नाग काठमाडौं उपत्यकाको अस्तित्वसँग गाँसिएका देवता हुन्। नागपञ्चमीको दिन तपाईं–हामीले आफ्ना घर घरका भित्तामा नागको चित्र टाँस्छौं। तर नागपूजा किन गरिन्छ र यसको महत्त्व के हो भनेर हामीले त्यति सोचेका हुन्नौं।
जीव विज्ञानमा नागलाई घस्रने प्राणीका रूपमा लिइन्छ। जैविक संसारमा खाद्य शृंखलाको परस्पर चक्रमा नागको महत्त्व र अनिवार्यता प्राथमिक छ। नागहरूले पारिस्थितिक प्रणालीमा सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्।
केही दिनअघि मात्र हामीले विश्व सर्प दिवस (जुलाई १६) मनायौं। यो दिवस विश्वभरि सर्पहरूको संरक्षण, तिनको पारिस्थितिकीय महत्त्व र मानिसहरूले तिनीहरूप्रति राख्ने डर तथा भ्रम हटाउने उद्देश्यले मनाइन्छ।
'सर्प' र 'नाग' शब्दले कहिलेकाहीँ समान अर्थ राखे पनि फरक सन्दर्भमा प्रयोग हुन्छन्। 'नाग' शब्द धार्मिक, सांस्कृतिक र पौराणिक सन्दर्भमा धेरै प्रयोग हुन्छ भने सर्पलाई जैविक प्राणीका रूपमा लिइन्छ। नाग एक दैवीय वा अर्ध-दैवीय प्रजाति हुन्, जो आधा मानव र आधा सर्पका रूपमा हुन्छन् र नागलोक अर्थात् पातालमा बस्ने विश्वास गरिन्छ।
हरेक वर्ष हिन्दुहरूले साउन शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाउने गर्छन्। यो पर्व युगौंदेखि मनाइँदै आएको हो र मानिसहरूका लागि यसको ठूलो धार्मिक र आध्यात्मिक महत्त्व छ। नागहरू जलाशय र भूमिगत रूपमा बस्ने विश्वास गरिन्छ। यिनलाई जल प्रकोपहरूबाट जोगाउने संरक्षकका रूपमा पनि लिइन्छ।

नागपञ्चमीमा विभिन्न स्थानहरूमा विविध तरिकाले नागको पूजा गर्ने प्रथा छ। यी पूजा विधिमध्ये घरको मुख्य ढोकाको माथिल्लो भागमा नागको चित्र टाँसेर गरिने पूजा सबभन्दा लोकप्रिय छ। हिन्दु परम्परामा नागको तस्बिर टाँस्दा अष्टनाग, महादेवको गलामा रहने बासुकी नाग वा कृष्णद्वारा कालीय नागको दमन गरिएको चित्र टाँस्ने गरिन्छ।
नागहरूमा पानी पार्ने शक्ति भएको विश्वासले वर्षाकालमै नागपूजा गरिन्छ। नागपञ्चमीको दिन नागका मूर्तिहरूमा दूध र दहीले स्नान गराउने र अर्पण गर्ने परम्परा छ।
विशेषगरी स्व:निग (काठमाडौं उपत्यका) मा अष्टनागको पूजन गरिन्छ। भक्तपुरका कृष्ण राम चित्रकार भन्छन्, 'नेवा:हरूले मान्ने नाग विशेषत अष्टनाग हो जसमा अनन्त, बासुकी, तक्षक, कर्कोटक, शंख, पद्मा, महापद्म र कुलिकाको समिश्रित नागदेवको तस्बिर अंकित पूजा गर्ने हो।'
उनी आफै चित्रकार भएकाले विभिन्न नागको चित्र पनि बनाउँछन्। खासगरी अष्टनाग, शिवसँग सर्पको चित्र, फन्को लागेको नाग र शान्त मुद्रामा भएको नागको चित्र पूजा गर्ने चलन रहेको उनी बताउँछन्।
नागहरूलाई मुख्य गरी तीन रूपमा चित्रण गरिन्छ — टाउको र घाँटीमा सर्पहरू भएको पूर्ण मानव रूपमा, सामान्य सर्पका रूपमा, वा हिन्दु धर्म र बौद्ध धर्ममा आधा मानव र आधा सर्पका रूपमा।
उदाहरणका लागि, भगवान् शिवलाई प्रायः वासुकी नाग घाँटीमा लपेटिएको रूपमा चित्रण गरिन्छ। त्यस्तै, नागहरूलाई सामान्य सर्पजस्तै चित्रण गरिन्छ। उपत्यकाको नागपोखरीमा काठको खम्बामा सुनौलो सर्पको टाउको राखिएको हुन्छ। यसले यो रूपलाई प्रतीक गर्छ। अर्को, आधा मानव र आधा सर्पको रूप विशेषत मन्दिरहरूमा काठको कुँदाइमा देखिन्छ।
काठमाडौं उपत्यकामा नागहरूसँग जोडिएका थुप्रै पौराणिक कथा पाइन्छन्। जनविश्वास अनुसार, जब उपत्यका एक प्राग ऐतिहासिक तालले भरिएको थियो, त्यो समय यहाँ दैवी नागप्राणीहरूले शासन गर्थे। त्यो विशाल तालको गहिराइमा नागहरूको एक रहस्यमय जलमग्न राज्य रहेको विश्वास गरिन्छ। नागलोकको केन्द्रमा महान् सर्पराजा कर्कोटकको भव्य महल थियो।
स्वयम्भु पुराणअनुसार बोधिसत्व महामञ्जुश्रीले आफ्नो तरवारले उपत्यकाको दक्षिणमा रहेको चोभार डाँडा काटेर पानी निष्कासन गरिसकेपछि बनेको सहर स्वनिग: अर्थात् हालको काठमाडौं उपत्यका एक विशाल ताल थियो। उक्त तालको मध्यभागमा कमलको फूल फुलेसँगै त्यसमा स्वयम्भुनाथको उदय भयो। अहिले पनि मञ्जुश्रीलाई त्यहाँ देवताका रूपमा पूजा गरिन्छ।
ताल सुकेसँगै त्यहाँ रहेका नागहरू बिस्तारै बरालिँदै आश्रयविहीन र विस्थापित भए। तीमध्ये सबभन्दा क्रोधित नागहरूका राजा कर्कोटक थिए। यसले नागराज कर्कोटक असन्तुष्ट भई उपत्यकामा खडेरी र अनिकालको स्थिति सिर्जना भयो। उनलाई शान्त पार्न तालको एक अवशेष बनेको हालको टौदहमा देवताहरूले उनका लागि एउटा भव्य दरबार बनाए। यसरी कर्कोटक नागराजको बसोबास स्थायी रूपमा काठमाडौं उपत्यकामा भयो।
अर्को किम्बदन्ती अनुसार, हालको धापाखेलस्थित नागदहमा वासुकी नाग बस्ने गरेको विश्वास गरिन्छ। त्यसैगरी टौदहमा कर्कोटक नागको बासस्थान छ भन्ने मानिन्छ।
कर्कोटक नाग प्रत्येक वर्ष वर्षा याममा पनौतीमा हुने ज्या:पुन्हि जात्रामा सहभागी हुन जान्छ। नागदह पनौती जाने बाटोमा पर्ने भएकाले कर्कोटक नागले जाने र फर्कने दुवै यात्रामा वासुकी नागलाई भेट्छ। जात्राको समय वर्षासहित मेघगर्जन हुन्छ भन्ने विश्वास गरिन्छ। यसलाई वासुकी नागको घर फिर्तीको प्रतीक मानिन्छ।

ग्रन्थमा उल्लेख भएअनुसार भगवान इन्द्रले पनौतीको संरक्षणको जिम्मेवारी वासुकी नागलाई सुम्पेका थिए। भारतको असमबाट काठमाडौं उपत्यकामा खडेरी हटाउन रातो मच्छिन्द्रनाथ ल्याइएको थियो। कथनअनुसार, गुरू गोरखनाथले उपत्यका भ्रमण गरेका थिए र यहाँका बासिन्दाको अपमानबाट रिसाएर गोरखनाथले ध्यानमा लीन भएर वर्षा ल्याउने नागहरूलाई बन्दी बनाए। यसरी उपत्यकाका नदीहरू सुके र खडेरी पर्यो। गोरखनाथलाई उनको ध्यान भंग गराउने एक मात्र व्यक्ति भनेको उनका गुरू मच्छिन्द्रनाथ (मत्स्येन्द्रनाथ) हुन्।
त्यति बेलाका भक्तपुरका राजा नरेन्द्र देव, काठमाडौंका तान्त्रिक बन्धुदत्त आचार्य र ललितपुरका किसान ललित ज्यापू मिलेर भारतको कामरू कामाक्ष्या (वर्तमान असम राज्य) बाट मच्छिन्द्रनाथलाई उपत्यकामा ल्याए। ऋषि गोरखनाथले आफ्ना गुरूलाई अभिवादन गर्न ध्यान रोके, र नौ नागहरूमाथि ध्यानमा रहेका सबै नाग मुक्त भए र उपत्यकामा वर्षा सुरू भयो।
त्यसपछि रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा रहने सर्तमा तान्त्रिकले पनौती गएर बासुकी नागलाई आफ्नो सानो रूप देखाउन अनुरोध गरे र उनीसँग रहेको पानीको भाँडोमा प्रवेश गराउन लगाएको किम्बदन्ती छ। यसरी बासुकी नाग रातो मच्छिन्द्रनाथसँग बस्न सहमत भए र वार्षिक रूपमा पनौती जना सकिने प्रावधानको बन्दोबस्तसहित हालको नागदहमा बासुकी नागलाई बस्ने अनुमति दिइएको थियो।
'बाखं न्यने वा' का एलिना ताम्राकारका अनुसार नागहरू हाम्रो घरको जगमा बास गर्छन् भन्ने विश्वास गरिन्छ। त्यसैले नागपञ्चमीको दिन हामी प्रत्येक घरको सुरक्षामा रहेका ती नागहरूको पूजा गर्छौं।
'नेपाल सम्बतअनुसार गुँला महिनालाई एक पवित्र अवधि मानिन्छ। यो बेला किसानहरूले रोपाइँ सकेका हुन्छन् र नागदेवहरूले वर्षा ल्याउन सहयोग गरेको प्रतीकका रूपमा यसको पूजा गर्ने गरेको विश्वास गरिन्छ,' उनले भनिन्।
यो सहरमा नागको प्रतिनिधित्व भगवानहरूबीच मात्र छैन। ढुंगाहरूमा नागका आकृति कोरिएका छन्। मन्दिरका काठमा पनि नागको चित्रण कुँदिएका देखिन्छन्। अधिकांश तोरणहरूमा नागहरूको उपस्थिति देखिन्छ। ती काठका कलाकृतिमा प्रायः नागहरूलाई माथिल्लो भाग मानवको जस्तो र तल्लो भाग सर्पको पुच्छरजस्तो देखाइएको हुन्छ, जुन माथितिर फैलिएको हुन्छ।
नागको चित्रण जताततै देखिनुका पछाडि काठमाडौं उपत्यकाको संस्कृतिमा तिनीहरूले खेलेको भूमिका नै मुख्य कारण हो।
ताम्राकारले अगाडि भनिन्, 'यो सहरको सृष्टिदेखि नै नागदेवहरूसँग घनिष्टता रहेकाले उपत्यकावासीहरूले नागलाई जल र समृद्धिको प्रतीकका रूपमा पूजा गर्दै आएको पाइन्छ।'
नागदेवताको उपस्थिति हिन्दु धर्ममा मात्र सीमित छैन। शाक्यमुनि बुद्धले बोधि वृक्षमुनि ध्यान सुरू गरेको ६ सातापछि सात दिनसम्म आकाश अँध्यारो भएर भारी वर्षा भयो। त्यस सन्दर्भमा नागले बुद्धको शरीरलाई सातपटक घेरेर आफ्नो फण फैलाए र बुद्धलाई प्राकृतिक तत्वहरूबाट जोगाए। अन्तत: पानी रोकिएपछि नागले मानव रूप धारण गरी बुद्धको अगाडि झुके र फर्के।
पाटनको गुइत टोलको मुचलिन्द बुद्ध
पाटनको गुइत टोलको मुचलिन्द बुद्धको ढुंगामा कुँदिएको मूर्तिमा पनि नागका सातवटा टाउका छन्। हराइसकेको यो सम्पदा हामीले भर्खरै फिर्ता ल्याउन सफल भएका छौं।
उपत्यकाको तीनै सहरमा नागपोखरीको उपस्थिति देखिन्छ। काठमाडौंमा नक्सालस्थित नागपोखरी, भक्तपुरको थालाछेंस्थित नागपोखरी र ललितपुरमा धापाखेलस्थित नागदह। यी स्थानमा विशेषत नागपञ्चमीको दिन भक्तहरूको भिड लाग्छ। काठमाडौंमा रहेको बुढानीलकण्ठ मन्दिरमा पनि भक्तजनहरू पूजा गर्न जान्छन्। त्यहाँ भगवान् विष्णु शेषनागको माथि सुतेको रूपमा चित्रण गरिएको छ। विशेष गरेर टौदहस्थित कर्कोटक नाग र नागदहमा वासुकी नागको पूजा गर्न आउनेको ठूलो घुइँचो लाग्छ।
उपत्यकाभरि चार नारायण मन्दिरहरू छन् — भक्तपुरको चाँगुनारायण, फर्पिङको शेषनारायण, स्वयम्भूनाथ नजिकको इचंगुनारायण र ललितपुरको गोदावरी नजिकको बिशंखुनारायण। यी सबै मन्दिरमा ठूलो मेला लाग्छ।
धार्मिक ग्रन्थ र लोककथाहरूमा इंगित नागको लामो इतिहासको महत्त्व काठमाडौं उपत्यकाको जनजीवनसँग गाँसिएको भएर यसलाई विभिन्न रूपमा पूजा गर्ने चलन छ। कलाकृतिमा पनि काठ र ढुंगाको विविध रूपरेखामा वास्तुशिल्पीय चित्रणहरू यसको महत्त्वका उदाहरण हुन्।
त्यसैले काठमाडौं उपत्यका आजसम्म पनि नागहरूको पूजा हुने सहरका रूपमा परिचित छ।
सबै तस्बिर: सौरभ थापा श्रेष्ठ
***






