग्दा घडीमा बेलुकी साढे ७ बज्दै थियो।
मैले–उनले भने जस्तै आफू तुलसीपुर आइपुगेको कुरा अवगत गराएँ।
उनले मेरो लागि एउटा गिफ्ट पठाइदिएको भन्दै एउटा होटलमा गई त्यो सामन रिसिभ गर्न आग्रह गरिन्।
म आज्ञाकारी बनेँ। भनेको लोकेसनमा पुगेँ। म त्यो होटलको रिसेप्सनमा पुग्दानपुग्दै उनले पछाडिबाट मेरो टाउकोमा प्याट्ट हिर्काइन्। फर्केर हेर्दा त उनी मेरो सामु खडा थिइन्। गल्र्याम्म अंगालो मारिन्।
वास्तवमा उनी मलाई सरप्राइज दिन काठमाडौंबाट सोझै दाङको टरिगाउँ एयरपोर्टमा ल्याण्ड गरेकी रहिछन्। उनले विमान यात्राको बारेमा मसँग धेरै गुनासोहरू पोखिन्।
वास्तवमा यो एयरपोर्ट कथा लामो छ। हाम्रो कथा र सम्बन्धको कथा पनि लामो छ। कलेजदेखि नै हामी आपसमा नजिक थियौं। हाम्रो प्रेम विवाहमा परिणत भएको पनि वर्षौं बितिसकेको छ। बल्ल उनी बेबीको योजनाका साथ आफै बिदा लिएर दाङ आएको खुसी मलाई बाँडिन्।
२०११ सालमा बनेको एयरपोर्ट हालसम्म पनि ट्वीनटर विमान मात्रै अवतरण हुन सक्छन्। मेरो हृदय पनि उस्तै छ। उनी बाहेक मैले हालसम्म कसैलाई मेरो हृदयमा अवतरण गर्न दिएको छैन। यो बीचमा कति मानिसहरू ठोक्किन खोजे होलान् तर मैले आफूलाई सम्हालेर राखेको हुँ। हाम्रो जीवन निकै राम्रो चलिरहेको छ। हामी आपसमा निकै खुसी छौं। जागिरका शिलशिलामा हामी आपसमा भौगोलिक रूपमा फरक फरक सहरमा बस्नु परे पनि हामी बीचमा आपसमा ठूलो सम्मान र विश्वास छ।
बेबीको प्लानसहित दाङ झरेकी उनले मलाई पनि अफिसमा बिदा लिन लगाइन्। उनको चाहना अनुरूप उनी र म फेरि सुन्दर– शान्त र मनोरम ठाउँ मलै पुगेर खुबै रमाएका थियौं।