प्राप्त ठेगानाअनुसार यही घर हुनुपर्छ भनेर घरको गेट अगाडि मोटरसाइकल रोक्यौँ। गुरुङ सर र मैले गेट खोल्ने प्रयास गर्यौँ। केही आवाज त निकालौँ भनेर गेटमा केही हल्लाउने, धकेल्ने ठाउँ हेर्यौँ। केही भेटिएन। गुरुङ सरले जुक्ति निकाल्नु भयो। खल्तीको कलम निकालेर गेटमा टाङटुङ गर्नुभयो। भित्र कोही मान्छे छन् वा छैनन् केही पत्तो भएन।
‘हेल्लो ...’
‘दिदी!’
‘घरमा को हुनुहुन्छ?’
‘हेल्लो, बुवा!’
दुई जनाले पालैपालो करिब दस एघार पटक बोलायौँ। गेट बाहिर घण्टी रहेनछ। अग्लो पर्खालले चारैतिर ढाकेको। भित्र केही देखिएन। मैले एक चोटि वरिपरि हेर्ने प्रयास गरेँ। पर्खालको तुलनामा म झन् होचो हुँदै गएँ। जमिन अलि ओरालो रहेछ।
असार पन्ध्र गइसक्यो। वर्षा र झरी पर्नुपर्ने हो। धमाधम धान रोपाई हुनुपर्ने हो। तर हप्ता दिन भइसक्यो पानी परेको छैन। गर्मी झन् बढेको छ। बिहानै छ बजेदेखि मध्यान्न जस्तो घाम लागेका छ।
हुन त बिहानीको समय थियो, आठ बजेको हुँदो हो। गुरुङ सरको नाकमा पसिना देखिन थाले। ‘घर मात्रै ठुलो छ, मन्छेसन्छे छैन!’ निराश बने गुरुङ सर।
‘त्यही त, घरमा कोही छैनन् होला कि नसुनेका होलान्?’ मैले ठम्याउन सकिनँ।
गुरुङ सरलाई पनि के थाहा र! अहिले त नाकको पसिना पुछदै भनेँ, ‘ अब के गर्ने त? फर्किऊँ सर?’
मैले केही उत्तर दिन सकिनँ।
मैले हेरेको चित्त नबुझेर हो कि। घरको कम्पाउन्ड पर्खाल बाहिरको सानो कच्ची बाटोबाट अलि पछाडि गए गुरुङ सर। म अघि नै गएर भित्रको केही अन्दाज नपाएर फर्किसकेको थिएँ। जमिन ओरालो भएर पर्खाल झन् झन् अग्लो हुँदै गएको थियो। गुरुङ सर गएको हेरेँ। होचो कदका गुरुङ सर झन् साना देखिए। पर... अलि पर पुगेर पर्खाल नजिकै सरे। बाटोमा के गर्न लागे फेरि! हुन त यताउता गर्दागर्दै छटपटी भइसक्यो। च्याप्यो होला नि बिचरा।
मन बुझाउन मैले फेरि दुई चोटि बोलाएँ, ‘दिदी! ‘हेल्लो... बुवा...!’ उता गुरुङ सरलाई राहत भयो होला।
साँढे आठ बज्यो। कालो गेट खुल्ने आशामा आधा घण्टा बितेछ। गुरुङ सरले भनेजस्तो फर्किन सम्भव थिएन। त्यो कालो गेट भित्रको अजङको घरका मालिकलाई भेट्नु थियो। एउटा कार्यक्रमको प्रमुख अतिथिको रूपमा प्रस्ताव गर्नु थियो, समय अनुकूलता र उपस्थितिको यकिन गर्नु थियो।
अहिलेको समयमा पनि सिधै गेट खोल्न पुगेर हुन्छ त? मान्छे भेटिन्छन् त यसरी? बाटोदेखि नै यस्तो लागेकै थियो। तर फोन, इमेल वा अन्य सामाजिक सञ्जालमार्फत सम्पर्क गर्ने केही सूत्र भए पो! 'नाथ' जोडिएको पुरानो शैलीको नाम, पराजुली थर र ठेगाना मात्र थाहा थियो। त्यस स्थानमा पुगेर पहिला औषधि पसल अनि हार्डवेयर र त्यसपछि एउटा किनारा पसलमा सोधेपछि घर चाहिँ यही हो भन्ने पक्का भएको थियो।
गुरुङ सर अलि उत्साहित भएर फर्किए मतिर। लाग्यो, पसिना बाहिरको घामले भन्दा भित्रको खटनले आएको रहेछ।
‘मान्छे देखियो, सर। पछाडि एउटा सानो गेट रहेछ। अगाडि घरमा बोलाइदिन लागेका छन्,’ ठुलो उपलब्धि सुनाए उनले।
‘पछाडि त बारी, गोठ रहेछ। काम गर्ने मानिसहरू पनि बस्ने जस्तो छ,’ उनले थपे।
मलाई पनि हल्का भयो। कालो गेटको दायाँ र बायाँ व्यग्र प्रतीक्षाका साथ बस्यौँ गुरुङ सर र म। गेट भित्रबाट पदचाप सुनियो। अनि एउटा कर्कश आवाजका साथ कालो गेट खुल्यो।
सिपाही पहिरनको टेक्चर भएको घुँडासम्म आउने बुट, त्यसभन्दा माथि कालो कट्टु, घुर्मैलो टिसर्ट, त्यसको बाहिर खल्ती नै खल्ती भएको हाफ ज्याकेट, टाउकोमा गोलो ह्याट, बाक्ला काला सेता दाह्री जुँगा भएका बलिया बाङ्गा र अग्लो कदका करिब साठी वर्ष जतिका वयस्क बा’ले कालो गेट खोले। असिनपसिन देखिन्थे। बुट, कपडा र हातमा लागेको माटो, कामकाजी जस्तो लाग्ने पहिरन र साधारण हाउभाउले हामीलाई एकैछिन अस्पष्ट बनायो। तुरुन्तै यी पराजुली बुवा होइनन् भन्ने लाग्यो।
‘पराजुली बुवाको घर हो नि है?’ मैले सोधेँ।
‘हो, हो’ छोटकरी उत्तर दिए उनले।
‘बुवा हुनुहुन्छ?’ फेरि सोधेँ।
‘हुनुहुन्छ माथि,’ एउटा हातले खोलेको गेटको भाग समाउँदै अर्को हातले घरतिर इशारा गर्दै उनले भने।
दायाँपट्टि एउटा गाडी पार्क गरिएको रहेछ। दुई/तीन वटा जति मोटरसाइकल र स्कुटर रहेछन्। ढुङ्गा छापेको फराकिलो आँगन। गमलामा फूल फुल्ने र नफुल्ने बिरुवाहरू। दायाँ तर्फबाट पछाडि जाने फराकिलो बाटो रहेछ। बाटोको दुवै तर्फ रंगीविरंगी फूलहरू फुलिरहेका थिए। घरभित्र जाने चाहिँ पछाडिबाट रहेछ।
हामी पछाडि पुग्यौँ। भित्र फराकिलो र पूर्ण प्यासेज रहेछ। सबैभन्दा पहिला पूर्वतर्फ एउटा मन्दिर र तुलसीको मठ, पारिजातको रुख, फलामको झुला, एउटा सानो फूलबारी, आँप र रुख कटहर लटरम्म फलेका। पश्चिमपट्टि लहरै कामदारको आवास कोठाहरू त्यसपछि गाईगोठ, अझै पछाडि मकैबारी आदि इत्यादि। एक नजरमा देखिएका यी तमाम कुराहरू बाहेक अनगिन्ती संरचना र प्राकृतिक सिर्जनाहरूको लोभलाग्दो संयोजन रहेछ अग्लो पर्खालभित्रको त्यो निजी स्टेट।
गेट खोलेका बा कता हराए कता। हामी दृश्यावलोकनमा हराएछौँ। तीन तले घरमा प्रवेश गर्ने भुइँतलाको फराकिलो बरन्डातर्फ नजर लगाउने बित्तिकै गुरुङ सरको अनुहार बदलियो। बरन्डासँगैको च्यानल गेटमा भित्रबाट ताल्चा ठोकेको रहेछ।
‘बुवा!’
‘दिदी!’
बुवा हुन् कि दाइ, दिदी छन् कि भाउजू या आमा थाहा थिएन। दुई पटक बोलायौँ फेरि पालैपालो। करिब दुई मिनेटपछि मात्रै दोस्रो तलाको बरन्डाबाट तल हेर्नुभयो, भर्खर बिस्तराबाट उठे जस्तै हाउभाउमा एक जना दिदीले। उनी हामीले खोजेका बा’की श्रीमती, छोरी या बुहारी के हुन थाहा भएन। आमाभन्दा दिदी भन्न उचित लाग्यो।
‘दिदी नमस्ते, बुवा हुनुहुन्छ?’ मैले माथि हेरेर सोधेँ।
‘हुनुहुन्छ। म त भर्खर उठेकी,’ उत्तर भन्दा बढ्ता उहाँको हेराइमा धेरै प्रश्नहरू थिए।
दिदीको सहजताको लागि तलबाट माथि हेर्दै मेरो र गुरुङ सरको परिचय दिएँ। त्यहाँ आउनुको कारण पनि बताएँ। म बोल्दा बोल्दै दिदीको अनुहारको रङ फेरियो। अलि सहजता देखियो।
'ए...' भनेर फरक्क फर्केर जानुभयो दिदी। अब च्यानल गेट खुल्छ भनेर हामी अलर्ट भयौँ। दिदी गेट खोल्न आउनुभएन। गुरुङ सर फेरि यताउता टहलिन लाग्नुभयो। एकछिन झुलामा बसेर आनन्द लिनुभयो। मलाई चाहिँ नबसिदिएको भए हुन्थ्यो जस्तो लागेको थियो। दिक्क लाग्यो होला बिचरा! झन्डै एक घण्टा लामो प्रयासमा छौँ एक जना मान्छे भेट्नको लागि!
मैले सोचेजस्तै भयो। गुरुङ सरको मन झुलामा हल्लिएर पनि अडिन सकेन। उठेर मेरो नजिकै आउनुभयो। केही संकेत गर्दै हुनुहुन्थ्यो अब के गर्ने भन्ने आशयको। मलाई पनि केही प्रतिक्रिया दिने जाँगर नै आएन।
एकछिनपछि दिदी फेरि माथिको बरन्डामा देखिनु भयो। कुर्ची टेबल सारेजस्तो आवाज आयो। अब गेट खोल्न तयार भएजस्तो हाउभाउ देखियो।
‘तल गेट बन्द रहेछ, दिदी,’ मैले भनेँ।
केही भनेजस्तो सुनियो तर बुझिएन। दिदी तल झर्नुभयो र भित्रबाट लगाएको ताला खोल्नुभयो। हामीले जुत्ता खोल्यौँ र दिदीको पछि पछि दोस्रो तलामा पुग्यौँ।
बरन्डामा दुई वटा कुर्ची रहेछन्। सँगैको एउटा सानो टेबुलमा पुराना अखबारहरूको चाङ थियो। हामी पुग्दा नपुग्दै दिदीले भित्रबाट एउटा थप कुर्ची लिएर आउनुभयो। बाहिरै बस्ने व्यवस्था हामीले बुझिहाल्यौँ। हामी कुर्चीमा बस्यौँ। घर सुनसान थियो। सायद घरभित्र कोही केटाकेटी वा अरू सदस्य थिएनन्। दिदी भित्र जानुभयो। अनि तुरुन्तै हामीले खोजेका बा भित्रबाट निकै सन्देहले हेर्दै आउनुभयो।
निधारमा नित्य पूजाको टीका र सुकिला कपडा लगाएका बा हामीले सोचेभन्दा वृद्ध हुनुहुँदो रहेछ। बा कुर्चीमा नबस्दै हामीले शिष्टाचार निभायौँ र मैले हामी दुवैको परिचय पनि दिएँ। 'ए...ए...' भन्दै बा कुर्चीमा बस्नुभयो।
हामीले हामी त्यहाँ आउनुको कारण बतायौँ। बा सहज हुनुभयो। दिदी चिया बनाउँछु भन्दै भित्र जानुभयो। गुरुङ सरले पर्दैन दिदी भन्दै हुनुहुन्थ्यो बा’ले ‘बना न बना। चिया त खानु न’ भन्नुभयो अनि हाम्रो घर ठेगानासँग सम्बन्धित प्रश्नहरू गर्नुभयो र केही प्रसङ्गहरू कोट्याउनुभयो।
असार २७ गतेको कार्यक्रम र त्यस दिन उहाँको अनुकूलता र उपलब्धताको कुरा भयो। उहाँले सहमति जनाउनुभयो। घरभित्र आउन र दोस्रो तलासम्म पुग्न संघर्ष र प्रतीक्षा गर्नुपरे पनि भेटघाट फलदायी भयो। चिया बनाउन भित्र जानुभएको दिदीले काँचको गिलासमा दूध पो लिएर आउनुभयो।
'२७ गते सम्झा है मलाई?' दिदीतिर फर्केर बा’ले भन्नुभयो। हामी बिदा भएर तल झर्यौँ र फर्कियौँ। दिदी चाहिँ बुहारी रहिछन्।
गुरुङ सरलाई उहाँकै घर अगाडि गेटमा छोडेर म पनि आफ्नो घरतर्फ लागेँ। घर पुगेर मूल गेट खोली च्यानल गेट हुँदै भित्र जाँदा आफ्नै घरका ती गेटहरूसँग रिस उठ्यो। गेट खोल्दा आज अलि बढी आवाज निस्कियो। छोराछोरी बाहिरै आइपुगेछन् हेर्न।
सहरमा प्रायः सबैको घरमा कम्पाउन्ड पर्खाल हुन्छ। गेट हुन्छ। गेट बन्द गरिएको हुन्छ। सामान्य कुरा थियो। आज त्यो घरमा भित्र गएर मान्छे भेट्न अलि समय लागे पनि आखिर काम बनेको थियो। मैले सम्झनुपर्ने र पिरोलिनुपर्ने कुनै कुरा थिएन। तर त्यस रात मलाई निन्द्रा परेन। मनका तरंगहरू लट्टाई बिनाका चङ्गा जस्ता त हुन। उडिरहे, उडिरहे। हिजो, आज र भोलिको आकाशमा।
गाउँमा हिजो मेरो घरमा गेट थिएन। चौपायालाई रोक्नको लागि सजिलोसँग खोल्न मिल्ने तगारो थियो। मान्छे घरमा वा वरिपरि हुँदा तगारोका तीन वटा बास दाहिनेतर्फ सर्केका हुन्थेँ। तगारोदेखि अगेनाको डिल र आँटीको भकारीसम्म पुग्न निर्बाध पहुँच थियो।
एक पटक सानो छँदा घरको आँगनमा एक्लै खेल्दाखेल्दै एकाहाको चौकोमा कालो सर्प देखेपछि खुरुरु दौडेर माथिल्लो घरकी काली दिदीलाई समाउन पुग्दा भान्सामा भर्खर तताएर राखेको एक माना घिउ पोखिएको सम्झिएँ। कालो सर्पको डर र एक माना घिउ पोखिएको अपराध बोधले आज तीस वर्ष पछि ऐँठन पर्ला जस्तो भयो। काली दिदीको घरमा पनि पराजुली बाको घरमा जस्तै गेट भएको भए!
हिजो गाउँमा घरहरू टाढा भए पनि मनहरू नजिक थिए। आज सहरमा घरहरू नजिक भए पनि मनहरू टाढा छन्। कल झगडा भएर दूरी बढेको होइन। अपरिचित भएर मतलब नभएको होइन। समाज बिग्रेको होइन रहेछ। सभ्यता नै गलत भएछ।
आजभोलि सहरमा वरिपरि पर्खाल र गेट नभएका घर मुस्किलले भेटिन्छन्। ती अग्ला पर्खाल र बलिया फलामे गेटहरू भित्र अनगिन्ती पारस्परिक सम्बन्धका सम्भावनाहरू लुकाइएको छ। हुन त जीवनशैली पनि फेरिएको होला। 'एsss काइँली आँ!'क्यार्न लाछौ, माइला बा!' भन्दै साँझ बिहान घरमा को आउने? के छ, कसो छ भन्दै बिना काम फगत सामाजिकता र मनको शान्तिको लागि अर्काको घरमा कोही मान्छे जाँदैनन्। त्यसमाथि ती बलिया गेटहरू खोलेर को जाओस्! जानु पनि किन र? आगो, पानी, शौचालय, घडी, रेडियो, टिभी, मोबाइल, पत्रपत्रिका, मन भुलाउने, हँसाउने, रुवाउने सबै कुरा घर भित्रै छन्।
मानिसहरू त निमित्त मात्र हुन। सभ्यताको उपज हुन्। सभ्यता नै असभ्य भएपछि मान्छे कसरी सभ्य बन्छ? विकास र समृद्धिको शिखर चुमेका यो धर्तीका सर्वश्रेष्ठ प्राणीहरूले आफैलाई थुनेर राख्ने पनि सभ्यता हुन्छ? हिजो रोग, भोक, अभाव, अशिक्षा र अन्धकारमा पनि कायम रहेको नैतिकता, विश्वास र शान्ति आज कता हरायो?
पानीको फोका जस्तै एकपछि अर्का प्रश्नहरू मनमा उब्जिँदै हराउँदै गए। घरका भित्तादेखि बिजुली बत्ती, पङ्खा, रेफ्रिजेरेटर, वाशिङ मेशिन, सवारी साधन, शौचालय, मोबाइल फोन, च्यानल गेट, मूल गेट सबैसँग एकाएक रिस उठ्यो। यी सब चिजलाई घनले ठोकेर ध्वस्त बनाइदिऊँ जस्तो लाग्यो। तर त्यत्रो तागत मसँग कहाँ हुनु र।
अहिलेको समय नै अचम्मको छ। विकास गर्न मात्र हैन, विनाश गर्न पनि पैसा चाहिन्छ। सुरु कहाँबाट गर्ने? यो महिनाको कमाइले छोराछोरीको स्कुलको फी तिर्नु छ। अर्को महिनाको कमाइले सबैभन्दा पहिला घरको मूल गेट भत्काउँछु।