मैले जुन दिनदेखि आमा र बाबालाई चिन्न थालेकी थिए हो त्यही दिनदेखि नारी आत्मनिर्भर बन्नु पर्छ भन्ने कुरासँग परिचित छु। मलाई यस्तो लागेको जानेर हो या नजानेर, बुझेर हो या नबुझेर, भोगेर हो या देखेर जहिले पनि र अहिले पनि सानै होस्, थोरै होस्, पुर्याउन गाह्रो होस् तर मलाई मेरै भर होस् भन्ने लाग्छ।
मैले मेरो आमालाई राम्ररी देखेकी छु यसको उदाहरण।
मेरो बाबाले पहिले र अहिले पनि आफूलाई जुन बेला जे चाहिएको छ, जे आवश्यक छ ल्याउन सक्नु हुन्छ। बाबाले गोजीमा पैसा भयो भने आफूलाई चाहिएको कुनै पनि चिज लिन धेरै सोच्नु हुन्न। घरमा जग्गाको कारोबार हुने भयो भने पनि बाबाले सोचेपछि त्यसरी आमाले नाइँ भनेको मैले सुनेकी छैन।
आमाले बाबालाई जुन व्यवहार गर्नु हुन्छ, हो ठ्याक्कै त्यसरी बाबाको व्यवहार आमामाथि हुँदैन। यसो भन्नुको मतलब मेरो बाबाले आमालाई अपमान गर्नु भयो भन्ने होइन।
मैले यसो भनी रहँदा मेरी आमा आत्मनिर्भर हुनुहुन्न भनेकी पनि छैन। किनभने आधा दर्जन सन्तान हुर्काउने मेरी आमा, बाबा परदेश हुँदा १६ महिनाको अन्तरमा जन्मिएका सन्तानलाई अर्मपर्म गरेर एकलाई पिठ्युँ र अर्कोलाई काँधमा राखेर गाई-बाख्राको हुल हेर्ने मेरी आमा कसरी आत्मनिर्भर हुन सक्नु हुन्न?
मेरी आमा आत्मनिर्भर नारी हुनुहुन्छ।
अभावका खाडललाई पसिनाको धाराले पुरेर त्यही माथि परिवारको खुसी खोज्ने मेरी आमा। रातलाई दिन बनाएर ढिकी, जाँतो समाएर मेलापात धाउने मेरी आमा। मैले थाहा पाएदेखि कहिल्यै भन्नु भएन मलाई यो लगाउन, त्यो खान मन छ भनेर।
म सानो हुँदा आमाले भोक लाग्यो भनेको कहिल्यै सुनिनँ। मैले सोधेको थिएँ, ‘आमा, तपाईंलाई भोक लाग्दैन?’
आमाले भन्नु भएको थियो, ‘किन र नानी?’
मैले भनेँ, ‘मैले कहिल्यै सुनेकी छैन हजुरले भोक लाग्यो भनेको त्यसैले।’
आमाले त्यो बेलामा मेरो कुरालाई हाँसेर टार्नु भएको थियो। केही भन्नु भएको थिएन।
मलाई त्यो बेलामा लाग्थ्यो, आमालाई भोक नै लाग्दैन कि क्या हो। तर अहिले पो बुझ्दै छु; आमाले त सन्तानलाई भोक, प्यास, दुःख देखाउन नै जान्दो रहेनछन्।
मैले मेरो आमा र बाबाको आवश्यकता पूरा हुने तरिकाको तुलना गर्ने गर्छु, मलाई निकै फरक लाग्छ।
यसरी समाजले दिएको उपमा मेरी आमा आत्मनिर्भर हुनुहुन्न भन्ने कुरामा कसलाई दोष दिऊँ? बाबालाई दोष दिऊँ भने समाजको सबैभन्दा जान्ने बुझ्ने, जाड रक्सी कुनै पनि नशामा नफसेको, कहिल्यै फजुल खर्च गर्न नजान्ने समाजका कुनै व्यक्तिसँग ठुलो स्वरमा नबोल्ने मेरो बाबालाई कसरी भन्न सक्छु कि तपाईंले आमाको चाहना बुझ्नु भएन भनेर!
सन्तानका लागि कैयन वर्ष परदेशमा बिताउने मेरा बाबालाई कसरी भनूँ आमालाई बुझ्नु भएन भनेर!
बुझ्नु भएको हो मेरो बाबाले आमालाई, समाजले जसरी पहिले बुझाएको थियो हो त्यसरी। तर मेरी आमाले तेरा बुबाले मलाई बुझेनन् कहिल्यै भन्नु भएको छैन। मेरो बाबाको घरमा ५० वसन्त बिताइसक्नु भएकी मेरी आमालाई गुनासो कसैलाई गर्ने फुर्सद र रुचि छैन।
सात सन्तान जन्माएर, छ सन्तानलाई हुर्काएर, उड्न सक्ने बनाएर आफूभन्दा टाढा भइसकेका छन्। अहिले फेरि मेरी आमालाई पहिलो सन्तान हुर्काउँदाको जस्तै दुःख छ।
छोराबुहारी दुई सन्तान भइसकेपछि एकअर्कामा खुसी भएनौँ भनी आ-आफ्नो खुसी खोज्दै हिँडेपछि ६५ वर्षको उमेरमा २० वर्षको जिम्मेवारी लिनु परेको छ। २० वर्षको उमेरमा आफ्नो सन्तान काखमा हुँदा जतिको खुसी हुनुहुन्थ्यो मेरीमा आमा, अहिले जिम्मेवारीसहित नातिनातिना काखमा हुँदा हुनुहुन्न। सधैँ जसो आमाको काख पाएनन् भन्दै भक्कानिनु हुन्छ।
उमेरले डाँडा काट्दै छ। जिम्मेवारी झन् थपिँदै छ। मेरी आमा कहिल्यै सुख नपाउने भयौ। सुखको रङसम्म नदेख्ने भयौ आमा।
आमा, मैले पनि तिमीलाई सुख दिन सकिनँ। बुढेसकालमा तिम्रो सहारा बन्नु पर्ने समयमा आफ्नो सपनाले गर्दा तिमीभन्दा टाढा छु। उमेर पुगेकी छोरी घर बाहिर बस्न थालेको ५ वर्ष हुन लाग्यो। कति कुरा सुनाउँछन् तिमीलाई तर तिमीले मलाई मन लागेको गर भनेर छोडेकी छ्यौ।
मेरो कति धेरै विश्वास गर्छ्यौ आमा। तिमीले मप्रति गरेको विश्वासले आजसम्म सीमा रेखाभन्दा बाहिर जान दिएको छैन। तिम्रो विश्वास मेरा लागि लक्ष्मण रेखा जस्तै हो। जसरी सीताले लक्ष्मण रेखा ननाघेको भए रावणको हातमा पर्नु पर्ने थिएन। हो, त्यस्तै तिम्रो विश्वासको रेखाले रावण रूपीहरूको हातमा पर्नबाट आजसम्म रोकेको छ।
आमा तिमीले जीवनभर जसरी पैसाको हातमा नदेखेर आत्मनिर्भर भएर मेरो बाबाको घरमा बसेर हामीलाई जन्माएर हुर्कायो, त्यो साहस गरेर विवाह गर्ने आँट गर्न सकेकी छैन। उमेरले २५ काटिसक्यो, जति उमेर बढ्दै छ त्यति सपनाको आकार घट्दै छ भने जिम्मेवारीपन बढ्दै छ।
जहिले भए पनि छोरा-छोरा भन्यौ, छोराकै लागि रोयौ, मेरो छोराको घर बिग्रियो, नातिनातिनाले दुःख पाए भन्छ्यौ। तर तिमीलाई सम्झिने को छ? तिमीलाई बुझ्ने कोही भएन। मैले पनि तिमीलाई सुख दिन सकिनँ।
दिदीहरू आफ्नै घर, श्रीमान्, छोराछोरीलाई सम्हाल्दैमा व्यस्त छन्। उनीहरूलाई आफ्नै घरले तिमीलाई सम्झिए पनि इच्छा पूरा गरिदिने फुर्सद छैन। धन्न मेरी जेठी दिदी तिमी नजिक छेउ र मलाई तिम्रो भर धेरै लाग्छ। माइली दिदी आफ्नै जिम्मेवारीले थिचेको छ।
मेरा तीन दाइहरू पनि आफ्नै संसारमा रमाइरहेका छन्। दाइहरूले तिमीलाई बुझेनन् आमा भन्न पनि सक्दिनँ। किनभने उनीहरू पनि म जस्तै आफैसँग सङ्घर्ष गरिरहेका पो छन् कि।
म तिम्रो अन्तिममा जन्मिएको सन्तान २५ वसन्त पार गर्दासम्म पनि केही गर्न सकेकी छैन। मेरो भविष्य, सपना, रहर, बाध्यता समाजको कारणले तिमीभन्दा टाढा छु। आमा तिमीलाई सुखको महलमा राख्न नसके पनि मैले जानेर वा नराम्रो काम गरेको कारणले तिमी कहिल्यै रुनु पर्ने छैन। मेरो बाचा भयो आमा। दुनियाँले जे सुकै भनोस् आमा, तिमी जहिले पनि आत्मनिर्भर छेउ मेरो लागि।