हामीमध्ये धेरैले वातावरण, जलवायु परिवर्तन र जैविक विविधता जस्ता विषयहरू स्कुल, कलेजमा पढेका छौँ। तर ती किताबका अक्षरहरू कहिलेकाहीँ हाम्रो दैनिक जीवनको यथार्थसँग मेल खान सक्दैनन्। यो लेखमा मैले मेरो गाउँ, किसान, खोलो र सानी केटीको मासुम प्रश्नहरूबाट सिकेका ती जीवन्त पाठहरूलाई साझा गरेको छु। किनभने पढ्दै गर्दा हराएको हाम्रो भविष्य फिर्ता ल्याउनु हाम्रो साझा जिम्मेवारी हो।
सानो हुँदा मलाई वातावरण भनेको केवल किताबको एउटा अध्याय हो भन्ने लाग्थ्यो। एउटा विषय जसलाई परीक्षा पास गर्न मात्र पढिन्छ र पछि भुलिन्छ। हाम्रो गाउँ वरिपरि जंगल, खोला, चराचुरुङ्गी र हरियाली देख्दा कहिले पनि लागेन कि त्यो सुन्दरता एक दिन हराउन सक्छ। वातावरणको समस्या त केवल सहर र ठुला देशमा मात्र होला भन्ने भ्रम थियो। खोला छेउमा खेल्दा, चराहरू हेर्दा र पानीमा हात डुबाउँदा मलाई कहिल्यै डर लागेको थिएन।
तर जब मैले वातावरण विज्ञान पढ्न थालेँ, किताबका पानाहरूमा लेखिएका ‘जलवायु परिवर्तन’, ‘जैविक विविधता’, ‘सस्टेनेबिलिटी’ जस्ता ठुला शब्दहरूले मलाई भविष्यको सपना देखाउन थाले। मलाई लाग्यो, म पनि वातावरण जोगाउने यात्रामा एक हिस्सा बन्न सक्छु। तर कहिलेकाहीँ सोच्थेँ, ‘यी त ठुला देशका समस्या हुन्, हाम्रो गाउँमा के फरक पर्ला र?’
त्यो भ्रम चुँडियो जब एउटा सिमसारमा फिल्डवर्क गर्न गयौँ। त्यो सिमसार, जहाँ मैले किताबमा मात्र देखेको ‘इकोसिस्टम’ जीवित थियो। पानीको छालमा आकाश झल्किने, माछाहरू खेल्ने, बोटहरूमा चराहरू बस्ने, सिमसारको माटोबाट हरियालीको गन्ध आउने। तर आज मैले त्यही जीवित सिमसारलाई मृत्युको नजिकबाट हेरेँ। पानीमा तेलको चम्किलो तह थियो, मरेका माछाहरू पानीमा तैरिरहेका थिए। त्यही ठाउँ जहाँ एक दिन हजारौँ चरा आउँथे, आज सुनसान थियो।
म त्यही ठाउँमा उभिएर सोचेँ, ‘कहाँ हरायो यो सुन्दरता?’
स्थानीय मानिसहरूले भनिरहनु भएको थियो, ‘पहिले यहाँ पानीले चम्किन्थ्यो, चरा कराउँथे तर अब पानी फोहोर भयो, चरा हराए।’ किताबले मलाई प्रदूषणको रसायनात्मक पक्ष मात्रै सिकाएको थियो तर त्यो दिन मैले महसुस गरेँ कि प्रदूषण भनेको एउटा पीडाको कहानी हो।
यो हाम्रो गाउँका बूढाबूढीको पीडा हो जो भन्नुहुन्छ, ‘पहिले खोला किनारै किनारमा बारीमा काम गर्दा चराहरूको गीत सुनिन्थ्यो।’ यो बालबालिकाको निराशा हो, जो खोलामा पौडी खेल्न जाँदा फोहोर र दुर्गन्धसँग फर्किनु पर्छ। यो किसानको संघर्ष हो, जसको बाली असिना र अनियमित मौसमका कारण नष्ट हुन्छ।
त्यो दिन मैले सिकेँ कि वातावरणको समस्या सहर वा विदेशको मात्रै होइन, यो त मेरो घर आँगनकै यथार्थ रहेछ। यो किताबको अध्याय पढेर परीक्षा पास गरेर बिर्सिने विषय होइन, यो त जिन्दगी बाँच्ने, जिन्दगी जोगाउने विषय रहेछ।
त्यही बेला एउटा सानी नानीले सोधी, ‘दिदी, के पानीले पनि सास फेर्छ होला?’
म अचम्मित भएँ। यस्तो सरल तर गहिरो प्रश्नको जवाफ किताबमा थिएन। त्यो प्रश्नले मलाई प्रकृतिप्रति हाम्रो दृष्टिकोण फेरिनु पर्ने कुरा बतायो कि पानीलाई मात्र स्रोत नभएर एउटा जीवित अस्तित्वको रूपमा हेर्न जरुरी छ।
मैले किताबमा प्लास्टिक निषेधका नारा धेरै पढेकी थिएँ। ‘प्लास्टिक प्रयोग नगर्नुहोस्’, ‘रिड्युस, रियुज, रिसाइकल’ जस्ता सन्देशहरू पढ्दा सजिलो लाग्थ्यो। तर त्यो गाउँमा, जहाँ पसल र किसान दुवै प्लास्टिकमा भर पर्दछन्, प्लास्टिकमा मल आउँछ, प्लास्टिकमा सामान आउँछ, त्यो नारा व्यवहारमा आउन कति कठिन छ भन्ने महसुस भयो।
एक दिन एक आमाले भन्नुभयो, ‘पहिले कहिल्यै यस्तो गर्मी हुन्थेन। अहिले खेत सुक्छ, पानी सकिन्छ, बालबच्चा बिरामी पर्छन्।’
त्यो कथनले मलाई ‘ग्लोबल वार्मिङ’ किताबमा लेखिएका तथ्यभन्दा धेरै गहिरो वास्तविक पीडा देखायो। सहरमा बस्नेहरूलाई त्यो गर्मी महसुस नहुन सक्छ तर खेतमा घाम समाएर बाली स्याहार्ने किसानहरूको लागि त्यो जलवायु परिवर्तनसँगको दैनिक संघर्ष हो।
हामीले किताबमा ‘सस्टेनेबल एग्रिकल्चर’ पढ्छौँ, जसमा लेखिएको हुन्छ ‘कम लागतमा, वातावरणमैत्री उत्पादन बढाउन सकिन्छ।’ तर गाउँको खेतमा त्यो परिभाषा कहिलेकाहीँ खिया लागेको हुन्छ। मल नपाए बाली हुन्न, जैविक मल महँगो पर्छ र बजारमा मलको मूल्य अनिश्चित हुन्छ। किसानका पसिना, असिना र अनियमित मौसमसँग लड्दै उनीहरूले खेत जोत्छन्।
एक वृद्ध किसानले भने, ‘छोरी, बजारमा जैविक महँगो छ, फल्ने ग्यारेन्टी छैन। मल नहाले बिउ नै उब्जाउँदैन।’
त्यो वाक्यले किताबमा पढेको ‘सस्टेनेबिलिटी’ को परिभाषालाई उल्टायो। त्यहाँ पेटको राजनीति थियो। कृषि केवल उत्पादनको विषय होइन, त्यो परिवारको भोकको मुद्दा थियो। त्यो क्षण मैले महसुस गरेँ, मेरो पढाइ केवल अक्षर र अंकको कुरा होइन, यो जीवनसँग जोडिएको गहिरो प्रश्न हो।
नेपालमा पछिल्ला दशकहरूमा औसत तापक्रममा वृद्धि भएको देखिएको छ। चुरे, हिमाल र तराईका पानीका मुहानहरू क्रमशः सुक्दै गएका छन्। अनियमित वर्षा, असिना र खडेरीले बाली सखाप हुने क्रम बढेको छ। जलवायु परिवर्तन, वन विनाश र वातावरणीय असन्तुलनले वन्यजन्तु र चराचुरुङ्गीहरूको जीवन पनि संकटमा पारेको छ।
वन विनाश र पानी स्रोतको क्षयले वन्यजन्तु र चराचुरुङ्गीहरूको बासस्थान दिनदिनै सीमित हुँदै गएको छ। जहाँ पहिले हजारौँ चराहरूको मिठो गीत गुन्जिन्थ्यो, अहिले त्यहाँ शून्यता र सन्नाटा छ। मानवीय बस्ती नजिक जङ्गली जनावरको उपस्थिति बढ्दा द्वन्द्व र संघर्ष पनि तीव्र बनेका छन्। गाउँका वृद्धवृद्धाहरूको सम्झनाअनुसार विगतको हरियाली र अहिलेको सुनसान वातावरणबिच ठुलो फरक देखिन्छ। यी यथार्थहरूले हामीलाई चेतावनी दिन्छन् कि वातावरण संरक्षणमा तत्काल र समन्वित प्रयास आवश्यक छ, नत्र हाम्रो प्राकृतिक धरोहर संकटमा पर्नेछ।
मैले बुझेँ, ज्ञान केवल किताबमा सीमित हुँदैन, मानिससँग संवाद गरेर र प्रकृतिलाई नजिकबाट अनुभूत गरेर मात्र पूर्ण हुन्छ। किताबले समाधानको बाटो देखाउँछ, तर त्यो समाधानलाई गाउँको माटोमा व्यवहारमा उतार्नु ठुलो चुनौती हो। हामीले किताब पढ्दै गुमाएको त्यो हराएको भविष्य फिर्ता ल्याउन सबै मिलेर काम गर्नै पर्छ।
पढाइ केवल डिग्री वा अंकका लागि होइन, यो जीवन बुझ्ने र सामना गर्ने प्रक्रिया हुनुपर्छ। अहिले म किताब पढ्दा मात्र होइन, गाउँका मानिसहरूसँग बसेर उनीहरूको पीडा, सपना र चुनौती बुझ्न थालेकी छु। मैले सिमसार, खोलो, वन र खेतमा भेटेको यथार्थलाई आफ्ना पाठ्यपुस्तकसँग जोडेर बुझ्न थालेकी छु।
यो अनुभवले मलाई विश्वास दिलाएको छ कि हाम्रो पुस्ताले किताबमा पढेको ज्ञानलाई व्यवहारमा उतारेर आफ्नो गाउँ, सहर र देशलाई जोगाउनु पर्नेछ। पढ्दै गर्दा हाम्रो भविष्य हरायो, तर अब त्यो हराएको भविष्य फिर्ता ल्याउने जिम्मेवारी हाम्रो काँधमा छ।
हामीले किताबबाट सिकेका ज्ञानलाई आँखा खोल्ने वास्तविकता, मानवीय भावना र प्रकृतिप्रति सम्मानसँग जोड्नुपर्छ। त्यसपछि मात्र हाम्रो पढाइले वास्तविक अर्थ पाउनेछ, हाम्रो संघर्ष सफल हुनेछ र हाम्रो मात्र होइन, भविष्यका पुस्ताहरूको भविष्य पनि सुरक्षित हुनेछ।
यो कथा केवल मेरो होइन, हाम्रो सबैको हो। यो हाम्रो प्रकृति, हाम्रो गाउँ र हाम्रो भविष्यप्रतिको साझा जिम्मेवारी हो, अहिलेभन्दा भोलि अझ राम्रो बनाउनको लागि। अब हाम्रो कर्तव्य हो, पढाइलाई केवल अक्षरमा सीमित नराखी, व्यवहार र भावनामा परिणत गरेर हाम्रो पृथ्वी र जीवन जोगाउनु।